काठमाडौँ, १ जेठ । नेपालमा सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका हुन् । यो सँगै सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण क्रममा बिहीबार नयाँ सात जनामा सङ्क्रमण देखिएको बताएका छन् । सङ्क्रमित देखिएका व्यक्ति काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष, कपिलवस्तुका छ वर्षीया बालिका, सर्लाही धान्कोल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, धनुषाकै मिथिला नगरपालिकाका २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, महोत्तरीकै बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको प्रवक्ता डा. अधिकारीले बताएका छन् । आज देखिएका सङ्क्रमितहरुमा एक बालिकासहित दुई महिला र पाँच पुरुष छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । (रासस)
काठमाडौं, जेठ १ । नेपालमा कोभिड–१९ को संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।
गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले सुरु गरेको कोरोना बिमाबाट २ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
मुलुकभर कोरोनाका कारण बिरामी बढेसँगै कोरोना बिमा गर्नेको संख्या बढेको छ । १ हजार रुपैयाँमा बिमा गरेपछि १ लाख रुपैयाँ प्राप्त हुने भएकाले यसप्रति आर्कषण बढेको हो । आजको राजधानी दैनिकमा खवर छ ।
नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ।साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण देखिएको छ।
साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ। सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ।साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९ सय २५ पुगेको छ।सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन्। हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ।
(रासस)
गृहमन्त्री रामबहादुर थापा लिपुलेक जाने भएका छन् ।नेपाली भूमि हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गरेपछि गृहमन्त्री थापा आज नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरीको टोलीसँगै लिपुलेक जान लागेका हुन् ।टाेली सवार हेलिकोप्टर केही बेरमा त्यसतर्फ उड्दै छ ।
जिल्लाको कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीमा सिंगटी बजारबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको टिपर सडकबाट खसेकाे छ ।
बा ४ ख ४७४४ नम्बरको उक्त टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेकाे हाे । गएराति करिब १२ बजे भएकाे उक्त दुर्घटनामा भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीका २९ वर्षिय चालक अशोक कुमार थामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका थामीको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार हुन नसकी बुधबार बिहान २ बजे धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमै बिहान साढे ५ बजेतसर मृत्यु भएको हो दोलखाका प्रहरी प्रवक्ता निरिक्षक रेशम बोहोराले जानकारी दिए ।
केहि दिनदेखी खुकुलो बनाइएको उपत्यका (काठमान्डौ, ललितपुर र भक्तपुर)को लकडाउन निकै कडा हुने भएको छ ।
हिजो मात्र उपत्यकामा ३ जना कोरोना संक्रमित भेटिए पछी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरले जिल्लाहरु सिल गर्ने तयारी गरेको श्रोतले बताएको छ । गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार यस विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आवश्यक छलफल भएको छ । विज्ञहरुले यस्तो अवस्थामा उपत्यकामा कर्फ्यु लगाउनुको विकल्प नरहेको दावी गरेका छन् ।
उपत्यकामा भेटिएका तीन जना कोरोना संक्रमित सबै लकडाउन छिरेको खुलेको छ। ती मध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला छन्।
भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएको खुलेको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइसकेपछि मध्यपुर ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको स्वास्थ्य मन्त्रलायल स्रोत बताउँछ।
केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए। त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए।
उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी भएको पुष्टि भएको छ ।
२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
यस्तै काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ।
लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
काठमाडौं, ३० वैशाख । सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । एकै दिन किर्तिमानी ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । उनले गृहमन्त्री रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादलसँग लकडाउनलगायतका विषयमा जानकारी लिएर निर्देशन दिएको बुझिएको छ । गृहमन्त्रीलाई लकडाउनमा अझ कडाई गर्नुपर्ने आवश्यकता औल्याउँदै निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारले लकडाउन झन कडा गर्ने नीति बनाएको छ । गृह मन्त्रालयका अनुसार जेठ १ बाट लकडाउन कडाई हुनेछ । यसअघि जारी पासहरु रद्द हुनेछन् । पासहरु दुरुपयोग भएको तथ्यसहित खेबरहरु आएपछि सरकार रद्द गर्ने निर्णयमा पुगेको बुझिएको छ ।
अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ । सञ्चालन हुनपाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।
गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ । आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइनेछैन ।
पास लिंदै विभिन्न बहानामा मानिसहरु सवारी साधन लिएर सडकमा देखिनथालेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो । समुदायमा कोरोना भाइरस पुगिसकेकाले जोखिम कम गर्न सरकारले लकडाउनमा कडाई गर्न लागेको हो ।
अयसअघि आज बसेको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनको पालनाबारे गम्भीर छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडाई गर्न निर्देशन दिएका थिए । भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन विशेष रेल र सार्वजनिक यातायात चल्न दिएपछि तराईका जिल्लाहरुमा संक्रमण बढेकोबारे पनि मन्त्रिपरिषदमा गम्भीर छलफल भएको बुझिएको छ । सीमामा कडाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ ।
गृहले बनायो यस्तो नीति
१) एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द
२) अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने।
३) अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।
४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।
५) पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।

काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटि बैठकको सामना गर्ने भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक निकै महत्वपूर्ण हुने बुझिएको छ ।
यसअघि बैठक स्थगित भएपछि ओलीइतरका स्थायी समिति सदस्यहरुले उनको आलोचना गरेका थिए । स्थायी समिति सदस्य भीम रावलले विधान विपरितको कार्य गरेको भन्दै प्रश्न उठाएका थिए ।
चौतर्फी दबाबपछि डाकिएको बैठकमा कोरोना भाइरस रोकथाममा चालिएका कदम, लिपुलेकमा भारतले व्यापार मार्ग खोलेको, नेकपाको आन्तरिक विवाद समाधानलगायतमा छलफल हुने बुझिएको छ । बैठकमा निकै चर्काचर्की हुनसक्ने बताइएको छ ।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमबारे पनि छलफल हुने बुझिएको छ । २ जेठमा संसदमा प्रस्तुत हुनु ठिक अघि बैठक बस्न लागेको छ ।-File Photo
काठमाडौं, बैशाख ३१ । एक हजार आठ सय ८० किलोमिटर लामो खुला सिमानामा भारतले लगातार अतिक्रमण बढाउँदा निगरानी गर्न नेपालले पर्याप्त जनशक्ति खटाउन सकेको छैन ।
भारतले प्रत्येक तीन किलोमिटरमा बोर्डर आउट पोस्ट (बिओपी) राख्दा नेपालले १५ किलोमिटरको अन्तरमा मात्र यस्ता पोस्ट राखेको छ । सीमारक्षकको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको जनशक्ति भिआइपीको अगुवा–पछुवाका रूपमा ठूलो संख्यामा खटाइएको छ ।
भिआइपी मात्र होइन, आमनागरिकको सुरक्षा पनि राज्यको जिम्मेवारी हो । तर, नेपालमा कसलाई कति सुरक्षा चुनौती छ भन्ने मूल्यांकन गरिएको छैन । सुरक्षा जोखिम भए ६–६ महिनामा मूल्यांकन गरेर सुरक्षाकर्मी थपघट गर्नुपर्ने मापदण्ड छ । तर, पहुँचका भरमा विगतमा खटाइएको सुरक्षा जनशक्ति वर्षौंसम्म फिर्ता गरिएको छैन ।
पूर्वप्रधानमन्त्रीलाई ५–६ जना तथा पूर्वगृहमन्त्रीलाई दुईजना सुरक्षाकर्मी दिए पुग्ने गृह मन्त्रालयको आन्तरिक मूल्यांकन छ । तर, पूर्वराजादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री, अवकाशप्राप्त सुरक्षाकर्मी तथा केही पहुँचवाला व्यक्तिको घरमा कम्तीमा एक हजार सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयकै तथ्यांक छ ।
सुरक्षाका नाममा दुरुपयोग भएको जनशक्ति तानेर सीमामा पठाउन सकिए करिब २५ बोर्डर आउट पोस्ट ९बिओपी० थप्न सकिन्छ । सीमामा अहिले सशस्त्रका पाँच हजार जनशक्ति परिचालन छ, जब कि भारततर्फ नेपालको भन्दा पाँच गुणा धेरै जनशक्ति रहेको आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।
कैलाली, बैशाख ३१ । कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरीको टोली मंगलबार राजधानीबाट दार्चुला उडेको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा डा ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत दार्चुला उडेका हुन् ।
कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोलीसमेत आजै छाङरु पुग्ने जनाइएको छ ।