काठमाडौँ, २ जेठ । सुगौली सन्धिले लिम्पियाधुरा मुहान भई बगेको काली नदीलाई सीमा स्वीकारे पनि नेपालको नक्सामा किन त्यो समेटिएन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
सुगौली सन्धिपछि ब्रिटिस सरकारले निकालेको नक्सामा लिम्पियाधुरालाई नेपालमै रहेको स्पष्ट देखाइएको छ । यद्यपि २०३२ सालमा नापी विभागले प्रकाशन गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा किन समेटिएन ? नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठका अनुसार नक्सा तयार पार्ने क्रममा कालापानी क्षेत्रको सीमामा द्विविधा देखियो । लिपुलेक र कालापानी मात्र राख्ने कि लिम्पियाधुरासमेत नक्सामा समेट्ने ? उनका अनुसार लिम्पियाधुरा समेटिएको नक्सा पनि तयार पारियो ।
लिपुलेक र कालापानी मात्रै समेटिएको नक्सा पनि तयार गरी ‘माथिल्लो’ निकायमा प्रस्तुत गरियो । त्यो बेला ‘माथिल्लो’ निकायका रूपमा दरबारमा दुवै खालको नक्सा बुझाइएको सीमाविद् श्रेष्ठ स्मरण गर्नुहुन्छ । आदेश अनुसार लिम्पियाधुरा बिनाको नेपालको नक्सा तयार पारी सार्वजनिक गरिएको बताए । (गोरखापत्रबाट)
काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र रोजगारीको अवसरका लागि विदेशिएका युवालाई स्वदेशमै रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सरकार अग्रसर रहेको बताएका छन् ।
३१औँ युवा दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीपछि सिर्जना हुने सम्भावित बेरोजगारको पङ्क्तिलाई रोजगारी उपलब्ध गराउने उपायको खोजीमा छौँ, यस अग्रसरताले नेपाललाई अविकासबाट विकासतिर र पछौटेपनबाट समृद्धितिर, गरिबीबाट सम्पन्नतातिर र परनिर्भरताबाट आत्मनिर्भरतातिर लैजानेछ भनेको छ ।
राष्ट्रको यस सङ्कल्पमा युवाको रचनात्मक सहभागिता हुने विश्वास व्यक्त गदै उनले अहिलेको विषम परिस्थितिको सामना गर्न र समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूूरा गर्ने कार्यमा सक्रिय आम युवा विद्यार्थीमा आह्वानसमेत गरेका छन् । (गोरखापत्रबाट)
काठमाडौं,जेठ २ । नेपालको संविधान २०७२ ले आफ्नै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी बिर्सिएको छ। त्यसमाथि नेपालकै नक्सा राखिएको छैन।
९० प्रतिशतभन्दा बढी जनमतबाट अनुमोदित संविधानमा राखिएको निसान छापमा गलत नक्सा छ। त्यसमा भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी गायव छ। सांसदले छातीमा सजाउने लोगोमा पनि गलत नक्सा परेको छ।
२०६४ को संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ मा संविधान जारी गरिएको थियो। दुई वर्षमा संविधान बनाउने वाचा गरेका राजनीतिक दलले आठ वर्षमा संविधान त बनाए तर त्यहाँ नेपालको नक्सा राख्न बिर्सिए।
नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार मुलुकको मुल कानुन बनाउँदा राष्ट्रियता, सर्वोभौमसत्तासँग जोडिएको विषयमा जनप्रतिनिधि गम्भीर नहुनु ठूलो गल्ती भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, २ जेठ । अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपालको बीमा बजारलाई गतिशील बनाउन अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिपादित बीमाका नवीनतम सिद्धान्त नेपाली बीमा बजारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा आयोजना गरिएको सेमिनारमा बीमा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षमा बीमा सेवाको उल्लेख्य विस्तार भए पनि हालसम्म कुल जनसङ्ख्याको २२ प्रतिशतमा मात्र बीमाको पहुँच पुगेको परिप्रेक्ष्यमा बीमा सेवाको दु्रत विस्तारमा समितिको प्रभावकारी भूमिकामाथि जोड दिएका छन् ।
चाँडै बीमा प्राधिकरण ऐन संसद्बाट पारित हुने र बीमाको नियमन तथा व्यवसाय विस्तारले व्यापकता पाउने जानकारी उनले दिएका छन् । बीमा व्यवसायमा कृषि बीमा, लघु बीमा तथा घुम्ती बीमा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम अगाडि बढाउन उनको आग्रह थियो । बीमाको पहुँच द्रुत गतिमा विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले अहिलेका कम्पनीले त्यस्तो सम्भव नभएमा नयाँ कम्पनी थप्नुपर्ने बताएका छन् । (गोरखापत्रबाट)
फिदिम, जेठ २ । स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ ।
संग्रहालय बनाउन लागिएको ठाउँ सीमास्तम्भभन्दा सय मिटर यता नेपालतर्फ पर्छ । नक्सामा उक्त ठाउँ भारततर्फ पर्ने दाबी गर्दै उनीहरूले भवन निर्माण रोकिदिएका हुन् । वैशाख २४ थालिएको काम २७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।
भवन नबनाउन, बनाए भत्काउने भनेपछि काम रोकिएको हो । भारतीय पक्षले भवन निर्माणमा रोक लगाएपछि फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङसहित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थानीयले उक्त स्थानको अनुगमन गरेका थिए ।
५७÷३ नम्बरको सानो तथा ५८÷९ नम्बरको जंगे पिलरभन्दा सय मिटरवरै भवन निर्माण गर्न खोजिए पनि भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएको गाउँपालिका अध्यक्ष केरुङले बताएको आजको नागरिक दैनिकले खवर छापेको छ ।
काठमाडौं, जेठ २ । शुक्रबार नेपालमा नौजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।
बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा संक्रमण देखिएको हो । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। आज फेला परेका नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको छ ।
भिम रावलको सुरक्षामा खटिएका व्यक्तिमा कोरोना देखिएपछि नेकपाको बैठक स्थगित भएको थियो । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेकपाको बैठक स्थगित भएको थियो ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी दिएको थियो । पछि भिम रावलको नामको बहाना बनाएर बैठक स्ठगित गरेको आरोप खेपेका ओलीले आज बैठक बोलाएका हुन् ।
लकडाउनका कारण पूर्वको झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको बताए । सरकारको अनुमतिपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई राजधानी काठमाडौं आउने भएका छन् । लकडाउन शुरु भएदेखि झापामा बस्दै आएका पूर्वराजाले राजधानी काठमाडौं आउन गृहमन्त्रालयसँग सवारी पास मागेका थिए । तर गृहमन्त्रालयले उनीहरुलाई काठमाडौं आउन पास दिएको थिएन ।
बिहीबार पूर्वराजाका नाममा सवारी पास जारी गरिएको थियो । तर जारी भएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले पास रद्ध गरेका थिए ।
बिहीबार राति फेरि गृहमन्त्रालयले सवारी पास दिने निर्णय गरेको छ । पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँतर्फ लागेका छन् । उनलाई पास नदिएकाे भन्दै सामाजिक संजालमा चाैतर्फी बिराेध भएकाे थियाे ।
एजेन्सी, ३१ वैशाख । भारतले कोरोना भाइरस रोकथामका लागि अरबौं बजेट छुट्याएको छ । मंगलबार दोस्रो चरणको विशेष राहत प्याकेज घोषणा भएपछि साँझ विज्ञप्तिमार्फत २० अर्ब भारु भ्यान्टिलेटर खरिदमा र एक अर्ब भारु खोपको विकासका लागि खर्चिने जनाइएको हो ।
भारतको प्रधानमन्त्री कार्यालयले आज विज्ञप्तिमार्फत् पीएम केयरस नाम दिइएको राहत र आपतकालिन सहयोगमा कुल ३१ अर्ब भारु छुट्याइएको उल्लेख छ । जसमध्ये भ्यान्टिलेटर खरिद र खोपको विकासका लागि ठुलो धनराशी छुट्याइएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा गरेका थिए । जुन गत वर्ष भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत रकम हुनआउने इन्डियन एक्सप्रेसले जनाएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमणबाट २४ सयभन्दा बढीको ज्यान गइसकेको छ । ७४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेकाले मानिसहरुको जीवन जोगाउन भ्यान्टिलेटर खरिदमा ठुलो धनराशी लगानी गर्न लागेको हो । यसैगरी, भारतले खोपको विकासमा पनि ठुलो धनराशी खर्चिने भएको छ ।
काठमाडौं, १ जेठ । नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक बालुवाटारमा बसेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरुको पनि सहभागिता रहेको थियो ।
गत वर्ष कार्तिक १७ गते नेपाली भूमि लिम्यिाधुरा, लिपुलेक र कालापनी पनि समेटेर भारतले राजनीतिक नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री ओलीले त्यसको ६ दिनपछि कार्तिक २३ गते सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा सहभागी दलका शीर्ष नेताहरुले उक्त क्षेत्र नेपालकै भएको र त्यहाँबाट भारतीय सेना हटाउन भारतसँग तत्काल उच्चस्तरीय वार्ता अघि बढाउन सरकारलाई सुझाव दिएका थिए । (रेडियोएनआरएनडटकमबाट)