generalnews
||Power News Asia||

आजको समाचार

दुई सय बर्ष यताका सरकार थाहा छ लिम्पियाधुरा नेपालको नक्सामा छैनः मन्त्री अर्याल

समाचार


काठमाडौं, बैशाख २८ । भूमि व्यवस्था सहकारी तथा गरिबि निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरा इतिहास देखिनै नेपालको नक्सामा नभएको बताएकी छन्। कालापानी र लिपुलेक अहिले नेपाली नक्साभित्रै रहेपनि लिम्पियाधुरा इतिहासदेखिनै नेपालको नक्सामा नरहेको उनको भनाई छ ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री अर्यालले लिम्पियाधुरा नक्सामा नदेखिएपछि यो सहित राखेर नेपालको नक्सा प्रकासित गर्ने तयारी भइरहेका बेला नेपाल भारत सीमा बार्ताको कुरा आएकाले नक्सा प्रकाशनमा ढिलाई भएको बताएकी छन् । उनले भारतले नक्सामा यी भूभागहरु राखेर प्रकासित गरेपछि यो कसरी पर्यो भन्ने विषयमा नेपाल सरकारले भारतसँग चासो राखेकोसमेत दावी गरिन् ।

सीमाका विषयमा अहिलेको सरकारले पटक पटक भारत सरकारलाई नोट जारी गरी कुटनीतिक छलफलको तयारी गरिरहँदा कोरोना संक्रमण फैलिएकाले रोकिएकोसमेत उनको दाबी छ। मन्त्री अर्यालले भारत चीनका वीचमा भएको सहमतिको कुरामा पनि नेपाल सरकारले पहिले देखिनै उठाएर विरोध जनाउदै आएको बताईन् ।

नेपाल भारत सीमा क्षेत्रमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले बारम्बार पत्र पठाएको तर, उताबाट केही ढिलाई भएको मन्त्री अर्यालको तर्क छ । उनले अहिले भारत उद्घाटन गरेको भनिएको सडकका विषयमा पनि सरकारले अहिले नभएर चीन र भारतबीच सहमति भएकै समयदेखि विरोध जनाउदै आएको जनाईन् ।

भारत सरकारले नेपाल सरकार सँग एकथरी कुरा अर्को थरी काम गर्दै आएकाले यो भारतको बलमिच्याई भएको उनको जिकिर छ । भारतसँग बार्तामा नबसी सीमाको विषयलाई अन्र्तराष्ट्रिय करण नगरिने र भारत सरकारको भनाई र गराइमा यसरीनै फरक शैली आए कडा कुटनीतिक विषयलाई उठाउने उनको धारणा छ ।

नक्सा सवार्जनिक गर्न ढिलाई भएको हो । लिम्पियाधुरा पनि राख्ने तयारी गरिएको हो तर, पहिले बार्तामा बसेर टुग्याउ भन्ने भएर ढिलाई हुनगयो । बार्तामा नवसी यो मुदा अन्र्तराष्ट्रिय करण गर्ने कि नगर्ने भन्ने कुरा अहिले हुँदैन बार्ता मिलेन भने जान्छ ।’ उनले भनिन् ‘दुई सय वर्षदेखि अहिले सम्म किन टुग्गिएन भनेर पनि हेर्नुपर्छ । जमनादेखिका सरकारलाई थाहा थियो यो विषय । कुटनितिक पहका लागि र सहमतिका लागि त दुई देशबीच बार्ता हुनुपर्छ ।’

चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नुपर्छ : चिनियाँ दूतावास

समाचार


काठमाडौं : चिनियाँ दूतावासले सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ।

प्रहरीमाथि जाइलाग्ने चार जनाविरुद्ध मुद्दा चलाउने तयारीपछि दूतावासले शुक्रबार राति पौने ११ बजे प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाप्रति जानकार रहेको जनाएको हो।

चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्ने विज्ञप्तिमा उल्लेख छ। उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको जनाइएको छ।

उसले आफ्ना नागरिक अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा घर जान हतारिएको जनाएको छ। नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ। चीनले ३ सय ४० जनालाई लगिसकेको छ।

सीमित उडानका कारण धेरै चिनियाँ अझै नेपालमा रहेको जनाउँदै दूतावासले आफ्ना नागरिकलाई संयम हुन भनेको छ। महामारीको यो कठिन घडीमा यस्ता घटनालाई संयुक्त रूपमा सम्हाल्दै अघि बढ्ने पनि विज्ञप्तिमा उल्लेख छ।

अहिले थुनामा राखिएका ४ जना चिनिया नागरिकलाई सार्वजनिक मुद्दा भने नलगाइने भएको छ ।

प्रहरीमाथि कुटपिटमा संलग्‍नमध्ये चारजनाविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसुरमा मुद्दा चलाउन लागिएको हो।

अन्य ४३ जनालाई रिहा गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। पक्राउ परेका ४३ जनालाई हिजै रिहा गरियो भने मुद्दा चलाउन लागिएका ती चारजनालाई महानगरी प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ।

भारतमा कोरोना संक्रमित संख्या ६० हजार नजिक, दैनिक ३ हजार बढ्न थाले

समाचार


कोरोना भाइरसको संक्रमण घट्न नसकेकाे भारतमा पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्यामा उतारचढाव देखिएकाे छ भने दैनिक ३ हजारबढी नयाँ संक्रमित फेला फरिरहेका छन् । संक्रमित संख्या झण्डै ६० हजार पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ९ सय ८५ पुगेकाे छ । त्यहाँ कुल संक्रमितको संख्या पनि ५९ हजार ६ सय ९५ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ ।

शुक्रबार एक दिनमा मात्र त्यहाँ ९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बिहीबार त्यहाँ काेराेनाबाट १ सय ४ जनाले ज्यान गुमाएका थिए ।

पछिल्लो २४ घण्टामा (शुक्रबार) भारतमा ३ हजार ३ सय ४४ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार पनि त्यहाँ ३ हजार ३ सय ६४ नयाँ संक्रमित फेला परेका थिए । बुधबार यो संख्या ३ हजार ५ सय ८७ थियो ।

यसैबीच भारतमा १७ हजार ८ सय ८६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३९ हजार ८ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुनः १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।

आज हावाहुरीसहित असिना पानी पर्ने

समाचार


आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम नरोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ ।

दिउँसोसम्म पहाडी र तराइका केही क्षेत्रमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

कालापानी सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनः परिक्षण होइन: गोकुल बाँस्कोटा

समाचार


काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले कालापानी क्षेत्रमा रहेको सीमा विबाद प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण नभएको बताएका छन् ।

भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको भोलि पल्ट नेता बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिलेको सिमा विवाद प्रधानमन्त्री ओली अघिको सरकारको नेतृत्वमा मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम भएको पनि बताए ।

‘कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन।ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो।’, उनले भनेका छन्, ‘प्रश्न ओलीको जामारक्षाको होईन आमाको स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीको दृढतापूर्ण साथको हो।’ 

Gokul Prasad Baskota@GokulPBaskota

कालापानी क्षेत्रमा रहेकाे सीमा विबाद ओलीकाे राष्ट्रवादी अडानकाे पुनःपरिक्षण हाेइन।ओलीअघिकाे हाम्राे नेतृत्वकाे माैकापरस्त दृष्टिकोण र भारतकाे मिचाहा नीतिकाे परिणाम हाे।प्रश्न ओलीकाे जामारक्षाकाे हाेईन आमाकाे स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीकाे दृढतापूर्ण साथकाे हाे।

७५ लाख पाठ्यपुस्तक छापिए

समाचार


काठमाडौँ, २७ वैशाख । जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ ।

कक्षा १ देखि १० सम्मका यी पुस्तक ढुवानीको व्यवस्था भएमा जेठ १५ भित्रै विद्यार्थीको हातमा पुग्ने बताइएको छ । केन्द्रले बन्दाबन्दीको यस अवधिमा पनि पुस्तक छपाइको काममा निरन्तरता दिएको छ । सुरुमा एक साता छपाइ कार्य बन्द गरिए पनि त्यसपछि सुचारु गरिएको थियो । हाल केन्द्रका दुईवटा छापाखानामा ३० जति कर्मचारी दैनिक परिचालन गरिएको छ । छपाइ भएका पुस्तक वितरणको कामसमेत गरिएको जनाइएको छ ।

प्रत्येक वर्ष पाठ्यपुस्तक समयमा विद्यार्थीलाई उपलब्ध नहुँदा उनीहरूको अध्ययनमा समस्या आउनेगरेको छ । यस वर्षका लागि अब २० लाख थान पुस्तक छपाइ गर्ने केन्द्रको योजना छ । अबको तीन सातामा पुस्तक छपाइको सबै कार्य टुङ्गोमा पु¥याउने केन्द्रको योजना छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जारी बन्दाबन्दी (लकडाउन) को अवधिमा ढुवानीको सुविधा हुनसके आगामी जेठ १५ सम्म सबै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याइने भएको छ । बन्दाबन्दीको समयमा औषधि र तरकारी जस्तै पुस्तकमा पनि ढुवानीको सुविधा दिइए जेठ आधाआधीमा सबै विद्यालयमा पुस्तक पु¥याउने योजना जनक शिक्षा सामग्री केन्द्रले बनाएको छ । केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले विद्यालय मार्फत जेठ १५ सम्म विद्यार्थीको हातमा पुस्तक पु¥याउने गरी काम भइरहेको जानकारी दिएका छन् । ढुवानीमा परेको समस्याका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई समेत जानकारी गराइएको छ ।

मन्त्रीले सरकारका तर्फबाट ढुवानी सहज बनाउने आश्वासन दिनुभएको जनाइएको छ । बन्दाबन्दी खुलेको केही दिनपछि विद्यालय सञ्चालनमा आएको अवस्थामा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने कुरामा कुनै समस्या नहुने उनको भनाइ छ ।
उपत्यकामा पछि ढुवानी
केन्द्रबाट छपाइ भएका पुस्तक पोखरा, जनकपुर, नारायणगढमा ढुवानीको केही काम भए पनि विराटनगर, नेपालगञ्ज र धनगढीमा भने समस्या भएको महाप्रबन्धकले जानकारी दिनुभएको छ । ढुवानी गरेर क्षेत्रीय कार्यालयमा पु¥याएपछि डिलर मार्फत विद्यालय र विद्यार्थीको हातमा पुग्न केही दिन लाग्ने भएकाले ढुवानीलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । काठमाडौँ आसपासका ठाउँभन्दा बाहिरको स्थानलाई प्राथमिकता दिएर ढुवानी गरिनेछ । पुस्तकको छपाइमा यस पटक कागजको भने समस्या नरहेको केन्द्रले जनाएको छ । (गोरखापत्रबाट)

लिपुलेकमा भारतीय सडक, ‘सार्वभौमिकतामाथि हस्तक्षेप’

समाचार


काठमाडौं, बैशाख २७ । भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको सीमासम्म कैलाश मानसरोवर सडक निर्माण गरेको छ। उक्त सडकको भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरे।

उनले भिडियो कन्फरेन्समार्फत पिठौडागढबाट कुन्जी जाने सवारीसाधन सञ्चालनको औपचारिक सुरुआत्समेत गरेका छन्। उनले बोर्डर रोड अर्गनाइजेसन (बिआरओ) को प्रयासबाट उक्त सडक सञ्जाल विस्तार गर्न सफल भएको जनाएका छन्।

भारतले नेपाली भूमि लिपुलेक समावेश गरेर नक्सा सार्वजनिक गरेपछि सुरु भएको नेपाल–भारत सीमा विवाद समाधान नहुँदै भारतले नेपाली भूमि हुँदै सडक सञ्जाल विस्तार गरेको हो। गत वर्ष भारतले नेपाली भूभाग आफ्नो नक्सामा समेटेपछि नेपाल सरकारले त्यसको विरोध गर्दै कूटनीतिक नोट बुझाएको थियो।

सन् २०१४ मा नेपाल–भारत विदेशमन्त्रीस्तरीय बैठकमा दुई देशबीच नसुल्झिएको सीमा विवाद विदेशसचिवस्तरीय उच्चस्तरीय संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको थियो। यस विषयमा नेपालले वार्ता अघि बढाउन खोजे पनि भारतीय पक्षले चासो नदिँदा विवाद यथावत् रहेको आजको नागरिक दैनिकमा खवर छ ।

शनिबार थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

समाचार


काठमाडौं, बैशाख २७ । नेपालमा शनिबार थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जनागरि सात जना नयाँ संक्रमित फेला परेका छन् ।आज फेला परेका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय नौ पुगेको छ ।

‘सरकारले शासन गर्ने आधार गुमायो’

समाचार


काठमाडौं, बैशाख २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शासन सञ्चालन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको दाबी गरेका छन्।

संघीय संसद्को शुक्रबार सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेताहरूले कोरोना भाइरससँग लड्नुपर्ने बेलामा प्रधानमन्त्री ओलीको ध्यान अलोकतान्त्रिक र संविधान विरोधी गतिविधितर्फ उद्यत् भएको उल्लेख गर्दै उनले शासन गर्ने नैतिक र राजनीतिक दुवै आधार गुमाएको दाबी गरेका हुन्। विपक्षी दलका नेताहरूले मुलुकमा विद्यमान संकट सामनाका लागि प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोनाका कारण मुलुक संकटमा परेका बेला पनि सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको, सांसद अपहरण गर्न लगाएको, संविधान विरोधी अध्यादेश जारी गरेको जस्ता आरोप लगाउँदै यसबाट प्रधानमन्त्रीले मुलुकमा शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको पुष्टि भएको बताएको आजको नागरिक दैनिकमा खवर छ ।

गाँजा बरामद गर्न गएको प्रहरीलाई स्थानीयले लखेटे, ज्यान जोगाउन प्रहरीले खोल्यो हवाईफायर

समाचार


चितवन, बैशाख २७ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँजा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तोडफोड भएपछि प्रहरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।

प्रहरीलाई अवरोध गरेको भन्दै चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् । झडपको क्रममा तीन प्रहरीसमेत घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्रहरीले जनाएको छ । यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो ।रासस