generalnews
||Power News Asia||

आजको समाचार

लिपुलेकमा भारतले सडक निर्माण गरिरहेकोबारे पहिले नै जानकारी रहेको सरकारद्वारा स्वीकार

समाचार


काठमाडौँ, २९ बैशाख । सरकारले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक भारतले निर्माण गरिरहेको बारे जानकारी रहेको तथ्य स्वीकार गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभाको बैठकमा भारतले लिपुलेकमा सडक निर्माण गरिरहेको कुरा सरकारलाई पूर्व जानकारी रहेको स्वीकार गरेका छन् । भारतले लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण गरिरहेको थाहा पाएर पनि सरकार चुप लागेर बसेको भन्दै विरोध भइरहेका बेला मन्त्री ज्ञवालीले उक्त सडकबारेको फेहरिस्त संसदमा प्रस्तुत गरेको हो । मन्त्री ज्ञवालीले लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको विषय सरकारलाई थाहा नहुने भन्ने प्रश्नै नहुने बताएका छन् । सरकारले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरिरहेको पहिल्यै जानकारी पाएको बताएपनि त्यसलाई रोक्न भने कुनै पहल नगरेको पाइएको छ ।

भारतले सडक निर्माण गरेर उद्घाटन गरिसकेपछि जब लकडाउनकैबीच नेपाली जनता सडकमा उत्रे तब मात्रै सरकारले भारतीय कदमप्रति आपत्ति प्रकट गरेर विज्ञप्ति जारी गरेको छ । अझ संसदमा बोल्दै मन्त्री ज्ञवालीले सन २००५ देखि नै उक्त सडक निमार्णको प्रक्रिया सुरु भएको र अहिले सम्पन्न भएर उद्घाटन भएको फेहरिस्त सुनाएका छन् । नेपाल सरकारले पटक–पटक वार्ताका लागि गरेको आग्रह भारतले अस्वीकार गरेको कुरा पनि मन्त्री ज्ञवालीले संसदलाई जानकारी गराएका छन् । मन्त्री ज्ञवालीले पटक–पटकको कुटनीतिक पहल भारतबाट अस्वीकार भएको बताएपछि सांसदहरुले अब सैन्य समाधानको बाटो अपनाउने कि भन्नेबारे सरकारको धारणा मागेका छन् । सांसद अनिल झाले वक्तव्यबाजीले समाधान नदिए मुलुक अब सैन्य समाधान खोज्न तिर लाग्ने हो कि भन्ने प्रश्न गरेका छन् ।
जवाफमा मन्त्री ज्ञवालीले कुटनीतिक माध्यमबाटै समाधान खोज्ने कुरामा सरकार दृढ रहेको बताएका छन् ।

उनले नेपाल सरकारको वक्तव्यपछि भारतले पनि कोरोना संकटपछि वार्तामा बस्न तयार रहेको प्रतिक्रिया दिएकोले कुटनीतिक पहलबाटै समाधान निकालिने बताएका छन् । तर यता सत्तापक्षकै कतिपय नेताहरुले लिपुलेक विवादबारे अब भारतसँग मात्रै कुरा गरेर समाधान ननिस्क्ने भएकोले चीन, भारत र नेपालबीच त्रिपक्षिव वार्ता हुनुपर्ने बताएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले पनि त्रिपक्षिय वार्तामार्फत समाधान निकाल्नुपर्नेमा जोड दिएका छन् । यस्तै सत्तारुढ दलका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पनि यसबारे तीनवटै मुलुकबीच वार्ता हुनुपर्नेमा जोड दिएका छन् । कतिपयले भारतको मिचाहा प्रवृत्तिविरुद्ध अन्तराष्ट्रिय अदातल गुहार्नुपर्ने माग गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले अहिले नै अन्तराष्ट्रियकरण गरिहाल्नेबारे सोचविचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । (रेडियोएनआरएनडटकमबाट)

आजको मौसम पूर्वानुमानः देशभर मध्ययम बर्षा हुन सक्ने

समाचार


काठमाडौं, बैशाख २९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज विहानै देखि वर्षाको सम्भावना बढ्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले आज हावाहुरीसहितको बर्षाको सम्भावना रहेको छ ।

सोमबार देश अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाउनै महाशाखाले सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।

भोली मंगलबारसमेत देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।अहिले पश्चिमी नेपालका उच्च पाहाडी भेगमा वर्षा भइरहेको छ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव नौ डिग्री सेल्सियस रहेको छ।

ओली-मोदी वार्ताको पहल

समाचार


काठमाडौं, २९ वैशाख । भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि नेपालले कुटनीतिक पहल अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् आपत्ती जनाएपछि भारतको विदेश मन्त्रालयबाट पनि विज्ञप्तिमार्फत् जवाफ आएको छ । तर, कुटनीतिक तहमा औपचारिक वार्ता हुन सकेको छैन ।

लिपुलेकको विषयमा नेपालले भारतसँग कुटनीतिक तहमा कुराकानी अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अनौपचारिक कुराकानी अगाडि बढेको छ । दुवै देशको प्रधानमनन्त्री तहमा टेलिफोन या भिडियो कन्फरेन्समार्फत् वार्ता गराउन नेपाली पक्षले पहल थालेको बुझिएको छ । यसअघि नै विदेशसचिव स्तरीय द्धिपक्षीय कुराकानीको पहल भइरहेको छ । कोभिड १९ का कारण तत्काल सम्भव नभएपनि लगत्तै सचिवस्तरीय कुराकानी हुने भएको छ ।

भारतले कोरोना भाइरससँग जुध्नु परेकाले लिपुलेकका विषयमा केही समयपछि कर्मचारी तहमा कुराकानी गर्ने चाहना व्यक्त गरेको विश्वस्त स्रोतले जनाएको छ । यही विषयमा दुवै देशका प्रधानमन्त्रीबीच तत्काल वार्ताको सम्भावना कमै रहेको बुझिएको छ । भविष्यमा हुने द्धिपक्षीय भ्रमण या टेलिफोन वार्तामा भने यो विषयमा कुराकानी हुनसकने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली लिपुलेकका विषयमा अझै मौन छन् । उनले यसबारे सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न खोजिरहेका छन् । बाहिर बोलेर भन्दा प्रधानमन्त्री तहमा कुरा गरेर या जिम्मेवार अधिकारीहरुलाई जिम्मेवारी दिएर लिपुलेकको सवालमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न प्रधानमन्त्री ओली गम्भीर भएको निकट स्रोतले बताएको छ ।

नेपालले लिपुलेक आफ्नो भुभाग भएको प्रष्ट पार्दै आपत्ती जनाइसकेको छ । संसदमा भारतको लिपुलेक हुँदै सडक निर्माण गर्ने कदमको चर्को आलोचना भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत् आपत्ती जनाइसकेको र कुटनीतिक पहल गरी सीमाको रक्षा गरिने बताएका छन् ।

यसैगरी भारतका विदशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पिथौरागढ जिल्लामा रहेको सडक भारतकै भुमीमा पर्ने दाबी गरेका छन् । इन्डियन एक्सप्रेसका अनुसार उनले भारत र नेपालले सीमाको विषयमा छलफल गर्न मेकानिजम बनाएको र अहिले उठेका सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गरिने बताए ।

अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुगे दिवेश

समाचार


काठमाडौं, बैशाख २९ । विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन्। आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र पर्न सफल भएका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरिरहेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।

दुई करोडको पुल छ महिना टिकेन

समाचार


निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । 

पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो ।

पाँच सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिए । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ । 

ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताए । 

ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा छ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयवासी डिल गर्वुजाले बताए ।

ओली प्रचण्डको संयुक्त वक्तव्य - लिपुलेकमा भारतले सडक बनाउँदा नेपालको सार्वभौमिकताको अवमुल्यन

समाचार


सत्तारुढ नेकपाले भारतले नेपालको लिपुलेक हुँदै निर्माण गरेको सडकले नेपालको सार्वभौमिकताको अवमुल्यन गरेको जनाएको छ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै सडक निर्माण गर्ने कार्यले सार्वभौमिकताको अवमुल्यन गरेको जनाएका हुन्। 

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार नेपालको लिपुलेक पास हुँदै चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थिए। नेपाल सरकारले उक्त कार्यलाई खेदजनक भनेको छ।  

नेकपाले सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भएको उल्लेख गरेको छ। नेपालले पटकपटक सचिव स्तरीय वार्ता मार्फत् सीमा विवाद सुल्झाउन गरेको पहललाई भारतले वेवास्ता गरेको नेकपाको वक्तव्यमा उल्लेख छ।

साथै नेकपाले तत्काल सडक निर्माण कार्य रोक्न माग गरेको छ। सीमा क्षेत्रमा थप जटिलता उत्पन्न हुने कुनै कार्य नगर्न समेत भारतलाई नेकपाले आग्रह गरेको छ। 

मर्निङ वाकमा निस्केका नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बेपत्ता

समाचार


नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन्।लण्डनको प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।बुधबार बिहान करिब १०:३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ। 

हरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ।हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए।रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए। हालै उनलाई फिजीका लागि राजदुत नियूक्त गरिएको थियो।

(रासस)

दैलेखमा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाई फायर, प्रहरीसहित दुई जना घाइते

समाचार


दैलेख, बैशाख २८ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।

ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।

सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०र६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो ।

प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
‘लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो’, नगरपालिकाका उपप्रमुख तारा शाहीले भने । उनका अनुसार प्रहरीकोे बर्दीसमेत च्यातिएको भन्ने खबर आएको छ । शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो ।

उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए । उनले त्यो घटनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए ।

अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ ।घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको रु २० लाख र नगरपालिकाको रु पाँच लाख साझेदारीसहित रु २५ लाख रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो ।रासस

कोरोनाकोबाट थप एक भूपू गोरखा सैनिकको मृत्यु

समाचार


काठमाडौं, बैशाख २८ । बेलायतमा कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए।

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए। हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ। रासस

आजदेखि उपत्यकामा सवारी ‘टाइम कार्ड’ लागू, गाडी चलाउन यस्तो नयाँ नियम

समाचार


काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा आजदेखि सवारी ‘टाइम कार्ड’ लागू भएको छ। सरकारले सर्तसहित छुट दिएका विभिन्‍न क्षेत्रका उद्योग खोल्नका लागि यस्तो निर्णय गरेको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी र उद्योग वाणिज्यका पदाधिकारीसंगको छलफलपछि उक्त निणर्य गरिएको जनाइएको छ ।

निणर्य अनुसार आजदेखि निर्माण सामाग्री बोक्ने मालवाहक ट्रक र ट्रीप्परले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न पाउने छन् । त्यस्तै, सरकारी कार्यालयका कर्मचारीले बिहान ९ः३० देखि १०ः३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म चल्न पाउने छन्।

बैंक तथा वित्तिय संस्थाका सवारीले बिहान ९ देखि १० बजेसम्म र बेलुका ३ः३० देखि ५ बजेसम्म चल्न पाउनेछन्। औषधि तथा खानेपानीका सवारी दिनभर चल्न पाउनेछन भने अत्यावश्यक खाद्यान्नका सामाग्री बोक्ने साधन भने बिहान ४ बजेदेखी १० बजेसम्म चल्न पाउने भएका छन् ।