काठमाडौं, बैशाख २२ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका उच्च पाहाडि तथा पश्चिम तराईका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना रहेको छ।
पूर्वी क्षेत्रमा अपराह्नपछि वर्षा हुने देखिए पनि काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा भने त्यसअगाडि नै वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।
त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबारसमेत देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली कायमै रहने जनाइएको छ ।
नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
डोल्पा- डोल्पामा आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेको छ । जगदुल्ला गाउँपालिका ६ को झयाँकोटमा ग्यास लिक भएर आगालगी भएको हो ।
जगदुल्ला गाउँपालिका(६ का मनलाल ऐडिको घरमा प्रयोगमा राखिएको ग्यास लिक भइ आगलागी भएको र निभाउने क्रममा ग्यासको सिलिण्डर पड्केर पूरै घर जलेर खरानी भएको खगेन्द्र ऐडिले बताए ।
तीनतलाको घर पूर्णरुपमा जलेर खरानी भएको छ । घरमा भएको अन्न, खाद्यान्न, लत्ताकपडा र अन्य धनमाल पूरै नष्ट भए पनि मानवीय क्षति भने नभएको गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए ।
स्थानीय, प्रहरी र जनप्रतिनिधिहरुको सक्रियतामा आगो नियन्त्रणमा लिएको प्रशासकीय अधिकृत केशबराज जैसिले बताए ।आगलागीबाट ३० लाखभन्दा धेरैको क्षति भएको बताइएको छ ।
काठमाडौं,
वैशाख २१ ।
नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्जमा थप ६ जनामा संक्रमण देखिएको हो ।
एकै दिन बाँकेमा १५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्बर ५ को भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।
शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् ।
एकैदिन नेपालगन्जमा कोरोना संक्रमिको सङ्ख्या १५ पुगेको छ भने आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा वीरगन्जका एकजना ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
योसहित नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७५ पुगेको जनाएको छ ।
कैलाली जिल्लामा शनिबार भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा बिहान नुहाउन गएका स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले मृतकको शव घटनास्थल नजिकै सोही नदीमा फेला पारेको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा माछापोखरी निर्माणको काममा प्रयोग भइरहेको जेसिबीका चालक दाङ जिल्ला भालुवाङ स्थायी ठेगाना भएका ३१ वर्षीय तिलक बुढामगर मृत फेला परेका छन्।
माछापोखरी निर्माणको कामको ठेक्का पाएको देवसिंह सेवा निर्माण कम्पनीको उक्त जेसिबीका चालक बुढामगर शुक्रबार राति खाना खाएर सोही विद्यालयको कोठामा सुतेकोमा बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए।
जेसिबीका सहचालक हरिदत्त भट्टले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ। सहचालक भट्ट पनि सोही विद्यालयमा बस्दै आएको बताइएको छ।रासस
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।
डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ ।
उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।
यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन्।
स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
काठमाडौं – लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।
कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।
जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन मा विभाजन गरिनेछ ।
ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
काठमाडौं – नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् ।
विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् ।
रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा पुगेको छ ।
आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मुल्यांकन गर्ने गर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ ।
साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, हालको देशको मौसमको अवस्था पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक वदली भइरहेको छ ।
यस्तै, आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति भने देशको अधिकांश भू–भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ, २१ वैशाख । नेपालले कोरोना भाइरस कोभिड– १९ को रोकथाम र नियन्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ ।
सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि रहेको छ । नेपाल र भूटानमा अहिलेसम्म एक जना पनि व्यक्ति कोरोनाका कारणले ज्यान गुमाउनुपरेको छैन । ती देशमा सङ्क्रमण पनि कम रहेको छ । सार्कका आठ देशमध्ये छ देशमा सङ्क्रमणका कारणले मानिसको निधन भएको छ । माल्दिभ्समा एक जनाको निधन भए पनि कोभिड– १९ को परीक्षणको दायरामा भने नेपाल र भूटान जस्तै बढी नै रहेको छ ।
नेपालले समयमा नै आफ्नो सिमाना बन्दाबन्दी गर्नु र कोभिड– १९ को परीक्षणको दायरा बढाएकाले रोकथाम र नियन्त्रणमा राम्रो भूमिका निभाएको हो । नेपालले गत चैत ११ गतेदेखि अन्तरराष्ट्रिय सीमा बन्द गर्दै लकडाउन गर्दै आइरहेको छ । अहिलेसम्म भारतमा ८९ प्रतिशत भू–भागमा कोभिड– १९ को सङ्क्रमण देखिएको छ । भारतमा अहिले एक हजार २२३ व्यक्तिले ज्यान गुमाइसकेका छन् । यसैगरी पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोभिड– १९ ले निधन भइसकेको छ ।
नेपालसहित भूटान र माल्दिभ्समा परीक्षणको दायरा बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिएका छन् । कोरोना रोकथाममा भूटान र माल्दिभ्सपछि नेपालको स्थिति रहेको उनले बताएका छन् । कोरोनाका कारणले एक जनाको निधन भएपछि माल्दिभ्समा परीक्षणको दायरा बढी नै रहेको छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ । यस्तै भूटानमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा गरिएको छ । भूटान र माल्दिभ्स कम जनसङ्ख्या भएकाले १० लाखमा परीक्षणको दायरा बढी देखिएको हो ।
“जनसङ्ख्याको हिसाबले सबभन्दा बढी परीक्षण नेपालमा रहेको छ”, मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भने, “तर भूटान र माल्दिभ्समा कम जनसङ्ख्या भएकाले १० लाखका हिसाबले परीक्षण गराउनेको सङ्ख्या बढी देखिएको हो, समग्रमा हामीले नै बढी परीक्षण गराएका छौँ ।” नेपालसँग सीमा जोडिएको छिमेकी मुलुक भारतमा प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण गरिएको छ । नेपालपछि श्रीलङ्कामा एक हजार ४७, पाकिस्तानमा ८२५, बङ्गलादेशमा ४२६, अफगानिस्तानमा २७२ जनामा परीक्षण गरिएको छ ।
दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । नेपालमा गत माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो । (रासस)
काठमाडौँ, २१ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण बन्द रहेका सामुदायिक तथा निजी विद्यालयलाई वैशाख २५ सम्म जारी बन्दाबन्दी (लकडाउन) अघि अनलाइनबाट विद्यार्थी भर्ना नलिन निर्देशन दिइएको छ ।
बन्दाबन्दीको अवस्थासम्म हेर्न सरकार तथा निजी विद्यालयका संस्थाहरूले विद्यालयलाई आह्वान गरेका छन् । कतिपय निजी क्षेत्रका विद्यालयले अनुमतिबेगर अनलाइनबाट भर्ना लिन थालेको र वैशाख महिनाको समेत शुल्क लिन थालेको गुनासो बढेपछि सरकार तथा निजी विद्यालयका संस्थाहरूले पनि अहिले अनलाइन भर्ना नलिन निर्देश दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीका पुरीले कसैलाई पनि अनलाइनमा विद्यार्थी भर्ना लिन नभनिएको बताएका छन् । देशभरका प्याब्सन मातहतका विद्यालयले भर्ना नलिने उनको भनाइ छ ।
“अनलाइनबाट विद्यार्थी भर्ना लिने कुरा सम्भव तथा व्यावहारिक छैन । बन्दाबन्दीको विषयमा सरकारबाट जारी निर्देशन उल्लङ्घन गर्ने कुरा पनि भएन”, प्याब्सन अध्यक्ष पुरीको भनाइ छ । बन्दाबन्दीको विषयमा सरकारले वैशाख २६ पछि लिने निर्णय हेरेर अघि बढ्ने उनको भनाइ छ । सरकारबाट बन्दाबन्दी आंशिक रूपमा मात्रै खुलाउने, सामाजिक दूरी कायम गर्ने हिसाबले अभिभावक विद्यालयसम्म आउने वातावरण नबनेसम्म विद्यार्थी भर्ना लिन नहुने प्याब्सनले जनाएको छ । प्याब्सनले आफू मातहतका धेरै विद्यालयले विद्यार्थीको नतिजा भने प्रकाशित गरेको जनाएको छ । वैशाख १९ सम्म नतिजा प्रकाशित गर्न प्याब्सनले मातहतका विद्यालयलाई निर्देशन दिएको थियो । (गोरखापत्रबाट )