काठमाडौं, बैशाख २१ । लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ ।
कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।
जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोनं) मा विभाजन गरिनेछ ।
ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिने आजको राजधानी दैनिकमा खवर छ ।
काठमाडौं, बैशाख २१ । सरकारी निकायमा नयाँ भर्ना स्थगित गर्ने सरकारको निर्णयले करिब आठ हजार नयाँ कर्मचारीको भर्ना तत्कालका लागि रोकिएको छ।प्रकाशनको तयारीमा रहेका कतिपय विज्ञापन पनि रद्द गर्ने तयारी भइरहेको छ ।
गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणले निम्त्याएको समस्यापछि प्रशासनिक खर्च कम गर्न नयाँ भर्ना रोक्न लोकसेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको थियो । यसबाट निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूको भर्ना प्रक्रिया प्रभावित हुने भएको छ।
सरकारको निर्णयले सुरक्षा निकायका पाँच हजार तथा निजामती सेवातर्फ करिब तीन हजार भर्ना प्रभावित हुने भएको आजको नयाँ पत्रिका दैनिकमा खवर छ ।
काठमाडौँ, २१ वैशाख । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताएका छन् ।
प्रवक्ता डा. खतिवडाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा (मे ३) शुभकामना दिदै भन्नुभएको छ, “यद्यपि, प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन सक्दैन । यसका निश्चित दायित्व र सीमाहरू हुन्छन् । ” उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको चर्चा गर्दै नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण गरेका छन् । उनले सन्देशमा भन्नुभएको छ, “नेपालको संविधानमा सर्वसाधारण नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक सुनिश्चित गरिएको छ । ”सन्देशमा यी अधिकारहरूलाई सहजीकरण गर्न सञ्चारमाध्यमलाई सूचनाको खोजी गर्ने छुट हुने उल्लेख गर्दै भनिएको छ, “प्रकाशन/प्रसारण गर्ने, राज्यका निकायहरूको काम कारबाहीलाई निगरानी राख्ने छुट दिइएको हुन्छ, जसलाई हामी प्रेस स्वतन्त्रता भन्छौँ ।
” उनले कोरोना भाइरस (कोभिड–१९) पछि बन्दाबन्दीको असहज अवस्थामा पनि जनतालाई सुुसूचित गर्न खटिएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको उच्च प्रशंसा गरेका छन् । उनले व्यावसायिक धर्म निर्वाह गर्दा जीवन गुमाउनुहुने सञ्चारकर्मीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आउनुभएका सबैमा हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन् । हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्र दिवस मनाउने निर्णय गरेको हो । (गोरखापत्रबाट )
सिन्धुपाल्चोक, बैशाख २१ । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सामान आयात हुन थालेपछि विवाद बढेको छ ।चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलिरहेकाले सामान आयात गर्न नहुने भन्दै विवाद बढेको हो ।
बल्लतल्ल खुलेको नाकाबाट स्वास्थ्य र खाद्यान्न आयात गर्नुपर्ने पक्षमा भोटेकोसी गाउँपालिका रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ — कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि देशभर लकडाउन गरिएसँगै सडकमा अनुमति प्राप्त र अत्यावश्यक सवारी साधन मात्र गुडिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जनपद, सशस्त्र र ट्राफिक प्रहरीले प्रत्येक सवारी साधनको गन्तव्य तथा अनुमति लिए–नलिएको जाँच गर्दै आएका छन् ।
अनुमति नलिएका सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुुसार ३९ दिनयता लकडाउन उल्लंघन गर्ने १८ हजार २ सय ८१ वटा दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमध्ये ६२ वटा सवारी साधन सम्बन्धित धनीलाई बुझाउन बाँकी रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले लकडाउनको पहिलो दिन सबै सवारी साधनलाई जुन बाटो आएको हो, त्यही बाटो फर्काएकाले त्यस दिन कुनै पनि सवारी साधन कारबाहीमा नपरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । ‘लकडाउनको पहिलो दिन सवारी साधनलाई फर्काइयो,’ उनले भने, ‘दोस्रो दिन धेरै सवारी साधन होल्ड गरियो, त्यसपछि बिनाइजाजत सवारी साधन सञ्चालनमा कमी आयो ।’ उनका अनुसार कतिपय मानिस विभिन्न बहाना बनाएर सडकमा निस्कँदा आवश्यकले समेत दु:ख पाउने गरेका छन् ।
लकडाउन भए पनि उपत्यकामा एक सय ७५ वटा सवारी दुर्घटना भएका छन् । जसमा आठ जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन् । एक सय १८ जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ । महाशाखाले दुई हजार दुई सय सवारी पासलाई जफत गरेको छ । महाशाखाका अनुसार खारेज गरिसकिएको र समय नाघिसकेको पासलाई जफत गरिएको हो ।
१४ दिन क्वारेन्टाइनमा बसेकालाई अनिवार्य परीक्षण गर्नुपर्छ । अहिलेसम्म जिल्लामा प्रदेश स्वास्थ्य निर्देशनालयबाट चारपटक गरेर १ हजार १ सय २० थान किट मात्र आएको थियो ।
‘१० वटै स्थानीय तहलाई आवश्यकता सोधेर वितरण गरियो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख योगेन्द्र भगतले भने, ‘अहिले हामीसँग एउटा पनि किट बाँकी छैन । १० दिनअघि नै सकिएको हो ।’ किट अभावबारे निर्देशनालयमा जानकारी गराएको भए पनि कहिले पठाउने भन्ने टुंगो नभएको उनले बताए ।
विजयनगर गाउँपालिकामा पनि पर्याप्त किट नहुँदा समस्या छ । ‘गाउँपालिकाको क्वारेन्टाइनमा ९८ जना छन्,’ स्वास्थ्य शाखा संयोजक यज्ञ अधिकारीले भने, ‘किट २२ वटा मात्रै छ ।’ त्यसैले क्वारेन्टाइनमा रहेका एकाघरका जति जना भए पनि एक जनाको मात्रै आरडीटी परीक्षण गर्ने योजना बनाइएको उनले बताए । ‘१४ दिन पूरा भएपछि एक दिन पनि बस्न मान्दैनन्,’ उनले भने, ‘त्यही भएर यस्तो निकास खोजेका हौं ।’ महाराजगन्ज नगरपालिकाको स्वास्थ्य शाखासँग पनि आठ वटामात्रै किट बाँकी छन् । त्यहाँको क्वारेन्टाइनमा ३५ जना बसेका छन् । ‘२ सय २० वटा किट आएको थियो,’ स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवारले भने, ‘कसरी काम गर्ने भनेर तनावमा छौं ।’ कार्यविधिले परीक्षण नगरी छाड्नै मिल्दैन । जिल्लामै आरडीटी नभएपछि समस्या भएको उनले बताए । शिवराज नगरपालिकामा पनि किट अभाव छ । १ सय २ जना क्वारेन्टाइनमा छन् । किट एक चौथाइ पनि छैन ।
बढी जोखिम भएको भारत र कैलालीतिरबाट आएकाको काठमाडौं पठाएर पीसीआर परीक्षण गरेर मात्र क्वारेन्टाइनबाट छाड्ने नीति बनाइएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चूडामणि भट्टराईले बताए । यसका लागि समय र खर्च बढी लाग्ने उनले बताए । १७ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि शनिबार छाडिएको उनले बताए । कपिलवस्तु नगरपालिकामा पनि किट अभाव छ । ‘७० वटा आएको थियो,’ स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले भने, ‘दुई/चारवटा मात्रै बाँकी छन् ।’ यहाँ त प्रहरी हिरासतमा राख्नुपर्दा पनि आरडीटी गरेर मात्र राखिन्छ ।
अदालतको आदेशमा थुनामा पठाउँदा पनि आरडीटी गरिन्छ । त्यसका लागि समेत अभाव रहेको उनले बताए । ‘माथिल्लो निकायमा जानकारी गराएका छौं,’ उनले भने, ‘कहिले आउने हो, थाहा छैन ।’ किट अभावबारे प्रदेश सरकारलाई जानकारी गराएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।
वि.सं.२०७७ साल वैसाख २१ गते । आइतबार । ईश्वी सन् २०२० मे ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– एकादशी,५३ घडी ०२ पला,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त द्वादशी । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाइको इमान्दारिताको कदर सबैले गर्नेछन् । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसि समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग मनमुटाव हुने तथा आफन्तको साथ पाइने छैन । कृषि तथा सहकारी व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेकोछ । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पतित पत्निबित एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागि हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामान्य काममा लल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धि समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय भट्ना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेकोछ । आफूलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाइ लेखाइमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा आध्यात्मक क्षेत्रमा मन जानेछ । पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर लैजानु होला । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदी बहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईदेखि टाढिन सक्छन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशी भएको महशुस गर्नेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फुर्त रुपमा सकारात्मक दिशामा अगाडि बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।
काठमाडौँ — नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउने निर्देशिका बनाइनु पर्ने बताएकी छन् । उनले सरकारले व्यवस्था गरे पनि निर्देशिका बनाएमा अझै उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरुले खटिने बताइन् ।
नर्सहरु घर गृहस्थी तथा फ्रन्टलाइनमा पनि खटिनुपर्ने भएकाले सेवा सुविधा बढाउने कुरामा ध्यान दिनुपर्ने र शंका लागेको खण्डमा स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने आग्रह गरिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङका क्रममा बोल्दै अध्यक्ष राईले कोरोना महामारीको उपचारमा संलग्न हुने नर्सहरुले चुनौतीमात्र नभइ अवसरको रुपमा लिएको बताइन् ।
उनले भावी योजनाको रुपमा नर्सिङ तथा स्वास्थ्य शिक्षा प्रयोगात्मक रुपमा लानुपर्ने कुरा कोरोना कहरले सिकाएको बताइन् ।
काठमाडौं, २० वैशाख : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मआलोचना गरेका छन्।
शनिबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गल्तीहरुप्रति आत्मआलोचना गरेको प्रवत्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ
काठमाडौं- पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व. भरतमोहन अधिकारी स्मृती फाउण्डेशनले बजेट सम्बन्धी भर्चुअल सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा पूर्व अर्थमन्त्री, अर्थविद् एवम् नेताहरुको सहभागिता रहेको थियो । जसमा पूर्व अर्थमन्त्रीद्वय डा. प्रकाश चन्द्र लोहनी र जनार्दन शर्मा अर्थविद्हरु डा. गोविन्द बहादुर थापा,स्वर्णिम वाग्ले, विश्व पौडेल, डा. रामकुमार फुँयाल, डा. रमेश पौडेल र महिला नेत्री राम कुमारी झाक्रीले आ आफनो राय पेश गरेका थिए । सम्मेलनका क्रममा बजेटको आकार, प्राथमिकताको क्षेत्र, विगतका कमीकमजोरी, भावी कार्यदिशा लगायतका बिषयमा सवाल उठान भएको थियो । वत्ताहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, शुसासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका थिए । अर्चुअल अन्तरक्रियामा उनीहरुले राजनीतिक नेतृत्व र नीति निर्माण तहमा रहेका अगुवाहरुले परिवर्तनको भावनाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।
कार्यक्रममा पूर्वअर्थमन्त्री एवं राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोना महामारीलाई आर्थिक विकासमा फड्को मार्ने अवसरका उपयोग गर्न सकिने विश्वास व्यक्त गरे । उनले दोश्रो विश्वयुद्धपछि अमेरिकाले र १०९० को आर्थिक महासंकट र भारतले गरेको नीतिगत परिवर्तनको उदाहरण पेश गर्दै कसरी उनीहरुले आर्थिक अवस्था अनपेक्षित रुपमा उकास्न पुगे भन्ने फेहरिस्त प्रस्तुत गर्दै नेपालले पनि चुनौती माझ विकास अवसरलाई पकडन सक्नुपर्ने बताए । उनले राजनीतिक प्रणालीमा भएको परिवर्तनले जनताको आकांक्षा सम्बोधन गर्न नसके नेपाल बर्बादीको दिशामा जाने चेतावनी दिए । डा. लोहनीले सरकारी खर्चमा भ्रष्टाचार र कमिशनतन्त्र हाबी रहेको भन्दै रानजनीतिक नेतृत्वमा अनुशासन नआएसम्म आर्थिक विकास नहुने स्पष्ट गरे । ‘राजनीतिक नेतृत्वमा हुनेहरुले आयातबाट आउने राजश्वबाट देश चलेकै छ । रेमिट्यान्स आएकै छ, हेलिकोप्टर र गाडीमा हिंड्न पाइएकै छ भन्ने सोच नत्यागेसम्म आर्थिक विकासमा फड्को मार्न सम्भव छैन’, लोहनीले भने । उनले आगामी बजेट खर्च घटाउने र लगानी बढाउने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए । कोरोना महामारीका कारण विप्रेषण घटेको र पर्यटनबाट आम्दानी बन्द भएको अवस्थाले अर्थतन्त्रलाई धक्का लाग्ने उनको भनाइ थियो । उनले महामारी अझै लम्बिए मध्यपूर्वी मुलुकहरुमा मजदुरीका लागि गएका लाखौं युवा स्वदेश फर्कने भन्दै उनीहरुलाई नेपालमा रोजगारीको अवसर सिर्जना काममा सरकार अहिल्यैदेखि लाग्नुपर्ने उल्लेख गरे । ती युवालाई कृषि क्षेत्रमा लगाउन सकिए अर्थतन्त्रमा ठूलो परिवर्तन आउने डा. लोहनीको विश्वास छ ।साथै उनले स्व. अर्थमन्त्री भरतमोहन अधिकारीले जसरी जनमुखी बजेट प्रस्तुत गरि बजेट प्रणालीमा नयाँ आयाम थपे उसै गरि अहिलेले परिस्थितीलाई मध्यनजर राख्दै सापेक्ष बजेट निती ल्याउन सरकारलाई आग्रह गर्न चाहेको बताए ।
कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले जतिसुकै राम्रो बजेट ल्याए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको औंल्याए । उनले पारदर्शिता र सुशासनको अभावमा जतिसुकै राम्रो बजेट ल्याए पनि आर्थिक विकास र समृद्धि सम्भव नरहेको स्पष्ट गरे । उनले सरकारले ठूला–ठूला कुरा मात्र गर्ने र गर्नैैपर्ने आधारभूत काममा ध्यान नदिएको आरोप उनले लगाए । ‘हाम्रोमा नेतृत्वको संकट छ । व्यवस्था परिवर्तन भए पनि शैली पुरानै छ । भ्रष्टाचार र फजुल खर्च बढेको छ’, शर्माले भने, ‘सरकारको नीति एकातिर, बजेट अर्कोतिर हुने समस्या छ, यसलाई सच्याउनुपर्छ ।’ उनले पूर्वाधार निर्माण र उत्पादन क्षेत्रमा युवा जनशक्ति परिचालन गर्नुपर्नेमा जोड दिए ।
नेपालको आफ्नै मौलिक विकास नीति नरहेको चर्चा गर्दै शर्माले अरुको नक्कल नगरी समुदायमा आधारित विकासको मोडलमा जानुपर्ने विचार व्यक्त गरे । आर्थिक विकासका लागि पुँजी पलायन रोक्नुपर्ने र बैंकहरुले सीमित स्वार्थी समूहका लागि मात्र लगानी गर्ने प्रवृत्ति तोड्नुपर्ने स्पष्ट गरे ।
नेकपा नेतृ एवं प्रतिनिधिसभाको अर्थ समितिकी सदस्य रामकुमारी झाँक्रीले पपटकपटक व्यवस्था परिवर्तन भए पनि पहुँचवालाले आफ्नो क्षेत्रमा विकास बजेट खन्याउने प्रवृत्ति हाबी रहेको बताइन् । उनले शक्तिशाली नेता, मन्त्री र सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएर विकास बजेट लैजाने प्रतिस्पर्धा रोकिनुपर्ने बताइन् । ‘पहुँचवालाले आफ्नो क्षेत्रमा बजेट अन्याएर विकासको रोल मोडल र हिरो बन्ने प्रवृत्ति छ’, झाँक्रीले भनिन्, ‘यसरी हुँदैन, समग्र मुलुकको विकासको स्पष्ट खाका बनाएर बजेट विनियोजन हुनुपर्छ ।’ उनले कोडिड–१९ महामारीका कारण वैदेशिक दाताहरु ऋाफैं समस्यामा रहेको, विप्रेषण घट्ने अवस्थामा बजेटको आकार थप बढाउने तायरी भइरहेको सूचना आफूले पाएको भन्दै आपत्ति जनाइन् । ‘विकास बजेट खर्च नगर्ने, साधारण खर्च बढाउने कामले आर्थिक अपारदर्शिता बढाउँछ’, उनले भनिन् । झाँक्रीले कोभिड–१९ का कारण लाखौं मजदुर रोजगारी गुमाएर फर्कने तयारीमा रहेको र उनीहर फर्कंदा मुख र पेट पनि सँगै लिएर आउने भएकाले मुलुकलाई थप व्ययभार थपिने उनको भनाइ थियो । झाँक्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, युवा स्वरोजगार, राष्ट्रपति शैक्षिक कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाउँदै कि बन्द गर्न कि प्रभावकारी बनाउन माग गरिन् । ‘प्रधानमन्त्री कृषि कार्यक्रममा गोरु चराइरहेको, नाली सोहोरिरहेको तस्वीर देखियो’, झाँक्रीले भनिन्, ‘त्यो दुरुपयोग हो ।’ झाँक्रीले ती कार्यक्रम प्रभावकारी बनाउन नसकिए त्यसमा लगानी गर्ने रकम कृषि क्षेत्रमा गर्न माग गरिन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्मिण वाग्लेले विनियोजित बजेट खर्च गर्न नसक्नु नेपाली अर्थतन्त्रको ठूलो रोग भएको बताए । उनले कोभिड–१९ महामारीले सार्वजनिक स्वास्थ्य, शिक्षा, कृषि र सहकारी क्षेत्रमा राज्यको लगानी बढी केन्द्रित हुनुपर्ने विषयलाई थप पुष्टि गरेको धारणा राखे । डा. वाग्लेले कम उपयोगिता देखिएका क्षेत्रको बजेट कटौती गरी बढी उपयोगिता भएका क्षेत्रमा छुट्याउन सुझाव दिए । कोभिड–१९ पछि सबैभन्दा बढी प्रभावित भएका पर्यटन, यातायात र मनोरञ्जन क्षेत्रका लागि राहत हुने गरी बजेट आउनुपर्ने उल्लेख गरे । उनले धेरै मानिस महामारीको त्रासले गाउँ पसेको भन्दै कृषिमा आकर्षित गर्ने उपयुक्त समय यही भएको औंल्याए । डा. वाग्लेले हरेक संकटले अवसर पनि सँगै लिएर आउने भन्दै ती अवसरको सदुपयोग गर्न सरकारलाई सुझाव दिए ।
अर्थविद एवं अर्थ मन्त्रालयमा विज्ञ सल्लाहकार रहेर काम गरिसकेका डा. गोविन्दबहादुर थापाले पुराना करदातासँग मात्र कर लिने, उनीहरुसँग मात्र जरिवाना मिले प्रवृत्ति परिवर्तन गर्दै नयाँ आएका व्यवसायलाई पनि करको दायरामा ल्याउन सुझाव दिए । डा. थापाले आयातमा आधारित राजश्वले मात्र मुलुकको अर्थ व्यवस्था धान्न नसक्ने उल्लेख गरे । विप्रेषण र आयातमुखी राजश्वको भविष्य राम्रो नरहेको अवस्थामा नीतिगत परिवर्तन जरुरी रहेको औंल्याए । डा. थापाले विप्रेषणबाहेक वैदेशिक मुद्रा भित्र्याउने अरु विकल्पको खोजी गर्नुपर्ने उल्लेख गरे । राजश्व न्यायाधीकरणका क्षेत्रमा रहेका समस्या समाधानका साथै करदाता र करप्रशासनबीको सम्बन्ध सुधारमा केन्द्रित गरेर कार्यक्रम ल्याउन उनले आग्रह गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले मुलुक संघीय ढाँचामा गएका कारण प्रशासनिक संरचना निर्माण गर्नुपरेका कारण चालु आर्थिक वर्षमा साधारण खर्च बढेको बताए । उनले कोभिड–१९ कहिलेसम्म लम्बिने भन्ने अन्योलका कारण आगामी आर्थिक वर्षको बजेटमा कस्ता कार्यक्रम समेट्ने भन्ने निक्र्योल गर्न अप्ठ्यारो रहेको बताए ।
अर्थविद डा. विश्व पौडेलले बजेटको आकार घटाउन सुझाव दिए । बजेटको आकार ठूलो थर, खर्च कम गर्ने विगतको समस्या रहेको औंल्याउँदै उनले बजेटको आकार गत वर्षको भन्दा घटाउनुपर्ने बताए । पौडेलले १० देखि ११ खर्बको बजेट ल्याउँदा ठीक हुने उल्लेख गरे ।
अर्का अर्थविद एवं त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका सह–प्राध्यापक डा. रमेश पौडेले युवाहरुलाई मुलुकभित्रै मजदुरी गर्न अभिप्ररित गर्नुपर्ने बताए । ‘एउटा मजदुरले नेपालमा कम्तिमा एक हजार आफ्नै परिवारसँग घरमै बसेर सजिलै कमाउन सक्छ’, पौडेलले भने, ‘तर किन दैनिक एक हजारभन्दा कम कमाउनका लागि परिवार छाडेर मलेसियातिर युवाहरु आकर्षित भइरहेका छन् । रानजीतिक नेतृत्व र नीति निर्माण तहमा बस्नेहरुले यसको समीक्षा गर्न जरुरी छ ।’ उनले कोरोना महामारीका कारण विदेशबाट धेरै नेपाली फर्कने र उनीहरुसँगै पैसा पनि आउने भएकाले श्रम र पैसाको लगानी कहाँ र कसरी गर्ने भन्नेबारे अहिल्यैदेखि योजना बनाउन जरुरी रहेको औंल्याए । उनले बजेटमा कृषि क्षेत्रलाई सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरे । डा. पौडेलले लकडाउनका कारण महामारी रोक्ने काममा सफलता मिले पनि लामो समय लकडाउनको अवस्थाले अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताए ।
स्व. भरतमोहन अधिकारी स्मृती फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीको अध्यक्षता सम्पन्न उक्त सम्मेलनमा फाउण्डेशनका सल्लाहकार केशव आचार्य र सदस्य लिमा अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औं जन्मजयन्तीको अवसर पारेर उक्त सम्मेलन आयोजना गरेको हो । स्व. अधिकारीलाई जनप्रेमी एवम सफल अर्थमन्त्रीका रुपमा लिईने गरिन्छ ।