generalnews
||Power News Asia||

आजको समाचार

मौसम पूवार्नुमानः पश्चिमी भूभागमा पूर्ण बदली, अन्यत्र कस्तो ?

समाचार


काठमाडौँ – देशको पश्चिमी भूभागमा शुक्रबारको मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ ।

पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पूर्वआईजीपी खनालविरुद्ध ३ मुद्दा

समाचार


काठमाडौँ — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालमाथि राष्ट्रिय मानव अधिकार आयोगमा व्यक्ति हत्या र अपहरण तथा शरीर बन्धकसम्बन्धी तीन वटा कसुर छानबिनको घेरामा परेका छन् । 

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको वैशाख १० गते रातिको अपहरण प्रकरण, प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र ‘गुन्डा नाइके’ कुमार घैंटेको ‘नक्कली इन्काउन्टर’ सम्बन्धी घटनामा प्रहरीले अनुसन्धान गर्न नमानेपछि तीन वटै उजुरी आयोगको कसीमा पुगेको हो ।

उजुरी लिएर प्रहरीमा पुगे पनि कसुर दर्ता नभएपछि पीडितहरू आयोगको शरणमा पुगेका हुन् । सांसद यादवले बिहीबार खनालसहित सत्तारूढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा उजुरी दिएका छन् ।

यसबाहेक आयोगमै कुमार पौडेलको २०७६ असार ५ मा सर्लाहीको लखन्ती र २०७२ भदौ २ मा कुमार घैंटेको सामाखुसीमा नक्कली इन्काउन्टर गरिएको प्रकरण आयोगमै विचाराधीन छ । पौडेलको हत्या प्रकरणमा पूर्वआईजीपी खनालका तीन जना घुमुवा कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय सत्यनारायण मिश्र र श्रीविनोद साहलाई आयोगले कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न निर्देशन दिएको थियो । 

गोली हानी हत्या गर्न आदेश दिनेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आयोगले निर्देशन दिएको थियो । त्यसबेला तीनै जना प्रहरी खनालका घुमुवा बनेर प्रदेश २ का जिल्लामा खटिएका थिए । तर, खनाल बहालमा रहँदासम्म आयोगको निर्देशनको अवज्ञा भयो ।

उनले अवकाश पाएपछि करिब तीन महिनासम्म पनि आयोगको उक्त निर्देशन पालना भएको छैन । घैंटेको गैरन्यायिक हत्या प्रकरणबारे अहिले पनि आयोगले अनुसन्धान गरिरहेको जनाएको छ । घैंटेको नक्कली इन्काउन्टर पनि खनालकै आदेशमा भएको उजुरीको छानबिन अन्तिम चरणमा पुगेको आयोगको भनाइ छ ।

पूर्वआईजीपी खनाल सांसद अपहरण प्रकरणमा समेत मुछिएका छन् । यो विवाद पनि प्रहरीले अनुसन्धान गर्न नमानेपछि आयोगमै पुगेको हो । आयोगका सदस्य मोहना अन्सारीले सांसद अपहरणको बिहीबार उजुरी परेको र यस सम्बन्धमा आयोगको बैठक बसेर अनुसन्धान अघि बढाइने बताइन् । 

अन्सारीले कान्तिपुरसँग भनिन्, ‘पूर्वआईजीपी खनाललाई नै प्रतिवादी बनाएर यसअघि पनि दुई वटा उजुरी परेकामा एउटा कार्यान्वयन गर्न निर्देशन दिएको र अर्को निर्णय हुन बाँकी छ ।’ सांसद अपहरण प्रकरणमा बयान हुँदा आरोप लगाइएका व्यक्तिलाई यसअघिका घटनामा के-कसो भएको हो भनेर थप बुझ्ने उनले स्पष्ट पारिन् ।

‘आयोगका निर्णय र निर्देशन देखाउनका लागि मात्रै होइन, पालना हुनुपर्छ । दोषी देखिए सजाय पनि भोग्नुपर्छ,’ उनले भनिन्, ‘गल्ती गर्नेलाई कुनै पनि हालतमा उन्मुक्ति र संरक्षण कतैबाट पनि नहोस् भन्ने पक्षमा आयोग स्पष्ट छ ।’ आयोगले घैंटेको इन्काउन्टर प्रकरण अनुसन्धानमा प्रहरीको विधिविज्ञान प्रयोगशालासँग प्राविधिक सहयोग र प्रमाणहरू मागेको थियो ।

तर, त्यस्तो प्रमाण नभएको जवाफ प्रहरीले आयोगलाई दिएको थियो । आयोगका सदस्य अन्सारीले सांसद अपहरण प्रकरण छानबिन हुँदा कुमार पौडेल र कुमार घैंटेसँग जोडिएको उजुरीको पनि सोधखोज हुने स्पष्ट पारिन् । ‘आदेशअनुसार काम नभए त सोध्छौं नि, गैरन्यायिक घटनामा आदेश दिने, आदेश पालना गर्ने र गैरकानुनी गतिविधिमा संलग्नलाई किन कारबाही भएन भनेर पक्कै सोध्छौं,’ उनले भनिन् ।

अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

समाचार


अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ ।निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरकफरक निर्धारण गरिएको छ । जसअनुसार ‘क’ वर्गको वायुसेवा सञ्चालनका लागि एक अर्ब रुपियाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालनका लागि ५० करोड रुपियाँ चुक्ता पुँजी निर्धारण गरिएको छ ।यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रतिविमान १० करोड रुपियाँ चुक्ता पुँजी पु¥याउनुपर्ने छ । कम्पनी रजिस्ट्रार कार्यालयबाट तोकिएको चुक्ता पुँजी पूरा भएको विवरण पेस गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई !

समाचार


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो ।

२५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको हो ।

विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइएको छ । प्रतिवेदन उच्चस्तरीय समितिमा र क्याबिनेटमा लैजाने शिक्षामन्त्री

पोखरेलले बताए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको हो ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । यस्तै, एसईई र कक्षा १२ को परीक्षा एउटै समय दुई सिफ्टमा गर्न पनि सिफारिस गरेको छ ।

आजको राजधानी दैनिकमा समाचार छ ।

आजको राशिफल : वैशाख १९ गते, शुक्रबार

समाचार


वि.सं.२०७७ साल वैशाख १९गते । शुक्रबार । ईश्वी सन् २०२० मे ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । वैसाख शुक्लपक्ष । तिथि– अष्टमी, श्रमिक दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमा तथा आफन्तसँग साना साना कुरामा राय बाजिनेछ भने साथीभाइसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । समयमा काम नबन्ने हुनाले आर्थिक क्षेत्र कमजोर रहनेछ । तरपनि कृषि तथा पशुपालन पेशा व्यवसायमा लगानि गरि आम्दानी गर्न सकिनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक असमझ्दारीले कामहरु गर्न केही कठिनाई हुनेछ भने दाजुभाइसँग विवाद बढ्ने योग रहेकोछ । कुनै पनि काम गर्नको लागि गरिने यात्रा कष्टप्रद हुन सक्छ । व्यापारमा लगानी गरिहाल्ने समय रहेको छैन । प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले अविश्वास बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आट तथा पराक्रम गर्न नसक्दा हातमै आउन लागेको काम फुत्कनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुटुम्व तथा बोलि भावमा गोचर गर्ने चन्द्रमाले कुटुम्वसँगको बिग्रेको सम्बन्ध सुधार गर्न सकिनेछ भने बाेलिको माध्ययमबाट राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । परिवारका साथ स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन कटाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । स्वअध्ययनले विद्यार्थीहरुले मेहनत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाव बढ्नेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बुवाको धन परिचालन गरि लाभ लिन सकिनेछ । दाजुभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरी तथा जागिरमा आफ्नै कमजोरिले समस्या आउनेछ । कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसाय खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमि हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरि नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गर्नु पर्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा दिदीबहिनिसँग साना कुरामा राय बाजिनेछ भने घमण्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरु हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलिमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरु टाढिनेछन् । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरित लिंग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । तरपनि सरसफाइमा ध्यान दिनुहोला ।

सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न मन्त्री पोखरेलको सुझाव

समाचार


काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् ।रासस File Photo

नागढुंगामा बन्यो ‘स्यानिटाइजिङ टनेल’, शुक्रबार उद्घाटन

समाचार


काठमाडौंको मुख्य नाका नागढुंगामा आधुनिक ‘डिसइन्फेक्सन टनेल’ निर्माण गरिएको छ। काठमाडौंमा कोरोनाभाइरस नभित्रियोस् भन्ने उद्धेश्यले गाडीहरूलाई निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन टनेल’ बनाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको हो। सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको छ भने चन्द्रागिरि नगरपालिकाले स्थान,पानीको व्यवस्थापन सुरक्षा प्रवर्द्धन गरिएको मेयर घनश्याम गिरीले बताए। सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले केन्द्र सरकार, चन्द्रागिरि नगरपालिकाबाट अनुमति लिएर ‘डिसइन्फेक्सन टनेल’ बनाइएको र शुक्रबार औपचारिक रूपमा उद्घाटन हुने बताए।  टनेलको सुरक्षा र सञ्चालन महानगरीय प्रहरी प्रभाग नागढुंगाले गर्ने भएको छ।टनेल निर्माणपश्चात् राजधानी भित्रने सवै सवारी साधन निस्संक्रमण गर्न ‘डिसइन्फेक्सन भए पछि मात्र राजधानी प्रवेश गर्न पाउने छन्। काठमाडौं भित्रिने गाडी यही टनेलमार्फत् गुड्नुपर्ने छ। टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ जसका कारण कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ।

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि प्रस्ताव आह्वान

समाचार


सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको हो । आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि देहायबमोजिमको कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्तापूँजीसम्बन्धी विवरण पेस गर्नुपर्नेछ । प्रस्तावमा ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न, रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्तापूँजी हुनुपर्ने जनाइएको छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लिखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय उडान सञ्चालनयोग्य आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव माग गरिएको सो मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । उहाँले सन्निकट अवस्थामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा रहेको र अहिले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउनको अवस्थामा थुप्रै अन्तर्राष्ट्रिय उडान (कार्गो, चार्टर्ड र सेडुअल) गर्नुपर्ने भएकाले प्रस्ताव आह्वान गरिएको बताउनुभयो । “लकडाउनपछि छिट्टै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनेछ, त्यहाँबाट नजिकका अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न चाहने वायुसेवा कम्पनीका लागि पनि यो प्रस्ताव मागिएको हो, अर्कोतर्फ अहिले धेरै कार्गो तथा चार्टर्ड उडान गर्नुपर्ने बाध्यता भएकाले पनि इच्छुक कम्पनीलाई इजाजत दिनका लागि प्रक्रिया अघि बढाइएको हो”, सह–सचिव आचार्यले भन्नुभयो । अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् । नेपालमा अहिले निजी क्षेत्रका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये यति एयरलाइन्सले ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको थियो । उक्त कम्पनीले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन ।त्यस्तै बुद्ध एयरले भारतको बनारस र कोलकात्तामा उडान गर्ने गरेको छ । पछिल्लो पटक लकडाउनको अवधिमा यी तीनवटै कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् । श्रीले सिङ्गापुर र सुडानमा चार्टर्ड उडान गरेको थियो भने बुद्धले बङ्गलादेशमा दुई पटक उद्धार उडान गरिसकेको छ । हिमालयले चीनको ग्वाङ्जाओ र बुहानमा चार्टर्ड उडान गरेको छ । अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको सह–सचिव आचार्यले बताउनुभयो । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिन्छ । अहिलेको ४५ दिनको प्रक्रिया सकेर पुनः खुल्ला प्रतिस्पर्धामा पनि जान सकिनेछ । आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेको बताइन्छ । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्तापूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ । “अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५” को खण्ड ६.६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्थाबमोजिम लागू हुने मन्त्रालयले जनाएको छ । योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ । मन्त्रिपरिषद्को यही वैशाख १५ गतेको निर्णयअनुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई “अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५” मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ । अहिलेको अवस्थामा भारत, बङ्गलादेशसहित दक्षिण एशिया तथा दक्षिणपूर्वी मुलुकहरु जापानलगायतबाट कार्गो र उद्धार उडानका लागि प्रेसर रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै अष्टे«लियामा पनि चार्टर्ड उडानको माग बढिरहेको छ । यो नेपाल एयरलाइन्सले गत चैत १९ मा चार्टर्ड उडान गरेको थियो भने छिट्टै अर्को चार्टर्ड उडान गर्ने तयारीमा छ । जापानमा पनि चार्टर्ड उडानको माग भइरहेको छ । त्यसैगरी भारत, बङ्गलादेश र अष्टे«लियाबाट धेरै सङ्ख्यामा विद्यार्थी नेपाल आउन चाहेकाले उडानको माग बढिरहेको छ । तर, यी उडानका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले निर्णय गर्नुपर्ने हुन्छ । चीनको चाङ्सा उड्दै हिमालय एयरलाइन्स नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले आज चीनको चाङ्सा शहरमा चार्टर्ड उडान गर्ने भएको । चाङ्साबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको न्यारोबडी जहाज आज साँझ ५ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुुहान उड्ने तालिका रहेको हिमालय एयरलाइन्सले जनाएको छ । चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडानको तयारी गरिएको कम्पनीका सेवा सुधार शाखाकी प्रमुख उज्ज्वला दलीले जानकारी दिनुभयो । लकडाउनको अवधिमा हिमालयको चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।  चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि कार्गो उडानका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएको हिमालय एयरलाइन्सले जनाएको छ । हिमालयको जहाज ग्वान्जाओबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान ६ः३० बजे काठमाडौँ आइपुग्नेछ । लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानीको हिमालयले चीनको बेइजिङ र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ । यसअघि चैत १६ र २० गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले चार्टर्ड उडानमार्फत ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याइएको थियो । पछिल्लोपटक गत वैशाख ५ गते निगमका दुई वाइडबडी जहाजले ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याएका थिए ।

सुलभ अग्रवाललाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

समाचार


कालोबजारी आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।मंगलबार उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा थुनछेक आदेश गर्दै उनलाई न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। '२५ लाख ५० हजार धरौटी दिए पुर्पक्षका लागि थुनामुक्त गर्नु भन्ने आदेश भएको छ। अग्रवालले धरौटी बुझाउँछु भन्नुभएको छ बुझाए छोड्ने तयारी छ,' उनले भने। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए।  तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। उनको नीलो नम्बर प्लेटको गाडीबाट ६६ थान थर्मल गन बरामद भएको थियो।  सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिमाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो। उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो। अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत हुन्। सामान्यतः १ वर्षसम्मको सजाय व्यवस्था रहेकाले कालोबजारीसम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ। १ वर्षमाथि कैद सजाय हुने मुद्दा भने जिल्ला अदालतमा चल्छन्। सार्वजनिक पदाधिकारी भएकाले १ वर्षमा ६ महिना बढी कैद सजाय हुन सक्ने भएकाले जिल्ला अदालतमा मुद्दा पुगेको थियो।

सांसद अपहरण प्रकरणः यादवले दिए मानव अधिकार आयोगमा उजुरी

समाचार


काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् ।

यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।

डा यादवले आफूलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।