generalnews
||Power News Asia||

आजको समाचार

ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नाटक मञ्चन

समाचार


ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन समारोहमा प्रमुख अतिथि वन तथा वातावरण राज्यमन्त्री रुपा वि.क.ले नेपालको पहिलो हरित विद्यालयले गरिरहेका उदाहरणीय कार्यहरूलाई सरकारले अनुमोदन गरी देशभर यस्ता विद्यालयहरूको विकास गर्नुपर्ने बताउनु भयो। साथै, सरकारले हरित विद्यालय अवधारणालाई नीति स्तरमै अघि बढाइरहेको हुनाले विद्यालयसँग सहकार्य गर्दै आवश्यक नीतिगत पहल गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा विशेष अतिथि तथा विद्यालयका संस्थापक संस्था बज्र फाउन्डेशन हल्याण्डका अध्यक्ष मार्टिन ओल्थोफले वातावरण क्षेत्रलाई समर्पित युवाहरुलाई हौसला प्रदान गर्न ‘बज्र इको अवार्ड’ सुरु गरिएको जानकारी गराए। यस वर्षको पुरस्कार हरिन नेपालकी संस्थापक तनुजा पाण्डेलाई प्रदान गरिने घोषणा गर्दै उहाँलाई नगद रु. ५१,००० राशिको बज्र इको अवार्ड संयुक्त रूपमा प्रमुख अतिथि राज्यमन्त्री रुपा वि.क. र विशेष अतिथि मार्टिन ओल्थोफले प्रदान गर्नुभयो। गुठीयार टीकाध्वज भण्डारीले पाण्डेले वातावरण संरक्षणको क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरूबारे प्रकाश पार्नुभयो।

दोस्रो दिनको प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. १३ का अध्यक्ष भाष्कर थापाले विद्यालय स्थापनादेखि नै प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहँदै आएको बताउँदै आफ्नो वडामा यस्तो नमूना विद्यालय स्थापना भएकोमा गर्व व्यक्त गर्नुभयो। साथै, विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले गौरव महसुस गर्नुपर्ने भन्दै विद्यालयको विकासमा जनप्रतिनिधि र वडाबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो।

नाटकमा रामचन्द्रको १४ वर्षे वनवासका क्रममा देखिने प्रकृति र मानव जीवनको सहअस्तित्व, वन्यजन्तु वानरसँगको सामीप्यता, गरूडले रामचन्द्र र लक्ष्मणलाई दिएको सूचना, अयोध्या र लङ्काबीच नदी तर्ने क्रममा नदीले बोलेको प्रसङ्ग, बगरमा रहेका ढुंगाहरूको सहयोगबाट नदी पार गरेको दृश्य, हनुमानले रामको सन्देश सीतालाई दिएको प्रसङ्ग लगायत धेरै घटनाहरू समेटिएका थिए। यी सबैले मानव जीवन र वातावरणबीचको अन्योन्याश्रय सम्बन्धलाई चित्रण गर्थे। तर, आजको युगमा विकासका नाममा मानिसले वातावरणसँगको सहअस्तित्वलाई भत्काइरहेको सन्देश नाटकले प्रवाह गर्‍यो। नाटकले दर्शकहरूलाई प्राकृतिक प्रकोपहरू न्यून गर्न र वातावरण संरक्षण गर्दै स्वस्थ जीवनयापन गर्न प्रेरित गर्‍यो।

विद्यालयका प्रधानाध्यापक जगदीश ढकालले विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सिर्जनात्मक कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो। विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले विद्यार्थीहरूले गर्ने यस्ता गहन अर्थ बोकेका कार्यक्रमहरूलाई पाठ्यक्रमसँग जोडेर गुणस्तरीय शिक्षाको प्रयोगशाला बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जानकारी दिनुभयो।

नाटक लेखन तथा निर्देशन प्रसिद्ध नाट्यकर्मी प्रभाकर न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय संगीता अधिकारी र सुनिता महर्जनले संयुक्त रूपमा गर्नुभएको थियो भने बज्र एकेडेमी शैक्षिक निजी गुठीका प्रमुख गुठीयार डोरबहादुर भण्डारीले उपस्थित विद्यार्थी, अभिभावक र अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। दुई दिनसम्म चलेको कार्यक्रममा करिब सात सय दर्शकहरूको सहभागिता रहेको थियो।

‘हरित रामायण’ नाटक पनि यही अभियानको निरन्तरता भएको विद्यालयका कार्यकारी निर्देशक भुपेन्द्र विक्रम थापाले जानकारी गराउनुभयो।

वि.सं. २०६३ मा स्थापना भएको नेपालकै पहिलो हरित विद्यालय बज्र एकेडेमीले स्थापनाकालदेखि नै वातावरण संरक्षण र दिगो विकासको क्षेत्रमा काम गर्दै आएको छ। गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासलाई मुख्य ध्येय बनाएर अघि बढिरहेको विद्यालयले हरेक वर्ष आफ्ना गतिविधिहरूबाट थप ख्याति कमाउँदै गएको छ। वातावरण नै मानव जीवनको आधार भएकाले कुनै पनि विकास प्रकृतिमैत्री हुनुपर्छ भन्ने सन्देश दिन विद्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। 

 

 

चलचित्र क्षेत्रलाई झस्काउने अदालतको हस्तक्षेप: निर्देशक समाज चिन्तित

समाचार


काठमाडौं – पाटन उच्च अदालतले मङ्गलवार सेन्सर पास हुनुअगाडि नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाएपछि चलचित्रमा अदालतको हस्तक्षेप भन्दै विरोधहरू भइरहेका छन् । यस आदेशले नेपाली फिल्म क्षेत्र र सर्जकहरूको स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भन्दै नेपाल चलचित्र निर्देशक समाजले सङ्गठित रूपमा नै आपत्ति जनाएको छ ।

समाजले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा चलचित्र अभिव्यक्तिको माध्यम भएको र चलचित्रले समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानक स्वरूप दिने परम्परा सर्वविदितै रहेको भनिएको छ । यसरी बनेका कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार, संस्कृतिलाई आघात पुर्‍यायो कि पुर्‍याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास समिति आदि सरकारी निकाय अस्तित्वमा रहेको र ती निकायहरूसँग चलचित्र रोक्न पाउने अधिकार निहित रहेकोले चलचित्रमा अङ्कुश लगाउने निवेदकको मनसायअनुरूप आदेश जारी हुँदा करोडौँ लगानी र सृजनशीलतालाई नराम्ररी झस्काएको अध्यक्ष जनक दीप पराजुलीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

चलचित्र निर्देशक समाजले ‘लाज शरणम्’ लगायत यस्तै प्रकृतिका कानुनी जटिलता खेपिरहेका अन्य चलचित्रकर्मीहरूका पक्षमा ऐक्यबद्धता जनाएको छ । समाजले चलचित्र क्षेत्रका सबै सरोकारवालाहरूलाई ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।

अदालतको कदमसँगै चलचित्र ‘लाज शरणम्’को भविष्य के हुने भन्ने अनिश्चितता बढेको छ । यस चलचित्रको बुधवार सार्वजनिक गर्न लागिएको ट्रेलर समेत स्थगित भएको छ ।

 

‘विलोल शब्द वल्लरी’मा नेपाली माटोको सुगन्ध: महेश प्रसाईं

समाचार


काठमाडौं- स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच मिलाप मासिकको आयोजनामा उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । कृतिको लोकार्पणसँगै डा.विलोलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो । गीतकार एवं निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा सञ्चारकर्मी स्वस्तिका पन्थीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शोभना पौडेलले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै स्रष्टा विलोलले विदेशमा वस्ता पनि देशमा रहेपनि मन सधै स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुची रहेकोले सिर्जना आइरहेको बताउनुभयो । लेख्दा लेख्दै थुप्रै कविता लेखेको सुनाउँदै ति सबैलाई क्रमशः पाठकमाझ ल्याउने उद्देश्यले ‘विलोल शब्द वल्लरी’ भाग-१ सार्वजनिक गरिएको जानकारी दिनुभयो । अन्य कृतिपनि क्रमशः आउँदै जाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । भावहरू, अनुभवहरू, कथाहरू आफ्नै भाषामा व्यक्त गर्ने चेष्टा गरेको सुनाउनुभयो । ‘यो भान्सले मीठा व्यन्जन पस्कन सकेन होला । तर, पनि मिठो मानेर अलिकति भुटेको करेलो मैले पस्के, घ्यू, चास्नी, कुराउनी, सखर थपेर मिठो बनाउने जिम्मा यहाँहरूको’, उहाँले भन्नुभयो ।

शुभकामना मन्तव्य राख्दै वरिष्ठ कवि महेश प्रसाईंले विलोल आफ्नो बाल्यकालदेखिको साथी रहेको बतउँदै उहाँका कवितामा नेपाली माटोको सुगन्ध रहेको जिकिर गर्नुभयो । यस्तै गीतकार संघका अध्यक्ष वसन्त थापाले गीतकार व्यक्तित्व डा. विलोलको सक्रिय गीत लेखनको प्रशंसा गर्दै संघमा जोडिन आग्रह गर्नुभयो । वरिष्ठ कलाकार लय संग्रौलाले डा. विलोल र आफ्नो सम्बन्ध र सहकार्यको चर्चा गर्दै वर्तमान राजनीतिले निराशा बनाएको चर्चा गर्नुभयो । उहाँले डा. विलोलका सिर्जनाले आशाको सञ्चार गरेको जिकिर गर्नुभयो ।

अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले आफू अध्यक्ष हुँदा डा. विलोलसँग केही कार्यक्रममा सहकार्य गरेको चर्चा गर्दै उहाँका रचनामा राष्ट्रप्रेमसँगै समाज र माया प्रेमको अभिव्यक्ति रहेको बताउनुभयो । लेकालीले ‘विलाल शब्द वल्लरी’मा रहेको एक कविता पनि वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्लले डा. विलोल आफ्नो अत्यन्त पुरानो अभिन्न मित्र, सुख दुःखको साथी रहेको भन्दै उहाँ नेपालमा रहँदा पनि विभिन्न सामाजिक कृयाकलापमा सकृय रहेको चर्चा गर्नुभयो । कलासंस्कृति, साहित्य, चलचित्र र धार्मिक कुरालाई आत्मसाथ गर्दै हिँड्ने डा. पोखरेल विसं. २०४१ सालमा कलाकारहरूले स्थापना गरेको सामाजिक संस्था ‘अभियान’मा महासचिव रहेर उहाँले गरेका कार्यको चर्चा गर्नुभयो । त्यस्तै डा. विलोले प्रशिद्ध टेलिफिल्म ‘टाढाको बस्ती’ तथा ‘चक्रव्युह’मा प्रमुख भूमिका निर्वाह गरेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि स्रष्टाकी माता धरणी पोखरेलले आफूले शिक्षण पेशमा रहँदाका अनुभव सुनाउँदै कुनैै पनि सन्ततिका सकुर्मले अभिभावकलाई सुखानुभुति हुने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै मिलापका सम्पादक कृष्ण भुसलाले साहित्यिक व्यक्तित्व डा. विलोलका सिर्जनाको चर्चा गर्दै मिलापले गरेका गतिविधिका बारेमा बताउनुभएको थियो । विगत १५ वर्षदेखि निरन्तर मिलाप प्रकाशन गर्दै आएको बताउँदै उहाँले विभिन्न व्यक्तित्वहरूको साथ सहयोगको साथले यसलाई अन्तर्राष्ट्रिय म्यागजिन बनाउन सफल भएको दाबी गर्नुभयो ।

सो अवसरमा डा. विलोलका गीतका भिडियोमा संलग्नका साथै अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्य, गीत, संगीतका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संग्रहीत छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो ।

नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘चिठ्ठी’को विशेष उपस्थिति

समाचार


काठमाडौं-विलक्षण क्रियसन प्रा.लि. र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ)को तयारी अन्तिम चरणमा पुगेको छ । यो महोत्सव यही ९ फागुनबाट ११ फागुनसम्म नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजना हुँदै छ ।
महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यस पटक २९ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका छन् । महोत्सवमा प्राप्त ७३ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विद्यार्थी चलचित्रबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका हुन् । जसमा कथानक चलचित्र सात वटा, लघु चलचित्र ७ वटा, सांगीतिक लघु चलचित्र ५ वटा, वृत्तचित्र ४ वटा, आदिवासी जनजाति चलचित्र ३ वटा, विद्यार्थी चलचित्र २ वटा रहेका छन् ।
महोत्सवमा यस पटक प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरू मध्यबाट निर्णायक टिमले फाइनलको लागि ७ वटा चलचित्र चयन गरेको हो । शँकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, जसमा दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लन्डन टु पेरिस, कृषा चौलागाई निर्देशित ऐँचो पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प रहेका छन् । संकल्प पहिलो पटक जापानमा निर्माण भएको नेपाली चलचित्र हो ।
यसै गरी यो महोत्सवमा फाइनल चरणको लागि लघु चलचित्र तर्फ रौनक विक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुसी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई र डब्बु क्षत्री निर्देशित सिगरेट रहेको छ । यी मध्य रेड, सिगरेट र हयर एम आई अप्रतियोगी चलचित्र हुन् ।
महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्र मध्य ४ वटा नेपाली वृत्तचित्र तथा बृत्तचलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुण कुमार प्रधान निर्देशित (माता ः लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर रहेका छन् ।
महोत्सवमा यस पटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँच वटा अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौ, हेमन्त शिशिर निर्देशित सँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो, बबिता मगरको थिँक अवाउट यु र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेल जस्तै रहेको छ ।
यसै गरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत रहेका छन् ।
यस पटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाको लागि दुई विद्यार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेका छन् । महोत्सवमा चयन भएका चलचित्र, वृत्तचित्र, लघु चलचित्रबाट विभिन्न विधाको अवार्डको मनोनयन सूची पनि निर्णायक टिमले जारी गरेको छ ।

धुलिखेलमा आउटडोर स्टुडियो निर्माण हुँदै

समाचार


काठमाडौं  – चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो ।

नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा, नगर उपप्रमुख नीराजन जंगम, बोर्ड सदस्य केएल बुढाथोकी र चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्का उपस्थित थिए ।

अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे । उनले भने, ‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’

नगरप्रमुख श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने बताउँदै भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’ नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण

समाचार


काठमाण्डौ  - नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा दुई वर्षअघि धरानमा काइँलालाई नागरिक अभिनन्दन गरेको थियो ।

समारोहमा नेपाली भाषा-साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार अर्पण गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङगो सुब्बालाई प्रतिभा पुरस्कार अर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले थापालाई माला, टोपी, सम्मानपत्रसहित ५० हजार नगद रुपैयाँ र कार्यक्रमका सभापति टंक वनेमले दोसल्ला ओढाएर सम्मान थापालाई गर्नुभएको थियो । सुब्बालाई सम्मानपत्रसहित एक लाख नगद रुपैयाँसहित पुरस्कार प्रदान गरिएको थियो ।

काइँलाले सम्मानित र पुरस्कृत सर्जकहरूलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङगो’को बारेमा चर्चा गर्नुभयो । ‘नेपालीमा धसिङघरे अर्थ लाग्ने भए पनि लिम्बु भाषामा सिङजाङगोको अर्थ मगमगाइरहने फूल हो । छोटो समयमै लेखनमार्फत सुब्बा मगमगाइरहनुभएको छ’, उहाँले भन्नुभयो ।

दुई वर्षअघि धरानमा प्रतिष्ठानबाट आफू अभिनन्दित हुँदाको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘नागरिक अभिनन्दनको निम्ति म योग्य थिएँ कि थिइनँ, उहाँहरूले योग्य सम्झेर सम्मान दिनुभयो । यसको निम्ति आभारी छु । हिसाब गर्दा पनि कविताको संख्या तीस जति होला । उमेर धेरै भए पनि काम त्यति धेरै गरेको छैन जस्तो लाग्छ ।’ उहाँले तेस्रो आयामको कुरा उठाउँदै भन्नुभयो, ‘कविता लेख्दा गाली खाइयो, तर जसको आलोचना हुन्छ ऊ स्थापित हुँदो रहेछ । अहिले पनि केही नेताहरू आलोचित हुँदै स्थापित हुँदैछन । हाम्रो तेस्रो आयामलाई स्थापित गर्न समालोचक अभि सुवेदीको ठूलो हात छ ।’
समालोचक डा. अभि सुवेदीले काइँला र तेस्रो आयामेली चिन्तनको बारेमा चर्चा गर्नुभएको थियो ।

समालोचक प्राडा. गोविन्दराज भट्टराईले बैरागी काइँलालाई मुन्धुम र साहित्यका लागि पूर्वको मुक्कुमलुङ भएको बताउनुभयो । उहाँले अङ्ग्रेजीमा अनुवाद गरिएको काइँलाका १५ ओटा कवितको पाण्डुलिपि प्रतिभा प्रतिष्ठानका अध्यक्ष वनेमलाई हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ कवि, कथाकार तथा चिन्तक रक्ष राईले संस्थाका गतिविधिमाथि प्रकाश पार्नुभएको थियो । बैरागी काइला नागरिक अभिनन्दन ग्रन्थका एक सम्पादक प्रदीप मेन्याङबोले काइँलाका बारेमा लेख्न जो कोहीले आँट नगर्ने बताउँदै ग्रन्थ तयार गर्न धेरै दुःख गरेको बताउनुभयो ।

पुरस्कृत सर्जक सुब्बाले काइँलाबाट सम्मान पाउँदा खुसी व्यक्त गर्दै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले काइँलाबाट एघार वटा मुन्धुमको पुस्तक अनुवाद गर्ने अनुमति पाएको बताउनुभयो । सम्मानित सर्जक थापाले प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै आफूले कहिल्यै सम्मानको अपेक्षा नगरी लेखेको बताउनुभयो । उहाँले लेखक तथा अनुसन्धानकर्ताहरूको दुःख सुनाउँदै ताप्लेजुङका लिम्बूहरूको बारेमा किताब लेखिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति टंक वनेमले बेलायत बसेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउन सर्जकहरूलाई प्रोत्साहन दिइरहेको बताउनुभयो । जिविकोपार्जनका लागि नेपालीहरू जुन जुन देश पुगेपनि नेपाली भाषा कला संस्कृति भुल्न नसक्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण प्राज्ञ शशी लुमुम्बूले गर्नुभएको थियो ।

अनिल साहीको निर्देशनमा तयार भएको ‘रुप्स्या पातली सुवा’को भिडियोमा खेम, लक्ष्मी र आरसीको अभिनय

समाचार


काठमाण्डौ – गायक प्रमोद डिजीको रुप्स्या पातली सुवाको भिडियो सार्वजनिक भएको छ । आर डिपी डिजिटलको युटुव चयानल मार्फत सार्वजनिक भएको उक्त गीतमा शब्द चलचित्र निर्देशक माधव राज खरेलको रहेको छ भने राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज का साथै मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

डेउडालाई फ्युजन तरिकाले तयार पारिएको उत्त गीतको भिडियोमा खेम डिसी, लक्ष्मी सुनार आरसी गोर्खालीको अभिनय देख्न सकिन्छ । अनिल शाहीको निर्देशन तयार पारिएको भिडियोमा अमित विकको छायाँकन तथा राजेश कुमारको सम्पादन रहेको छ ।

‘ताण्डवम्’को ट्रेलर सार्वजनिक

समाचार


काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ ।

चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाको कथा भन्ने निर्माणपक्षले जनाएको छ । चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, अंकित खड्का, गोपाल कटुवालको अभिनय छ । यो चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

समाचार


तनहुँ, फाल्गुण ४ । प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न भएको छ । साँगे दर्पण प्रकाशन समितिको आयोजनामा भर्चुअल माध्यमबाट यस सम्मेलन फाल्गुण ३ गते शनिवार आयोजनामा आएको हो । साँगे दर्पणका सम्पादक सरोज ओझाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको यस सम्मेलन साँगे दर्पणक प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा साँगे दर्पण प्रकाशन समितिकी सदस्य चन्द्रा न्यौपानेले स्वागत मन्तव्य र बालवती शर्मा पण्डितले धन्यवाद ज्ञापन गर्नुभयो थियो भने पूर्व एसएसपि हरिराज वाग्लेले पुस्तक प्रकाशनको कार्य प्रगती, हरिराज वाग्लेले अर्थ संकलन र साँगे काठमाण्डौ सम्पर्क समाजका सचिव विकास भण्डारीले बालन सम्बन्धी जानकारी दिनुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्त​म ओझा, पूर्व न्यायधिस कृष्णबल्लभ काफले, गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफले, वरिष्ठ अधिवत्ता प्राध्यापक डा. गान्धी पण्डित, वन विशेषज्ञ प्रा. डा. राम पण्डित, बरिष्ठ इन्जिनियर श्रीभद्र वाग्ले, शिक्षासेवी गोपेन्द्र केशरी न्यौपाने, ब्यास नगरपालिका वडा नं ५ का अध्यक्ष हिमाल श्रेष्ठ, म्याग्दे गाउँपालिका वडा नं ७ का अध्यक्ष वसन्तकुमार श्रेष्ठ, नेता डा. शेषरमण न्यौपाने, नेतृ रविकला खनाल, नेता अत्येन्द्र केशरी न्यौपाने, साँगे काठमाडौं सम्पर्क समाजका अध्यक्ष रामनाथ पण्डित, प्रा. डा. उदयराज वाग्ले, प्रा. डा. अविन ओझा र वन विशेषज्ञ डा. बिष्णुहरि वाग्लेले विशेष वक्ताका रुपमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।

मन्तव्यका क्रममा उहाँहरुले साँगे सम्मेलनको आयोजनाले भाइचारा अभिवृद्धीमा सघाउन पुग्ने राय राख्नुका साथै साँगे सभ्यता संरक्षण तथा विकास अभियान, साँगे दर्पण प्रकाशन जस्ता सन्दर्भहरुले उत्साहित तुलाएको र आ-आफ्नो स्थानबाट रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने, अग्रजहरु पूर्व क्याम्पस प्रमुख प्राध्यापक भोजराज ओझा, गुरु माधवप्रसाद भारद्वाज लगायतले सम्मेलनमा सहभागी हुन नपाए पनि सम्मेलनको सफलताको कामना गर्दै शुभकामना सन्देश पठाउनुभएको थियो ।

आयोजक समिति साँगे दर्पण प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेले यस कदमले साँगे समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरि सम्मेलन आयोजनाको उदेश्य माथि प्रकाश पार्दै उहाँले उत्साहजनक उपस्थितीले हौसला प्रदान गरेको बताउदै भन्नुभयो “खासमा साँगे सभ्यताको ऐतिहासिक, सांस्कृतिक, तथा प्राकृतिक महत्वलाई उजागर गर्दै यसको संरक्षणका लागि ठोस योजना बनाउनु, समुदायका सदस्यहरूलाई एकताबद्ध गर्नु, भावी पुस्तालाई साँगे सभ्यताको महत्त्वबारे सचेत गराउनु र साँगे क्षेत्रको समग्र विकासका लागि रणनीतिक कार्ययोजना तय गर्नु सम्मेलनका मुख्य उद्देश्यहरू हुन र आजको उल्लेख्य उपस्थितीले हामीलाई थप उर्जाशील बनाएको छ’ ।

साँगेबासी एवम् सरोकारवालाहरुको उल्लेख्य सहभागीता रहेको यस ऐतिहासिक सम्मेलनमा स्वागत मन्तव्य, परिचयात्मक सत्र, सहभागी वक्ताहरूको मन्तव्य, क्षेत्रगत संयोजन समिति प्रस्ताव तथा साँगे सभ्यता संरक्षण तथा विकास अभियान घोषणा जस्ता गतिविधिहरू समावेश थिए । यस सम्मेलनले साँगे सभ्यताको संरक्षण, प्रवर्द्धन, र समृद्धिका लागि मार्गचित्र प्रस्तुत गर्न मार्गप्रशस्त गरेको आयोजकको विश्वास छ।

‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको उद्घाटनको दिन निशुल्क सेवा

समाचार


काठमाडौँ – विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् ।

लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले यस अघि कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको दोस्रो ब्रान्चमा उद्घाटनको दिन निशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो । उद्घाटनलाई सम्बोधन गर्दै कलाकार बलेले बेला बखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए ।

उता पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर आफ्नै भाई बुहारीलाई रोजगारी सिर्जना गरेको भन्दै शुभकामना व्यक्त गरे । विक्रम गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।