काठमाण्डौ – चलचित्र चलचित्रका कलाकारहरूको छाता संस्था नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा काठमाडौँमा एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली चलचित्रका गीतमा नृत्य प्रस्तुत गर्दै समारोह शुरू भएको थियो । समारोहमा विशिष्ट कलाकारहरू पुरस्कृत भएका छन् ।
पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किशोर भट्टराई, चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौला र चार दशकदेखि अभिनयमा संलग्न अभिनेता पूरण जोशीलाई क्रमशः नेपाल चलचित्र कलाकार संघको २०७८,२०७९, २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार समारोहमा प्रदान गरियो । नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ रहेको छ ।
यस वर्षको शान्ति मास्के स्मृति पुरस्कार अभिनेत्री गौरी मल्ल लाई प्रदान गरियो । चार दशकदेखि अभिनयमा योगदान दिँदै आएकी अभिनेत्री गौरी यति बेला आमाको अशौचमा रहेकी छिन् । यो पुरस्कारको राशि ५६ हजार रुपैयाँ रहेकोछ ।
संघले गोपाल राउत स्मृति पुरस्कार कलाकार रामकाजी घिमिरेलाई प्रदान गरेको छ । यो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेकोछ । त्यस्तै, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको विशेष सम्मान यस पटक डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयर सेल ट्राभललाई प्रदान गरेको छ ।
समारोहमा संघका अध्यक्ष एवं समारोहका सभापति मोहन निरौलाले नेपाली चलचित्र कलाकारहरूको छातासंगठन नेपाल चलचित्र कलाकार संघको स्थापना देखी लिएर अहिलेको अवस्थासम्म ल्याई पुर्याउने सम्पूर्ण अग्रज व्यत्तित्वहरुलाई सम्मान गर्दै आफूले पदभार ग्रहण गरेपछि हालसम्म संघले गरेका गतिविधि र कार्य प्रगतिबारे विस्तृतमा प्रकाश पारेका थिए ।
समारोहमा सम्मानित व्यक्तित्वहरूको प्रतिनिधिको रूपमा बोल्दै विशिष्ट कलाकार लय संग्रौलाले यो सम्मान मैले रंगमञ्च देखी चलचित्र हुँदै टेलिभिजनको यो यात्रामा आइपुग्दा सम्म मैले भोगेका कठिनाइ, मैले बिताएका भोका रातहरूको उपज र भोगाइको उपज हो यो सम्मान भन्दै त्यो वेला उमेर जोस सबै थियो तर हैसियत थिएन । एउटा हैसियत नभएको मान्छेले नाता सम्बन्ध प्रेम सबै गुमाउँछ उसको बोलीको पनि मूल्य हुँदैन भन्दै एउटा चलचित्र क्षेत्रमा सँगै गोरेटो खन्न हिँडेका केही साथीहरूले मात्रै चिन्ने गरेको तर सरकारले नचिनेको भन्दै भन्दै भावुक भए ।
कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले वार्षिक साधारणको भव्य सफलताको कामना गर्दै कार्यक्रममा सम्मानित एवम् पुरस्कृत हुने व्यक्तित्वहरूलाई शुभकामना प्रदान गरेका थिए । नेपाल चलचित्र कलाकार संघका सल्लाहकार कृष्ण मल्लले आगामी दिनहरूमा नेपाल चलचित्र कलाकार संघ अझै बढी सक्रिय रहोस् भन्दै शुभकामना दिएका थिए ।
त्यस्तै नेपाल चलचित्र कलाकार संघकी संरक्षक एवम् विशिष्ट अभिनेत्री वसुन्धरा भुसालले चलचित्रका कार्यक्रमहरूमा कलाकारहरूले अनुशासनको महत्त्व अझै नबुझेको भन्दै सम्पूर्ण कलाकारहरूले कार्यक्रममा नसकिए सम्म आनन्दले बसिदिनू पर्छ जसरी सुटिङ स्थलमा निर्देशकले प्याक अप नभनुन्जेल सेटबाट निस्कन मिल्दैन यस्तै अनुशासन हरेक ठाउँमा हुन जरुरी रहेको बताए ।
आफ्नो नेतृत्वमा संघले स्थापना गरेको पुरस्कारले विशिष्ट व्यक्तित्वहरूले पाएकोमा मैले आफूले नै पाएको महसुस गरेको बताइन् । साथै दुःखमा मात्रै संघलाई गुहार्ने र सुखमा लात मार्ने नगर्नु होला भन्दै दुःख र सुख सबैमा संघलाई हरेक कलाकारले साथ साथै लैजान जरुरी रहेको बताइन् ।
समारोहमा प्रमुख अतिथिको रुपमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिँदै लय संग्रौला जस्ता अग्रज र सक्रिय व्यक्तित्वहरूले पुरस्कार सम्मान पाउँदा आफू निक्कै खुसी भएको बताए । साथै चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको मेडिकल ईन्सुरेन्स अब उप्रान्त ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी २ लाख र २० वर्ष पुगेका चलचित्रकर्मीहरूको लागी १ लाख रुपैयाँको पुर्याउने बताए ।
यस अघि मेडिकल ईन्सुरेन्सको उक्त रकम ३० वर्ष योगदान दिएका चलचित्रकर्मीहरूको लागी १ लाख मात्रै रहेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि डिसीले चलचित्र क्षेत्रमा देखिने गरी आफू काम गर्न लागिरहेको भन्दै उनले बोर्ड मार्फत चलचित्र कल्याणकारी कोषमा ३६ लाख प्रदान गरिएको छ भने काभ्रेमा नेपालकै ठुलो चलचित्र स्टुडियोको निर्माणको प्राविधिक खाका तयारीमा व्यस्त रहेको बताए । नेपाल चलचित्र कलाकार संघ मार्फत पनि कलाकारहरूको हकहितको लागि आफू प्रतिबद्ध रहेको बताए ।
नेपाल चलचित्र कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले सञ्चालन गरेको कार्यक्रममा संघका महासचिव सविन श्रेष्ठले सहभागीहरूलाई स्वागत गरेका थिए । २० औँ साधारण सभा तयारी समितिका संयोजक संघका महासचिब सविन श्रेष्ठ रहेका थिए । समारोहमा विशिष्ट चलचित्रकर्मी चैत्यदेवी सिंहले चलचित्र कल्याणकारी कोषलाई नगद २५ हजार सहयोग गरेकी छन् ।
काठमाण्डौ – होली पर्वको अवसरमा “KTMडाउनटाउन“ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक र गीतकार NEPZ को यो पहिलो म्युजिक भिडियो हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित NRPZ को संगीतले नेपाली संगीत परिदृश्यमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने विश्वास गरिएको छ ।
सार्वजनिक पोस्टरमा चर्चित नेपाली अभिनेत्री तथा मोडल करिश्मा श्रेष्ठलाई देख्न सकिन्छ, जसले नेपाली चलचित्र र मोडलिङ क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिएकी छन्। ‘“KTM डाउनटाउन” “ म्युजिक भिडियोको अडियो र संगीत उत्पादन नेपासा स्टूडियोमा गरिएको हो, जसले ट्रयाकको उच्च गुणस्तरको ध्वनि संयोजन गरेको छ ।
भिडियो निर्देशन विशाल शर्माले गरेका छन्। निर्माण टोलीमा महेश्वर सम्बाहाम्फे (निर्माण व्यवस्थापक), दिनेश म्याङ्गो (कोरियोग्राफर), नुमा सम्बाहाम्फे (स्टाइलिस्ट), सुनील शिवभक्ति (सम्पादक), नकल सुनुवार (सिनेमाटोग्राफर), र धीरज अधिकारी (रङ संयोजक) जस्ता व्यक्तित्वहरू रहेका छन् ।
काठमाडौंको रोमाण्टिक परिवेशलाई पर्दामा जीवन्त बनाउने उद्देश्यले निर्माण गरिएको ‘“KTM डाउनटाउन” म्युजिक भिडियो होली पर्वको अवसरमा 12 मार्चमा सार्वजनिक गरिएको छ । यस म्युजिक भिडियोलाई न केवल NEPZ को सांगीतिक यात्रामा नयाँ मोड थप्ने महत्वपूर्ण अवसर मानिएको छ, तर यसले काठमाडौंका जीवन्त सडकहरूमा प्रेम र रोमान्सको उत्सव मनाउने सन्देश पनि दिन्छ ।
कमला जोशी/ काठमाडौं – नेपाली सांगीतिक इतिहासमा पहिलो पटक, लोक दोहोरीको मौलिक पहिचानलाई जगेर्ना गर्दै प्रतिस्पर्धात्मक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘लोक दोहोरी स्टार’ नामक विशेष प्रतियोगिता आयोजना गरिँदैछ । नेपाली लोक दोहोरीको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम ल्याइएको आयोजक संस्थाले बताएको छ ।
प्रतियोगिताको निष्पक्षता र स्तर उन्नत बनाउन अनुभवी तथा ख्यातिप्राप्त कलाकारहरू, वरिष्ठ गायक चन्द्र शर्मा, लोक दोहोरी प्रतिष्ठानकी अध्यक्ष तथा लोकप्रिय लोकदोहोरी गायिका रिता थापा मगर, तथा चर्चित गायक अमृत खाती निर्णायक को रुपमा अनुबन्धीत भएका छन् भने केही निर्णायकहरु अनुबन्धित हुने क्रममा रहेका छन् । साथै, यो प्रतियोगितालाई सुव्यवस्थित रूपमा सञ्चालन गर्न चलचित्र निर्देशक माधव राज खरेललाई कार्यक्रम निर्देशकको जिम्मेवारी दिइएको छ ।
प्रतियोगितालाई ठूलो संख्यामा दर्शकसम्म पुर्याउनेलक्ष्यका साथ स्पेस फोके टेलिभिजनसँग सहकार्य गरिएको छ । सोहीअनुसार, स्पेस फोके टेलिभिजनका प्रतिनिधि बाबुराम भुषाल र लोकदोहोरी स्टारका प्रोडक्सन प्रमुख डेविल सिंह राजपुतबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । उक्त सहकार्यले लोक दोहोरी संगीतलाई डिजिटल माध्यमबाट देशभर तथा प्रवासमा रहेका नेपाली समुदायसम्म पुर्याउने अपेक्षा गरिएको छ ।
लोक दोहोरी स्टार प्रतियोगिता केवल गायन प्रतियोगिता मात्र नभई नेपाली सांगीतिक सम्पदाको उजागर गर्ने एउटा सांस्कृतिक महोत्सव हुनेछ । नवप्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्लेटफर्म तयार गर्नु, मौलिक लोक दोहोरीको संरक्षण गर्दै आधुनिक शैलीमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने, अनुभवी निर्णायकहरूको मार्गदर्शनमा स्तरिय प्रस्तुति दिनु र विजेताहरूका लागि आकर्षक पुरस्कार तथा सांगीतिक करियर निर्माणको अवसर प्रदान गर्ने यस कार्यक्रमको विशेषता रहेको छ ।
लोक दोहोरी संगीतको नयाँ पहिचान स्थापित गर्न चाहने तथा आफ्नो सुरहरू मार्फत नेपाली संगीतमा नयाँ इतिहास कोर्न इच्छुक प्रतिभावान व्यक्तिहरूका लागि यो प्रतियोगिता एउटा उत्कृष्ट अवसर हुनेछ । यस ऐतिहासिक यात्रामा सहभागी भई आफ्नो सांगीतिक पहिचान उजागर गर्न इच्छुक स्रष्टाहरूका लागि आयोजक टिमले आवेदन खुला गर्ने तयारी गरिरहेको छ ।
लोक दोहोरी प्रेमी तथा नेपाली मौलिक संस्कृति प्रेमी सबैलाई यस महाकुम्भमा सहभागिताका लागि आयोजक टोलीले विशेष रूपमा आह्वान गरेको छ । यहीँ चैत्र महिनाको अन्तिम सातादेखि आवेदन फारम खुला गरिने तथा आगामी जेष्ठ महिनादेखि लोक दोहोरी स्टारको अडिसन प्रक्रिया सुरु गरिने आयोजक पक्षले जानकारी गराएको छ ।

काठमाण्डौ - एनआरएनएको नेतृत्व पद व्यापारीकरण हुँदै गएका गम्भीर आरोपहरू बाहिर आएका छन्। नेतृत्वको आकांक्षामा रहेका केही व्यक्तिहरूले चुनाव जित्न राजनीतिक स्वार्थअनुसार समूह निर्माण गरेर करोडौँ रुपैयाँ असुली गरेको आरोप छ। २०२१-२३ कार्यकालका केही नेतृत्वलाई २०२३-२५ का उम्मेदवारहरूले सर्तसहित समर्थन गराएबापत आर्थिक लेनदेन गरिएको तथ्य बाहिर आइरहेको छ। अझ, प्रतिस्पर्धी समूहबाट बढी रकम लिएर अर्को पक्षलाई हराउने प्रयास समेत भइरहेको गम्भीर आरोपहरू लागेका छन्।
एनआरएनएको उद्देश्य भनेकै प्रवासी नेपालीहरूलाई एकजुट गरी उनीहरूको श्रम, सीप, पुँजी र ज्ञानलाई नेपालमा परिचालन गर्ने हो। तर, हाल संस्थाको नेतृत्व स्वार्थ, शक्ति, र आर्थिक फाइदामा मात्र केन्द्रित भएकाले एनआरएनए संकटमा पर्दै गएको छ। संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर सही मार्गमा ल्याउने जिम्मेवारी अब सम्पूर्ण प्रवासी नेपाली समुदायको भएको छ।
विश्लेषक : शिव प्रसाद पौडेल निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक, एनआरएनए जापान
काठमाडौं, हात्तीसार – पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौंको उत्कृष्ट गन्तव्यमध्ये एक हो नेपाल हाउस। शान्त वातावरण, भरपर्दो सेवा, र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ।
नेपाल हाउसमा सानोदेखि ठूला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन। पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि नेपाल हाउस पहिलो रोजाइ बन्दै आएको छ। सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ।
नेपाल हाउसको सुरम्य वातावरण, स्वादिष्ट परिकार, र भरपर्दो व्यवस्थापन यसका प्रमुख विशेषताहरू हुन। सेलिब्रेटीहरूदेखि उच्च पदस्थ अधिकारीहरू, विदेशी पाहुना, तथा पर्यटकहरू पनि नेपाल हाउसको वातावरण, आतिथ्यता, र खानाको स्वादमा मुग्ध हुने गरेका छन।
व्यापक सेवा र सुविधा
नेपाल हाउसले एकैसाथ १०० देखि २०० जनासम्मको सेवा दिनसक्ने छुट्टाछुट्टै सेमिनार हल उपलब्ध गराएको छ। आधुनिक सुविधासहितको यी हलहरू बैठक, गोष्ठी, प्रेस सम्मेलन, पार्टी, एल्बम विमोचन, चलचित्र शुभ मुहूर्त, बिबाह, बर्थडे, गुन्यु चोली, तथा अन्य शुभकार्य आयोजना गर्न उपयुक्त छन।
यस रेस्टुरेन्टमा मल्टिकुजिन रेस्टुरेन्ट, बार, कफी शप, तथा बेकरी पनि रहेको छ, जसले ग्राहकहरूलाई विविध स्वादको अनुभव प्रदान गर्छ। खानाको पारखीहरूका लागि नेपाल हाउस विशेष आकर्षणको केन्द्र हो, जहाँ नेपाली, भारतीय, चिनियाँ, तथा अन्तर्राष्ट्रिय परिकारहरू उच्च गुणस्तरमा उपलब्ध छन।
मनोरञ्जन तथा सांगीतिक प्रस्तुति
नेपाल हाउसले आफ्नो पाहुनाहरूलाई उत्कृष्ट लाइभ ब्याण्ड तथा डीजे को प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्छ। विशेष अवसरहरूमा सांस्कृतिक कार्यक्रम तथा पारिवारिक मनोरञ्जन कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसले पाहुनाहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्छ।
नेपाली मौलिकता र आतिथ्यता
नेपाल हाउसले नेपाली कला, संस्कृति, र मौलिक पहिचानलाई प्रवर्द्धन गर्दै पारिवारिक एवं सामाजिक एकता बलियो बनाउन विशेष कार्यक्रमहरू आयोजना गर्ने परम्परा कायम राख्दै आएको छ। नेपाली सांस्कृतिक पर्वहरू, चाडपर्व विशेष कार्यक्रमहरू, तथा विभिन्न परम्परागत उत्सवहरू यहाँ विशेष ढंगले मनाइन्छन।
सुविधाजनक पार्किङ र व्यवस्थापन
नेपाल हाउसमा पर्याप्त पार्किङ सुविधा उपलब्ध छ, जसले पाहुनाहरूलाई कुनै असुविधा हुन दिदैन। बजार निर्देशक सन्तोष गौतम का अनुसार, नेपाल हाउसले विहानको ब्रेकफास्टदेखि रातको डिनरसम्म गुणस्तरीय सेवा प्रदान गर्न उच्च व्यवस्थापन स्तर अपनाएको छ।
नेपाल हाउस व्यक्तिगत तथा व्यावसायिक कार्यक्रमहरूको लागि पूर्ण पारिवारिक वातावरणमा उच्चतम सेवा दिन प्रतिबद्ध रहेको छ। स्वादिष्ट भोजन, मनोरञ्जन, तथा उत्कृष्ट आतिथ्य सेवाको संगम खोज्ने जो कोहीका लागि नेपाल हाउस एक उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ।
ललितपुर, फाल्गुण २४ – ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ हुनुहुन्थ्यो। साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज ओझा, सञ्चारकर्मी राजु भट्ट लगायतका विशिष्ट व्यक्तित्वहरू विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको शुभारम्भ विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो। विद्यालयका छात्रछात्राहरूले विविध सांगीतिक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसमा नेवारी, कौडा, तामाङ सेलो, साकेला, थाली, राइम्स तथा चिनियाँ गीतमा नृत्य समावेश थिए। यस्तै, उनीहरूले र्याम्प वाक, नाट्य प्रस्तुति, तेक्वान्दो कला प्रदर्शन, योग अभ्यास तथा सांगीतिक धुन प्रस्तुति समेत दिएका थिए।

विद्यालयकी कोअर्डिनेटर सुमनकुमारी साहको नेतृत्वमा विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालयकी प्रधानाध्यापक जीतकुमारी रानाले आमन्त्रित अतिथिहरूलाई खादा तथा व्याच प्रदान गरी स्वागत गर्नुभयो।
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित वार्षिक कार्यक्रमका क्रममा विद्यालयलाई विशुद्ध रुपमा सघाउदै आउनुभएकी सामाजिक व्यक्तित्व सुभद्रा राईसहित आफ्ना पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो। साथै, कार्यक्रममा प्रमुख अतिथि राईले विद्यालयद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रदीप कुमार राई ‘व्याकुल माइला’ ले अनल ज्योति स्कूललाई प्रतिष्ठित शैक्षिक संस्था भन्दै यसले सक्षम तथा कर्मठ नागरिक उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यालयका बालबालिकाहरूको प्रस्तुति समावेशी रहेको बताउँदै विद्यालय परिवार समाजमा मजबुत रहेको स्पष्ट सन्देश दिएको बताउनुभयो।

त्यसैगरि, समाजसेवी प्रियकुमार नेम्वाङले विद्यालयकी संस्थापक ज्योति केसीको सामाजिक एवं शैक्षिक योगदानको प्रशंसा गर्दै उहाँको भूमिकाले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। साथै उहाँले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज ओझाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यालयको नेतृत्व लिईहनुभएका ज्योति केसी र जीतकुमारी रानाको प्रयासले महिलाहरू सक्षम छन भन्ने प्रमाणित गरेको बताउँदै विद्यालयको उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद दिनुभयो।

विद्यालयकी संस्थापक एवं निर्देशक ज्योति केसीले शैक्षिक विकासमा योगदान दिने उद्देश्यले तीन दशकअघि अनल ज्योति स्कूलको स्थापना गरिएको बताउँनुहुँदै विद्यालयले किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिएको उल्लेख गर्नुभयो। साथै, विद्यालयको सफलतामा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको अमूल्य योगदान रहेको स्मरण गर्नुभयो।
अनल ज्योति स्कूलले बालबालिकाहरूको शिक्षा तथा समग्र विकासमा निरन्तर योगदान दिँदै आएको छ। विद्यालयमा पारिवारिक वातावरणका साथ अत्याधुनिक प्रविधिको प्रयोग गर्दै कक्षा १० सम्म अध्ययन गराइन्छ। साथै, छात्रावास सुविधासहित विभिन्न प्रकारका अपांगता भएका विद्यार्थीहरूले समेत यस विद्यालयमा अध्ययन गरिरहेका छन।
विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा निरन्तर संलग्न रहँदै आएको छ। विद्यालय परिवारले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।





काठमाडौं- चलचित्र विकास बोर्डमा आयोजित तीन दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो । तेस्रो तथा अन्तिम दिन विहीबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिको रुपमा सहभागि हुनुभएको थियो । महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो ।
महोत्सवमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । यो चलचित्रका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीले तयार पारेका थिए । महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु चलचित्र देखाइएको थियो । सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो ।
विहीबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मञ्चन गरिएको थियो । घरेलु चलचित्रको विकासमा योगदान पुर्याएबापत सात जना महिला स्रष्टालाई सम्मान अर्पण गरिएको छ । अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठलाई सम्मान अर्पण गरिएको हो ।
समापन समारोहमा नेपाली फिल्म उद्योगका वरिष्ठ तथा चर्चित कलाकार, निर्देशक, संगीतकार, निर्माता, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षार्सिह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।
महिला सशक्तिकरण समितिको यो पहलले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाई सम्मान गर्दै आगामी दिनहरूमा थप सशक्तिकरणका कार्यक्रमहरू आवश्यक रहेको सन्देश प्रवाह गरेको छ । महोत्सवमा उपस्थित चलचित्रकर्मी तथा अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरताको कामना गरेका थिए । महिला चलचित्रकर्मी सशक्तिकरण समितिको संयोजकमा केकी अधिकारी र सदस्यहरूमा सञ्चारकर्मी गीता अधिकारी चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य र निर्मला चौलागाईं हुनुहुन्छ ।
काठमाण्डौ - नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा मिति २०८१ सालको साधारण सभा आगामी चैत्र ४ गते सम्पन्न काठमाण्डौमा सम्पन्न हुने भएको छ । संघले सबै आफ्ना सदस्यहरुलाई सदस्यता नविकरण गर्न आह्वान गरेको छ । केही सदस्य कलाकारहरूले अझै सदस्यता नविकरण गर्न बाँकी राखेका छन् ।
चैत्र ४ गते दिनको ११ बजेबाट लिसारा रिसेप्सन (Lisara Receptions),भगवती बाहल, नक्सालमा आयोजना हुने उक्त साधारण सभालाई संघका महासचिव सबिन श्रेष्ठको संयोजकत्वमा तयारी व्यवस्थापन समिति गठन गरिसकिएको छ, जसले सभा सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरिरहेको छ ।
संघका अध्यक्ष मोहन निरौलाले सदस्यता नविकरण नगरेका सदस्यहरुलाई संघको विधानको परिच्छेद ३, दफा ८ ९घ० अनुसार ७ वर्षसम्म सदस्यता नविकरण नगरेमा सदस्यता खारेज हुने बारे जानकारी दिए। अध्यक्ष निरौलाद्धार हस्ताक्षरित विज्ञप्तीका अनुसार नविकरण नगरेका सदस्यहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । त्यसैगरी, चलचित्र विकास बोर्डले चलचित्रकर्मी परिचय पत्र वितरणको सम्बन्धमा सूचना प्रकाशित गर्दै संघलाई जानकारी गराएको छ ।
सोही आधारमा, मापदण्ड पूरा गरेका कलाकारहरूलाई परिचय पत्रका लागि निर्धारित मितिभित्र आवेदन दिन पनि संघले आग्रह गरेको छ ।साधारण सभा र सदस्यता नविकरणका सबै प्रक्रिया समयमै पूरा गर्न अपिल गरिएको छ ।

काठमाण्डौं । जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारीले समाजमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा रोकथामका लागि सूचना आदान(प्रदान महत्वपूर्ण रहेको बताउँनुभएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत फागुन २३ गते शुक्रबार टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी, प्रहरी वृत्त महाराजगंज र मालीगाउँद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा शान्ति सुरक्षा सम्बन्धी प्रहरी अनुरोध कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । "अपराध नियन्त्रणमा सूचना आदानप्रदान महत्वपूर्ण छ, नागरिक समाज नै सूचना स्रोत भएकाले सत्यतथ्य सूचना प्रहरीलाई उपलब्ध गराइदिन हाम्रो अनुरोध पनि छ" उहाले भन्नुभयो । साथै उहाँले समुदाय प्रहरी साझेदारी कार्यक्रमको उद्देश्य अपराध नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै प्रहरी र समुदायको सहभागितामा मात्र समाजलाई सुरक्षित बनाउन सकिने धारणा समेत व्यक्त गर्नुभयो। अपराध न्यूनीकरणका लागि जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिबद्ध रहेको पनि उहाँले जानकारी गराउनुभयो।
त्यसैगरि, कार्यक्रमका सभापति एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नुहुँदै आसन्न होली पर्वलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जनाउनुहुँदै समुदाय र प्रहरीको आपसी समन्वयमा शान्ति सुरक्षालाई प्रवर्द्धन गर्न सकिने बताउनुभयो।

त्यसैगरि, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक कमल सिंह बमले सामुदायिक सेवाले अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पुर्याउँदै आएको बताउनुहुँदै जिल्ला प्रहरी परिसर काठमाडौंले कर्मठ र क्षमतावान नेतृत्व पाएको उल्लेखसहित परिसर प्रमुख विश्व अधिकारीको कार्यकालमा अपराध नियन्त्रणमा अझ उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्लले सामुदायिक सेवा केन्द्र टुँडालदेवीको सक्रियताको प्रशंसा गर्दै प्रहरीप्रति समाजमा आउने विभिन्न गुनासाहरू सम्बोधन गर्न प्रारम्भिक अनुसन्धानलाई अझ प्रभावकारी बनाउन जोड दिनुभयो।
वडा सदस्य नवीन मैनालीले स्थानीय तहमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रहरी बृत मालीगाउँका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सुनिलजङ शाहले धन्यवाद ज्ञापन गर्नुहुँदै शान्ति सुरक्षा कायम गर्न समुदायको साथ महत्वपूर्ण हुने बताउनुभयो।
सो अवसरमा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्व अधिकारी, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक कुलदिप चन्द र प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक निरन्जन थापालाई दोसल्ला ओडाई स्वागत सम्मान टक्राउनुभएको थियो ।
कार्यक्रममा पूर्व सचिव एवं पूर्व महालेखा परीक्षक मधुसुदन ढकाल, नेपाली सेनाका पूर्व उपरथी शिवराम प्रधान, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक निरज शाहीसहित विभिन्न संघ संस्था, स्थानीय क्लब, टोल सुधार समिति, सरकारी तथा निजी विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, स्थानीय व्यक्तिहरू गरी करिब १६० जनाको उपस्थिति रहेको थियो।
काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।



काठमाडौं – नेपाल चलचित्र कलाकार संघले हालै सम्पन्न कार्यकारिणी समितिको बैठकमार्फत कलाकारहरूलाई प्रदान गरिने वार्षिक पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।
संघका अध्यक्ष मोहन निरौलाद्धारा जारी विज्ञप्तिमा नेपाल चलचित्र कलाकार संघले लामो समयदेखि अभिनय क्षेत्रमा योगदान पु¥याएका कलाकारहरूको सम्मानस्वरूप ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार’ प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार प्रदान गरिने बताईएको छ । वि.सं. २०५५ मा श्रीमती बसुन्धरा भुसालको अध्यक्षतामा स्थापना भएको उक्त पुरस्कार यस वर्ष निम्न व्यक्तित्वहरूलाई प्रदान गरिने निर्णय भएको छ ।
सम्मानित व्यक्तित्वहरु, वि.सं. २०७८ को नेपाल चलचित्र कलाकार संघ पुरस्कार: पाँच दशकदेखि अभिनयमा सक्रिय चरित्र अभिनेता श्री मुकुन्द किसोर भट्टराई, वि.सं. २०७९ को नेपाल चलचित्र कलाकार संघ पुरस्कारः चार दशकदेखि अभिनय क्षेत्रमा क्रियाशील चरित्र अभिनेता श्री लय संग्रौला र वि.सं. २०८० को नेपाल चलचित्र कलाकार संघ पुरस्कार : चार दशकदेखि अभिनयमा संलग्न अभिनेता श्री पुरण जोशी रहेका छन् । ।
त्यस्तै, संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा वि.सं. २०६८ मा श्री रमेश बुढाथोकीको अध्यक्षतामा स्थापित ‘स्व. शान्ती मास्के स्मृति पुरस्कार’ यस वर्ष चार दशकदेखि अभिनयमा योगदान दिँदै आउनुभएकी वरिष्ठ अभिनेत्री श्री गौरी मल्ल लाई प्रदान गरिनेछ ।
नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी रु. ७५,००० रहेको छ । यस पुरस्कारबाट विगतमा नीर शाह, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मा लगायत विशिष्ट कलाकारहरू पुरस्कृत भइसकेका छन् । त्यस्तै, स्व. शान्ती मास्के स्मृति पुरस्कारको राशी रु. ५६,००० रहेको छ, जसअन्तर्गत यसअघि मदनदास श्रेष्ठ, आर.पी. पन्त, मिथिला शर्मा बोहरा लगायत विशिष्ट कलाकारहरू पुरस्कृत भइसकेका छन् ।
यस वर्षदेखि संघले दिवंगत कलाकार गोपाल राउतको स्मृतिमा ‘स्व. गोपाल राउत स्मृति पुरस्कार’ पनि प्रदान गर्ने निर्णय गरेको छ । अमेरिकामा रहनुभएका कलाकार लक्ष्मी शर्माले संघलाई प्रदान गरेको रु. ३ लाखको अक्षयकोष बाट प्राप्त व्याजबाट प्रत्येक वर्ष रु. १०,००० पुरस्कारस्वरूप प्रदान गरिनेछ । यस वर्ष यो पुरस्कार चार दशकदेखि अभिनयमा सक्रिय कलाकार श्री रामकाजी घिमिरे लाई प्रदान गरिनेछ ।
त्यस्तै, संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको विशेष सम्मान यसपटक डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई प्रदान गरिने निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । यी सबै पुरस्कार तथा सम्मान चैत ४ गते आयोजना हुने नेपाल चलचित्र कलाकार संघको वार्षिक साधारण सभामा प्रदान गरिनेछ ।
