generalnews
||Power News Asia||

आजको समाचार

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव बैशाखमा हुने

समाचार


काठमाडौँ- सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव  (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागीता जनाउन चाहनेहरुको लागी दर्ता पनी खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको सहभागीता रहनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । महोत्सव पहिलो बर्ष गोरखा जिल्लाको लाप्राकमा र दोश्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो। तेश्रो संस्करणको जागरुक युवा क्लब रामेछापले स्थानीय ब्यबस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर रहेका छन्।

‘सुगुप’ को विषेश प्रदर्शनी, ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयमा कोसेढुंगा सावित हुने दर्शकहरुको प्रतिक्रिया

समाचार


काठमाडौं-चलचित्र ‘सुगुप’ को १२ गते शनिबार बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा विशेष प्रदर्शन गरियो । बिग मुभिजको दुईवटै हलमा दर्शकको खचाखच भिडका कारण ब्यवस्थापन मिलाउन निर्माणपक्षलाई हम्मेहम्मे परेको थियो  भने सिट नपाएर भुईमा नै बसेर सुगुप हेर्ने दर्शकहरुको संख्या पनि उल्लेखनीय रहेको कारण फागुन १७ गते पनि सुगुपको पुनः प्रदर्शन हुने भएको छ ।

‘सुगुप’ हेरिसकेकपछि अधिकांस दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको बिषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिएका थिए । किराँत याक्थुङ चुम्लुङ काठमाण्डौ, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिशेष प्रदर्शन भएको हो ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी गराउनु भयो । चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय रहेको छ । प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ ।

भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रको निर्देशन लोकेन साँबा लिम्बुको रहेको छ ।

१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना हुँदै

समाचार


काठमाडौं -  नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” हुने भएको छ । यस मेला काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा यही फागुन १९ गते समुद्घाटन हुने भएको छ ।

पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सँस्कृतीको आधार भन्ने मुल नारा सहित आयोजना गर्न लागिएकोे यस मेला फागुन २१ गते दाङ, घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौं, फागुन २६ गते लालिगुरास नेशनल एकेडेमी, मनमैजु, काठमाडौंमा सम्पन्न हुने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) ले जानकारी गराएका छन् ।

यस सस्थाले हाल सम्म ७५ भन्दा बढी राष्ट्रहरुमा नेपाली मौलिक कला संस्कृतीलाई प्रस्तुत गरी प्रचार प्रसार गरी थप टेवा पुराउने कार्य गरेको अध्यक्ष कोईरालाले दाबी गरे । एभरेष्ट नेपाल कल्चरल ग्रुपले बि.सं. २०५९ सालमा “प्रथम अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” सम्पन्न गरेको थियो । “११ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला” भब्य रुपमा सम्पन्न गरेको जानकारी गराउदै हालै आयोजना गर्न लागिएको “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” लाई पनि सभ्य र भब्य रुपमा सम्पन्न गराईदिन अध्यक्ष कोईरालाले अनुरोध गरेका छन् ।

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा बिभिन्न ११ राष्ट्रका ३५० भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने कुरा फागुन १० गते काठमाडौं स्थित होटल यलो पगोडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) को अध्यक्षता रहेको थियो भने चलचित्र निर्देशक एबं बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक दुर्गा रायमाझी, यसै संस्था कि महासचिव शितल आचार्य लगायत अन्य बिशिष्ट ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन गायक चन्द्र शर्माले गरेका थिए ।

बिभिन्न राष्ट्रका कलाकारहरुलाई आउन जान र बस्न खाना यही संस्थाले ब्यहोर्ने कुरा आयोजक पक्षले जानकारी गराएको छ । “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा मुख्य आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुप रहने छ भने अन्य संघ संस्थाहरु स्थानिय आयोजक रहने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

“१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” मा कार्यक्रम संयोजकको रुपमा अध्यक्ष रामचन्द्र कोईराला (आर.सी.) स्वयम् रहने र चर्चित गायक चन्द्र शर्मा कार्यक्रम निर्देशक, बरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी नृत्य बिभागको संयोजक, चर्चित मोडल एबं कोरियोग्राफर कृष्ण रसाल ईभेन्ट म्यानेजरको रुपमा रहने कुरा आयोजक पक्षले जानकारी गराएको छ । फागुन २१ गते दाङ, घोराहीमा सम्पन्न हुने यस मेलामा दाङ जिल्ला उधोग बाणिज्य संघ स्थानिय आयोजकको रुपमा रहने कुरा दाङ जिल्ला उधोग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी गराए ।

सनम र अश्विनीको उत्कृष्ट अभिनयमा पराईकी रानी

समाचार


काठमाण्डौ-  चर्चित गायक राज सिग्देलको आवाजमा रहेको  गीत पराईकी रानी उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम  कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ । 

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो  धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको छ । उक्त म्युजिक भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युव च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोका निर्देशक जनक सिंह , छायांकन दिपक गिरि अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।

एकल ‘अल नेपाल कमेडी शो’ लिएर आउदै चर्चित हाँस्य कलाकार गणेश ईशारा

समाचार


काठमाडौं – गायनसंगै समाजसेवामा समेत सक्रिय चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने भएका छन् । कलाकार इशाराले ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ आदि प्रहशन प्रस्तुत गर्ने भएका छन् । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएका छन् ।

ईशाराले बिगतमा मृगौला पिडित खोटाङका हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, राजेन्द्र राई, दोलखाकी कौसिका ठकुरी, झापाकी ललिता चाम्लीङ लगायतकालाई आर्थिक सहयोग उपलब्ध गराई सकेका छन् । कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्राम देखि विभिन्न रोगबाट पिडितहरुको लागि आर्थिक सहयोग जुटाउदै आएका छन् । कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परेका दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको बताए । १४ औं एकल शो बैशाख ६ गते बिहिबार राष्ट्रिय नाचघर जमलबाट शुभराम्भ हुने कार्यक्रमको संयोजक बन्दना किराँती, धरान ट्राभल्र्स टुर एण्ड प्रालि सातदोेबाटोको आयोजनामा हुन लागेको हो ।

गोर्खा वारियरको पोखरामा रेडकार्पेट प्रिमियर

समाचार


पोखरा- यही ११ फागुनबाट नेपालमा रिलिज हुने मिलन चाम्स निर्देशित ऐतिहाँसिक नेपाली चलचित्र गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो ।
गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम) ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट बनेको प्रतिक्रिया दिए । उनले सबै नेपालीले हेर्नुपर्ने सिनेमा बनेको बताए । किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृत बहादुर सुनवारले नेपाललाई सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर विश्वमा चिनिने हुँदा गोर्खा वारियरले उक्त पहिचानलाई ब्रकरार राख्ने उनले बताए । गोर्खालीको इतिहास बुझाउन पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।
गुरुङ सिनेमा निर्देशक कृष्ण कुमार गुरुङले गोर्खा वारियर विश्वले हेर्ने सिनेमा बनेको बताए । गार्खाली समुदायको कथालाई विश्वले मन पराउनेमा उनी विश्वस्त छन् । कलाकार तथा पत्रकार विभू भूषालले गोर्खा वारियर एउटा कालखण्डको सिनेमा भएता पनि नेपालीको बहादुरीपनलाई झल्काउन खोजिएको सिनेमा भएको उल्लेख गरे । छायाँकन देखि संस्कारसंस्कृति सम्मका हरेक विषय समेट्न खोजिएकोले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए ।
प्रिमियर शो हेर्न आएका रिटार्यड ब्रीटिस आर्मी रुकमान गुरुङले सिनेमा भित्र आफुलाई पाएको अभिव्यक्ति दिए । गार्खालीको बहादुरी सँगै परिवारको कथालाई समेत जोडिएको हुँदा सिनेमाले मन छोएको प्रतिक्रिया उनको छ । चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले वार जनराको सिनेमा बनाउन नेपालमा गाह्रो भएता पनि गोर्खा वारियर मार्फत प्रयास राम्रो भएको बताए । ७० वर्ष अगाडिको कथा भएकाले त्यतिबेलाको समाजको झल्को सिनेमामा देख्न पाइने उनले उल्लेख गर ।
नायक रितेस चाम्सले प्रीमियर शोमा पोखरेली दर्शकको माया पाउँदा खुशी लागेको बताए । दर्शकको साथमा बसेर सिनेमा हेरिरहँदा कतिको आँखामा आँशु देखेको र सिनेमाको कथावस्तुलाई रुचाएको पाइएको भनाई उनको छ । सिनेमाबाट उनी आशावादी देखिन्छन् ।

नायिका रेविका गुरुङले पोखरेली दर्शकको माया प्रति प्रतिक्रियाका लागि कुनै शब्द नभएको उल्लेख गरिन् । भावुक हुँदै उनले भनिन्,‘पोखरा प्रीमियर शोमा अथाह माया पाएका छौं । आशा छ सिनेमा रिलिज भइसकेपछि पनि विश्वभरका दर्शकको माया मिल्नेछ ।’
अग्रज संचारकर्मी नरेश भट्टराईले पोखराका दर्शकको माया प्रशंसालायक रहेको उल्लेख गरे । गोर्खा वारियर गोर्खाली लाउरेहरुको कथा भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने उनले बताए । प्रिमियरमा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राई, तमु धी नेपालका अध्यक्ष होमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष पवित्रा थापा मगर, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, भूपू ब्रीटिस आर्मी मेजर लक्ष्मी प्रसाद गुरुङ, किराँत सेवा समाज पोखरा कास्कीका अध्यक्ष दिपेन्द्र राई, आदीवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस मगर, नेपाल आदीवासी चलचित्र महासंघ गण्डकी प्रदेशका अध्यक्ष माओत्सेतुङ गुरुङ लगायतको उपस्थिति थियो । सबैले सिनेमा हेरिसकेपछि राम्रो तारिफ गरे ।

फागुन ११ गते बाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ । सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका हुन् । सुमन राई सिनेमाका निर्माता हुन् ।

सन्तानेश्वर महादेव मन्दिरमा बटुकहरूको निशुल्क ब्रतबन्ध र निसन्तान दम्पतीलाई महाप्रसाद वितरण गरिने

समाचार


ललितपुर | गोदावरी नगरपालिका– १३ झरुवारासीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरमा फाल्गुण १२ गतेसम्म शिवपुराण यज्ञ गरिने श्री सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा संघले जानकारी गराएको छ । संघका अध्यक्ष विनोद खड्काले फाल्गुण २ गते श्रीपञ्चमीदेखि शुरु भएको शिव पुराण १२ गते स्वस्थानी पूर्णिमाको दिन समापन हुने जानकारी गराउनु भएको हो ।  

फागुण ३ गते देखि फागुण ११ गते सम्म नित्य पुजा रूद्रभिषेक, आरती, पाठ परायण, कथा, दार्शनिक प्रबचन, सॉगितीक भजनक्रितन, झाँकी एवं विविध कार्यक्रम गर्ने तय गरेको सन्तानेश्वर महादेव मन्दिर संरक्षण तथा संवर्धन सेवा संघले फागुण ९ गते द्वादशीको दिन मध्यान्हमा स्वस्थानी माताको रथ यात्रा निकाल्ने तयारी गरेको छ । अध्यक्ष खडका अनुसार २०८० फागुण ११ गते लक्ष्यवर्ती (लाख वत्ती) प्रज्वलन, २०८० फागुण १२ गते पुर्णिमाको दिन नित्य पुजा आरती रूद्रभिषेक हवन, तिल चढाऊने, बटुकहरूको निशुल्क ब्रतबन्ध, निसन्तान दम्पतीलाई सन्तान प्राप्तीको उदेश्यले महाप्रसाद वितरण,यज्ञ समापनको प्रसाद वितरण गर्दै यज्ञ समापन हुनेछ ।  

स्कन्दपुराणको केदार खण्डमा शिवशक्तिको महिमा वर्णन गर्ने क्रममा सन्तानेश्वर महादेवको विवरण पाईन्छ । यस्तै स्कन्द पुराणमा श्रीस्वस्थानी ब्रतकथाको दशौं अध्यायमा सतिदेवीको बिभिन्न अङ्ग पतन भई शिवशक्ति पीठ उत्पत्ति हुने क्रममा नेपालको ॐकारेश्वरमा पुग्दा सतिदेवीको उपल्लो ओठ पतन भयो भनिएको छ । ॐकार पीठ, मातृकादेवी, पुर्णेहरी योगीनी, श्री सन्तानेश्वर महादेव उत्पत्ति भयो र शिवशक्ति स्वरुपले रहे भनिएको छ । त्यस मोक्ष भूमिमा कल्पवृक्ष आई नाना फलफूल चढाई पुजा गरे, ईश्वरी प्रसन्न भई वरदान लेऊ भन्दन कल्पवृक्षले जो चिताएको सो फलाउन सकूँ भनी मागेको कथा रहेको छ ।यस महादेव र कैलाश पर्वतको बारेमा विभिन्न किंबदन्ती तथा जनश्रुतिहरु पनि रहेको छन् । पौराणिककालमा बाह्रै राशीहरु यस स्थानमा भलरी शीवजीको तपस्या,आराधना गरेको हुनाले भन्ने जनश्रुति पाईन्छ ।

द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तीको चाहना राखी यसै पुण्यभूमिमा आई शिवजीको आराधना गरेपश्चात् प्रत्येक पत्नीहरुबाट दश पुत्र र एक पुत्री प्राप्त भएको थियो भन्ने पौराणिक किंंबदन्ती रहेको छ । यसरी यी महादेवको मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतिहरुलाई सन्तान प्राप्त हुने, भविष्य उज्जवल हुने, सुयोग्य जीवनसाथी प्राप्त हुने आदि मनोकाङ्क्षा पूर्ण हुने जनविश्वास रहेको पाईन्छ ।

यस ईलाकामा बिबाह, ब्रतबन्ध वा कुनै उत्सव पर्दा प्राचीनकालमा आवश्यक भाँडावर्तन प्राप्त हुने किंबदन्ती रहेको पाइन्छ । यसको प्रमाणस्वरुप कैलाश पर्वतको उत्तरपूर्वमा रहेको महाङ्काल मन्दिरको ढुङ्गाको छिद्रमा कान थापेर सुन्दा भाँडावर्तनहरु बजेको आवाज आज पनि सुन्न सकिन्छ भन्ने मान्यता स्थापित छ ।

यस मन्दिर सातदोबाटोबाट करिव ६ कि.मि. दक्षिण पूर्व दिशामा पर्दछ । ललितपुरको चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल हुँदै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ । समुन्द्री सतहबाट १५०७ मीटरको उचाईमा रहेको सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वतको शिखरमा विराजमान छ । मन्दिरको फेदि स्थित मुल गेटबाट शिखरमा उक्लनका लागी ३६६ वटा सिँढी हुँदै करिव १०० मिटर जतिको उकालो चढ्नु पर्दछ । प्यागोडा शैलीमा निर्मित सन्तानेश्वर महादेव मन्दिर २ तलाको रहेको छ ।

पशुपति नाथ मन्दिर परिसरमा पहिलो चोटि स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै

समाचार


काठमाण्डौं । पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम आयोजनामा आएको छ । आराध्यदेव पशुपति नाथ मन्दिर परिसर स्थित पन्चदेवल सत्तलमा स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम गत माघ ११ गतेबाट नियमित संचालनमा आएको हो । सनातन शक्ति नेपाल, कवि गुरुकुल र अखण्ड सनातन हिन्दु युवा वाहिनीको संयुक्त आयोजनामा भईरहेको उक्त धार्मिक कार्यक्रममा गुरु संजय निरौला भारद्धाज वाचक रहनु भएको छ ।

शनिवार दिउँसो १ वजेदेखी र अन्य बार दिउँसो २ बजेदेखी बेलुका ५ बजेसम्म स्वस्थानी माताको ब्रतकथा बाचन तथा प्रसाद ग्रहण कार्यक्रम नियमित भैरहेको आयोजक संस्था कवि गुरुकुलका अध्यक्ष तथा प्रबन्धक निर्देशक राम राघव आचार्यले जानकारी गराउनुभएको छ । परिवार धर्म नै सबै भन्दा ठुलो धर्म भएको विषयलाई उजागर गर्ने स्वस्थानी माताको ब्रतकथा करिब ५०० बर्ष अघि लेखिएको भएता पनि कलियुगको यस समयमा पनि उत्तिकै सान्दर्भिक रहेको आचार्यले बताउनुभयो ।

स्वस्थानी माताको ब्रतकथा श्रवण गर्नाले कुल, गोत्र, माता पिता साथै प्रकृति समेतको महत्व बोध हुने हुदाँ कार्यक्रम आयोजनामा ल्याईएको आचार्य बताउनुहुन्छ । स्वस्थानी माताको ब्रतकथाको साङगे यहि फाल्गुण १२ गते स्वस्थानी पूर्णिमाको दिन हुँदैछ ।

चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु

समाचार



हेटौडा – चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारबाट चार दिवसीय प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सुरु भएको छ । कार्यशालाको उद्घाटन सत्रमा चलचित्र पत्रकारितामा लामो समय विताइसक्नु भएका चलचित्र निर्देशक तथा चलचित्र पत्रकार माधव राज खरेल, चलचित्र पत्रकार सानु श्रष्ठ, विनोद अर्याल, सञ्चारकर्मी एवं नायिका शोविता सिंखडा तथा सञ्चारकर्मी निराजन भण्डारीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
कार्यशालाको शुभारम्भ गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नेपालमा व्यावसायिक रुपमा चलचित्र पत्रकारिता फस्टाइरहेको देख्दा खुशी लागेको बताइन् । उनले हेटौडालाई छनोट गरेर राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशाला आयोजना गरेकोमा आभार व्यक्त गरिन् । 
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र र चलचित्र पत्रकारिताको सम्बन्ध अभिन्न रहेको भन्दै आगामी दिनमा यो सम्बन्धलाई अझ मजबुत बनाएर लैजानमा जोड दिए । 
चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले देशभरका चलचित्र पत्रकारलाई चलचित्र र चलचित्र पत्रकारिताको वर्तमान अवस्थासँगै चलचित्र पर्यटन, विज्ञापन, बजारीकरणलगायतका विषयमा जानकारी दिन कार्यशाला गरिएको बताए ।
चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियले नेपालमा चलचित्र पत्रकारिताको विगत र वर्तमानको अवस्थालाई कार्यपत्रमा प्रस्तुत गरेका थिए । कार्यपत्रमा चलचित्र पत्रकारिताको पृष्ठभूमि, प्रारब्ध, रंग पत्रकारिताको वर्तमान अवस्था (पत्रपत्रिका, रेडियो÷एफएम, टेलिभिजन, अनलाइन÷डिजिल युग), चलचित्र पत्रकारिताको उद्देश्य र प्रभाव (चलचित्र पत्रकारिता र व्यावसायिक सम्बन्ध) विषयलाई समेटिएको छ । 
त्यस्तै कार्यपत्रमा चलचित्र पत्रकारिताको विद्यमान अवस्था), चलचित्र पत्रकारिताका चुनौती, चलचित्र पत्रकारितामा आकर्षण कि विकर्षण ?, चलचित्र पत्रकार संघको इतिहास र वर्तमान अवस्था र कार्यदिशालाई पनि उल्लेख गरिएको छ ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले मिडिया हाउसले बिट पत्रकारिताका रुपमा चलचित्र पत्रकारितालाई स्वीकार्नु स्वागत योग्य भएको बतँए । उनले शान्तिप्रियले कार्यपत्रमा उल्लेख गरे जस्तो प्रिन्ट पत्रकारिताको अवसान भएको कुरा गलत भएको भन्दै त्यसलाई ‘डिजिटल रुपान्तरण’का रुपमा राख्न सुझाव दिए । ‘हाम्रो मिडिया अहिले फेसबुक, युट्युब तथा डिजिटल प्लेटफर्ममा गइसकेका छन् । त्यसकारण अहिले नै प्रिन्ट पत्रकारिताको अवसान भन्नु अलिक हतारो भयो कि ?’ उनले भने ।
बलले चलचित्र पत्रकारितामा व्यावसायिकता भनेको क्षमता अभिवृद्धिका रुपमा आफूले बुझेको बताए । ‘उहाँले चलचित्र पत्रकारितामा व्यावसायिकताको सवालमा विशेषत फाइदा र आर्थिक कुरालाई जोड दिनुभएको छ । तर मेरो बुझाईमा व्यावसायिकता भनेको क्षमता अभिवृद्धि हो । उहाँले कार्यपत्रमा यो कुरालाई अझ प्रष्ट खुलाइदिनुभएको भए राम्रो हुन्थ्यो’, उनले भने ।
त्यस्तै बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले ‘चलचित्र ऐन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा छलफल गर्दै निर्माता तथा निर्देशक आकाश अधिकारीले कार्यपत्रमा प्रदेशको कथा विषयवस्तुलाई प्राथमिकता दिएजस्तै नेपालका कथालाई विषयवस्तुलाई पनि समेट्न सकेमा राम्रो हुने सुझाव दिए । उनले रोल्पा, डोल्पामा छायांकन हुने फिल्महरु बागमती प्रदेशमा सुटिङ गर्न आए भने पनि त्यसलाई सहुलियतको व्यवस्था हुनुपर्ने माग गरे ।
नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले बनिसकेका फिल्म प्रदर्शनलाई सापकोटाले आफ्नो कार्यपत्रमा प्रस्तुत नगरेकोमा गुनासो गरे । उनले फिल्मको बजारको कुरा छुटेको र फिल्म हल सञ्चालनको विषयमा स्थान नदिएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदेश र संघीय सरकारले बनाउने चलचित्र ऐन एकापसमा बाझ्ने किसिमको नहुनुपर्ने तर्क राखे ।
राष्ट्रिय भेलामा पत्रकार ध्रुव लम्सालले ‘नेपाली चलचित्र उद्योगको अवस्थाः हिजो आज र भोलि’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार विदुर गिरीले कार्यपत्र नभई टिपोट मात्र भएको बताए । उनले कार्यपत्रमा धेरै कुरा छुटेकाले कार्यपत्रमा मेहनत नदेखिएको उल्लेख गरे ।
प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले फिल्म पर्यटनका बारेमा धेरै कुराकानी भए पनि यो विषयमा गहन छलफल हुनुपर्ने बताए । उनले चलचित्र पत्रकारिता धेरै पढिने विधा भएकाले यसलाई ठट्टाको रुपमा नलिन आग्रह गरे । ‘अब कन्टेन्टको विषयमा ध्यान दिनुपर्छ । चलचित्र पत्रकारितामार्फत चलचित्रको आयाम फेर्ने समय आएको छ । त्यसकारण चलचित्रका कन्टेन्ट लेख्दा यसको प्याटर्न चेन्ज गरौं । मर्यादित, विश्वसनीय र स्तरीय कन्टेन्ट बनाउनतिर ध्यन दिऔं’, उनले भने । 
‘चलचित्र पत्रकारिता र आचारसंहिता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै फूलमान बलले चलचित्र पत्रकारिता गर्नेलाई चलचित्रबारे ज्ञाने हुनुपर्ने सुझाव दिए । ‘अहिले रहरमा आउने, बुम, क्यामरा बोकेर पत्रकारिता गर्नेलाई आचारसंहिताको केही थाहा छैन । भ्यूज पत्रकारिता बढ्यो’, फूलमानले गुनासो गरे ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले ‘क्लिन फिड र अनलाइन बजार व्यवस्थापन’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

खबरब्रेकिंगका सम्पादक गैरे विश्व उपभोक्ता महासंघ नेपालबाट सम्मानित

समाचार


काठमाडौं । खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ नेपालबाट सम्मानित भएका छन् । शुक्रबार एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गरेका हुन् ।

अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संचार एवं समाजसेवाको क्षेत्रमा क्रियाशिल भएर आर्थिक र सामाजिक रुपान्तरणको लागि गरेका योगदानको कदरस्वरुप संस्थाको आठौं वार्षिकोत्सबको अवसरमा “राष्ट्रिय सेवा सम्मान २०८०” द्वारा सम्मानित गरिएको हो।

प्रधानसम्पादक गैरे सम्वाद क्लव नेपालका अध्यक्ष समेत हुन् ।