economic
||Power News Asia||

आजको समाचार

उपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटन

आर्थिक


काठमाडौं, २४ फाल्गुण- महिला चेम्बर ट्रेड फेयर २०२१ आजबाट शुरु भएको छ ।  नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयरको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका हुन । उपराष्ट्रपति पुनले महिला चेम्बर ट्रेड फेयर २०२१  साथै अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोहको समेत उद्घाटन गरे ।  सो अवसरमा उपराष्ट्रपति पुनले काठमाडौंको होटल ¥याडिसनमा सोमबार आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए । 

“संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ, सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ”, उपराष्ट्रपति पुनले भने , “विश्वमै नेपाल उदाहरणीय बनेको छ । तर कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।”

दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तराष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए । “कुनै पनि समाजमा महिलाहरूको अवस्था कस्तो छ भन्ने आधारमा उक्त समाजको प्रकृति र चरित्र थाहा हुन्छ”, उनले भने । उनले महिलाहरूद्वारा सञ्चालित उद्यमहरुको प्रवद्र्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै जानु चिन्ताको विषय भएको पनि उनले बताए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे  । कृषि तथा जलविद्युत क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए । सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको उल्लेख गरे । “जति दिने हो, बिना झन्झट, स्वतःस्फुर्त पाउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ”, उनले भने । अध्यक्ष श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामानहरू प्रयोग गर्न र विदेशसम्म निर्यात हुने वातावरण बनाउन आग्रह समेत गरे । 

नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताईन्  । महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने पनि उनले स्पस्ट पारिन् । महिलाहरूले गर्ने व्यवसायमा कर छुट तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न माग राख्दै नेपाल महिला चेम्बरले महिलाहरूको क्षमता अभिवृद्धिमा कार्य गरिरहेको साथै नीतिगत सुधारमा पनि आफूहरूले आवाज उठाइरहेको उनले बताईन्। 

कार्यक्रममा नेपालका लागि युरोपियन डेलिगेसनका प्रमुख नोना डेप्रेजले आफुहरुले संस्थागत रुपमा नेपालमा महिला उद्यमशिलता विकासका लागि काम गरिरहेको बताउदै आगामी दिनमा समेत महिला उद्यमशिलता विकासका लागि काम गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन ।  

 कार्यक्रममा श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुना तिलका र अस्ट्रेलियन राजदूत फेलिसिटी जेनिभल्क, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्षद्वय कमलेश अग्रवाल र दिपक मल्होत्रा चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमय, महिला चेम्बरका उपाध्यक्षद्वय सुश्मा शर्मा र अम्बिका शर्मा, सचिव लिमा अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

महिला उद्यमीहरु सम्मानित

१११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गरेको छ । सम्मानित हुने महिला व्यवसायीहरूलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्नदबहादुर पुनले सम्मानपत्र प्रदान गरे । सो अवसरमा आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल सम्मानित भएकी छिन । यस्तै बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ सम्मानित भइन् भने एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपले प्राप्त गरेको छ । यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्माले प्राप्त गरेकी छिन् ।

मेला १० मार्चसम्म 

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर बुधबारसम्म चल्नेछ । मेलाको थिम ‘मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने रहेको छ । मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी स्टल रहेका छन् ।  आजबाट शुरु भएको मेला मेला १० मार्च साँझसम्म जारी रहनेछ ।  

चेम्बर अध्यक्ष श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित

आर्थिक


काठमाडौं, १७ फाल्गुण- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् । अध्यक्ष श्रेष्ठलाई भारत स्थित पश्चिम बंगाल व्यापार संघहरुको महासंघ कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनले सम्मान गरेको हो ।

कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनका अध्यक्ष सुशिल पोदर, महासचिव राजेश भाटिया, कोषाध्यक्ष प्रदिप लुहारवाला र संयोजक सन्दिप कुमार अग्रवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त सम्मान पत्रमा नेपाल भारत मित्रताको लागि श्रेष्ठले खेल्दै आएको भूमिकाको मुल्यांकन गर्दै उक्त सम्मान समर्पण गरिएको खुलाईएको छ ।

मार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदै

आर्थिक


काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो ।

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन । साथै, उनले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रियता बढाउदै लगेको पनि जानकारी दिइन् ।अध्यक्ष श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन ।

त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका महानिर्देशक कैलाशकुमार बजिमयले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरको संयुक्त आयोजनामा हुन गईरहेको उक्त मेलाले देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत मिल्ने धारणा राखे । साथै उनले स्टल बुकिङ र आगन्तुकलाई आकर्शित गर्ने गरि तयारी भैरहेको पनि जनाए ।

नेपाल चेम्बर अफ कमर्शका ट्रेड कमिटी संयोजक तथा उक्त मेलाका संयोजक राष्ट्र भुषण चाकुबजीले उक्त मेलाले नेपाली महिला उद्यमीलाई प्रोत्साहन मिल्ने धारणा राख्दै मेलालाई सफल पार्न सम्बन्धित सबैलाई आग्रह गरे । कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्माले अन्तरराष्ट्रिय उडान अवरुद्ध भैरहेको वर्तमान स्थिती माझ आन्तरिक बजार प्रबर्द्धनका लागि मेला कोशेढुङा बन्ने राय पेश गरिन ।

त्यसैगरि, उक्त मेला अन्तर्गतको प्रदर्शनी संयोजक तथा महिला चेम्बरकी सचिव लिमा अधिकारीले मेलाको दोस्रो दिन कामना विकास बैंकले महिला उद्यमीहरुको वित्तिय सशक्तिकरणका लागि अन्तर्कृया कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै ‘व्यापार भिजन’ प्रतियोगिता आयोजना गरि उत्कृष्ट भिजन प्रस्तुत गर्नेहरुलाई पुरस्कृत गरिने जानकारी दिइन् ।

सो अवसरमा महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले कार्यक्रमलाई सम्बोधन गर्दै मेलाको अवसरमा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन गर्ने जानकारी दिईन भने महिला चेम्बरकी ट्रेड फेयर संयोजक जानकी प्रधानले मेलालाई फरक ढंगले आयोजना गर्न लागिएको दाबी गर्दै सबैलाई समेटने कोशिस नेपाल महिला चेम्बरले गरेको जनाउदै मेलालाई सफल पार्न संचार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन ।

सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले समुदघाटन गर्ने तय गरिएको उक्त मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी सय भन्दा बढी स्टल रहने उक्त पत्रकार सम्मेलन माझ जानकारी दिइयो ।

राजदूत रेग्मी र चेम्वर पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल

आर्थिक


काठमाडौं/ संयुक्त अधिराज्यका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच द्धिपक्षीय आर्थिक सम्वन्ध अभिवृद्धि बारे छलफल भएको छ । राजदूत रेग्मी र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु बीच चेम्वर भवनमा बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नवनियुक्त राजदूत रेग्मीको सफल कार्यकालको कामना गर्दै नेपाल र संयुक्त अधिराज्य बीच कुटनीतिक सम्वन्ध स्थापनाको द्धिशतवार्षिकी भइ सकेता पनि दुई मुलुक वीचको व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए । दुबै देश बीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी निजी क्षेत्र बीचको सम्वन्धलाई बढाउनु पर्ने, द्धिपक्षीय व्यापार प्रतिनिधि मण्डलको भ्रमण आदान प्रदान बढाउनुपर्नेमा उनले जोड दिए । अध्यक्ष श्रेष्ठले विश्व अर्थतन्त्रमा संयुक्त अधिराज्यको बित्तीय क्षेत्रको साख उच्च तहको रहेकोले नेपालमा वैकिङ क्षेत्रको लगानी भित्र्याउन, नेपालबाट अर्गानिक वस्तुको निर्यात बजार बिस्तारको लागि पहल गरिदिन र पर्यटन प्रवद्र्धनका लागि सोझै हवाइ सम्पर्क कायम गराउने तर्फ पनि प्रयास गरी दिन आग्रह समेत गरे ।

भेटका अवसरमा नवनियुक्त राजदूत रेग्मीले संयुक्त अधिराज्य बित्तीय हव भएकोले बिश्व अर्थ जगतमा यसको विश्वसनियता रहेको औल्याउदै संभव भएसम्म नेपालमै शाखा कार्यालय स्थापना गराउने वा प्रतिनिधि कार्यालय स्थापना गराउन पहल गर्ने र यसबाट नेपालमा लगानीको लागि अनुकुल बातावरण सृजना हुने बताए । संयुक्त अधिराज्यले एसियाली बजारलाइ महत्वका साथ हेरिरहेकोले पाइएको धारणा राख्दै फाइदा लिनुपर्ने पनि रेग्मीले उल्लेख गरे । संयुक्त अधिराज्य र नेपाल बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न प्रबिधि हस्तान्तरण गर्ने र ठूला उद्योगमा लगानी भित्र्याउन वीटुवी तहमा सम्वन्ध बिस्तारका लागि प्रयास गर्ने प्रतिवद्धता व्यक्त समेत गरे । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो ।

महासंघ प्रतिनिधी मण्डल र श्रम मन्त्री बीच भेटवार्ता

आर्थिक


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल र सदस्य सीताराम रेग्मी सहितको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीसंग भेट गरेको छ । मन्त्रालयमा भएको सो भेटका क्रममा ढकाल नेतृत्वको सो प्रतिनिधी मण्डलले निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।

भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा सो अवसरमा उठाइयो । भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि बाहिरिने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपमुलक तालीम तत्काल संचालन गर्न आवश्यक रहेको बताए ।

सो अवसरमा मन्त्री चौधरीले निजी क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह

आर्थिक


काठमाडौं, ११ फाल्गुण -नेपाल चेम्बर अफ कमर्शले कोरोनाको खोप दिँदा उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेको छ । उद्योग तथा व्यवसायी क्षेत्र अग्रपंक्तीमा रही काम गर्ने भएकोले राज्यले गम्भीरतापूर्वक लिइ प्राथमिकतामा राखी खोप दिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष चेम्बरले अनुरोध गरेको हो । चेम्बरका तर्फबाट आधिकारीक धारणा राख्दै महानिर्देशक कैलाश कुमार बजिमयद्वारा प्रेसित पत्रमा सो सम्बन्ध बारे उल्लेख गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि सम्भव हुने भएकोले निजि क्षेत्रलाई प्राथमिकतामा राख्न चेम्बरले आग्रह गरेको छ ।

कर सम्बन्धी छुट तथा सुविधाको समय सिमा बढाउन व्यवसायीको माग

आर्थिक


 काठमाडौं- व्यवसायीहरुले कर सम्बन्धी छुट तथा सुविधाको समय सिमा बढाउन माग राखेका छन् । ‘कर प्रणालीमा भएको समसामयिक सुधार एवम् आर्थिक ऐन २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धी’ अन्तर्कृया कार्यक्रम माझ व्यवसायीहरुले सो माग अघि सारेका हुन । आन्तरिक राजश्व विभाग र नेपाल चेम्बर अफ कमर्शद्वारा संयुक्त रुपमा आयोजित कर सम्बन्धी छुट तथा सुविधा बारेको सो अन्तर्कृया कार्यक्रममा विभिन्न्न वस्तुगत संघको तर्फबाट प्रतिनिधीत्व गर्दै सहभागी पदाधिकारीहरु मध्ये अधिकांशले समयसिमा बढाउनु पर्ने धारणा राखेका थिए । त्यसो त व्यवसायीहरुले बिषयगत रुपमा आ आफ्नो व्यवसायमा विद्यमान कर प्रणालीले पारेको समस्या कथन, त्यस्ता प्रावधानले व्यवसायमा पार्ने दिर्घकालिन असर, सुधार गर्नुपर्ने कारण, कर प्रणालीको सुधारले राजश्व प्रणालीमा हुन जाने फाईदा, अर्थतन्त्रमा दिने योगदान आदीका बारेमा अनुभव एवम् धारणा राख्दै सुझाव समेत पेश गरेका थिए ।

सो अवसरमा राजश्व सचिव राम शरण पुडासैनीले निजी क्षेत्रको नेतृत्वमा नै अर्थतन्त्र अघि बढाईने नीतिगत व्यवस्था अनुरुप निजी क्षेत्र र सरकार बीच कार्यगत एकता हुँदै आएको बताए । सो अवसरमा सचिव ले सरकारले दिएको छुट र सुविधा उपयोग गरि लाभ लिन आग्रह गर्दै कर प्रणालीलाई समायानुकुल बनाउन सरकार लागि रहेको स्पस्ट समेत पारे । सचिव पुडासैनीले वित्तिय नीतिबाट कर छुट र मौद्रिक नीतिबाट व्याजमा सहुलियत, पुनःकर्जा र सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको जानकारी दिए ।आर्थिक उत्थानका लागि मन्त्रालयले नीति क्षेत्रलाई धेरै कुरामा सहुलियतको व्यवस्था गरेको पनि उनले बताए । साथै सचिव पुडासैनीले कोभिड १९ को प्रतिकुलता माझ पनि निजी क्षेत्रबाट उत्साहजनक रुपमा कर असुली भएको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितीमा राज्यलाई सघाएको भन्दै निजी क्षेत्रको प्रशंसा समेत गरे ।

यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले करको दायित्व वहन गर्ने व्यवसायीहरु नै बढी जसो कर प्रशासनबाट प्रेसर (दबाब) मा रहने गरेको बताउदै कर प्रणाली व्यापार व्यवसाय मैत्री बनाउनु पर्नेमा जोड दिए । चेम्बर अध्यक्ष श्रेष्ठले मुल्य अभिब्रिद्धी कर र आय करको दर बढी भएको उल्लेख गर्दै करको दर घटाएर दायरा फराकिलो पार्नुपर्ने सुझाव दिदै निजी क्षेत्रको योगदानलाई अवमुल्यन गर्न नहुने राय समेत पेश गरे । साथै, श्रेष्ठले निजी क्षेत्रले अन्तरसरकारी निकाय बीचको समन्वय अभावमा कर लगायतका अन्य समस्याहरु झेल्दै आएको औल्याए । तचेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले करलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने सुझाव दिदै कर प्रणालीमा देखिएका प्राविधिक समस्यालाई पनि मन्त्रालयले समाधान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कर प्रणालीमा भएको समसामयिक सुधार एवम् आर्थिक ऐन २०७७ ले व्यवस्था गरेका छुट तथा सुविधा सम्बन्धमा विभागको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, चेम्बरका पदाधिकारी एवम् विभिन्न समितीका सभापति, कर अधिकारीहरु, व्यवसायी आदीको उपस्थिती रहेको थियो ।

आफू करोडौंको पार्टी गर्ने अनि निर्माणाधिन माझी बस्तीको लागि सहयोग याचना !

आर्थिक


काठमाडौं- नायिका स्वेता खड्काले निर्माणाधिन माझी बस्तीको लागि सहयोग गर्छु भन्नेहरुले सहयोग नगरेको गुनासो सामाजिक सञ्जालमा गरेपछि अहिले उनको बारेमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ। खड्काले आफूहरुले कुनै जोर जबरजस्ती नगरिकनै पनि स्वतःस्र्फूत रुपमा सहयोग कबुल गरेका तर अहिलेसम्म कुनै सहयोग नगरेको लिष्ट लामै रहेको कुरा लेखेकी थिईन् । तर, उनका फ्यानहरुले नै उनीमाथि प्रश्न गरेका छन् । आफू करोडौं खर्च गरेर विहे भोजमा सरिक हुने तर माझी वस्तीको लागि सहयोगको याचना गर्ने भनेर प्रश्न समेत फ्यानले उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन् “धुर्मुस सुन्तली फाउण्डेशनु को झै हाम्रो पिंडा पनि उहि हो । निर्माणाधिन माझी बस्तीले पनि रिण बोकेर नै बसेकोछ । स्थानिय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दक्ताहरुलाई माझी बस्तिसंग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामिले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वस्तस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान , धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामिले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन । तथापी , आफ्नो प्रतिवद्दता र कटिवद्दतालाई भुलेर गरिवहरुको आशा र भरोशा माथी खेलवाड गर्नु भने पक्कै राम्रो होईन । पुरा गर्न नसक्ने, बाचा, पुर्ती गर्न नसक्ने , आस्वासन र दिन नसक्ने , सहयोगको कुनै अर्थ छैन । अत स् आफुलाई समाज सेवी को रुपमा चिनाउन कोही कसैको भरोशा माथी खेलवाड नगरौ ।”

उनले धनगढीका युवा विजेयन्द्रसँग हालै विवाह गरेकी हुन् । उनीहरुलेकाठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा भव्य विवाह गरेका थिए भने काठमाडौं र धनगढीमा पनि भव्य विहे भोजको आयोजना गरेका थिए । कोरोना कहरको बेला उनीहरुले करोडौं खर्च गरेर विवाह गरे । त्यतिवेला माझी बस्तीको लागि केही पनि सोचेनन् । अहिले बस्ती निर्माणमा रकम अभाव भएको भन्दै सामाजिक सञ्जालमा भने रोईरहेकी छिन् ।

 

महासंघको बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा सुवोध कुमार गुप्ता मनोनित

आर्थिक


काठमाडौँ — माघ २७, २०७७। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी   सदस्य सुवोध कुमार गुप्ता महासंघ अन्तर्गत बैंक बित्तिय तथा बिमा समितिको उपसभापतिमा मनोनित भएका छन् ।  महासंघले सोमबार उनलाई  सो समितिको उपसभापतिमा मनोनित गरेको हो ।महासंघका केन्द्रिय अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा गुप्तालाई  बित्तिय समितिको उपसभापतिमा मनोनित गरिएको उल्लेख गरिएको छ ।

महासंघका कार्यकारिणी समिति सदस्य शाहिल अग्रवाल उक्त समितीको सभापति छन् । यस समितिले नेपालका बैंक, वित्तीय संस्था, विमा कम्पनी लगायतका वित्त क्षेत्रसँग सम्बन्धित रहेर देशको वित्त, उद्योग, व्यवसाय आदी उकास्न भूमिका खेल्ने गर्छ ।महासंघ भित्रको एक प्रमुख समितीका रुपमा रहदै आएको उक्त समितीले सभापति र उपसभापति दुवै काबिल पाएको महासंघ भित्र चर्चा हुन थालेको छ ।  

महासंघले गठन गरेको अन्य कमिटीमा पनि गुप्तालाई सदस्यका रूपमा मनोनित गरिएको छ ।  सुबोध कुमार गुप्ता नेपाल तेल, चामल, दाल संघका केन्द्रिय अध्यक्ष साथै वीरगञ्ज उद्योग संघका वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

न्युएज विजनेश वुमन - लाइफ टाइम एचिभमेण्ट अवार्ड मल्ललाई, इन्फ्लुन्सियल अवार्ड श्रेष्ठलाई

आर्थिक


 काठमाडौं । १२ जना महिला उद्यमीहरु ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट सम्मानित भएका छन् । आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज मासिक पत्रिकाको प्रकाशक संस्था न्यू बिजनेश एज प्रालिले १२ महिला उद्यमीहरुलाई शुक्रबार अवार्डबाट विभुसित गरेको हो । न्यू बिजले मल्ल होटेलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्‍याए बापत ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट सम्मान गरेको छ भने साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मानित गरेको छ । त्यसैगरि, कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरप्रेनर अफ दि ईयर २०२१’ अवार्ड र होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ बाट सम्मानित गरेको छ । किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणा ‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ अवार्डबाट सम्मानित भएकी छिन् ।

यस्तै न्यू बिजले प्रत्येक प्रदेशबाट १/ १ जना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । ‘इमर्जिङ इन्टरप्राइजीङ वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सातै प्रदेश स्थित एक÷एक जना उत्कृष्ट महिला उद्यमीलाई सम्मानित गर्ने क्रममा प्रदेश नम्बर १ बाट विराटनगरको चम्पा सु सेन्टरकी प्रोपाइटर चम्पा नेपाल, प्रदेश नम्बर २ बाट बिरगन्जस्थित मिथिला हाउस प्राइभेट लिमिटेडकी प्रोपाइटर तृष्णासिङ भण्डारी, बागमति प्रदेशबाट रिजाल प्लास्टीक उद्योग भक्तपुरकी प्रोपाइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्कील डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्युठानकी प्रोपाइटर चित्रकली बुढामगर, कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतकी हिमा कुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट बि पोलीटेनिक इन्स्युच्यूट धनगढीकी प्रबन्ध निर्देशक हिरा भण्डारी सम्मानित भएका छन् ।

न्यू बिजनेश एजले गत बर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीका कारण त्यसबेला उक्त कार्यक्रम स्थगित भएको थियो । दुई भाग गरि सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरण गत वर्ष नै सम्पन्न भइसकेको र दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको न्यु बिजले जनाएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत देशका बिभिन्न भागका व्यवसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको थियो । विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ़, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजना भएको पनि न्यु बिजले उल्लेख गरेको छ । दोस्रो चरण अन्तर्गत गत शुक्रबार उक्त समारोह आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स एन्ड इंडस्ट्री (एफएनसीसीआई), महिला उद्यमी संघ नेपालको आयोजनामा (एफडब्ल्यूईईएन) र नेपाल राष्ट्र बैंक (एनआरबी) सहयोगी साझेदारका रूपमा थिए । यस्तै निम्बस समूह (ब्यञ्जन), सीताराम गोकुल मिल्क्स, प्रोग्रेसिभ फाईनान्स, रिलायबल लाईफ ईन्स्योरेन्स, जनरल इन्स्योरेन्स, मेरिगोल्ड ज्वेलर्स र अग्नि ग्रुपले पनि उक्त कार्यक्रमलाई सहयोग गरेका छन् ।उक्त कार्यक्रमलाई सम्बन्धीत १० वटा जिल्लाका चेम्बर तथा उद्योगहरुले पनि सहयोग गरेका थिए । यस्तै, यस कार्यक्रमको अफिसियल टीभी प्लाटफर्म डिसहोम रहेको थियो।