ललितपुर, २५ मंसिर -ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य कृष्णलाल महर्जनले एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता भएको औंल्याउदै एकताबद्ध निजी क्षेत्र अभियानको नेतृत्व सम्हाल्न नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वलाई आग्रह गरेका छन् । ललितपुर उद्योग वाणिज्य संघद्वारा मंगलबार आयोजित महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुलाई स्वागत एवं बधाई कार्यक्रम माझ अध्यक्ष कृष्णलाल महर्जनले निजी क्षेत्रलाई एकताको सूत्रमा बाँध्न आग्रह गरेका हुन् । “निजी क्षेत्रको छाता संगठनका हैसियतले महासंघको काँधमा ऐतिहासिक जिम्मेवारी छ र त्यो जिम्मेवारी महासंघले सीएनआई, चेम्बरलगायत अन्य संगठनसमेतको विश्वास र सहमति लिएर पूरा गर्नुपर्छ,” अध्यक्ष महर्जनले भने, “अन्य संगठनलाई पनि विश्वासमा लिनुपर्ने र निजी क्षेत्रको साझा धारणा बनाउनुपर्ने यो बेला हामी महासंघभित्रै एक आपसमा पुराना तुष पालेर बस्यौं भने कहिँ पनि पुग्दैनौं, यसैले एकताबद्ध निजी क्षेत्र आजको आवश्यकता हो र निसन्देह यसको नेतृत्व महासंघले नै लिनुपर्छ ।” उनले भने । अध्यक्ष महर्जनले निजी क्षेत्रको नेतृत्व महासंघले लिएमा ललितपुर उद्योग वाणिज्य संघ महासंघलाई काँधमा बोकेर अगाडि बढ्न पनि तयार रहेको बताए । थप धारणा राख्दै उनले भनेका छन् “कोभिडका कारण यतिबेला निजी क्षेत्र नराम्ररी थला परेको छ । महामारीको संकट सुरु भएको झन्डै ९ महिना पुग्न लागिसक्दा पनि बल्ल हामी सरकारबाट घोषित पुनर्कर्जा र व्यवसाय सञ्चालन कोष कार्यान्वयनको पहिलो चरणमा आइपुगेका छौं । अहिलेसम्म राष्ट्र बैंकले ऋणीप्रति राखेको सद्भावकै कारण आम व्यवसायीहरुको समस्या सतहमा त्यतिधेरै आइसकेको छैन । तर, व्यवसाय पुनः सञ्चालन नहुने हो र अर्थतन्त्रले पहिलेकै लय पक्रन सकेन भने केही समयभित्रै यो विष्फोट हुनसक्ने अवस्था छ,”। सो अवसरमा महर्जनले महासंघको नयाँ नेतृत्वले अहिलेको संकट र चुनौतीलाई अवसरका रुपमा ग्रहण गर्नुपर्ने भनाई राख्दै सरकारलाई निजी क्षेत्रका एजेण्डा सम्बोधन गर्ने गरि काम गर्न सक्नुपर्ने उल्लेख गरे। “हामी निजी क्षेत्र भनेकै संकटमा अवसर देख्ने वर्ग भएकाले सरकारलाई फकाएर हुन्छ कि दबाब दिएर हुन्छ, जसरी पनि निजी क्षेत्रका एजेण्डामा अगाडि बढाउनु पर्छ । त्यसका लागि हामी पहिले एक हुनु आवश्यक छ,” उनले भने, “हामीले अर्थतन्त्र पुनरुत्थानका लागि मात्र नभइ अबको मुलुकको एजेण्डा नै राजनीतिक नभई आर्थिक एजेण्डा हो भनेर स्थापित गर्न सक्यौं भने निश्चय पनि हाम्रो कार्यकाल सफलमात्र नभइ ऐतिहासिक पनि हुनेछ । ” महर्जनले आफ्नो धारणा राख्दै भने । त्यसै गरि महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको ५४ औ साधारण सभा र सोही अवसर माझ सम्पन्न निर्वाचन पस्चात महासंघमा पक्ष विपक्ष भन्ने भावनाको अन्त्य भई सकेको कुरा राख्दै सबै मिलेर मुलुकको आर्थिक विकासका लागि सशक्त रुपमा कार्यक्रम बनाउने योजना लिएको बताए । अध्यक्ष गोल्छाले देशैभर हाल सुस्त रहेको आर्थिक गतिविधिलाई गति दिन महासंघले सबैको सहमति र सल्लाहमा चाँडै नै धारणापत्र तयार पारि कार्यान्वयका लागि सरकारलाई पेश गर्ने पनि बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले धन्यवाद ज्ञापन गर्दै निर्वाचित पदाधिकारी र सदस्यहरु एक एकजुट भई महासंघलाई सशक्त तुल्याउनु पर्ने बताए । उपाध्यक्ष जोशीले महासंघलाई नमुनाका रुपमा स्थापित गर्न लाग्नुपर्ने औल्याउदै यसका लागि संघले सदैव सहयोगी भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा सहित विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघई, कोषाध्यक्ष सकुन्त लाल हिराचन, कार्यकारिणी सदस्यहरु लगायत वाग्मति प्रदेशको जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो । अध्यक्ष महर्जन सहित निर्वतमान अध्यक्ष सविन श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष जोशीले महासंघका अध्यक्ष शेखर गोल्छा सहित विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघई, कोषाध्यक्ष सकुन्त लाल हिराचन, कार्यकारिणी सदस्यहरुलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा संघका महासचिव मनोज बहादुर न्याछ्योंले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
काठमाडौं, २५ मंसिर - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नवनिर्वाचित पदाधिकारी सहित जमल स्थित चेम्बर भवन प्रवेश गरेका छन् । महासंघ अध्यक्ष गोल्छा नवनिर्वाचित पदाधिकारी सहित बिहिवार चेम्बरद्वारा आयोजित स्वागत आतिथ्यता साथै बधाई कार्यक्रममा उपस्थित भएका हुन । महासंघका सुप्रिमोहरुलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ एवम् पदाधिकारीहरुले न्यानो आतिथ्यता टक्राएका थिए । यसै माझ नेपाल चेम्बर अफ कमर्सले जमल स्थित आफनै भवनमा स्वागत गर्दै महासंघ अध्यक्ष गोल्छा, वरिस्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ ,रामचन्द्र संघाई र कोसाध्यक्ष सुकुन्तलाल हिराचनलाई कार्यकालको पूर्ण सफलताको कामना सहित बधाई दिएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका प्रतिनीधीमूलक संस्था बीच विगत समय देखिनै बिभिन्न कार्य र क्षेत्रहरुमा सहकार्य हुँदै आएको स्मरण गर्दै नयाँ कार्य समितीसँग पनि सहकार्य सद्भाव र समन्वय हुने आशा एवं विश्वास व्यक्त गरे । साथै उनले दुवै संस्था तयार रहेको अनुभूति आफूलाई भएको खुलाए । अध्यक्ष श्रेष्ठले महासंघको इतिहासको स्मरण गर्दै महासंघको स्थापना काल देखि यसको विकासमा चेम्बरले खेलेको भूमिका अतुलनिय रहेको बताउदैं आगामी दिनहरुमा आम जनताको क्रयशक्ती बढाउन, रोजगारी बृद्धि गर्न, राजश्व प्रशासन,व्यापार बृद्धि आयकर भन्सार दरवन्दि,उद्योगको कच्चा पदार्थमा भन्सार घटाउने, कारोवार मूल्य,मूल्य अभिवृद्धि दरको कर घटाउदै लैजाने, अन्तशुल्क, मानवलाई हानी गराउने बाहेकमा नलगाउने थ्रेसहोल्ड,चेक वाउन्स आदि यावत मुद्धाहरुमा कार्यगत एकता हुनपर्ने आफ्नो धारणा रहेको स्पस्ट पारे । व्यवसायीहरुले भोग्दै आएको समस्या तथा समग्र आर्थिक नीति,ऐन,काननूहरुमा देखिएको अस्पष्टता र प्रक्रियागत जटिलता हटाउनेतर्फ व्यावसायीहरुले सामूहिक प्रयासलाई एकवद्ध गर्दै लैजान समेत आवश्यक र अनिवार्य भैसकेको बताउदै चेम्बर जिल्ला, प्रदेश र स्थानीय स्तरमा समेत विस्तार भैसकेको सन्दर्भमा सो स्तरमा समेत सहकार्य र समन्वय हुन आवश्यक रहेको औल्याए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आजको स्वागत कार्यक्रमलाई इतिहासकै घडीमा शुभ संकेतको रुपमा लिएको र निजी क्षेत्र एउटै रहेकोले फरक,फरक राजनितिक विचारधारा नबोक्ने प्रण गरे । साथै कार्यगत एकता समेत देखाउने चुनौति रहेको कुरा राख्दै विगतमा विभिन्न आयाम र क्षणमा धेरै समयमा कार्यगत एकता भएको स्मरण गरे । महासंघ अध्यक्ष गोल्छाले दुई संगठन बीच तालमेल नमिल्दा नीजि क्षेत्रको समस्या समाधान गर्न अप्ठ्यारो हुने भन्दै निजी क्षेत्रको भिजन पेपर तयार गर्न लागी रहेको र सोमा चेम्बरको समेत सुझावको अपेक्षा आफुले राखेको बताए । कार्यक्रममा चेम्बर र महासंघका पदाधिकारीहरुले मूलुकको उच्च आर्थिक बृद्धिदर हासिल गर्न अनुकूल वातावरण सृजना गर्न, श्रम निर्यात प्रवद्र्धन, आयात व्यवस्थापन, व्यापार घाटा, रुग्ण उद्योग, कोभिडको असर, बैकिंङ, राजश्व, उपभोक्ता, लगानी प्रवद्र्धन आदि विषयमा दुवै संस्थाको मूलभूत रुपमा समान विचार र धारणा रहेको धारणा व्यक्त गरे । सो अवसरमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नीजी क्षेत्रको आवाज एउटै हुनुपर्नेमा जोड दिए । चेम्बरको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुक डिजीटल भूक्तानीमा जानुपर्ने भनाई राख्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा चेम्बरका उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल,दिपक कुमार मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ तथा कार्यसमिती सदस्यहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं — मंसिर २५, २०७७।
रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ । सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।
व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त गरे । रुस फर्मास्युटिकल सामानको निकासीमा जेनेरिक निकासी गर्ने गरिएको बताउँदै अन्र्तराष्ट्रिय निकासीको ठूलो सम्भावना रहेको दुई मुलुक बीच सहकार्य गर्नु ठूलो संभावना रहेको पनि उनले औल्याए । उनले पूर्वाधार विकास अन्तर्गत रेल्वे सेवा, मेट्रो सेवा र अटोमोबाईल क्षेत्रमा विभिन्न परियोजना संचालन गर्न दुई मुलुकबीच सहयोग र सद्भावको पर्याप्त संभावना रहेको बताए । यसको साथै रुसले डिजिटल अर्थतन्त्रमा समेत जोड दिदै आएको र नेपालसंग कृषि क्षेत्रमा “फिजियोलोजीको” सहयोगका लागि प्रारम्भिक चरणको कार्य भइरहेको उनले उल्लेख गरे । मिट्रभले दुई ठूला मुलुकको बीचमा रहेको नेपाल ले पुलको काम गर्न सक्ने बताए । खासगरि नेपालमा परापूर्वककाल देखि प्रयोग भइरहेको आयुर्वेद एवम् पर्यटन र रुसमा प्रविधि पर्याप्त भएको कारणले आयुर्वेदको वैज्ञानिक ढंगले विकास गर्न सहकार्य गर्न सकिने बताए । साथै उनले ब्यवसायीहरुलाई लगानी गर्न आग्रह गर्दै “मेडिकल टुरिजम”मा जोड दिन सुझाए । पर्यटन प्रवद्र्धन र व्यवसाय प्रवद्र्धन गर्न नेपाल र रुस बीच सिधा हवाई सम्पर्क सुरुवात हुनुपर्ने रुसी ब्यापारीका प्रतिनिधीमण्डलका प्रमुख मिट्रभको तर्क थियो ।
सो अवसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले धेरै पछि रुसको व्यापारीक प्रतिनिधमण्डललाई चेम्बरमा स्वागत गर्न पाउँदा खुसि लागेको बताउदै कोभिड–१९को भ्याक्सिन रुसले सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा शुभकामना दिँए । अध्यक्ष श्रेष्ठले सो भ्याक्सिन नेपालमा आयात गरी नेपाली जनतामा वितरण गर्न चेम्बरले सहजकर्ताको भुमिका खेल्न तयार रहेको पनि बताए । साथै नेपालको अपार जलसम्पदाको समुचित प्रयोग गर्न जलस्रोत र ४०० के.भी. ट्रान्समिसन लाईनमा समेत रुसी लगानी आउने आशा एवं विश्वास व्यक्त गरे ।
विगतमा रुससँग सिधा सम्पर्क गर्न एरोफ्लोटको सेवा उपलब्ध भएको स्मरण गर्दै सो वा अन्य सेवावाट पर्याप्त प्रवद्र्धन गर्न सिधा हवाई सम्पर्क हुनुपर्ने बताउदै नेपाल जडिबुटी र आयुर्वेद्को जननी मुलुक नेपाल भएकोले स्वास्थ्य उपचारका लागी नेपालको जडिबुटी र रुसको प्रविधीको प्रयोग गर्नुपर्ने बताए । नेपालमा रुसबाट मलखाद आयात गर्न साल्ट ट्रेडिङ वा अन्य निकायसँग समेत वि टु वि वैठक गरी सो कार्य गर्न सकिने समेत श्रेष्ठले स्पस्ट पारे । खनीज तथा खनीजजन्य वस्तुको उत्खनन, आपसी ब्यापार र लगानीको लागी समेत नेपाल उपयुक्त मुलुक रहेको अध्यक्ष श्रेष्ठले उल्लेख गरे । साथै उनले नेपाल अल्पविकसित मुलक भएकोले र विकाशोन्मुख मुलुकमा स्तरोन्नतिको क्रममा रहेको हुदा हाल सम्म अमेरिका, अस्ट्रेलिया र यूरेपियन मुलुकहरुमा सामान्य गाह्यता प्रणली जि.एस.पी. र एभीथ्रिङ्ग बट आर्म अन्तर्गत विना भन्सारकोटा फ्रि सामान निकासी गर्न समेत अवसरको फाईदा लिन रुसी लगानीकर्ताहरुलाई आग्रह र अनुरोध गरे । दुई मुलुकमा हुने ब्यापर मेला तथा प्रर्दशनीमा सहभागीतामा समेत अध्यक्ष श्रेष्ठले जोड दिए ।
द्विपक्षिय भेटका क्रममा चेम्बरका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, युथ चेम्बरका अध्यक्ष ,पर्यटन समितिका सभापति,सामाजिक तथा स्वास्थ्य समितिका सभापति, भन्सार समिति सभापति , नेपाल चीन व्यापार प्रवद्र्धन समिति सभापति , वाणिज्य समितिका सभापति र कार्य समिती सदस्यहरुको उपस्थिति रहेको थियो । सामाजिक दुरी र सरकारबाट तोकिएको स्वास्थ्य प्रोटोकल कायम गरी सिमित रुपमा भेट एवम् छलफल गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
कपिलवस्तु, १५ मंसिर- लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन । कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै चेम्बर अध्यक्ष श्रेष्ठले विकासको ढोका र सम्भावना बोकेको कपिलबस्तु जिल्लाको कृष्णनगरमा सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को निर्माण आवश्यक रहेको र यसका लागि चेम्बरले पहल गर्ने बताए । यसको निर्माणबाट भारतको बढनी रेलवे स्टेसनसंग प्रत्यक्ष सम्पर्क कायम हुने र भारत लगायत अन्य राष्ट्रसंगको आयात निर्यात ब्यापारमा सहज हुन गई लागतमा समेत कमि आउने हुँदा कपिलवस्तु जिल्ला तथा समग्र प्रदेशको विकासमा टेवा पुग्ने धारणा अध्यक्ष श्रेष्ठले ब्यक्त गरे । त्यसैगरी उनले जिल्लाको समग्र विकासका लागि सबैसंग सहकार्य गरी अगाडी बढ्न जिल्ला चेम्बरलाई सुझाव समेत दिए । महिला तथा युवा ब्यावसायीहरुलाई समेत समेटेर अगाडी बढ्न महिला तथा युवा चेम्बर गठन गरी सबैलाई समेट्न पनि उनले सुझाए । उक्त साधारणसभाबाट केहि पदको हेरफेर गरी पदस्थापन गरिएको छ । साथैआजै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ — मंसिर १०, २०७७।
नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको संघारमा छ । हाम्रो ५४ औ राष्ट्रिय अधिवेशन मङ्सिरको दोस्रो साता अर्थात मङ्सिर एघार, बाह्र र तेह्र गते सम्पन हुँदैछ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । हामीले चार पाँच बर्ष अघि मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुनेछ । महासंघकी हालकी अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको हो । अहिलेको निर्वाचनमा वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल र किशोर प्रधानले आफनो उम्मेदवारी दिनु भएको छ । त्यसैले भविस्यमा उहाँ दुई मध्ये एकले महासंघ हाँक्नु हुनेछ । अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी उहाँहरु मध्ये एकको काँधमा जानेछ । हाम्रो विधी विधानमै त्यहि छ । र सोही स्प्रिट अनुरुप हामी निर्वाचनमा होमिएका छौ । उहाँ दुवै नेताहरु आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रनु भएको छ। हामीसँग अब धेरै दिन बाँकी छैन् । केही दिन भित्र नै हामीले दोस्रो वरियतामा अझ भनौ भावी अध्यक्षमा यि दुई मध्ये एकलाई पाउने छौ । यस्तै महासंघका अन्य शिर्ष तहमा उपाध्यक्षको तह छ । वस्तुगत, एशोसियट र जिल्लागत गरि तीन वटा तह यानेकी पदका लागि कुल छ जनाले आफ्नो उम्मेदवारी दिनु भएको छ । वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ, जिल्लागतमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठ तथा एशोसियट तर्फ रामचन्द्र सांघाई र सौरभ ज्योति प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसै गरि म लगायतका साथीहरु कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धामा उत्रेका छौ ।
महासंघ र नेतृत्व चयन
कोभिड पस्चात निजी क्षेत्रको अवस्था के कस्तो छ भन्ने पनि हामी सबैलाई थाहा छ । अर्थात आफ्ना पिडा, व्यवसाय गर्ने साथी संगीका पिडा अझ भनौ समग्र निजी क्षेत्र कुन हालमा छ भन्ने बिषयमा हामी सबै जानकार छौ, किनकी हामी सबैले कोभिडलाई झेलिरहेका छौ । हामी यसका भुक्त भोगी हौ । हामीले विगत लामो समय देखी थुप्रै खाले समस्याहरु पनि भोग्दै आएका छौ । कतिपय समस्याहरु विगतका नेतृत्व तहबाट पनि हल भएका छन् । तर हामीले गर्न बाँकी धेरै थुप्रै काम छन् । कोभिड पस्चात थपिएका जटिलता कम गराउनु पर्ने दायित्व महासंघ माथि छ । अभिभावकिय भूमिकाका लागि पहल लिनुपर्ने दायित्व पनि छ । साना देखी ठुला लगानीकर्ताका समस्या सुन्ने र हल गर्ने दायित्व महासंघसँग छ भने निजी क्षेत्र र सरकार बीच पुलको रुपमा काम गर्ने जिम्मेवारी महासंघले निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले महासंघको काम कर्तव्य धेरै छन् । सरकार पछिको ठुलो संजाल भएको राष्ट्रिय शक्ति पनि भएकाले महासंघले राख्ने कुराहरु, उप्काउने सवालहरु ज्यादै ठुलो महत्व बोक्दछ । यस्ता यावत सवाल वा सन्दर्भ छन् । मैले मेरा अघिल्ला लेखहरुमा पनि दर्शाई सकेको छु कि महासंघ भनेको सर्वव्यापी संस्था हो भनेर । गाँस, बास कपास जता ततै महासंघ छ भनेर मैले भन्दै आएको छु । अर्थात हामी माथि धेरैको आशा, भरोसा र देशकै भविस्य जोडिएको छ । यस मानेमा हामीले हाम्रो महासंघलाई वस्तुत चुस्त राख्न सक्नु पर्दछ । ताकि हामीले राम्रो कार्य सम्पादन गर्न सकौ । यसका लागि हामीलाई भिजनरी लिडरशिप अवश्य चाहिन्छ । नेतृत्व चयनका बखत हामी आत्मरतिमा रमायौ भने हामीले पछुताउनुको विकल्प हुँदैन । अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न सक्ने भिजन भएको, कुशल नेतृत्व दिनसक्ने, राज्य सन्यन्त्रसँग सहज पहुँच राख्न सक्ने, निजी क्षेत्रलाई धरातल देखी बुझेको, सामाजिक भावना बोकेको, निजी क्षेत्र सहजै घुलमिल हुन सक्ने, कुरा सुन्ने खुवी भएको ओजनदार व्यक्तित्व नै महासंघका लागि उपर्युक्त रहन्छ । र हाल महासंघको निर्वाचन हुन गईरहेकाले यहि नै सहि मौका हो कुशल नेतृत्व छान्ने । क्षणिक स्वार्थ हेरेर निर्णय लिनु भन्दा भविस्यलाई पनि सोच विचार गरेर आफ्नो अमुल्य मत दिनु पर्छ । मतलाई त्यसै खेर फाल्नु हुँदैन । रिस राग राग आवेगमा आएर गलत निर्णय लिन पुग्यौ भने हामी जो कोही पनि अपरिपक्व ठहरिन सक्छौ । त्यसैले नहतारिईकन हामीले निर्णय लिनुपर्छ । महासंघलाई कस्तो नेतृत्व आवश्यक छ भन्नेमा मतदाताहरु सबै जानकार हुन हुन्छ नै । तसर्थ केबल सच्चा हृदयले निर्णय लिनु हुनेछ र बाटो नबिराई अघि बढनु हुनेछ भन्ने आश मैले लिएको छु । र आग्रह पनि गर्न चाहन्छु । हामी सबै राम्रा छौ तर राम्रा मध्ये पनि उत्कृस्ट छनौट गर्न हामी नचुकौ भन्न चाहन्छु ।
हाम्रो समुह र एजेण्डा
मेरो बिषयमा कुरा गर्नु पर्दा मैले चन्द्र ढकाल समुहका वस्तुगत उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट आफ्नो उम्मेदवारी दिएको छु ।मेरो समुहका टोली नेता चन्द्र ढकाल हुनुहुन्छ भने मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठले त्यसको नेतृत्व गर्नु भएको छ । उहाँहरु दुवै जना मेरा श्रद्ध्ये नेता हुनुहुन्छ ।मैले हामी इतरका अग्रज नेताहरुलाई पनि सम्मान गर्नुपर्छ ।उहाँहरुका बिषयमा यस बेलामा मैले धेरै नबोल्नु नै वेश होला । किनकी हाम्रा आम व्यवसायी-उद्योगपति साथीहरुले पक्कै पनि सम्पूर्ण उम्मेदवारको बिषयमा खोजी निती गर्नु भएकै छ । महासंघको राजनिती र वस्तुस्थिती बारे पनि पक्कै जानकार हुनुहुन्छ ।
चन्द्र ढकाल समुहको कुरा गर्दा हामी सबै उम्मेदवारहरु सक्षम छौ भन्ने मलाई लागेको छ । मेरो कार्य क्षेत्र वस्तुगत तर्फ भएकाले मेरो चिनजान र भेटघाट बढी जसो वस्तुगत कै साथीहरु सँग छ । मैले वस्तुगत तर्फका उम्मेदवार साथीहरुलाई राम्रोसँग बुझेको छु । मलाई लाग्छ हामी अर्थात चन्द्र ढकाल समुह अन्तर्गत उमेशलाल श्रेष्ठ नेतृत्वको टोली हरकोणबाट सक्षम र निपूर्ण छौ । समावेशीता र अनुभव सबैमा सिद्ध छौ भन्ने दाबी हाम्रो हो । इतर पक्षका साथीहरुको बिषयमा टिका टिप्पणी गर्नु भन्दा पनि तुलनात्मक रुपमा हाम्रो सेट नै उत्कृस्ट छ भन्ने मेरो दाबी छ । चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ दुवै महासंघको तागत हो । उहाँहरु वेगरको महासंघ खल्लो र अपुरो हुने देख्छु म । रामचन्द्र सांघाई र गुणनिधी तिवारी दुवै जना उस्तै क्षमतावान हुनुहुन्छ । समग्र सदस्य उम्मेदवारहरु महासंघलाई गति दिन सक्षम र टिम स्प्रिटमा काम गर्न सक्ने खालको हुनुहुन्छ ।यस सन्दर्भ मैले मेरो अघिल्लो लेखमा उल्लेख गरिसकेको छु । त्यसैले यस बिषयमा पुन: म गहिराईमा नगई हाम्रो एजेण्डा बारे केही उल्लेख गर्न चाहन्छु ।
हामी अर्थात चन्द्र ढकाल समुह निर्वाचनमा होमिदै गर्दा केही अवधारणाहरु अघि सारिएको छ । निजी क्षेत्रका तमाम समस्यालाई समाधान गर्ने रणनिती र कार्य योजना हामीले बुनेका छौ । महासंघलाई गति प्रदान गरि निजी क्षेत्रका तमाम समस्याको पहिचान र सोको समाधानार्थ हामीले काम गर्नुपर्छ भन्ने हाम्रो कार्य दिशा छ । सोही अनुरुप हाम्रो नारा तय गरेर हामी निर्वाचनमा होमिएका छौ । समृद्धीको आधार -निजी क्षेत्र सरकार साझेदार हाम्रो नारा रहेको छ । यो नारा केबल चुनावी नारा मात्र होईन । हामीले निजी क्षेत्रका समस्यालाई किटान गर्दै समाधानको लागि अघि बढने उदेश्य अनुरुप नै यो नारा अघि सारेका हौ । त्यसैले यस नारालाई हाम्रा सम्पूर्ण मतदाता साथीहरुलाई अर्थपूर्ण ढंगले हेरिदिनु हुनका लागि आग्रह गर्न चाहन्छु ।
मुलुकको समृद्धी नै हाम्रो मुल लक्ष्य हो । र जबसम्म निजी क्षेत्र सबल र सुदृढ हुँदैन तबसम्म समृद्धीको लक्ष्य हासिल हुनै सक्दैन । निजी क्षेत्रलाई सबल बनाउनु भनेकै देशको अर्थतन्त्रलाई सबल बनाउनु हो । कर, रोजगारी, उत्पादन आदीका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने गर्दछ । कुल गार्हस्थ उत्पादनलाई बढाउनका लागि निजी क्षेत्रको साथ वेगर सरकार एक्लैले केही पनि गर्नै सक्दैन । यिनै बिषयलाई केन्द्रमा राखेर हामीले समृद्धीको आधारका लागि राज्य र निजी क्षेत्र सँगसंगै मिलेर जानुको विकल्प छैन भनेका हौ । त्यसैले सरकारसँग हातेमालो गर्दै अघि बढने कार्य योजना हाम्रो छ ।
कोभिड पस्चात देशलाई समृद्धी तर्फ अघि बढाउने अवसर र चुनौती हाम्रो सामु छ । यसका लागि निजी क्षेत्रले पनि आफ्नो तर्फबाट सक्षम नेतृत्व दिन सक्नु पर्छ । र अबको निर्वाचनले हामीलाई त्यो अवसर दिदैछ । यसर्थ सक्षम नेतृत्व चुन्ने दायित्वबाट हामी कोही पनि चुक्नु हुँदैन । यसका लागि सरकार र निजी क्षेत्र बीच पुलको रुपमा काम गर्न सक्ने पहुँच भएको नेतृत्वको पहिचान गरि अमुल्य मतको सदुपयोग गर्नु शिवाय अरु विकल्प हामी माझ छैन ।
हामीले तय गरेको नाराले महासंघको भविस्य बोल्छ । र हाम्रो जितका लागि हामीले तय गरेको नारा काफी रहेको हाम्रो बुझाई छ । यसले हाम्रो दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ । तसर्थ यहाँहरुले हाम्रो समुहका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिई विजयी गराउनु भएको खण्डमा हामी महासंघमा रहेर धेरै काम गर्नेछौ । त्यो काम यहाँहरुकै म्याण्डेट लिएर हामी सबैका लागि गर्ने हो । अवसर जुराईदिनुस हामीले हाम्रो वचन खेर फाल्ने छैनौ भन्ने प्रण गर्न चाहन्छु /चाहन्छौ ।
(लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)
काठमाडौँ — मंसिर ५, २०७७।
सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने गर्छन् । परिवारको साथ विना सफलता हासिल गर्ने मानिसहरुलाई हम्मेहम्मे पर्ने उनी बताउँछन् । ४६ बर्ष टेकेका गुप्ता यो अवस्थासम्म आईपुग्दा आफ्ना पिता मातासँगै श्रीमती रानी, छोरा मोहित अनि साहिल, छोरी मोहिनी र साथीभाइ एवम इस्टमित्रको दर्विलो साथ र स्नेह आफुसँग रहेको स्मरण गर्छन् । सामाजिक चेतका धनी तथा शिक्षाप्रेमी सुबोध कुमार गुप्ता विभिन्न सामाजिक संघ संस्था एवम् शैक्षिक प्रतिस्ठानहरुमा समेत आवद्ध छन् ।
व्यवसाय र संगठनमा गुप्ताको भूमिका
सुबोध कुमार गुप्ता २२ बर्षको उमेर देखी उद्योग व्यापारको क्षेत्रमा लाग्दै आएका छन् । गुप्ता व्यवसायिक रुपमा कृषि एवम् खाद्यान्नको क्षेत्रमा सकृय छन् । त्यसो त उनी कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिस्ठित व्यवसायिक घराना मोहित ग्रुपका संचालक हुन । उनले मोहित ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड मानिन्छ । ग्रुपलाई सहि दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुबोध कुमार गुप्ताको सार्थक सोच, अद्धितिय कार्यकौशलता तथा व्यवस्थापकिय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिस्ठित व्यवसायिक प्रतिस्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रुपमा हेरिदै आईएको छ ।
कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृद्धी हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशिल क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन् कि यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट सो क्षेत्रको नेतृत्व समेत गरिरहेका छन् । गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रिय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दुरगामी सोच बोकेर अघि बढेका छन् । संगठन सुदृढिकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्य यस मामिलामा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ । खाद्य उद्योगको क्षेत्रको विकास र उन्नयनमा निकै सकृयतापुर्वक लागि पर्दै आएका गुप्तालाई व्यवसायिक ब्रित्तमा भिजन भएका नेताको रुपमा लिईन्छ । युवा व्यवसायीहरु माझ निकै चर्चित गुप्तामा नयाँ पुस्ताका लागि रोल मोडल बन्न सक्ने ल्याकत देखिन्छ ।
त्यसो त सुबोध कुमार गुप्ता नेपालको व्यापारिक नगरी विरगंज वासी माझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम् व्यवसायीहरुको शहरको उपमा पाएको वीरगंज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । गुप्ताले यहि शहरबाटै आफ्नो व्यवसायिक यात्राको शुभारम्भ गर्दै सफलताको मुकाम प्राप्ती गरेका हुन ।दुई दशक अघि देखी विरगंज उद्योग वाणिज्य संघको कार्य समितीमा रहेर कार्य गर्दै आएका गुप्ता हाल संगठनको वरिस्ठ उपाध्यक्ष छन् । यस अघि उनी संघको महासचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए । साथै उनले महासंघमा रहेर ट्रेड कमिटी सदस्यको कार्यानुभव संगालेका छन् । यस अर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज सारथीका रुपमा हेर्ने गरेको पाईन्छ ।
अब्बल नेतृत्व र ख्याती
चामल, तेल दाल उद्योग संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा गुप्ताले देश, देशवासी, व्यवसायी र खाद्य क्षेत्रमा पुर्याएको योगदान प्रशसनिय रहेको छ । मुलुकले विगत ८ महिना यता कोभिडको कहर झेलिरहेको अवस्थामा उनले बागडोर सम्हालेको संघले जनस्तर एवम् राज्यस्तरमा राम्रो छाप छोडन सफल रह्यो । विशेषत यस अवधी माझ मुलुकमा खाद्यान्न पदार्थको अभाव हुन नदिन उनको नेतृत्वमा संघले लिएको पहलकदमी राष्ट्रिय अर्थतन्त्र साथै उपभोक्ताको खाद्य अधिकारको क्षेत्रमा कोशे ढुङ्गा साबित भएको छ । गएको झण्डै ८ महिनाको अन्तरालमा नेपालमा खाद्यान्नको अभाव महशुश हुन पाएन । यसलाई सुखद पक्ष नै मान्नु पर्छ ।त्यसो त यस माझमा व्यवसायिक वातावरण निर्माण गर्न उनले संघको तर्फबाट सरकारका विभिन्न तह समक्ष गरेको लबीका कारण व्यवसायीहरुले निर्धक्कका साथ आफ्नो व्यवसाय संचालन गर्ने माहौल बन्दै आएको छ । व्यवसायीहरुका तमाम समस्याहरुलाई समाधान गर्न समेत आफ्नो बलबुताले भ्याएसम्म उनी सकृयतापुर्वक लागि पर्ने गर्दछन् । निजी क्षेत्रको साँख र गरिमालाई अक्षुण राख्दै व्यापार व्यवसायी गर्नुपर्छ भन्ने मान्यता राख्ने गुप्तालाई एक इमान्दार र कर्मठ व्यवसायीका रुपमा लिईन्छ । फलत: उनको व्यक्तित्व र नेतृत्वको सर्वत्र चर्चा हुँदै आएको छ ।
यस बाहेक पनि उनले विरगंज उद्योग वाणिज्य संघमा विगत दुई दशक देखी विभिन्न तहमा रहेर गर्दै आएको कार्यले वाणिज्य आन्दोलनलाई बल पुर्याईरहेको छ । त्यसो त विरगंज उद्योग वाणिज्य संघमा निरन्तरको उनको उपस्थितीले यसको सुदृढिकरणमा उस्तै योगदान पुगेको छ । बौद्धिकता, निर्भिक र दृढ आत्मविश्वास, मिलनसारिता, सहयोगीपना, नेतृत्वदायी भूमिका आदी जस्ता सदगुणबाट ओतप्रोत गुप्ताले संगठन विस्तारका लागि खेल्दै आएको भूमिका सर्हानायोग्य रहेको छ ।
बौद्धिक व्यक्तित्व
मन, वचन र कर्मले आफ्नो दायित्वमा खरो उत्रदै आएका गुप्ता आम व्यवसायी माझ बौद्धिक व्यक्तित्वका रुपमा पनि परिचित छन् । समय समयमा उनले खाद्य, कृषि र व्यवसाय क्षेत्रसँग सम्बन्धित रही कलम चलाउदै आएको पाईन्छ । उनका लेख रचनाहरु राष्ट्रिय एवम् स्थानिय स्तरका संचार माध्यममा प्रकाशित हुँदै आएका छन् । व्यवसायिक रुपमा उद्योग र व्यापारको क्षेत्रमा लाग्दै गर्दा लेख मार्फत विचार सम्प्रेषणले सो क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ । तसर्थ पनि अनवरत रुपमा उनी लेखन कार्यमा जुटदै आएका छन् । निजी क्षेत्रको भनाई राख्दै लेखिने यस्ता समसामयिक लेखले
सरकारलाई निती एवम् योजना बनाउन, उपभोक्तालाई बजार अवस्था बारे जानकारी दिलाउन र आम व्यवसायीलाई हौसला प्रदान गर्न सघाउ पुग्ने उनको बुझाई छ । व्यवसायिक वातावरणमा आँच आयो भने देशको अर्थतन्त्र र जनजीवनमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यस तर्फ राज्य र सरोकारवाला सबैले ध्यान पुर्याउन जरुरी रहेको उनको भनाई छ ।
गुप्ताको उम्मेदवारी र वचनबद्धता
सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्य पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।
महासंघका लागि यो उनको पहिलो प्रयास हो । उनमा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष हुन । भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएको नेताको रुपमा पनि उनलाई हेरिएको छ ।भिजनरी बिजनेश लिडरका रुपमा हेरिदै आईएका सुबोध कुमार गुप्ता देशको समृद्धि हासिल गर्न सकिने क्षेत्रमा कृषि रहेको औंल्याउछन् ।
नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सरकारको गलत निति र असहयोगका कारण उद्योग कारखानाका लागी चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता आम उद्योगी व्यावसायीमा रहेको उनको भनाई छ ।
पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन रहेको अवस्था औल्याउदै तराई मधेश क्षेत्रमा भएको जमिनको खन्डिकरणले उत्पादन क्षमता घट्दै गएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । फलत: हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन नसकिरहेको उनको दाबी छ ।
यसर्थ पनि उत्पादनशिल क्षेत्रको पहिचान र विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समुहले काम गर्नुपर्ने उनको धारणा छ । यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर कृषिमा क्रान्ति ल्याउदै देशलाई औद्योगिक क्रान्ति तर्फ अघि बढाउन र कोभिड पस्चात सिर्जित परिस्थितीबाट आम व्यवसायी एवम् मुलुकलाई राहत दिलाउन आफु सधैं अग्रसर रहने वचनबद्धता उनले व्यक्त गरेका छन्।


काठमाण्डौ -नेपाल महिला चेम्बरले ‘नेपालको व्यापार क्षेत्र र कोभिड १९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार आयोजित उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले वक्ताको रुपमा प्रस्तुती दिएकी थिईन् ।
प्रस्तुती दिने क्रममा शर्माले कोभिड १९ विश्वव्यापी रुपमा फैलिएको हुनाले यसबाट जोगिदै अगाडि बढनुको विकल्प नभएको औल्याउदै नविनतम सोच र आत्मविश्वासका साथ कर्म क्षेत्रमा कृयाशिल हुनुपर्ने बताएकी थिईन । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष शर्माले महिला उद्यमशीलतालाई प्रबर्धन गर्न आपसी समन्वयको खाँचो टड्कारो रहेको बताउदै हाल महिला चेम्बरले गर्दै आईरहेको अन्तर्कृया कार्यक्रमले समस्याको पहिचान गर्दै निदानका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरिन ।
कार्यक्रममाझ नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्मा उपाध्यक्ष शर्माको व्यक्तित्व बारे प्रकाश पार्ने क्रममा शर्मा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरेकी थिईन । कार्यक्रममाझ सहजकर्ताको भुमिका निर्वाह गर्दै महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कोभिड पस्चात महिला व्यवसायीहरुले विभिन्न समस्या झेल्दै आएकाले समस्या समाधानका लागि वेमिनार मार्फत चरणबद्ध रुपमा छलफल कार्यक्रम राखिएको बताईन ।
सो अवसरमा महिला चेम्बरकी सदस्य चारु सिकरियाले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै कोभिड १९ पस्चात व्यापारको क्षेत्रमा देखिएको समस्यालाई सामुहिक पहलमा हल गर्न सकिने आधार अन्तर्कृयाले दिएको धारणा राखेकी थिईन । नेपाल महिला चेम्बर सम्बद्ध करिब ४० जना महिला उद्यमी व्यवसायीहरु सहभागी रहेको सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, इजरायलका लागि नेपालकी राजदुत डा। अन्जन शाक्य, सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अन्तमा जिज्ञासाको जवाफदिने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमी व्यवसायीहरु कोभिडबाट सिर्जित प्रतिकुल अवस्थामा हतोत्साही नहुन भन्ने अभिप्रायले महिला चेम्बरले नियमित रुपमा परामर्शमुलक कार्यक्रम गर्दै आएको जनाईन ।
काठमाडौँ — भाद्र १६, २०७७।
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण गरिने भएको छ ।
यस सडकखण्डको जिरो बिन्दु पासागाडदेखि नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भई महिना दिनभित्र काम सुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।
उनले पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि काम सुरुको प्रक्रिया अगाडि बढिसकेको बताए ।
सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य राखेको उनले बताए ।
त्यस्तै डोल्पा सडकखण्डको रूपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ ।
एक वर्षभित्र निर्माणकार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोलिएको प्रमुख उनले बताए ।
त्यस्तै छलगाड, छरेबग्रीदेखि त्रिवेणीसम्मको सडकमा दुईवटा पुल निर्माणका लागि बोलपत्र आह्वानको काम अन्तिम चरणमा पुगेको छ ।
सडक निर्माण कार्य सुरु गरेको झन्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया सुरु भएको हो ।
जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि पिचको काम सुरु भएर काम चालू अवस्थामा रहेको छ ।
यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो ।
सडकखण्डमा पुल निर्माणको प्रक्रिया सुरु भएकोमा स्थानीय खुसी देखिन्छन् नलगाड नगरपालिका– १२ का बुद्धिबहादुर बस्नेतले सडकमा पक्की पुल बनेपछि यातायातका लागि निकै सहज हुने बताए ।
उनले भने, ‘दश ठाउँमा गाडी फेर्दा र चर्को भाडाका कारण हामी समस्यामा थियौँ, अब राहत मिल्ने खबर सुनेको छु । निकै खुसी लागेको छ ।’
अहिले पुल नहुँदा १३ ठाउँमा सवारीसाधन बदलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
आवश्यकताका आधारमा मात्र बजेट खर्च गर्ने मान्यताका आधारमा काम भएको डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।
(नयाँ पत्रिका)
काठमाडौँ — भाद्र १६, २०७७।
सबै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिए पनि सेयर बजार वृद्धि मात्र भइरहेको छैन, कारोबार रकममा पनि उच्च वृद्धि देखिन थालेको छ । नेप्सेमा सोमबार एकै दिन ३ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको हो । यो २०७६ फागुनयताकै उच्च रकमको कारोबार हो ।
१८ फागुनमा एकै दिन हालसम्मकै उच्च ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो । २० फागुनमा पनि ३ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार त्यसयताकै उच्च कारोबार भएको हो ।
लाभांशको मौसम भएकाले पनि बजारबाट केही न केही प्रतिफलको आसमा समेत लगानी बढेको हो । यद्यपि, बजारमा निरन्तर वृद्धि देखिनुमा जारी निषेधाज्ञाका कारण लगानी क्षेत्र अभाव, बैंकहरूको खस्किँदो ब्याजदर रहेको ब्रोकरहरू बताउँछन् । बैंकहरूले समेत पुँजी लगानी बजारकेन्द्रित गरेपछि बजारमा कारोबार गर्न पर्याप्त पुँजी उपलब्ध भएको हो ।
लगानीका लागि पुँजीको उपलब्धताजस्तो अनुकूल अवस्था बनेपछि लगानीकर्तामा सकारात्मक मनोविज्ञान बनिरहेको छ । हरेक दिन कारोबारमा भएको वृद्धिले यस्तो देखाएको हो । यद्यपि, यो समय लगानी गर्दा निकै ध्यान दिनुपर्ने अवस्था भने छ ।
सोमबार नेप्से २२ दशमलव ३१ अंकले बढेर १ हजार ४ सय ८४ अंकमा पुगेको छ । होटेलबाहेक अन्य सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा कम्पनी र वाणिज्य बैंक समूहमै धेरै रकमको कारोबार भएको छ । यो क्षेत्रमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।
(नयाँ पत्रिका)
काठमाडौँ — भाद्र १६, २०७७।
चालु आर्थिक वर्षको दोस्रो महिना सुरु भएसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ । सरकारले लकडाउन हटाएसँगै कर्जाको माग बढेको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ देखि लगाएको लकडाउन असारदेखि खुकुलो भएको थियो ।
साउन महिनामा केही आर्थिक गतिविधि भएपनि भदौको ५ गते देखि पुनः निषेधाज्ञा जारी भएको छ ।
तर, यो बीचमा उद्योग व्यवसायले चालू पुँजीका लागि कर्जा लिएकाले पनि बैंकहरुमा कर्जाको माग बढेको राष्ट्र बैंकले जनाएको छ ।
साउन महिनाभरी २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले भदौ महिनाको दोस्रो हप्तासम्ममा १४ अर्ब कर्जा प्रवाह गरिसकेका छन् ।
चालू आर्थिक वर्षको पहिलो महिनामा बैंकहरुमा कर्जाको माग नै आउन सकेको थिएन ।
कोरोनाका कारण लकडाउन, निषेधाज्ञा जारी गरेकाले आर्थिक गतिविधि ठप्प भएको र उद्योग धन्दाबन्द हुँदा कर्जाको माग हुन सकेको थिएन ।
भदौ महिनाको दोस्रो सातसम्मा बैंकहरुले ५ अर्ब निक्षेप संकलन गरेर ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुले निक्षेपको ब्याजदर घटाएका कारण निक्षेप अन्यत्र जाने आँकलन गरिएपनि निक्षेप थपिने क्रम रोकिएको छैन ।
भदौको दोस्रो सातासम्ममा वाणिज्य बैंकहरुले कुल ३४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
(ईमेज खबर)