generalnews
||Power News Asia||

आजको समाचार

क्वारेन्टाइनमा निशुल्क भोजनसहित डब्लुएचओ मापदण्ड अनुसार बन्दोबस्त गर्न सर्वोच्चको आदेश

समाचार


काठमाडौं, १९ जेठ । सर्वोच्च अदालतले क्वारेन्टाइनमा रहेका सबैलाई निशुल्क भोजनसहित विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बन्दोबस्द गर्न आदेश दिएको छ । उसले सबैलाई गुणस्तरय स्यानिटाइजर, मास्क तथा आवश्यक औषधीहरु समेत उपलब्ध गराउन आदेश दिएको छ ।

हिजो सर्वोच्चमा परेको रिटको सुनुवाइपछि न्यायाधीशद्वय प्रकाश राउत र कुमार रेग्मीको इजलाशले उक्त आदेश गरेको हो । क्वारेन्टाइनको अवस्था झन् खतरनाक भएको र कोरोना संक्रमण फैलिएको विषय बाहिर आइरहँदा सर्वोच्चको आदेश आएको हो ।

सर्वोच्चको आदेशमा चिकित्सा पेशासङ सम्बन्धित सबैलाइ पर्याप्त मात्रामा निशुल्क गुणस्तरिय पिपीइ लगायत आवश्यक उपकरणहरु निशुल्क उपलब्ध गराउनुका साथै क्वारनटाइनमा बसेका सबैको निशुल्क पिसिआर जाचका साथै सबै लाइ निशुल्क भोजन तथा डब्लुएचओ मापदण्ड बमोजिम क्वारन्टाइनको बन्दोबस्त गर्नु भन्ने आदेश भएको हो । रिटमाथि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए । त्रिपाठीले पछिल्लो समय नागरिकको नैसर्गिक अधिकारसम्बन्धी महत्वपूर्ण आदेशहरु भएका रिटमाथि बहस गर्दै आएका छन् ।

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा 

समाचार


काठमाडौँ, १९ जेठ । सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ ।

सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेका राजदूतावासका अनुसार नेपाली जाने प्रमुख सात श्रम गन्तव्य मुलुकबाट लगभग पाँच लाख श्रमिक नेपाल फर्किने अवस्थामा रहेको बताइएको छ तर सरकारले सबैलाई ल्याउन सकिने अवस्था छैन ।

सरकारले प्राथमिकताका आधारमा विदेशमा समस्यामा परेका गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका नागरिक र कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएका नागरिकलाई स्वदेश ल्याउने जानकारी दिएको छ । (गोरखापत्रबाट)

लकडाउन खुकुलो बनाइँदै, निजी सवारी चल्न दिइने

समाचार


काठमाडौं, १९ जेठ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।

विश्वस्त स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइनेछ ।

मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन ।

भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । सेनाले नाकामा कोरोना रोकथामका लागि सहयोगी भुमिका निभाएर क्वारेन्टाइनको पनि व्यवस्थापन गर्नेछ ।

१६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइनेछ ।

१ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् । खुल्ने भने छैनन् । शिक्षा मन्त्रालयले दुरशिक्षा या अनलाइन शिक्षाको निर्देशिका बनाइसकिएकाले पठनपाठन गराउन आव्हान गरिसकेको छ ।

नयाँ मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । विस्तारै कोरोना भाइरसको शतर्कताका लागि नियमपूर्वक चल्न दिने मोडालिटी ल्याइने भएको छ ।-File Photo

संविधान संशोधन फास्ट ट्र्याकबाट

समाचार


काठमाडौं, जेठ १९ । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक छोटो विधि (फास्ट ट्र्याक)बाट पारित गर्ने तयारी गरेको छ।

कोरोना संक्रमणको सम्भावित जोखिम र विधेयकप्रति कुनै पनि दलको विरोध नरहेका कारण छोटो प्रक्रियाबाट पारित गर्नुपर्ने प्रस्ताव सरकारले गरेको हो। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले गत शुक्रबार संसद्मा विधेयक दर्ता गरेको थियो। विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शनिबार संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरिएको छ। उसले पार्टीले निर्णय गर्नुपर्ने भन्दै ‘केही दिन पर्खिन समय मागेको’ थियो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेले आइतबारको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन्। त्यसलाई आइतबारै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको छ। सार्वजनिक सूचना जारी भएको सात दिनपछि र सांसदलाई संशोधन राख्ने ७२ घण्टाको समयावधि घटाएर छोटो विधिबाट पारित गर्ने तयारी भइरहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

ण्डकीको नीति कार्यक्रममा कृषि : एक पालिका एक उत्पादन

समाचार


काठमाडौँ, १९ जेठ । गण्डकी प्रदेश सरकारले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषितर्फ ‘एक पालिका एक उत्पादन’ कार्यक्रममा जोड दिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सभामा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा कृषि नीति तथा गुरुयोजना तर्जुमा गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य उत्पादनमा आत्मनिर्भर बन्न उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाईं विस्तार गर्ने उल्लेख छ ।

नमूना कृषि गाउँ कार्यक्रम प्रभावकारी बनाउने, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, एक सहकारी एक उत्पादन, खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा, पशु रोग नियन्त्रणका लागि खोप बैंक, प्रदेश र स्थानीय तहको सहकार्यमा खाद्य बैंक स्थापना तथा जमीन चक्लाबन्दी कार्यक्रम सरकारको प्राथमिकतामा परेका छन् ।

एक पालिका एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका ८५ वटै स्थानीय तहमा एक/एक नमूना कृषि उत्पादनका लागि विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गर्ने सरकारको योजना छ । (रासस)

बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

समाचार


काठमाडौँ, १९ जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरुको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताएका छन् । (रासस)

यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार


काठमाडौं, जेठ १९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखका अनुसार आज काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइराखेको यो वर्ष प्री मनसुन अघिल्ला वर्षहरुको तुलानामा अधिक रहेको जनाइएको छ । यो बर्ष बैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

आज रातिसम्म देशको पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

लकडाउन खुकुलो भयो भन्ने सोचेर सकडमा नआउनुस्ः डिआइजी पोखरेल

समाचार


काठमाडौं,जेठ १९ । उपत्यका प्रहरी इन्चार्ज एवं डिआइजी विश्वराज पोखरेलले सरकारबाट लकडाउनको मोडल परिवर्तनबारे कुनै निर्देशन नआएकाले खुकुलो भयो भनेर जनतालाई सडकमा नआउन आग्रह गरेका छन् ।

उनले अत्यावश्यक सेवा र आपत्कालिन अवस्थामा पहिले भन्दा धेरै सहुलियत दिइरहेकाले अनावश्यक रुपमा जनताको चहलपहल बढेको भन्दै अर्को निर्णय नआएसम्म घर बाहिर सडकमा ननिस्कन आग्रह गरेका हुन्।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डिआइजी पोखरेलले कोरोना संक्रमणबाट नागरिक आफैले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था देखिएको र यो नै एकमात्र संक्रमणबाट बच्ने उपाए भएकाले सुरक्षा निकायले लकडाउनको मोडल परिवर्तन भए त्यही अनुसारको व्यवस्था मिलाइने उनको भनाई रहेको छ।

उनले मुल रुपमा कुनै परिवर्तन नभए पनि जनताको अवस्था हेरेर लकडाउनलाई समयअनुसार सहजिकरण गरिएको र पहिले जस्तो नरहेको भन्दै आवस्यक सेवाका सवारी मात्र चलिरहेकाले स्वरुपमा केहि परिवर्तन भएको देखिएपनि जनताले लकडाउनको सीमा उल्लघन भने नगरेको दावी गरे ।

पोखरेलले भने,‘गतवर्षको तुलनामा अपराधका घटनाहरु धेरै घटेका छन् । अपराधीहरु र चोरीगर्नेहरु घटेका छन् । यसमा पूर्णरुपले घटेको भने छैन । अहिले पनि केहि अपराधका घटनाहरु भइरहेका छन् । मानिस घरभित्र छन् तर, बलात्कारका केहि घटनाहरु आइरहेका छन् । लकडाउन सहज भएपछि अपराधका घटनामा बृद्धि आउने भएकाले त्यसका लागि पनि योजना बनाइसकेका छौँ ।’

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

समाचार


काठमाडौँ, १९ जेठ । जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् ।

वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन । भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयले उपलब्ध गराएको विवरणानुसार आइतबार १०७, शनिबार २६२, शुक्रबार १७८, मङ्गलबार ८६, बुधबार २५४ र बिहीबार १७१ भारतीय नागरिक सीमा नाका हुँदै घर गएका हुन् ।

सीमा नाकामै स्वास्थ्य जाँच गरी भारतीय नागरिकहरुलाई भारततर्फ पठाइएको हो । भारत जाने नागरिकमा पुरुष, महिला र बालबालिका रहेका छन् । यसैगरी सीमा नाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै १७ नेपाली फर्केका छन । आइतबार तीन हजार ५८, शनिवार तीन हजार ७५२, शुक्रबार दुई हजार ७७८, बिहीबार दुई हजार ४०५, बुधबार एक हजार ५८६, मङ्गलबार ६९० र सोमबार दुई हजार ६३७ नेपाली भारतबाट पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्केका छन् । (रासस)

आयात रोकेपछि स्थानीय तरकारीले बजार पाउँदै

समाचार


काठमाडौँ, १८ जेठ । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने अवस्था भए पनि बन्दाबन्दीमा तरकारी आयात रोकिँदा आफूले उत्पादन गर्दै आएको तरकारीले राम्रो बजार पाउन सफल भएको बागलुङ नगरपालिका–३ कृषिगाउँका कृषक गङ्गा थापाले बताएका छन् ।

“बन्दाबन्दीअघि तरकारीले बजार कम पाउँथ्यो, पाए पनि मूल्य थोरै पर्दथ्यो”, थापाले भने, “भारत तथा तराईको तरकारी आउन छाडेपछि बागलुङ बजारका उपभोक्ता कृषि फार्ममै तरकारी खरिदका लागि आउने गरेका छन् ।” कृषक थापाले २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले राहुल कृषि विकास फार्म दर्ता गरेर च्याउखेतीसमेत विस्तार गर्दै आएको छ । झण्डै २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएका थापा बजारवासीलाई बन्दाबन्दीको समयमा जैविक तरकारी खुवाउन पाएकामा खुशी छन् ।

यस्तै काठेखोला गाउँपालिका तङ्ग्राम निवासी ३२ वर्षीय जगबहादुर विकले बागलुङ नगरपालिका–३ कृषिगाउँमै तरकारी खेती थालेको पाँच वर्ष भयो । उनले आफूले उत्पादन गरेको तरकारी तरकारी फार्म, बागलुङ बजार तथा म्याग्दी र पर्वतमा बिक्री गर्दै आए पनि बन्दाबन्दीले गर्दा सबै तरकारी बागलुङ बजारमै खपत भएको बताएका छन् । बागलुङमा पर्वत, म्याग्दीबाहेकका जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोक लगाइएपछि स्थानीय तरकारीले राम्रो मूल्य पाउन थालेको हो । विकले झण्डै १५ रोपनी जग्गा भाडामा लिएर तरकार खेती गर्दै आएको छ । (रासस)