generalnews
||Power News Asia||

आजको समाचार

कोरोनाभाइरसको महामारीमा क्यूबाको प्रशंसा किन ?

समाचार


क्यूबाले शनिबार दक्षिण अफ्रिकामा २ सय १६ स्वास्थ्यकर्मी पठाएको छ । कोरोनाभाइरसको महामारीमा मद्दत गर्नका लागि क्यूबाले संसारभरी थप २० मेडिकल दल पठाएको छ । कतिले यसलाई समाजवादी एकताको रुपमा हेरिरहेका छन् भने कतिले मेडिकल डिप्लोमेसी नाम दिइरहेका छन् ।

बामपन्थी शासन–व्यवस्था भएको क्यूबाले बेहाल अफ्रिकी र क्यारेबियन देशमा करिब १२ सय स्वास्थ्यकर्मी पठाएका छन् । यहाँसम्म कि क्यूबाले युरोपको धनी देश इटलीमा पनि आफ्ना स्वास्थ्यकर्मी पठाएको थियो । अमेरिकाको डोनल्ड ट्रम्प प्रशासनले संसारभरीका देशलाई क्यूबाका स्वास्थ्यकर्मीलाई स्विकार नगर्न आग्रह गरेको थियो ।

यद्यपि, क्यूबाले जुन देशमा आफ्ना स्वास्थ्यकर्मीलाई पठाएको छ, त्यहाँ उनीहरुको स्वागत भइरहेको छ । क्यूबामा कोरोनभाइरसका कूल १३ सय ३७ संक्रमित भेटका छन् । हालसम्म यहाँ ५१ जनाको मृत्यु भएको छ । क्यूबामा प्रति व्यक्ति डाक्टरको उपलब्धता सबैभन्दा धेरै छ । क्यूबाको हेल्थकेयर सिस्टम महामारीसँग जुध्न उत्कृष्ट भएको भन्दै संसारभरी तारिफ हुने गर्दछ ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजले भने, ‘क्यूबाको सबैभन्दा राम्रो कुरा के हो भने यहाँ सामुदायिक स्वास्थ्य सेवा छ । हामी यो अवधारणा रुचाउँछौं । ’

दक्षिण अफ्रिकामा कोरोनाभाइरसका ४ हजार ३ सय ६१ संक्रमित भेटिएका छन् र यहाँ हालसम्म ८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाको क्यूबासँग विशेष सम्बन्ध छ । क्यूबाका सैनिकले दक्षिणी एंगोलामा लडाईं लडेका थिए र नेल्सन मण्डेलालाई जेलमुक्त गर्न सहयोग गरेको थियो । नेल्सन मण्डेलाले रिहा भएपछि फिडेल क्यास्ट्रोलाई धन्यवाद दिएका थिए ।  

क्यूबाको मेडिकल डिप्लोमेसीः

क्यूबाले दुई हप्ताभित्र १९ देशमा आफ्नो मेडिकल दल पठाएको छ । अमेरिकाको प्रतिबन्धपश्चात् पनि क्यूबा अहिले पनि कोभिड–१९ विरुद्धको लडाईंमा महत्वपूर्ण भूमिका निभाइरहेको छ । क्यूबाले इटली, एन्डोरा, अंगोला, जमैका, मेक्सिको र भेनेजुएलासमेत १९ देशमा आफ्नो नयाँ मेडिकल टीम पठाएको छ जसमा ९ सय डाक्टर र नर्स समावेश छन् ।

यसबाहेक अर्जेन्टिना र स्पेनजस्ता देशको अनुरोधमा अझै कदम उठाउन बाँकी नै छ । क्यूबाको मेडिकल समूहले यसअघि पनि थुप्रै आपतकालीन स्थितीमा मानिसहरुको ज्यान बचाएको छ । यसअघि श्रीलङ्कामा सन् २००४ मा आएको सुनामी, पाकिस्तानमा सन् २००५ मा आएको भूकम्प र सन् २००६ मा इन्डोनेशियामा आएको भूकम्पका बेल क्यूबाले यी देशको भरपुर सहयोग गरेको थियो ।

सन् २००६ मा इन्डोनेशिया गएका टीमका सदस्य डाक्टर ओस्कर पतोलले आफ्नो अभियानबारे रोयटर्ससँग भनेका थिए, ‘आज ज्वालामुखी, भोलि कुनै भूकम्प र त्यसपछि बाढीजस्तो स्थितीमा क्यूबा कुनै पनि देशलाई सहयोग गर्न हरदम तयार छ ।’

कोरोनाले नराम्रोसँग प्रभावित गरेको इटलीमा क्यूबाले ५२ डाक्टर र नर्स मद्दतका लागि पठाएको छ । मुश्किल स्थितीमा काम गर्ने बानी भएका क्यूबाका डाक्टर र नर्सले इटलीमा पनि बहुमूल्य योगदान दिएको छ । करिब ६० वर्षदेखि क्यूबाले संसारका विभिन्न देशमा आफ्नो डाक्टर र नर्स पठाइरहेको छ ।

स्रोतः बीबीसी

बजारका पत्रु खानेकुराहरुभन्दा घरमै बनाइने खानाहरुले स्वस्थ रहन सकिन्छ

समाचार


लकडाउनको कारण करिब ४ हप्तादेखि नेपाली जनता घरबाहिर निस्कन पाएका छैनन् । आफ्नै काममा व्यस्त भइरहँदा सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिनको लागि नेपालभर लकडाउनको घोषणा गरेको छ । यसले गर्दा अहिले सबैको दैनिकीमा परिर्वतन आएको छ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन घरमै बसेर सजगता अपनाइरहेका र परिश्रम गरी दैनिकी गुजार्ने सर्वसाधारणलाई महाविपत्ति आइलागेको छ ।

यस्तो परिस्थितिमा कस्ता खानेकुरा खाएर आफ्नो दैनिकीलाई सरल र सुरक्षित बनाउने ? शरीरमा भाइरससँग लड्ने रोग प्रतिरोधात्मक क्षमताको विकास कसरी गराउने ? जोहो गरी राखेको खाद्यान्न कम हुँदै गएको बेला घरमा भएको खाद्यान्नलाई कसरी सदुपयोग र स्वस्थकर बनाएर खाने ? आदि विषयमा पोषणविद् डा. अरुणा उप्रेतीसँग रातोपाटीले कुराकानी गरेको छ ।

डा. उप्रेतीका अनुसार लकडाउनको समयमा स्वादिष्ट खानाको नाममा धेरैले बजारका पत्रु खाना खाएको पाइन्छ ।  परम्परागत रूप खाँदै आएका खानेकुरा नै बजारका खानेकुराहरुभन्दा धेरै स्वास्थवर्द्धक खाना भएको डाक्टर उप्रेती बताउँछिन् ।

 बजारका पत्रु खानेकुरामा बानी परेका बालबच्चालाई लकडाउनको सदुपयोग गर्दै स्वास्थवर्द्धक खानेकुरा घरमा बनाएर खान बानी पारे भविष्यमा महत्त्वपूर्ण नतिजा आउने   डाक्टर उप्रेती बताउँछिन् ।

आउनुहोस् जानौं, घरमै उपलब्ध परम्परागत खानेकुराहरुबाट पनि कसरी स्वादका साथ साथै पोषण प्राप्त गर्न सकिन्छ, डा. उप्रेतीकै शब्दमा :

 

अहिले बाध्यतावश घरमै बस्नुपर्ने समय हो । अधिकांश मानिसहरुले शारीरिक तथा मानसिक रूपले सकृय भएर काम नगरेको अवस्था हो । तसर्थ यस समयमा स्वस्थकर खानेकुरा खान जरुरी हुन्छ । चिल्लो पदार्थ, कार्बोहाइड्रेट युक्त खानेकुरा कम खानुपर्छ तर यस्ता खानेकुरा खाँदै नखाने भने होइन । त्यसैले घरभित्र बसिरहँदा मिश्रणयुक्त खानेकुरा खान जरुरी छ । घरकै भान्सामा भएका निम्न खानेकुरा यसरी बनाएर खान सकिन्छ ।

गेडागुडी–गेडागुडी र दलहन प्रोटिनयुक्त खानेकुरा हुन् । करिब ८ घण्टासम्म गेडागुडीलाई पानीमा भिजाइसकेपछि पानी निथारेर राख्नुपर्छ । यसरी भिजाएका गेडागुडी गर्मीयाममा प्रायः दुई दिनमा उम्रिन्छन् । यसरी उम्रिएका गेडागुडीलाई पकाएर झोलिलो बनाएर सेवन गर्न सकिन्छ ।  भट्मासलाई पनि भिजाएर झोलको रूपमा पिउँदा अति उत्तम हुन्छ ।

मिश्रणयुक्त दाल–गेडागुडीबाट बनाइने मिश्रणयुक्त दलहनलाई झोल बनाएर पिएमा शरीरलाई निकै फाइदा गर्छ । भिटामिन तथा  प्रोटिनयुक्त गेडागुडी तथा मिश्रण दाल खाँदा पाचन प्रक्रियालाई बलियो बनाउँछ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा ज्वरो आउने, रुघाखोकी, झाडापखाला लाग्ने, आउँ पर्ने सम्भावना बढी हुन्छ । साथै यस्तो अवस्थामा विभिन्न रोगका किटाणुले सजिलै आक्रमण गर्छ । त्यसैले स्वास्थ्य रहनका लागि सन्तुलित र नियमित रूपमा टुसा उम्रिएका गेडागुडी र मिश्रण दलहन खानुपर्छ ।

दहीमोही–दहीमोही अनिवार्य सेवन गर्नुपर्छ । दहीमा पानी राखेर पिउनाले पाचन प्रक्रियालाई सहज तथा बलियो बनाउँछ । दही र चिउरा मुछेर पनि खान सकिन्छ । यस्तै मकैको च्याँख्ला, भुटेको मकै, भटमास, पानी राखेको दही तथा मोही खाँदा स्वास्थ्यका लागि अति राम्रो हुन्छ ।  यो ज्यादै स्वास्थवद्र्धक खाना हो ।

मासुको झोल– कुखुराको मासुमा पानी राखेर बनाइने झोल पौस्टिकयुक्त हुन्छ । यसको झोल भात, कोदो, मकै, गहुँ, फापरको ढिँडोसँग स्वादिष्ट बनाएर खान सकिन्छ ।

क्वाँटी–क्वाँटी बनाउनका लागि करिब ११ थरीका गेडागुडी मिश्रण गरेर भिजाइन्छ । ती गेडागुडी उमारेर झोल बनाएर खान सकिन्छ । त्यस्तै आलु, तामा र बोडी मिसाएर पकाउन सकिन्छ । विभिन्न प्रकारका तरकारी एकै ठाउँमा मिसाएर ‘जोगी तरकारी’ बनाएर खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ । यसको झोल पिउन र चिउरा, भुजासँग पनि खान सकिन्छ ।

अण्डाकरी – अण्डाकरीलाई कडी बनाएर खान सकिन्छ । अण्डाकडीलाई दालको रूपमा प्रयोग गरेर खानासँगै खान सकिन्छ ।

फाँडो–कोदो र गहुँको पिठोमा साग तथा विभिन्न किसिमका हरियो तरकारी, टमाटर, गाँजर मिसाएर फाँडो बनाउन सकिन्छ । फाँडोलाई भात, रोटी, ढिँडोसँग खान सकिन्छ ।

जाउलो–सामान्यतः जाउलो बिरामीले खाने भन्ने गरिए पनि स्वस्थ्य रहनका लागि जसले पनि  खान सकिन्छ । जाउलो बनाउँदा चामल, मिश्रण दाल, हरियो तरकारी तथा सागसब्जी मिसाएर बनाउन सकिन्छ । 

ज्वानो, मेथीको झोल तथा जाउलो– ज्वानो, मेथीले गेडागुडी र दाल झानेर खान सकिन्छ । मेथीको गेडालाई भिजाएर त्यसको अचार साँधेर खान सकिन्छ । मेथी र ज्वानोलाई तरकारी, सागसब्जीमा फुराएर खान सकिन्छ । मेथी र ज्वानोको मात्रै झोल बनाएर खान पनि सकिन्छ । यसरी ज्वानो र मेथी खाएको खण्डमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । 

मस्यौरा र गुन्द्रुक–  विभिन्नथरीका गेडागुडीको  पिठो बनाएर पिँडालु, तरुल आदि मिसाएर मस्यौरा बनाइन्छ । मस्यौराको झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । गुन्दु्रक र भट्मासमा मिसाएर झोलिलो बनाएर खाँदा झनै स्वस्थकर हुन्छ ।

ईभेन्ट ईण्डष्ट्रिका आईकन युवा व्यवसायी डेविल सिंह राजपुत

समाचार


काठमाडौं, – मानिस एक काम अनेक भने जस्तै सौन्दर्य प्रतियोगिता, अवार्ड शो लगायत विभिन्न ईभेन्ट आयोजनाको क्षेत्रमा काम गरेर सफलताको शिखर चुम्दै गरेका बहु प्रतिभाका धनि साथै सफल युवा व्यवसायी हुन् डेभिल सिंह राजपुत । पछिल्लो समय आफ्नो ब्यापार ब्यबसायसंगै संचार क्षेत्र, मोडलिङ क्षेत्र, म्युजिक भिडियो निर्देशन, राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता, अवार्ड कर्यक्रमहरुको सफल आयोजना गरेर चर्चा कमाएका डेभिल सिंह राजपुत पछिल्लो समय डिजिटल अनलाईन भोटिङको क्षेत्रमा ग्लोबल अनलाईन पे ले ल्याएको सहजताको कारण चर्चामा आएका छन् । बिरेन्द्र बजार-४ धनुषा जनकपुरका स्थायी बासिन्दा युवा व्यवसायी डेभिल सिंह राजपुत बिगत लामो समय देखि राजधानीलार्इ कर्मथलो बनाएर ब्यापार, ब्यबसाय, मोडलिङ तथा ईभेन्ट अर्गनाइजरको भुमिकामा सक्रिय रहँदै आएका छन् ।

नेपाली सौन्दर्य प्रतियोगिताको जगतमा विल्कुलै फरक तवरले अघि बढिरहेका राजपुतले मोटोपना भएका महिला तथा पुरुषहरुलाई लक्षित गर्दै नेपालमै पहिलोपटक सुपर प्लस साईज मोडल नेपाल तथा मिस्टर प्लस साईज नेपाल आयोजना गरी शारिरिक बनावटले मात्र मानिसको सौन्दर्यता प्रस्तुत गर्छ भन्ने भ्रम तोड्न सफल भएका छन् । नेपालमा बढ्दै गईरहेको विभिन्न अवार्ड तथा सौन्दर्य प्रतियोगिताहरुलाई ब्यबस्थित गर्दै अवार्ड र सौन्दर्य प्रतियोगिताहरुलाई छुट्टै उचार्इमा पुर्याउन र सौन्दर्य प्रतियोगिताको महत्वलार्इ अझ फराकिलो बनाउँदै सम्पुर्ण सौन्दर्यप्रेमीहरुको लागि स्थान तयार गर्न लागि पर्दै आएका छन् । युवा व्यवसायी डेभिल सिंह राजपुतले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरि मोडल बन्न चाहनेहरुको लागि मोडल सङ्गस नेपाल नामको कंपनी मार्फत लगानी गर्दै थुप्रैलाई उपयुक्त अवसर प्रदान गर्दै आएका छन ।

मोडल सङ्ग्स नेपाल तथा ग्लोवल अनलाईन पे का प्रबन्ध निर्देशक रहेका राजपुतले प्रतिभा भएर पनि पछि परेका व्यक्तिहरुको क्षमता तथा प्रतिभालाई उजागर गर्ने काममा सकृय रहदै आएका छन । राजधानी केन्द्रित रहेका सौन्दर्य प्रतियोगिताहरुलाई मोफसलसम्म पुर्याउन अहम भूमिका निर्वाह गर्दै आएका राजपूतले देशैभर लुकेर रहेका प्रतिभाहरुको खोजीमा आफूलाई अभ्यस्त गराउँदै आएका छन् । साथै, प्रतिभाको उचित मुल्यांकन गर्दै तिनको प्रस्फुटन तथा प्रवर्द्दनमा योगदान पुर्याउदै आएका राजपुतले सन् २०२० को सुरुवातमा नै राजधानीमा सौन्दर्य प्रतियोगिता ‘फेस अफ द नेसन, २०२०’, ‘सुपर प्लस साईज मोडल, २०२०ू’साथै मकवानपुरमा ‘मिस्टर एण्ड मिस मकवानपुर आईडल’ र ‘मकवानपुर लिटल स्टार २०२०’ आयोजना गर्ने भएका छन । मोडल बन्न इच्छुक मुलुकभर छरिएर रहेका युवा युवतीहरुलाई सौन्दर्य प्रतियोगिता मार्फत समेट्दै उनीहरुलाई नेपाली सिने नगरीमा स्थापित गराउदै आएका उनले भविष्यमा नेपाली मोडलिङ क्षेत्रलार्इ थप उचाईमा पुर्याउन आफू अहोरात्र खट्निे प्रण गरेका छन् ।

समय अनुसार परिवर्तित नेपाली मोडलिङ क्षेत्रलाई थप ब्यबस्थित गरि अन्तराष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रमा लाग्ने युवा युवातीहरुलाई हौसला प्रदान गर्दै उनीहरुको भविष्यको लागि कोशेढुंगा बन्ने सोच लिएका युवा व्यवसायी राजपुत यस क्षेत्रको लागि एक र्इमान्दार, मेहनती र सक्षम युवा व्यवसायीको रुपमा समेत परिचित छन । लहलहैमा लागेर भन्दा पनि आफुले रोजेको व्यवसायको सफलताको सम्भाब्यता र क्यास फ्लोको विचारको साथसाथै कुनै पनि बिजनेस किन्दा वा सुरु गर्दा बिजनेस प्लान बनाउने र यस्तो बिजनेस गरी राखेका अन्य व्यक्तिहरूको अनुभव र सल्लाहलाई मध्यनजर गर्दै अगाडि बढ्न सके नेपालबाट कुनैपनि युवाहरु पलायन हुनुपर्ने अवस्था नआउने राजपुतको बुझाई छ ।

नैतिकताको घेराबन्दीमा प्रधानमन्त्री ओली, राष्ट्रपतिमाथि पनि प्रश्न

समाचार


काठमाडौं । राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी विवादास्पद् दुई वटा अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक प्रश्नले घेरेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताबिनै परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्थासहित अध्यादेश ल्याइएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चौतर्फी विरोध भएपछि राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विद्यादेवी भण्डारीले शुक्रबार नै दुबै अध्यादेश खारेज समेत गरिसकेकी छिन् ।

तर कोरोना महामारीका बीच ल्याएका अध्यादेशको औचित्य पुष्टि गर्न नसकेर फिर्ता भएपछि सरकार नैतिकताको भूमरीमा फसेको हो ।

 

यो पनि...

ओलीमाथि बढ्दो दबाब : नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

सामाजिक सञ्जालका विभिन्न माध्यमबाट सत्ता र प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्रीमाथि नैतिकताको प्रश्न बर्साएको पाइन्छ । 

नैतिकताको घेरबन्दी
अध्यादेश फिर्ता भएपनि नैतिकताको प्रश्न कायमै रहेको नेकपाकै वरिष्ट नेता झलनाथ खनालको टिप्पणी छ ।

उनले भनेका छन्, ‘अध्यादेश फिर्ता भएपनि नैतिकताको प्रश्न पनि कायमै छ । यो निर्णय साम्य हुँदैमा नैतिकताको प्रश्न कदापि हराएको छैन । निर्णय फिर्ता लिँदैमा सबै समस्या समाधान, सबै गलत अभ्यास र सबै अव्यावहारिक गतिविधि साम्य भएका छैनन्।’ 

यस्तै नेकपाका स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि प्रधानमन्त्रीको पछिल्लो कदमले गम्भीर नैतिक प्रश्न खडा गरेको जिकिर गर्छन् । 

उनले भने, ‘पछिल्लो सबै परिस्थितिले अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ ? गम्भीर नैतिक प्रश्न खडा भएको छ ।’
यस्तै नेकपा नेतृ रामकुमारी झाक्रीले अध्यादेश फिर्तासँगै सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ भन्दै प्रश्न तेस्र्याएकी छन् ।

‘अध्यादेश फिर्ता भयो  । के योसँगै सम्पूर्ण राजनीतिक र नैतिक प्रश्न सकिन्छ ? मलाई लाग्छ सकिँदैन ?,’ उनले भनिकी छन्,  ‘राजनीतिमा नैतिकता हुन्छ भनेर शिक्षा दिने कमरेड माधव नेपाल र अनाहकमा गलत अर्थ लगाएर राजीनामा दिन बाध्य पारिएका कमरेड शेरबहादुर तामाङले नैतिकता आफूमा मात्र सिमित गर्नु भएछ । अन्त नैतिकता कतै देखिन्छ ?’ 

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले वैधता गुमाएका प्रधामन्त्रीबाट कोरोनाको पार नलाग्ने र संविधानको पनि रक्षा नहुने दावी गरे ।

‘अध्यादेश फिर्ता ! अनि धन्यवाद ! सांसद उठाउनेलाई गाली तर बालुवाटारमा बसेर षड्यन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई राजनीतिको विकृत धन्दा त यसरी चल्ला तर वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।’ 

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि ओलीमा अब प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता नै बाँकी नरहेका जिकिर गर्छन् । 

पौडेलले भन्छन्, ‘बाध्य भएर अध्यादेश फिर्ता गर्नु कुनै बहादुरी हैन । जनताका अघि उभिएर जवाफ दिनुस् प्रधानमन्त्रीज्यू ! सांसद अपहरण अर्ने मानवताविरोधी अपराध किन गर्नुभयो ? तपाईंका हात लोकतन्त्रको हत्या गर्न उद्यत छन्, प्रधानमन्त्रीको कुर्सीमा बस्ने कुनै नैतिकता अब बाँकी छैन, अविलम्ब राजिनामा दिनुस् ।’ 

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले स्वार्थ लिप्तता श्रृङ्खला अब छिट्टै अर्को रुपमा प्रकट हुने दाबी गरेका छन् । 

‘अध्यादेश फिर्ता लिनु खुसीको विषय हो । तत्कालीन घटनाको समाधान निस्किए पनि यिनको भ्रष्टता र स्वार्थ लिप्तता श्रृङ्खला ३० वर्षदेखि रोकिएको छैन, ’मिश्रले आह्वन गर्दै भने, ‘त्यो फेरि छिट्टै अर्को रुपमा प्रकट हुनेछ । कि हामी यस्तै हो ब्रो भनेर यिनैलाई जिम्मा लाउँ । नत्र अब देश बनाउने आगो बोकेकाहरु एक जुट हौँ ।’

राप्रपाका अध्यक्ष कमल थापाले जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने प्रयासलाई सकारात्मकरुपमा लिनुपर्ने बताएका छन् ।

उनले भने, ‘राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशहरु फिर्ता लिने सरकारको निर्णय स्वागतयोग्य छ। जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने प्रयासलाई सकारात्मकरुपमा लिनुपर्छ ।’
सार्वजनिक माफी माग्न सुझाव
प्रधानमन्त्री ओलीको रणनीति राजनीति र नैतिक रुपमा नै असफल भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको निष्कर्ष छ ।

रातोपाटीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘यो प्रकरण राजनीतिक रुपमा असफल भयो, नैतिक रुपमा पनि यो असफल भयो । प्रधानमन्त्री  र राष्ट्रपति पनि यस्तो अवस्थामा अनावश्यक रुपमा नांगिनुपर्यो ।’
जसले प्रधानमन्त्री र राष्ट्रपतिको विश्वसनीयतामाथि प्रश्न उठेको उनले बुझाइ छ ।  

‘यसले दुबैको विश्वसनीयता कमजोर भयो । अब जनताले उहाँहरुको हरेक काममाथि आशंका राख्नुपर्ने अवस्था आयो । उनीहरु मिलेर कुनै पनि बेला केही पनि दुर्घटना गर्नसक्छन् भन्ने भयो,’ आचार्यले भने, ‘प्रधानमन्त्रीले गल्ती गर्दा सच्याउने ठाउँ राष्ट्रपति कहाँ हो । अब राष्ट्रपति झन सक्रिय भएर प्रधानमन्त्रीको गल्ती कमजोरीलाई अगाडि बनाउने कार्यमा संलग्न भएको देखियो ।’
संकटको बेला प्रधानमन्त्रीले सबैको विश्वास र भरोसा गुमाउने काम गरेको उनको जिकिर छ । 

आचार्यले भने, ‘मुलुक यतिबेला यस्तो घटना सोच्न पनि तयार थिएन । उहाँले सबैको भरोसा जित्नुपर्ने बेला विपक्षी, आम जनता, अन्तर्राष्ट्रिय समुदाय र आफ्नै टीमको विश्वास र भरोसा गुमाउनुभयो ।  यसले के फाइदा भयो ? सारा संसारको अगाडि प्रधानमन्त्री र राष्ट्रपतिबाट कुरा जुन षड्यन्त्र जसरी आयो । त्यसमा जनताको मतले टिक्न सक्नुभएन ।’

प्रधानमन्त्रीले आफ्नो गुमेको विश्वास पुनः स्थापित गर्न सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनको सुझाव छ ।

 

यो पनि...

राष्ट्रपतिले खारेज गरिन् दुई अध्यादेश

‘प्रधानमन्त्रीले जनमत र पार्टीमतको कदर गर्न अध्यादेश फिर्ता भयो भन्नुभयो । जनमत र पार्टीमतको कदर सधैं गरिरहनुपर्छ । त्यो गर्न अध्यादेश फिर्ता गर्नुपर्यो भन्ने नै होइन । उहाँले मबाट गल्ती भयो । एउटा दुर्घटना भयो । जनमत र पार्टीमतको अवहेलना,  अवज्ञा गएर मैले कदम चालेँ । त्यसमा मसँगै राष्ट्रप्रमुखलाई पनि मुछेँ । मबाट भएको गल्तीका लागि सबै नेपालीसँग सार्वजनिक रुपमा माफी माग्छु भन्नुपर्दैन ? अब यस्ता गल्ती भविष्यमा मबाट हुनेछैन भनेपछि मात्र उहाँको विश्वास पुनःस्थापित हुन्छ,’ आचार्यको भने ।

उनका अनुसार प्रधानमन्त्रीमा विषम परिस्थितिमा मैले यस्तो कदम चाल्नु हुँदैन थियो भन्ने महसुस गरेको पाइँदैन । 

अध्यादेश फिर्ता लिँदा प्रधानमन्त्रीले बोलेका कुराहरुमा अहंकार र जनमतको अपमान कायमै रहेको दावी गर्दै उनले हिजोको दिनमा अभिमत दिएर सरकारमा पुर्याएकाहरुप्रति क्षमा मागेपछि मात्र जनमत र पार्टीमतको कदर हुने तर्क गरे ।

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

समाचार


काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि  उत्तिकै छ । 

आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । प्रविधि र विज्ञानको विकासले मानिसलाई अनावश्यक आवश्यकता र तनावतिर डोर्याइरहेको छ । मानिसहरु के कारणले सम्बन्धमा दरार आउँदै छ भन्ने कुरातर्फ कहिल्यै ध्यान दिदैँनन्  तर सम्बन्ध बिग्रिएकोमा भने गुनासो गर्दै हिँड्छन् । 

सम्बन्धमा तित्तता आउनुमा एक अर्काबीच हुने  संवाद मुख्य हुने एक अध्ययनले देखाएको छ । मानिसहरुको बोलीले उनीहरुको सोचाई दर्शाउँछ । उनीहरु जस्ता शब्दहरु प्रयोग गरिरहेका हुन्छन्, ती शब्दहरुले मानिसको सोच्ने क्षमता कस्तो छ भन्ने पत्ता लाग्ने अध्ययनमा उल्लेख छ र

क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययनले जुन सम्बन्धमा जोडीले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै राम्रो भएको बताएको छ । ति मानिसहरु आफूलाई आफ्नो साथीको नजिक भएको महसुस गर्ने बताइन्छ ।
उक्त अनुसन्धानको लागि ३० वटा अध्ययन गरिएको थियो । जसमा ५ हजार प्रतियोगी सहभागी भएका थिए । अध्ययनपूर्व सहभागीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य स्थितिको विषयमा अध्ययन गरिएको थियो । 

अध्ययनले पार्टनरबीच हुने कुराकानीका क्रममा जो ‘हामी’ शब्दको प्रयोग गर्छन् ति व्यक्तिहरु निकै खुशी भएको पाइयो । वास्तवमा ‘हामी’ शब्दको प्रयोग गर्नेहरु एक–अर्काप्रति समर्पित हुने र हरेक पलमा साथ दिने गर्छन् । उनीहरु आफ्ना पार्टनरको ख्याल राख्ने गर्छन् । उनीहरु एक–अर्कालाई पाएकोमा खुशी महसुस गर्छन् र सम्बन्धमा सधैँ न्यायोपन ल्याइराख्छन् । 

रिलेनसनशिपमा हुँदा गर्न नहुने ५ गल्ती

समाचार


दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । 

मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग सम्बन्धीत र सम्बन्धसँग जोडिएका विविध कुराहरु सामाजिक सञ्जालमा शेयर गर्नु कत्तिको उचित हुन्छ त ? 

व्यक्तिगत जीवनसँग सम्बन्धीत कुराहरु सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्दा यसले मानिसको जीवनमा पार्ने प्रभाव निकै नराम्रो हुन सक्छ । के सही वा के गलत हो त्यसलाई पहिचान गरेर मात्रै सामाजिक सञ्जालमा शेयर गर्न आवश्यक छ । 

सम्बन्ध र व्यक्तिगत जीवनसँग मेल खाने के–के कुरा सामाजिक सञ्जालमा शेयर गर्नुहुँदैन ? 

झै–झगडा
सामान्य वादविवाद वा झगडा हरेक सम्बन्धमा हुन्छ र यसलाई सामान्य नै मानिन्छ । तर त्यही झगडाको विषयमा सामाजिक सञ्जालमा लेख्नु वा देखाउनु एकदमै गलत कुरा हो । यसले आपसी झगडा झन् बढाउँछ । यसका साथै त्यसले तपाईंको पार्टनरको आत्मसम्मानमा चोट पुग्न सक्छ । भने, अन्य मानिसको अगाडि उसको छवि नराम्रो हुन सक्छ । त्यसैले यस्ता कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुभन्दा कुनै मिल्ने मान्छेसँग मनको कुरा शेयर गर्नुपर्छ ।

महंगो उपहार
तपाईंको पार्टनरले तपाईंलाई दिएको उपहारको बारेमा सामाजिक सञ्जालमा देखाउनु गलत हो । उपहारहरु सामाजिक सञ्जालमा शेयर गर्दा पार्टनरको साथ साथै अरुको नजरमा नराम्रो भावना पैदा हुनसक्छ ।

व्यक्तिगत फोटो 
आफ्नो पार्टनरसँग लिएका व्यक्तिगत तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदैन । यसले विभिन्न समस्या पैदा गर्न सक्छन् । 

घुम्न जाने ठाउँको जानकारी 
यदि तपाईं छुट्टिमा कतै घुम्न जाँदै हुनुहुन्छ भने त्यो कुरा सामाजिक सञ्जालमा नदेखाउनुहोस् । 

ब्रेकअप
यदि तपाईं र तपाईंको पार्टनरबीच ब्रेकअप भएको छ र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट् नगर्नुहोस् । त्यसले तपाईंलाई मानिसले हेर्ने दृष्टिकोण नराम्रो हुनसक्छ । र पछि पुन सम्बन्धमा सुधार आउने सम्भावना पनि कम हुँदै जान्छ । 

कतै तपाईं पार्टनरको ‘एब्युसिव रिलेशनशिप’को शिकार त हुनुभएको छैन ?

समाचार


एजेन्सी – प्रेम, विवाह र सम्बन्ध एक अर्काका परिपूरक हुन् । विवाह भइसकेपछि समन्धमा प्रेम अत्यावश्यक कुरा हो । प्रेम वास्तवमा दुई हृदयको मिलन हो । आफ्नो जोडीको चित्त नदुखोस्, कुनै शारीरिक वा मानसिक समस्या नपरुन्, कष्ट नहोस्, आफ्नो जे भएपनि उनको राम्रो होस् भन्ने चाहाना हुन्छ । जब एक अर्काप्रति भरपूर प्रेम र आदर हुन्छ तब मानिस आफ्नो पार्टनरप्रति पूर्ण समर्पित हुन्छ । 

बदलिदैँ गएको समाजको रहनसहन र दैनिकीले आजभोलि हरेक सम्बन्धमा केही न केही समस्या पैदा हुन थालेका छन् । सामान्य भन्दा सामान्य कुरा हुने झै–झगडा र विवाद आजभोलि सामान्य नै भइसकेको छ तर तपाईंको पार्टनर सधैँ त्यही कुरा गर्छ जसले तपाईंको सम्बन्धमा मनमुटाब गराउँछ । यसलाई ‘इमोशनल अत्याचार’ पनि भन्ने गरिन्छ । भावनात्मक रुपमा चोट पुग्दापुग्दै कतिवेला त्यो सम्बन्ध ‘एब्यूसिव रिलेशनशिप’ मा बदलिसकेको हुन्छ कसैलाई थाहा नै हुँदैन । 

के हो ‘इमोशनल अत्याचार’ ? 
शोषण वा अत्याचारको कुरा गर्दा धेरैको मनमा शारीरिक शोषण हो भन्ने धारणा पाइन्छ । तर शोषण भावनात्मक पनि हुन्छ । यदि कोहि मानिस तपाईंले शब्दले वा रिसले तपाईंलाई पीडा दिन्छ भने वा शब्दबाटै तपाईलाई नियन्त्रणमा राख्ने प्रयास गर्छ भने त्यसलाई ‘इमोशनल अत्याचार’ भनिन्छ । भावनात्मक शोषणले सम्बन्धलाई खोक्रो बनाइदिन्छ । त्यतिमात्र होइन यसले मानिसलाई भित्रभित्रै घुनले जस्तै खोक्रो र खाली बनाइदिन्छ । यस्तो भएको अवस्थामा आफ्नो पार्टनरसँग छलफल गरेर समयमानै समाधान खोज्न आवश्यक छ अन्यथा यस्तो सम्बन्धबाट बाहिर आउनुमा नै बुद्धिमानी हुने मनोविश्लषकहरु बताउँछन् । 

भावनात्मक शोषणका लक्षणहरुः

आदर/सम्मान नगर्नु
सम्बन्धमा जति जरुरी माया हुन्छ उति नै जरुरी सम्मान र एकअर्काप्रति आदर हुन्छ । यदि तपाईं आफ्नो पार्टनरलाई पूर्ण रुपमा आदर गरिरहनुभएको छ तर बदलामा उसले तपाईंलाई सम्मान गर्दैन भने त्यसले समन्धमा विस्तारै चिसोपना पैदा गर्छ । किनकी यस्तो कुरा विस्तारै बढ्दै जाँदा अन्य मानिसको अगाडि पनि तपाईंलाई उसले अपशब्द प्रयोग गर्न सुरु  गर्न सक्छ । जसले सम्बन्ध विग्रदैँ जान्छ । 

पटक–पटक बेवास्ता गर्नु 
सम्बन्धमा दुवैको भावनाको कदर गर्नु जरुरी छ । यदि तपाईंको पार्टनर कुनै पनि कुरा गर्नको लागि तपाईंलाई बारम्बार दबाब दिन्छ भने तपाईं इमोशनल शोषणको सिकार भइरहनुभएको छ । चाहे त्यो कुनै कपडा लगाउन वा नलगाउन, कसैसँग बोल्न वा नबोल्न होस् यसले सम्बन्धमा विस्तारै दुरी बढाउँछ ।

 ‘इमोशनल ब्ल्याकमेल’ गर्नु 
केटा होस् वा केटी जो कोहीले पनि सम्बन्धमा इमोशनल ब्ल्याकमेल गरेर आफ्नो पार्टनरलाई कुनै पनि काम गर्न बाध्य पार्नु पनि शोषण हो । तपाईंलाई पार्टनरले बारम्बार भावनामा चोट पुग्ने गरी कुनै पनि गल्तीलाई लिएर ब्ल्याकमेल गरिरहेको छ भने त्यस्तो सम्बन्धबाट टाढिनु नै राम्रो हुन्छ । 

हरेक कुरामा होच्याउँनु 
यदि तपाईंको पार्टनरले तपाईंलाई जाति, लिङ्ग, उमेर वा व्यक्तित्वलाई लिएर बारम्बार मजाक उडाउँछ भने त्यसलाई पनि भावनात्मक शोषणको रुपमा लिइन्छ । यदि अन्य तेस्रो मानिसको अगाडि पनि तपाईंलाई होच्याउँछ भने सम्बन्धमा सुधार ल्याउँन जरुरी छ । 

ठूलो आवाजमा चिच्याउँनु 
तपाईंलाई तपाईंको सम्बन्ध जति नै राम्रो लागेपनि यदि तपाईंको पार्टनर तपाईंसँग चिच्याएर कुरा गर्छ भने सम्झिनुस् तपाईंप्रति तपाईंको पार्टनरमा कत्ति पनि सम्मान छैन । यदि त्यस्तो भइरहेको छ भने तपाईंले पार्टनरसँग बसेर छलफल गर्न जरुरी छ । 

कोरोनाको प्रकोपले खाद्यान्न आपूर्तिलाई प्रभावित पार्नसक्छ: विश्व बैंक

समाचार


एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी र यसलाई नियन्त्रणमा ल्याउनका लागि सरकारले अपनाउने नीतिका कारण खाद्यान्न आपूर्ति प्रक्रियामा अवरोध आउनसक्ने विश्व बैंकले चेतावनी दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभरी बन्दाबन्दी घोषणा वा सङ्क्रमणको त्रासमा व्यवसायिक गतिविधिमा अवरोध आएपनि खाद्यान्नको मूल्य भने स्थिर रहने विश्व बैंकले बिहीबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
  
बन्दाबन्दी र कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरिने उपायका कारण कृषि सामानहरूको मागमा कुनै कमी नआएको र महामारीका समयमा पनि ती सामग्रीको मूल्य तेल, धातु वा अन्य औद्योगिक सामग्रीको तुलनामा स्थिर रहने उक्त प्रतिवेदनमा बताइएको छ ।

‘कृषि सामग्री आर्थिक वृद्धिसँग कम सम्बन्धित रहेको र सन् २०२० को पहिलो त्रैमासिकमा यस क्षेत्रको कारोबारमा यातायातका साधनमा प्रयोग हुने रबर बाहेकका  कृषि उत्पादनमा सामान्य गिरावट देखिएको छ,’ विश्व बैंकले भनेको छ । 
‘कृषि उत्पादनको मूल्य यस वर्ष ‘व्यापाकरूपमा स्थिर’ रहनेछ किनकि अत्यावश्यक खाद्यान्नको ‘उत्पादन अवस्था र भण्डारणमा उच्च वृद्धि’ हुनेछ,’ बैंकका अधिकारीहरूले बताए । अधिकारीले चेतावनीको भाषामा भनेका छन्,‘सन् २०२० मा उत्पादकहरूले व्यापार र वितरणमा भएको अवरोधका कारण मल, किटनाशक सामग्री तथा श्रमिकको उपलब्धतामा भने समस्या झेल्नेछन् ।’

‘यूरोपमा फूलको निर्यात गर्ने केन्या र तान्जिनियामा सङ्क्रमणका कारण पूर्णतया बन्द अवस्था रहेको छ भने उत्तर अफ्रिकी तरकारी  तथा फलफुल आपूर्तिकर्ता मुलुकहरू सङ्क्रमणका कारण प्रभावित बनेका छन्,’ प्रतिवेदन लेखनमा सहायक भूमिका रहेका बैंकका अर्थशास्त्री जोन ब्याफेजले भने । व्याफेजले एएफपीसँग भने, ‘आपूर्ती प्रक्रिया कति जटिल छ भनेर हामी देख्न सक्छौ ।’ 

सङ्क्रमणले महामारीको रूप लिएपछि विश्वका अधिकांश मुलुकमा व्यापार तथा सामान्य देनिक गतिविधिमा विभिन्न प्रकारका अवरोधहरू आएका छन् । रूसले गहुँ र भियतनामले चामलको आपूर्र्तिलाई सिमित गरेका छन् भने फिलिपिन्सले पनि अत्यधिक चामल निर्यातलाई नियन्त्रण गर्ने नीति अघि सारेको छ । 

‘अद्यापि ती उपायहरूलाई व्यापकरूपमा प्रयोगमा ल्याइएको नभएपनि त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याइयो भने यसले समस्या निम्त्याउनेछ’ प्रतिवेदनमा भनिएको छ । यसैगरी सन् २०२० मा इन्धनको मूल्यमा ४० प्रतिशतको गिरावट आउने अनुमान गरेको छ तर यसमा सन् २०२१ सम्ममा पूरानो अवस्था आइपुग्ने विश्व बैंकले जनाएको छ ।

सन् २०२० मा तेलको औसत मुल्यमा प्रतिव्यारेल ३५ डलर कायम हुने प्रक्षेपण गरिएको छ । यो अघिल्लो वर्षको भन्दा भण्डै ३४ प्रतिशतको गिरावट हो । सन् २०१९ मा तेलको औसत मूल्य प्रति व्यारेल ६१ अमेरिकी डलर  कायम रहेको थियो । 

विश्वव्यापी आर्थिक वृद्धिमा प्रभावकारी भूमिका रहने धातुजन्य पदार्थहरू फलाम, तामा र जस्ता (जिङ्क) जस्ता सस्तो धातुजन्य पदार्थको मूल्यमा औसत १३ प्रतिशतले गिरावट आउने बैंकको रिपोर्टमा प्रक्षेपण गरिएको छ ।

प्रतिवेदन तयारमा सम्लग्न अर्थविद्हरूले दैनिक उपभोग्य वस्तुहरूमा पनि ‘दीर्घकालीन प्रभाव’ पर्ने सम्भावना दर्शाएका छन् । सामाजिक दूरी कायम गर्नुर्ने बाध्यताका कारण यातायात सेवामा पर्ने प्रभाबका कारण तेलको मूल्यमा अहिलेको मूल्यमा अझ गिरावट आउने प्रक्षेपण उनीहरूले गरेका छन् । सङ्क्रमण नियन्त्रणका लागि यातायातका साधनहरू नचल्दा प्रमुख आपूर्ति प्रक्रियामा प्रभाव पर्ने र कच्चा पदार्थको अभावमा धेरै उत्पादनहरूमा ह्रास आउने अर्थविद्हरूको व्याख्या रहेको छ । 

नयाँ बजेटमा पूर्वाधार : गेम चेन्जर र चालू आयोजना नै प्राथमिकतामा

समाचार


काठमाडौं  । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट बनाउने गृहकार्यमा सरकार जुटिसकेको छ । राष्ट्रिय योजना अयोगले मन्त्रालयगत छलफललाई तिब्रता दिएको छ । मन्त्रालयगत छलफलको लगभग अन्तिम चरणमा आयोग पुगेको छ । 

आगामी बजेट केही गेम चेन्जर (रुपान्तरणकारी)  आयोजना र चालू आयोजनामै  फोकस हुने योजना आयोगका सदस्य सुशील भट्टले जानकारी दिए । सरकारले १८ वटा आयोजनालाई गेमचेन्जर आयोजनाका रुपमा अघि सारेको छ । त्यसबाहेक २२ वटा राष्टिय गौरवका आयोजना पनि छन् । कोरोनाले अर्थतन्त्रमा असर पारेपछि  यसपटक पूर्वाधार विकासमा ठुलो मात्राको बजेट बिनियोजना हुने सम्भावना छैन ।

उनका अनुसार मध्यपहाडी, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, प्राथमिकता प्राप्त आयोजनाहरु, पूर्व–पश्चिम राजममार्ग, उत्तर–दक्षिण करिडोरहरु, कोशी करिडोर, सिमिकोटसम्म बाटो पुग्ने कुरा, पश्चिममा महाकाली करिडोर जस्ता आयोजनामा बजेट विनियोजन गर्ने गरी आगामी बजेट केन्द्रित हुनेछ । 

डिजाइनको काम नभएको आयोजनाको अध्ययन गराउने प्रयोजनका लागि कोष राख्न समेत आयोगले भौतिक पूर्वाधारलाई निर्देशन दिएको छ ।  १ खर्ब ८७ अर्बको सिलिङ पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग चैत १० गतेबाटै  नीतिगत सैद्धान्तिक छलफल आयोगले शुरु गरेको हो । 

भट्ट भन्छन्, ‘विगतका प्राथमिकता प्राप्त योजनालाई निरन्तरता दिने हो । सडक भनेको एउटा ठाउँदेखि अर्को ठाउँसम्म पुग्नको लागि हो । विगतमा २० किमी, ४० किमी सेक्सनवाइज बनेको हुन्छ  । बाँकी सेक्सन बनाउनुपर्यो भने ती नयाँ भए । बहुवर्षीय ठेक्का प्रक्रियामा लानुपर्ने र कार्यान्वयन चरणमा लानुपर्ने हुन्छ । यसको पूर्वतयारी टुंगिएको छ, डिजाइन गरिएको छ र कार्यान्वयन योग्य र कानुनी प्रक्रिया टुंगिएको छ भने त्यस्ता आयोजनालाई बहुवर्षीय ठेक्का प्रक्रियामा अगाडी लैजानुस् भनेका छौ ।’ 

अबको बजेटमार्फत आयोजनाहरु जो रणनीतिक महत्वका छन्, ती आयोजनमा पर्ने पूलहरुका काम र त्यसबाट शुरु भइसकेको काम छन् भने बाँकी दायित्व फरफारक गर्ने तर्फ रकम विनियोजन गर्नुपर्ने माग उठेको छ ।  यस्तै चालू आयोजनाको पुन प्राथमिकीकरण, विगतमा ती आयोजनामा के कति खर्च भएको छ र सो आयोजना सकिन कति रकम चाहिन्छ भन्नेतर्फ पनि छलफल गरेको भट्टले बताए ।

 उनका अनुसार भौतिक पूर्वाधारमा अहिले २ खर्ब ८० अर्बको दायित्व छ । सो दायित्व पूरा गर्न कति वर्ष लाग्छ सोही अनुसारको बजेटको व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ ।  मन्त्रालयलले चालू आयोजनाको पूनर्मूल्याँकन गरेर बैशाख १२ सम्म एलएमविआइएसमा प्रविष्ट गराइसक्नुपर्नेछ । १४ गतेबाट अर्थ मन्त्रालयसँग छलफल हुनेछ । 

विगतका चालू  प्राथमिकता प्राप्त आयोजनालाई सम्पन्न गर्ने र गेमचेन्जर आयोजनातर्फ उन्मुख हुँदै बजेट विनियोजन गर्नुपर्ने विषयमा छलफल भएको छ । सरकारले देशको अर्थतन्त्रलाई माथि उकास्न ठुला क्षमताका गेमचेन्जर आयोजना प्राथमिकतामा राखेको छ । 

यद्यपि, कोरोनाका कारण ठप्प बनेको अर्थतन्त्रका कारण यसपटकको बजेटको प्राथमिकता फेरिएको छ । बजेटमा पुरानै आयोजनाको निरन्तरता र केही गेम चेन्जर आयोजनाको लागि स्थान रहनेछ ।

मेगा बैंकका ग्राहकले घरमा बसी बसी औषधि खरिद गर्न सक्ने, यी नम्बरमा फोन गर्न सक्नुहुन्छ

समाचार


काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले घरमै बसेर विशेष छुटमा औषधिहरु खरिद गर्न सक्ने भएका छन् । 

देशव्यापी लकडाउनको विषम परिस्थितिमा पनि बिभिन्न सेवा–सुविधा प्रदान गर्दै आएका मेगा बैंकले ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै केन फार्मेसीसँग घरमै औषधि पुर्याउने व्यवस्था मिलाएको हो । 

औषधि खरिदमा मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । 

मेगा बैंकका ग्राहकहरुले काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको ०१–४१०६८६०, ९८४९०९८०० मा फोन गरी वा केनको आधिकारिक फेसबुक पेजमा सन्देश पठाएर आफूलाई आवश्यक औषधि खरिद गर्न सक्नेछन् ।

कोरोनाभाइरसका कारण जारी देशव्यापी लकडाउनका कारण औषधि खरिद गर्न अप्ठेरो भइरहेको वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै केन फार्मेसीसँग यो सम्झौता गरेको मेगा बैंकले जनाएको छ । घरमै बसेर बिना झन्झट औषधि खरिद गर्ने सुविधा उपभोग गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । 

यसका साथै, मेगा बैंकले लकडाउनमा पनि देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।