generalnews
||Power News Asia||

आजको समाचार

शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव

समाचार


काठमाडौँ — भाद्र ७, २०७७। 

स्थानीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्।

कोभिड १९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा अवलम्बन गर्नुपर्ने उपायबारे सुझाव संकलन गर्न मन्त्री पोखरेलले प्रदेश नम्बर एक, दुई, बागमती तथा पाँच नम्बरका सामजिक विकास मन्त्रालयका अधिकारी, प्रमुख, प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायतसँग छलफल गरेका थिए।

छलफलको क्रममा उनीहरुले शैक्षिक सत्र सुरुवात भएको घोषणा गर्न सकिएमा विद्यार्थीको सिकाइमा उतप्रेरणा जाग्ने तथा शिक्षकलाई जसरी पनि विद्यालय पुग्नैपर्ने बाध्यता हुने बताएका थिए। कोभिडका कारण घर गएका तर लकडाउनका कारण सम्बन्धित विद्यालय भएको ठाउँसम्म पुग्न नसकेको शिक्षकलाई यात्राको लागि सहजीकरण गरिदिन पनि उनीहरुले पोखरेललाई अनुरोध गरेका थिए।

कोभिडको संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्ने निर्णय अधिकार स्थानीय तहलाई नै दिंदा उपयुक्त हुने सहभागीको राय थियो। सरकारले सुरु गरेको वैकल्पिक माध्यमको पढाइ सबै ठाउँमा प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ थियो। यो विधिको पढाइमा स्थानीय तहले विद्यालयमार्फत विद्यार्थीलाई उपलब्ध गराएको स्व अध्ययन सामग्री बढी प्रभावकारी भएको पनि उनीहरुले बताएका समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

नेपालले नाप्यो सगरमाथाको उचाइ, घोषणा गर्न चीनसँग समन्वय हुँदै

समाचार


काठमाडौँ — भाद्र ६, २०७७ । 

विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन् ।

नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । ‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला ।’ चीनका तर्फबाट पनि मापनको काम भइरहेको उनले बताए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो । चिनियाँ राष्ट्रपति चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त वक्तव्य सन् २०१९ अक्टोबर १३ मा आएको थियो । वक्तव्यको बुँदा नम्बर ८ मा लेखिएको छ, ‘सगरमाथा÷चोमोलङमा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयोग बढावा दिनेछन् । संयुक्त रूपमा सगरमाथा÷ चोमोलङमाको उचाइ घोषणा गर्नेछ र वैज्ञानिक अनुसन्धान गर्नेछ ।’

डंगोलका अनुसार सन् २०१८ फेब्रुअरीमा सगरमाथाको उचाइ मापनको फिल्ड वर्क सुरु भएको थियो । उक्त काम डिसेम्बरमा सकिएको थियो । प्रमुख नापी अधिकृत खेमलाल गौतम र नापी अधिकृत रविन कार्कीले २०१९ मे २२ मा सगरमाथाको उचाइ पुगेर जीएनएसएस सर्वेक्षण गरेका थिए । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल आधार शिविरसम्म पुगेकी थिइन् ।

डंगोलका अनुसार सगरमाथा उचाइ मापन गर्न जियोइड प्रतिपादन भूआकर्षण बिन्दु आवश्यक पर्छ । सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगाका विभिन्न स्थानमा गरी ४८ बिन्दुको मोनुमेन्टसन गरिएको छ । १०२ बिन्दुमा जीएनएसएस सर्भेक्षण गरिएको छ । सिरहाको मदारबाट सोलुखुम्बुको पतालेसम्म ४९ बिन्दुको लेभलिङ रुटमा जीएनएसएस सर्भेक्षण भएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

दश हजार भेन्टिलेटर र आइसियू व्यवस्था गर्न समितिको निर्देशन

समाचार


काठमाडौं, ५ भदौ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्तिmमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ ।

समितिको आजको भर्चुअल बैठकले आधारभूत स्वास्थ्य सेवामा सरल र सहज पहुँच नागरिकको मौलिक हक भएकाले कोभिड– १९ बाहेकका बिरामीको उपचार गर्नेतर्फ गम्भीर ध्यान दिँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कोभिड–१९ को उपचारका लागि निजी अस्पताल र मेडिकललाई समेत प्रयोग गर्नका लागि राज्यका तर्फबाट आवश्यक साधनस्रोत सहयोग गरी नागरिकको उपचारमा सरल र सहज पहुँच हुने अवस्था सुनिश्चित गर्न पनि समितिले सुझाव दिएको छ । कोभिड– को उपचारका लागि कोरोना डेडिकेटेड अस्पतालको सङ्ख्या तत्काल वृद्धि गर्न तथा कोभिड–१९ बाहेकका बिरामीको उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्वसावधानी र उचित सतर्कताका साथ गर्ने व्यवस्था मिलाउन पनि बैठकले निर्देश गरेको छ ।

कोभिड–१९ सङ्क्रमित सक्रियको सङ्ख्या व्यापकरुपमा बढी रहेकाले १० हजार भेन्टिलेटर र आइसियुको व्यवस्था गर्न पनि समितिले सरकारलाई भनेको छ । साथै कोभिड–१९ का लागि आवश्यक पर्ने उपकरणको वितरण सातै प्रदेशमा बिरामीको चापका आधारमा सन्तुलित र समानुपातिकरुपमा गर्न तथा जनशक्ति आवश्यकताका आधारमा नियुक्त गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।

समितिका सभापति कृष्णभक्त पोखरेलका अध्यक्षतामा बसेको उक्त बैठकले कोभिड–१९ को सङ्क्रमण भयावहरुपमा फैलिएकाले ७७ जिल्ला सदरमुकामबाट पिसिआर परीक्षण गर्ने प्रबन्ध मिलाउन निर्देश गरेको छ । समितिले कन्टयाक ट्रेसिङलाई व्यापक बनाउन प्रभावकारी र व्यवस्थित गरी जोखिम न्यूनीकरणतर्फ जोड दिन पनि सरकारलाई सुझाव दिएको छ । रासस FILE PHOTO

काठमाडौंमा एकैदिन १८२ जना कोरोना संक्रमित थपिए

समाचार


काठमाडौं, ५ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १ सय ८२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले   १३ हजार  ५ सय   ७९ जनाको पिसीआर परिक्षणमा ८  सय  ३८ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा   २५० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १८ हजार  २ सय  १४ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १४२ जना र ललितपुरका २५ जना र भक्तपुरका १५  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३० हजार  ४ सय ८३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु

समाचार


काठमाडौं, ५ भाद्र । नेपालमा आज एकै दिन ११ जना कोरोना भाइरसका संक्रमितको मृत्यु पुष्टि भएको छ । यो कोरोना संक्रमणबाट अहिलेसम्मकै एकै दिन सर्वाधिक मृत्यु पुष्टि भएको रेकर्ड हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतकहरुमा एक महिला र १० पुरुष छन् । मृतकमध्ये दोलखा घर भएकी महिला हुन् भने बाँकी पुरुष हुन् ।

डा. गौतमका अनुसार ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु मोरङ, पर्सा, बारा सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका बासिन्दा हुन् ।

आजको मृत्युसँगै कुल मृतक संख्या एक सय ३७ पुगेको छ । मृत्यु हुनेमध्ये एक सय ६ पुरुष र ३१ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

ब्रत बस्दा कोरोनाको जोखिम- स्वास्थ्य प्रवक्ता डा. गौतम

समाचार


काठमाडौं, ५ भाद्र । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ब्रत बस्दा कोरोना भाइरसको जोखिम बढ्ने बताएका छन् । खानपान नगरी बस्दा कमजोर भइने र कोरोना भाइरसले आक्रमण गर्न सक्ने बताएका हुन् ।

आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले भने, ‘चाडपर्व भनेर रमाइलो गर्न बाहिर ननिस्कनुहोला, ब्रत बस्दा कमजोर भई कोरोना भाइरसको जोखिम बढी हुने हुँदा खतरा हुन्छ ।’ उनले चाडपर्व घरमै बसेर मनाउन समेत आग्रह गरे ।

हरितालिका तीजमा महिलाहरु पुर्जा अर्चना गर्न निस्कने र ब्रत समेत बस्ने भएकाले स्वास्थ्य मन्त्रालयले शतर्कता अपनाउन भनेको हो ।-File Photo

रामेछापमा निषेधाज्ञा जारीः थप प्रहरी परिचालन

समाचार


रामेछाप, ५ भदौ: कोरोना सङ्क्रमण बढ्न नदिन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यही भदौ १३ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताए । निषेधाज्ञामा अत्यावश्यक सेवा, खाद्य पदार्थ, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विद्युत्, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापनबाहेक अन्य सबै प्रकारका उद्योग, व्यापारव्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । औषधि, खाद्य पदार्थ तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक कार्यमा मास्कविना घर बाहिर निस्कन पनि रोक लगाइएको छ ।

फुटपाथ र खुला ठाउँ, ठेलागाडा, साइकल र हाटबजारमा पसल व्यापार सञ्चालन गर्न निषेध गरिएको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, विद्युत्, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, निर्माण सामग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमतिप्राप्त साधनबाहेक सबै सार्वजनिक र निजी सवारी साधन मोटरसाइकलसमेत सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रशासनले शैक्षिक संस्था, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सामूहिक जमघट, सभा, जुलूस, मनोरञ्जनस्थल, सेलुन, पार्लर, हेल्थ क्लब र खेलकूद गर्न निषेध गरेको छ । दैनिक रुपमा घरपरिवारभित्र हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न पनि रोक लगाइएको छ । होटल र रेष्टुरेन्ट सञ्चालन गर्नसमेत प्रतिबन्ध लगाइएको छ । जिल्लाका प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ती, धारापानी, साँघुटारलगायत प्रवेश नाकाबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवतजावत गर्नसमेत रोक लगाइएको छ ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जिल्लाका मुख्य नाका र बजार क्षेत्रमा प्रवेश गर्ने चोकमा थप प्रहरी परिचालन गरिएको बताए । सहकारी, वित्तीय सङ्घसंस्थाले समुदायमा गई बचत सङ्कलन गर्न पाउने छैनन् । स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री गर्ने, खाद्य पदार्थलगायत अत्यावश्यक सेवाका पसल बिहान ५ देखि ९ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सबै सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्न र सोबाहेकका अन्य कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै कार्य गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनुपर्ने प्रशासनले आदेश दिएको छ । बैक, वित्तीय संस्था र सहकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म मात्र सञ्चालन भएका छन् ।-रासस/ File Photo

नेपालमा एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख खर्च

समाचार


काठमाडौं, ५ भाद्र । नेपालमा एकजना कोरोना भाइरसको संक्रमित पत्ता लगाउन कति खर्च भयो होला ? १० हजार, २० हजार या त्यो भन्दा कम ? नेपालमा कोरोना भाइरसको संक्रमित एकजना पत्ता लगाउन एक लाख खर्च हुने गरेको तथ्य खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक संक्रमित फेला पर्न एक लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। मन्त्रालयको नियमित मिडिया ब्रिफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले खर्चको विवरण प्रस्तुत गरेका हुन्।

उनले ल्याव टेष्टको लागि मात्रै सरकारले हालसम्म ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। ‘हालसम्म ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको छ। प्रति परीक्षण सरकारको ५ हजार ५०० रुपैयाँ खर्च हुन्छ। त्यसबापत सरकारले उक्त रकम खर्च गरिएको छ,’ उनले भने, ‘त्यो पीपीइ लगायत अन्य खर्च बाहेक ल्याव टेष्टको मात्रै हो।’

कुल परीक्षणमध्ये ३० हजार ४८३ जनामा मात्रै कोरोना पोजेटिभ देखिएका छन्। त्यस अनुसार सरकारले एउटा पोजेटिभ केश पत्ता लगाउन १ लाख ४ हजार ६३० रुपैयाँ खर्च गरिरहेको उनको भनाई छ।

‘एउटा केश पत्ता लगाउनको लागि सरकारको ठुलो रकम खर्च भएको र त्यसपछि थप उपचारको लागि थप खर्च हुन्छ, एक जना संक्रमितलाई आईसीयुमा ३० दिन राख्नुपर्यो भने ४ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने।

अर्थमन्त्री खतिवडा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष सेफरबीच कुराकानी

समाचार


काठमाडौं, ५ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमहरु तथा विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुबारे आज भिडियो कन्फरेन्स मार्फत छलफल भएको छ ।

अर्थमन्त्रीले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको लागि अनुरोध गरे । नेपालले आगामी दिनमा स्वास्थ उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको र सो को लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको बताएका थिए ।

माननीय अर्थमन्त्रीले कोभिडको कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको भए पनि आर्थिक वृद्धि बाहेकका अन्य समग्र आर्थिक परिसूचकहरु सकारात्मक रहेको उल्लेख गर्नुभयो। उहाँले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १।६ अरब भन्दा बढी नै रहेको, सरकारको संचित खाता ९ट्रेजरी० घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत कारणले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको जानकारी गराएका थिए ।

माननीय अर्थमन्त्रीले बिषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनाहरुमा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम ९आइ।एफ।सी।० को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच समूहबीच लामो समयदेखि रहेको न्यानो सम्बन्धलाई जीवन्त राखिएको बताए

अर्थमन्त्रीले स्वास्थ्य र आर्थिक पुनरुत्थान सगसंगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पुर्‍याएको र नीतिगत सुधारमा समेत विश्व वैंकको अनुभव र ज्ञान लाभदायी भएको जानकारी गराए । उनले विश्व बैंकसंग हालै संझौता भएको रणनैतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सो लगायत अन्य महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्व डलर थप प्रतिवद्धता प्राप्त भएको बताए ।

विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहनुको साथै दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएकोमा धन्यवाद दिए । उनले कोभिड १९ को नकारात्मक प्रभावका बावजुद माननीय मन्त्रीज्यूको नेतृत्वमा नेपालको समग्र अर्थतन्त्र सकारात्मक रहेकोमा उच्च प्रशंशा गरे । विभिन्न अवरोधका बावजुद नेपालले प्राप्त गरेको सफलता अनुकरणीय उदाहरणको रुपमा वोर्डमा प्रस्तुत गरिने योजना रहेको जानकारी गराए ।

बैंकका उपाध्यक्षले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१ सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासको सकृयतामा विभिन्न दाता सदस्य राष्ट्रहरुसँग पहल गरिरहेको र सो अभियानमा माननीय मन्त्रीज्यूको सहयोगको लागि समेत अनुरोध गरे ।

उनले दुवै पक्षवाट तयारी पूरा भएका थप चार आयोजनाहरु वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भैरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि वढाउन विश्व बैक तयार रहेको बताए। नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था पनि राम्रो रहेकोले कोभिड १९ को प्रभाव कम हुने वित्तिकै नेपालको अर्थतन्त्र आफ्नो लयमा फर्कने विश्वास व्यक्त गरे ।

उक्त छलफलमा विश्व बैंकका कन्ट्री डाईरेक्टर फारिश हदाद जेरभोस, अप्रेसन म्यानेजर लाडा स्ट्रोलकोभा लगायत विश्व बैकका अन्य अधिकारीहरु, अर्थ सचिव शिशिर कुमार ढुंगाना र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह सचिव श्रीकृष्ण नेपालको समेत उपस्थिति थियो ।

विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने

समाचार


काठमाडौँ, ५ भदौ: विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् ।

सङ्घले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य सङ्गठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट स्वदेश फर्काइने नागरिकलाई होटलको सेवा उपलब्ध गराउने जनाएको हो ।

स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुना न्यूनतम सात रात होटलमा अनिवार्य वस्नुपर्ने र पीसीआर परीक्षणबाट सङ्क्रमण नभएको प्रमाणित भएपछिमात्र चेकआउट गर्न पाउनेछन् । पाहुनाहरुले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको सङ्घले जनाएको छ ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरु सदस्य होटलले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड— १९ सङ्क्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकरण तालीम समेत गराई सकिएको होटल सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । क्वारेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल सङ्घका सदस्य होटल पर्यटकस्तरीय देखि पाँच तारेसम्म छन् ।

मूल्य अभिवृद्धि कर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको जानकारी दिइएको छ । राष्ट्रिय सङ्कटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरुले उपलब्ध गराउने सेवाहरु नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यस माथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि सङ्घले जनाएको छ ।

होटल सङ्घका सदस्य होटल पर्यटन विभागअन्तर्गत रही सम्बन्धित कर कार्यालयमा दर्ता भई नेपाल सरकारको होटल मापदण्ड अनुसार सञ्चालनमा रही आएको पनि होटल सङ्घ नेपालले जनाएको छ ।-रासस/File photo