मनाङ, ५ भदौ: कोरोना सङक्रमित शून्य रहेको मनाङमा पुनः नयाँ सङ्क्रमित भेटिएका छन् । लामो समयदेखि मनाङमा सक्रिय सङ्क्रमित शून्य थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज जारी गरेको विज्ञप्तिमा मोरङको विराटनगर र चितवनको भरतपुर घर भई मनाङमा कार्यरत दुई जनामा सङ्क्रमण भएको जनाइएको छ ।
विराटनगर घर भएका ५७ वर्षीय भरतपुरका ५१ वर्षीय सङ्क्रमण भएको विज्ञप्तिमा जनाइएको छ । यही भदौ २ गते १८ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा ती दुई जनामा सङ«क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुवराज आचार्यले जानकारी दिए ।सङ्क्रमित हुनेमा भरतपुर नगरपालिका–११ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयका शिक्षक र विराटनगर–११ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।
ती सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा राखिएको छ । संक्रमित सबैको स्वास्थ्यलाभको कामना गर्दै प्रजिअ आचार्यले महामारीको परिस्थितिमा मनाङवासीलाई त्रसित नहुन तर सतर्क भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गरी उच्च मनोबलका साथै सतर्कतापूर्वक कार्य गर्न आग्रह गरेका छन् ।गण्डकी प्रदेशका ११ जिल्लामध्ये दुईमा सक्रिय सङ्क्रमित शून्य थियो । प्रदेशका मनाङ र मुस्ताङमा यसअघि एकएक कोरोना सङ्क्रमित भेटिए पनि निको भएपछि कोरोनामुक्त भएका थिए ।-रासस/File Photo
स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारले अस्पतालका क्षमता वृद्धि गर्नेदेखि अहिले लक्षण भएका व्यक्तिहरूलाई अस्पतालमा राख्ने र लक्षण नभएका व्यक्तिहरूलाई आइसोलेसन सेन्टरमा राख्ने आफूहरुको रणनीति रहेको सुनाए । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ डा. कार्कीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
क्याबिनेटले हिजो धेरै निर्णयहरू गरेको छ । धेरै निर्णयहरूमा के के पर्दछन् ?
अधिकांश निर्णयहरू अहिलेको कोभिड नियन्त्रण सम्बन्धि निर्णयहरू छन् । आधिकारीक रूपमा मन्त्रिपरिषदको निर्णय सरकारको प्रवक्ताले बोल्नु नै हुनेछ । संक्रमण हिजो बाहिरबाट आउनेहरूमा धेरै थियो । त्यही अनुसारको हामीसँग रणनीतिहरू थियो । क्वारेन्टाइनमा राखिएको मान्छेहरूलाई जाँच गर्ने, त्यसपछि मात्रै घर पठाउने, यो खालको नीति थियो । संक्रमण अब स्थानीयस्तरमा यहाँको स्थानीय व्यक्तिहरूलाई पनि संक्रमण बढ्यो ।
कोरोना संक्रमण त समुदायमा गईसक्यो, रोकथामको लागि सरकारले कस्तो रणनीति बनाएको छ ?
अहिलेको रणनीतिमा अलिकति फरक हुन्छ । पहिलो कुरा त अस्पतालको क्षमतालाई हामीले वृद्धि गर्दैछौँ । हिजो वृद्धि नगरेको होइन । हिजो पनि हामीले निरन्तर वृद्धि गरेकै हौँ । अहिले लक्षण भएका व्यक्तिहरूलाई अस्पतालमा राख्ने र लक्षण नभएका व्यक्तिहरूलाई हामीले आइसोलेसन सेन्टरमा राख्ने भन्ने हाम्रो रणनीति छ । यसलाई हामीले अझै बढी मजबुत बनाउने कुरा हो । काठमाडौँ उपत्यकाको हकमा हामीले आइसोलेसन सेन्टरको लागि स्थानीय सरकारको सहयोगमा धेरै ठाउँमा आइसोलेसन सेन्टरको स्थापना गर्ने, बेडहरूको संख्या ४ देखि ५ हजारसम्म आइसोलेसनको लागि व्यवस्था गर्ने कुरा छँदैछ । अहिले भएकामध्येको प्लस गर्ने र २००० भन्दा बढी विरामीहरूको लागि अहिले कोभिडको लक्षण चिह्न भएका विरामीहरू हुनसक्छन्, अहिले काठमाडौँमा, उहाँहरूको लागि तयारी गर्ने भन्ने कुरा छ । अहिले करिब करिब २२०० भन्दा बढी आइ.सी.यु बेडहरू छन् । १००० भन्दा बढी हाम्रो भेन्टिलेटरको संख्या छ ।
उपचार नपाएर विरामीहरूले जुन किसिमको समस्या भोगिरहेका छन्, सरकार के हेरेर बसेको छ ?
अहिले हाम्रो ध्यान भनेको काठमाडौँ र वीरगञ्जमा संख्याहरू बढी भएको हुनाले त्यहाँ अस्पतालहरूको अलिकति बढी चाप भएको छ तर आइ.सी.युको बेड नै नपाएर एकदमै अभाव भएको छैन । प्राइभेट हस्पिटलहरूले अनिवार्य रूपमा कोभिडका विरामीहरू लिनुपर्छ भन्नुको पछाडिको कारण त्यही हो कि अहिले मान्छेहरूले कोभिडको संख्या हुनेबित्तिकै सरकारी अस्पतालमा पठाउने अनि अरू नन् कोभिड भयो भने प्राइभेट अस्पतालमा भर्ना गर्ने र नाफाको व्यापार गर्न मिलेन । त्यसो हुनाले यो महामारीको बेलामा सबैले सहयोग गर्नुपर्छ भन्ने कुरामा कमसे कम २५ प्रतिशत योगदान गर्नका लागि प्राइभेट अस्पतालहरूलाई भनिएको हो । अब जति संक्रमित हुन्छन्, तिनीहरूलाई हामीले खोज्न पाउँछौँ । यसबाट एक खालको आगो बलिरहेको ठाउँमा आगो निभाउने काम हुन्छ । अर्को कुरा अस्पतालहरूमा डिस्चार्ज गर्न सकिन्छ ।
बनेपा, ५ भदौ: कोरोना भाइरसको सङ्क्रमण दैनिकरुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई पूर्णरुपमा रोक लगाएको छ ।
देशव्यापीरुपमा बढ्दै गएको सङ्क्रमण जिल्लामा पनि दैनिकरुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मको लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना सङ्क्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिएको छ । जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।
जिल्लामा कोभिड–१९ को सङ्क्रमणका कारण १०२ जना विभिन्न स्थानमा रहेको आइसोलेशनमा राखेर उपचार भईरहेकोमा ३८ जना उपचारपश्चात घर फर्किएका छन् र ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेशनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए । सङ्क्रमणबाट काभ्रेमा दूई जनाको निधन भईसकेको छ ।-रासस/File photo
डोटी, ५ भदौ: बिहिबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, “विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।”
उक्त प्रशासण केन्द्रका हाइटेन्टसनका पोलहरुमा बेलाबेलामा आउने खराबी तथा तार चुडिने गरेका कारण यहाँका पहाडी जिल्लामा पटकपटक विद्युत् सेवा अवद्ध हुँदै आएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि यहाँका ल्यान्डलाइन टेलीफोन सेवा र एडिएसएल सेवा पनि पूर्णरुपमा अवरुद्ध भएका छन् ।-रासस/File Photo
शिक्षा मन्त्रालयले यही शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाए पनि निजी विद्यालयले भने एसईई नतिजा सार्वजनिक भएलगत्तै पुरानै पाठ्यक्रम (संकाय प्रणाली) अनुसार भर्ना आह्वान गरेका छन् ।
संकायअनुसार भर्ना खोल्नु बदमासी हो । नयाँ पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक छापिइसक्यो । त्यहीअनुसार पठनपाठन हुन्छ । – केशवप्रसाद दाहाल, महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र
काठमाडौँ — भाद्र ४, २०७७।
शिक्षा मन्त्रालय र निजी विद्यालयका कारण कक्षा ११ मा भर्ना हुने विद्यार्थी अन्योलमा परेका छन् । शिक्षा मन्त्रालयले यही शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाएको छ ।
गत आइतबार एसईईको नतिजा सार्वजनिक भएपछि केही निजी विद्यालयले भने पुरानै पाठ्यक्रम (संकाय प्रणाली) अनुसार अनलाइनबाट भर्ना आह्वान गरेका छन् ।
कोरोना संक्रमण बढेपछि सरकारले भदौ १५ गतेसम्म भर्ना रोके पनि अधिकांश निजी विद्यालयले विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, संकायमा भर्ना खुलेको सूचना सार्वजनिक गरेका छन् । नयाँ पाठ्यक्रममा संकाय प्रणाली खारेजी गरिएको छ । विद्यार्थीले कक्षा ९ र १० मा जस्तै कक्षा ११ मा अनिवार्यसहित ऐच्छिक विषय छनोट गरेर पढ्न पाउने व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यकाका ठूला र नाम चलेका निजी विद्यालयले एसईईको नतिजा नआउँदै संकाय प्रणालीमै प्रि–भर्ना र रजिस्ट्रेसन आह्वान गरेका थिए । दुई वर्षअघि पाठ्यक्रमको प्रारूप तयार हुँदादेखि नै नयाँ पाठ्यक्रममा निजी विद्यालयको असन्तुष्टि रहेको छ । कोरोना संक्रमणको कारण देखाएर विद्यालयका सञ्चालक नयाँ पाठ्यक्रम लागू गर्न नसकिने तर्क गर्न थालेका छन् । शिक्षक, विद्यार्थी र अभिभावक भने नयाँ कि पुरानो पाठ्यक्रमका आधारमा पढाइ हुने अब स्पष्ट हुनुपर्ने बताउँछन् ।
केन्द्रले नयाँ पाठ्यक्रम लागू गर्न आवश्यक तयारी पूरा भइसकेको जनाएको छ । ‘सरकारले नयाँ पाठ्यक्रम भनेको छ, स्कुलहरूले पुरानै तरिकाले भर्ना खोलेका छन्,’ कक्षा ११ मा भर्ना हुने तयारीमा रहेका विद्यार्थी सन्देश थापाले भने, ‘कोरोनाले कक्षा हुने/नहुने पनि थाहा छैन, नयाँ कि पुरानो पाठ्यक्रमले झनै अलमल गरायो ।’
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा लैजान पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले निर्णय गरिसकेको छ । कक्षा ११ मा भर्ना हुने आधारहरू समेत तय भइसकेको छ । केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार अनिवार्य विषयका पाठ्यपुस्तक छपाइको कामसमेत सकिएको छ । नयाँ पाठ्यक्रममा कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक तथा जीवनोपयोगी शिक्षा अनिवार्य विषयका रूपमा पठनपाठन हुनेछ । ऐच्छिक विषयका लागि चारवटा विषयगत समूह बनाइएको छ । ती समूहबाट विद्यार्थीले ३ विषय छानेर पढ्न पाउने व्यवस्था छ । ‘अग्रेजी र नेपाली विषयको पाठ्यपुस्तक जनक शिक्षामा छापिँदै छ, केही दिनमा बजारमा आउँछ,’ उनले थपे, ‘ऐच्छिक विषयका पाठ्यपुस्तक निजी क्षेत्रबाट तयार भएको छ, मूल्यांकन र स्वीकृत गरेर छाप्न भन्छौं ।’ सामाजिक र जीवनोपयोगी शिक्षा विषयको पनि पाठ्यक्रम बनाएर पुस्तक छपाइको प्रक्रिया सुरु गरिएको उनले जनाए ।
संकाय प्रणाली अन्त्य भइसकेकाले त्यसअनुसार भर्ना आह्वान गर्नु बदमासी भएको महानिर्देशक दाहालले बताए । ‘हिजो संकायअनुसार पढाइ हुन्थ्यो, यसपालिदेखि हुँदैन, खारेज भइसक्यो, संकाय नै छैन, त्यसअनुसार भर्ना खोल्छन् भने अभिभावक र विद्यार्थी पनि सचेत हुनुपर्छ ।’ नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउन विद्यालयहरूलाई परिपत्रसमेत गरिएको केन्द्रले जनाएको छ । ‘कक्षा ११ र १२ विद्यालय शिक्षा हो, ९–१० कक्षामा जसरी अनिवार्य र ऐच्छिक विषयअनुसार पढाइ हुन्छ, ११–१२ मा पनि त्यसैगरी पढाइ हुन्छ,’ उनले भने । नयाँ व्यवस्थाअनुसार कक्षा ११–१२ मा संकाय र कलेज भन्न पाइँदैन । तर निजी विद्यालयले संकाय र कलेज भन्न छाडेका छैनन् ।
देशभर कक्षा ११ र १२ पढाइ हुने १० हजार ३ सय ७३ सामुदायिक र ४ हजार ६ सय ५८ निजी विद्यालय छन् । ती सबैमा यसपटकबाट ३ अनिवार्य र ३ ऐच्छिकसहित ६ विषयको पठनपाठन हुने मन्त्रालयले जनाएको छ । उच्चशिक्षामा कुन संकाय पढ्ने त्यसअनुसार कक्षा ११ र १२ मा विषय रोज्न पाउने व्यवस्था गरिएको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए । ‘उच्चशिक्षामा विज्ञान संकाय पढ्नेले गणित, फिजिक्स, केमेस्ट्री, बायोलोजीलगायत विज्ञानसँग सम्बन्धित विषय रोज्न सक्छन् । व्यवस्थापनतर्फ जाने विद्यार्थीले अर्थशास्त्र, फाइनान्स, मार्केटिङ, बिजनेस स्टडी, एकाउन्टलगायत विषय ऐच्छिक रोज्न पाउँछन्,’ उनले भने । भाषाका विषयमा उच्चशिक्षा अध्ययन गर्न पाउनेले अंग्रेजी, नेपाली, पत्रकारितालगायतका विषय छान्न
पाउने व्यवस्था गरिएको छ । करिब एक सय ऐच्छिक विषय राखिएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले भने यसपटक नयाँ पाठ्यक्रम लागू गर्न नसकिने जनाएको छ । सरकारलाई समेत यस विषयमा जानकारी गराइएको हिसान महासचिव लोकबहादुर भण्डारीले बताए । ‘नयाँ पाठ्यक्रम लागू हुने कुरा हामीलाई औपचारिक रूपमा जानकारी छैन, त्यसैले पुरानै तरिकाले भर्ना खोलिएको हो ।’ कोभिड संक्रमणका कारण पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन गराउन पनि चुनौतीपूर्ण रहेको उनले औंल्याए । ‘सरकारले शैक्षिक सत्र गुम्न नदिनेतिर ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘तयारीबिनै नयाँ पाठ्यक्रम कार्यान्वयनमा जान सकिँदैन ।’ नयाँ पाठ्यक्रममा जाँदा शिक्षक तालिम अनिवार्य हुनुपर्ने विद्यालय सञ्चालकको तर्क छ । अधिकांश कक्षा ११–१२ पढाइ हुने निजी विद्यालय संकायका संरचनामा खुलेका छन् ।
नयाँ व्यवस्थामा जाँदा विद्यार्थी घट्ने त्रासमा उनीहरू रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । नयाँ पाठ्यक्रमअनुसार ६ विषय पठनपाठन गराउँदा शिक्षकको भारसमेत थपिने निश्चित छ । अघिल्लो वर्षदेखि नै उनीहरूले नयाँ पाठ्यक्रम लागू नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि उच्च राजनीतिक तहमा समेत लबिइङ गर्दै आएको स्रोतको दाबी छ । प्रधानमन्त्रीनिकट हिसान अध्यक्ष रमेश सिलवालले निजी विद्यालय सञ्चालकहरूको एक भेलामा नयाँ पाठ्यक्रम लागू हुन नदिन आफूले लबिइङ गरिरहेको बताएको एक सञ्चालकले बताए । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहने परिषद्ले भने गत माघ २ मै कक्षा १ र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाउने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयका एक उच्च अधिकारी भने निजी विद्यालय सञ्चालकहरू नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न हतारमा संकायअनुसारको भर्नामा जुटेको बताउँछन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले तोकेभन्दा अन्य पाठ्यक्रमबाट अध्ययन अध्यापन गराउन कसैलाई पनि छुट नदिइने बताए । ‘संकाय प्रणालीबाट भर्ना खोल्छन्, पढाउँछन् भने पनि राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रमकै आधारमा परीक्षा लिन्छ,’ उनले भने । पाठ्यक्रमविपरीत भर्ना खोल्ने निजी विद्यालयलाई स्थानीय तहले पनि निगरानी र अनुगमन गरेर कारबाही गर्नुपर्ने उनको भनाइ छ । ‘हामी पनि हेर्दैछौं, स्थानीय तहले पनि कारबाही गर्नुपर्छ,’ उनले भने ।
(कान्तिपुर दैनिक)
काठमाडौं — भाद्र ३, २०७७।
एसईईको आन्तरिक मूल्यांकनमा सामुदायिकभन्दा निजी विद्यालयले विद्यार्थीलाई मनोमानी नम्बर थपेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको छ ।
निजी विद्यालयले विद्यार्थीको अंक थपेर पठाएको भेटिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूले बताएका छन् ।
इकाइ प्रमुखहरूलाई विद्यालयले पठाएको अंक बोर्डमा सिफारिस गर्ने जिम्मा दिइएको थियो ।
सबैभन्दा धेरै परीक्षार्थी र निजी विद्यालय रहेको काठमाडौं जिल्लामा गत वर्ष ५२ जनाले मात्र ४ जीपीए प्राप्त गरेका थिए । यस वर्ष १ हजार ५ सय ५४ जनाले ४ जीपीए ल्याएका छन् ।
परीक्षार्थी संख्या भने गत वर्षभन्दा यसपालि १ हजार २ सय ८९ जना कम थियो । यस पटक ३५ हजार ५ सय ६५ जना एसईईमा सहभागी भएका थिए । संख्या घटे पनि विद्यार्थीले प्राप्त गर्ने जीपीए बढेको इकाइले जनाएको छ ।
काठमाडौंमा एसईईमा सम्मिलित १ हजार ७ विद्यालयमध्ये ८ सय ४५ निजी छन् । अस्वाभाविक ढंगले अंक थपेर ल्याउने विद्यालयलाई सचेत गराउँदागराउँदै पनि जीपीए बढेर आएको इकाइ प्रमुख नन्दलाल पौडेलले जानकारी दिए ।
गत वर्ष ४० विद्यालयले मात्र ४ जीपीए ल्याएकामा यस पटक ४ सय ८१ विद्यालयले उक्त जीपीए पाएका छन् । अस्वाभाविक तरिकाले ४ जीपीए ल्याउनेमा अधिकांश निजी विद्यालय देखिन्छन् ।
(कान्तिपुर दैनिक)
काठमाडौं — भाद्र ३, २०७७।
बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सात दिन निषेधाज्ञा जारी हुने भएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनओटै सुरक्षा निकायका प्रमुखहरुको मंगलबार साँझ बसेको बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बैैठकले अत्यावश्यक सेवाका बाहेक कुनैपनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न पाउने निर्णय भएको हो ।
उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनै जिल्लाका प्रशासनले निषेधाज्ञाको कदम चालेका हुन् ।
यो धरतीमा नेपालीभाषी र कविताको महिमा रहुन्जेल उनका मन्त्ररुपी कविताहरु पाठकको पठन आकाशमा टिमटिमाइ रहनेछन् र तिनले कहिले रूवाउने छन्, कहिले आनन्दको वर्षा गराउनेछन्, जिन्दगीको अर्थ पत्ता लगाउने नयाँ सोचको किरण छरिरहनेछन् ।
काठमाडौं — भाद्र ३, २०७७।
कविवर माधव घिमिरेले लेखेका थिए–
फूलको थुँगा बहेर गयो गंगाको पानीमा,
कहिले भेट होला है राजै यो जिन्दगानीमा ।
पहाडमा फुलेका ‘वनफूल’ हुन्– माधव घिमिरे, जो आफ्नै कविताका पंक्तिझैं बहेर गएका छन्, उनैको कविताजस्तै– अब यो जिन्दगानीमा उनीसँगको भौतिक भेट सम्भव छैन । भर्खरै बगिगएका यी ‘फूलका थुँगा’ आफ्नै कविता र कविताका दर्शनबाट नेपाली कविताका कहिल्यै नओइलाउने फूल बनेका छन् ।
प्रकृतिप्रेमी लेखक एवं वैज्ञानिक तीर्थबहादुर श्रेष्ठले २०३६ सालदेखि २०४६ सालसम्म घिमिरेसँगै काम गरे, प्रज्ञा प्रतिष्ठानमा । भूपी शेरचन, विजयबहादुर मल्ल, लैनसिंह वाङ्देल, अमर चित्रकार, माधव घिमिरे, तीर्थबहादुर श्रेष्ठ, नयराज पन्त, बालकृष्ण पोखरेलको टिम थियो । ‘आजसम्म त्यो टिममा जिउँदा हामी दुई थियौं । अब उहाँ गएपछि म एक्लो भएको छु । मलाई एकदमै करेन्ट लागेजस्तो भएको छ,’ श्रेष्ठले भने । उनको बुझाइमा आफू बाँचेको परिवेशभन्दा बाहिरको नसा समातेर कविता लेख्ने कवि थिए घिमिरे । उनको विचारमा आफ्नो जिन्दगीको अर्बिट (ग्रहपथ) भन्दा बाहिर जाने द्वार हो कविता । अरूको जीवन देख्न कवि पनि अरूको अर्बिटमा प्रवेश गर्नु जरुरी हुन्छ । र, अरूको अर्बिटमा प्रवेश गर्न सक्ने कवि हुन् घिमिरे ।
घिमिरेका कविताले आफ्नै स्तम्भ बनाएका छन्– अरूका कवितालाई होच्याउन होइन, सँगसँगै हातेमालो गरेर नेपाली कविताको गरिमा कायम राख्न । उनले जानेर गरेका थिए भन्नु अतिशयोक्ति होला तर उनको काव्यपथले त्यही मार्ग लियो जसलाई नेपाली वाङ्मयले सधैं गर्वका साथ लिनुपर्ने हुन्छ । र, भन्न सकिन्छ– नेपाली कवितालाई अग्ल्याउन उनले गरेको कर्म र उनको कविताको स्कुलको संस्थापक उनै हुन् । काव्यको मर्म बुझ्नेहरू भन्छन्– उनका कविता उनकै गाउँ लमजुङको पहाडी मूलबाट रसाएका झरनाका कञ्चन पानी हुन् । बहुचर्चित ‘गौरी’ र माधव घिमिरे– दुई पदार्थलाई नेपाली कविताका पारखीले मस्तिष्कमा यसरी हुलेका छन् कि पारखीको मस्तिष्कबाट कवि र कविता कसैगरी बाहिर निस्कँदैनन् ।
‘ऋतम्भरा’ महाकाव्यमा साधनारत घिमिरे पछिल्ला केही वर्षमा अपवादबाहेकका साहित्य महोत्सव वा सार्वजनिक कार्यक्रममा देखिएनन् । उनलाई भेट्ने रुचि भएकाहरू उनको घरै पुग्थे । घरैमा गएर सम्मान दिन्थे, लिन्थे । उनको घरमा दिनहुँजसो सेल्फी खिच्ने, अन्तर्वार्ता गर्ने र फोटो सेसन गर्नेहरूको ताँती लाग्थ्यो । कहिल्यै झर्को नमानी उनी काँपेको स्वरमा काँपेकै हात हल्लाउँदै बोलिरहन्थे ।
घिमिरेको काव्य–संसार धेरै नेपालीको हृदयमा छ । घिमिरे नेपाली कविताका ‘टावरिङ पर्सन’ मध्ये एक बनिसकेका छन् । कविता–लेखनमा अब घिमिरेझैं ‘पर्सनालिटी’ बनाउने सपना कसैको हुन सक्छ । तर, त्यसको जिम्मा समयले लिन्छ । हुन पनि उचो स्थानमा पुग्न चाहनेहरू पुग्लान् तर काव्यमर्मरहित भएर ओर्लिनुपर्ने सम्भावना पनि प्रबल रहन्छ ।
कवि वैरागी काइँलाले आमजनताले आफ्नो कविका रूपमा घिमिरेलाई स्वीकार गरिसकेको बताए । ‘उहाँलाई सरकारले राष्ट्रकवि बनायो तर सबै साहित्यकार, साहित्यप्रेमी र नेपालीका प्रिय कवि हुनुभयो,’ उनले भने, ‘आफ्नो जीवनकालमै मान–सम्मान र श्रद्धा पाउने उहाँ नै हुनुहुन्थ्यो । सरलताभित्र गहनता भएको साहित्य लेखेर समृद्ध बनाउने कवि पनि उहाँ नै हो ।’ काइँलाका अनुसार समकालीन स्रष्टाका भन्दा कम लेखेका भए पनि नेपाली जनजीवन, नेपालीपनले भरिएका उनका काव्यरचना वा गीतिनाटक, फुटकर कविताका साथै प्रेमका कारुणिक कविता तथा युद्ध र युद्धजनित–विध्वंशले ध्वस्त हुन लागेको मानवतामाथि दार्शनिक ऋषिकोझैं गहिरो चिन्तन र मननले लेखिएका काव्यरचनाले उनलाई स्थान उच्च स्थान दिएको छ ।
पटक–पटक बिरामी हुँदा पनि, हात थरथर काँपिरहे पनि घिमिरेको कलम कामेको थिएन । काठमाडौं लैनचौरस्थित निवासमा परिवारसँगै बसेर उनी निरन्तर साहित्य साधनामा थिए । उनले आफ्ना कवितामा अनेक ऐतिहासिक मानिसमाथि लेखेका छन् । समीक्षकहरू त्यसलाई उनको आविष्कारझैं ठान्छन् । ‘राष्ट्रनिर्माता’ मा पृथ्वीनारायण शाह, ‘राजेश्वरी’ मा नेवार सभ्यताकी राजेश्वरी, ‘मालती मंगले’ मा कमारी मालती र कमारो मंगलेलाई स्केच गरेका छन् उनले । मालती र मंगलेको अनुहारमा हामी कुनै बेलाको समयको प्रतिबिम्ब देख्न सक्छौं र अहिले पनि त्यसको बाछिटा महसुस गर्न सक्छौं ।
प्रकृति र जीवनमाथि उनले गरेको काव्य–सिर्जनाले भन्छ– शब्द र सौन्दर्यलाई सुन्दर बनाउनु उनको एक मात्र अभिष्ट हो । उनका काव्यिक बिम्बमा सौन्दर्यको ताजा सास भेटिन्छ ।
कवि घिमिरेले लेखे, ‘राष्ट्रको निर्माण एक अनन्त प्रक्रिया हो । आज यो भू–प्रदेशको विस्तारमा होइन, राष्ट्रिय आत्माको परिष्कारमा हुन्छ । राष्ट्रजन जीवित हुन्जेलसम्म यो प्रक्रिया कहिल्यै सकिँदैन ।’ सही हो, घिमिरेले आफ्ना कवितामा राष्ट्रनिर्माणका पक्षमा निकै लेखे तर मानवीय संवेदनासहित ‘गौरी’ शोककाव्यमा वियोग र विरह पनि लेखे ।
‘गौरी’ मा उनले लेखेका छन्, ‘व्यक्तिगत शोक, यसले अरूलाई पनि काम दिन्छ, म भन्न सक्दिनँ । आफ्ना आँसुलाई लिएर बजारमा म के मोल गरूँ ? तैपनि मानिसहरू भन्छन्– आँसुले हृदय धुन्छ रे । मैले पनि अरूको निम्ति यसै सम्झेको छु ।’
***
घिमिरेका रचना, कौशल, विराट् स्टाइलले पाठकलाई जकडिइहाल्छन् र कविताका पारखी उनका फ्यान बन्छन् । उनीप्रति जुन श्रद्धा पाठकको हुन्छ, त्यो कुनै अव्यावहारिक बोली होइन । त्यो त कैयौं पाठकको स्वच्छ मस्तिष्कबाट बाहिर निस्केको पूजा हो ।
समालोचक नेत्र एटम भन्छन्, ‘माधव घिमिरेका कविता घोक्नु पर्दैन, तिनका हरफ आफैं हृदयबाट कण्ठमा आउन हतारिन्छन् । असल कविता मञ्चमा कसैलाई धारेहात लगाउँदै पढ्नु पनि पर्दैन, आफैं तिनले पाठकका गुनगुनमा स्थान पाउँछन् ।’ कवितालाई लिएर कविवर घिमिरे अति स्पष्ट थिए । असल साहित्य के हो वा खराब साहित्य के हो भन्नेमा घिमिरेमा अस्पष्टता र अलमल थिएन । उनी बाँचेको समय भयानक अशान्त । अनेकबीच उनले लेखिरहे र हृदयस्पर्शी लेखे । घिमिरेलाई सम्झँदा आफ्ना सम्झनाहरू पनि आनन्दित हुन्छन् भन्छन्– कवि विप्लव प्रतीक । उनले भने, ‘माधव घिमिरे यस मुलुकका मात्रै होइनन्, यस ब्रह्माण्डकै कवि हुन् । भन्न मन लाग्छ उनलाई– ब्रह्माण्ड कवि । तर, जब जब कविवर भन्छु उनलाई सम्झिँदा लाग्छ, उनी करिब छन् मेरै वरिपरि । आज लागिरहेछ मैले समाउन सक्ने छन्दको एउटा मियो हरायो ।’
***
कवि मनु मञ्जिललाई कविवर घिमिरेको जीवनको उमंग उनको अनुहारमै देख्न सकिन्छ भन्ने लाग्छ । ‘हृदयको त्यो उमंग उनले लेखेका गीतमा, कवितामा छरिएर नै तिनले जगत्लाई कविको वरिपरि घुमाउने क्षमता राख्छन् । उनले कविता लेखेकै ८५ वर्ष नाघ्यो,’ मनुले भने, ‘यति समयमा त यौटा सानु यात्री कमिलाले पनि सयवटा पहाड नाघिसक्छ । यौटा उत्कृष्ट कविको साढे आठ दशकको काव्यिक यात्रामा भावनाका कति दुर्गम उचाइहरूमा उनी पुगे होलान्, हामी अवाक् भएर अन्दाज मात्र गर्न सक्छौं ।’
आफ्ना ‘प्रिय’ कविहरूबारे बोल्दा राष्ट्रकविले मसँगको अन्तर्वार्तामा भनेका थिए, ‘लेखनाथको कविता पढेर कविता लेख्न सिकेको हुँ ।’ उनले आफ्नो निबन्धसंग्रहमा लेखेका छन्, ‘जो बोल्दाबोल्दै वार्ता भैसकेको छ, जो सोच्तासोच्तै दर्शन भैसकेको छ, त्यो कविता हैन । ...एकै भाषा सबैको भाषा हुन्छ, त्यही काव्यमा बोलिन्छ, एकै मर्म सबैको मर्म हुन्छ, त्यही काव्यमा खोलिन्छ । कवि आफ्ना मुरलीमा यही भाषा सोच्छ, आफ्नो मधुमती भूमिकामा यही मर्मको मधुकोश रच्छ ।’
समीक्षक/समालोचकले उनलाई देवकोटा र पौड्यालकै स्तरको कवि मानेका छन् । ‘फुटकर समीक्षा’ मा ईश्वर बरालले लेखेका छन्, ‘लेखनाथ पौड्याल जुन ठाउँमा पुगेर अडिए, त्यहीं ठाउँमा घिमिरे अघि बढे । पौड्यालको शैली, भाव तथा व्याख्याले रूपायित भएर तथा प्रकृतिका कवि देवकोटाको सारा प्रभावले भिजेर पनि घिमिरे फरक भए ।’
***
‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली...’ गीत प्राथमिक कक्षाको पाठ्यपुस्तकमै थियो । यही गीतले नै हो त्यसबेलादेखिका अधिकांश नेपालीलाई बालककालबाटै घिमिरेको कवितासँग परिचित हुन पाउने अवसर जुरेको । आख्यानकार नारायण ढकालले पनि ‘गाउँछ गीत नेपाली’ मार्फत प्राथमिक कक्षाको पाठ्यपुस्तकबाटै उनलाई पढेका हुन् । ‘हामीलाई हाम्रा नेपाली विषयका गुरुले त्यो कविता कण्ठ पार्न लगाएका थिए’, ढकालले सम्झिए ।
कवि सीमा आभासको विचारमा कविको आवाज पाठकको ढुकढुकीमा कविताको लय बनेर सुनियो भने ऊ खास कवि हो । ‘एउटा कविका कवितामा उसको देश देखिनुपर्छ । सौन्दर्ययुक्त आभाले सिँगारिएको देशको नक्सा बोकेर उनका कविता ओर्लन्छन् । माधव घिमिरे महसुर कवि हुन्, जसलाई नेपाली काव्यिक आकाशमा चन्द्रसूर्य अंकित झन्डा समाएर श्रद्धाले गाउन सकिन्छ,’ सीमाले भनिन्, ‘जब एउटा नेपाली राष्ट्रिय झन्डा बोकेर उभिन्छ, उसको ढुकढुकीमा आफसेआफ उनको गीत गुन्जिन थाल्छ ।’
***
नेपाली कवितालाई एउटा मोड दिएका थिए घिमिरेले । ‘तुलनात्मक रूपमा कृतिको स्थान कहा हुन्छ भन्ने त समालोचकहरूले निर्धारण गर्ने हुन् । तथापि पाठकले लगाएको मूल्यले पनि ठूलै ठाउँ पाउँछ,’ काइँलाले भने, ‘मैले त घिमिरेको गौरी र अश्वत्थामालाई औधि मन पराएको छु ।’ काइँलाको विचारमा मन पर्नु पनि राम्रो वा माथिल्लो उच्चस्तरको ठानिएको हो । भने, ‘चीजबीज किन्दा राम्रो लागेर महँगो मूल्य हालेजस्तो ठान्ने हो भने ती सिर्जना वा कृतिहरू मेरा लागि धेरै राम्रा अथवा महत्त्वका हुन् ।’ शाही शासनमा ‘राष्ट्रकवि’ पदवी पाएपछि उनीमाथि आलोचना पनि बर्सिए । तर आलोचनाकै केन्द्रमा उनका कविता र व्यक्तित्वमाथि उठेको हो । काइँलाले थपे, ‘लोकप्रिय तथा गहन काव्य–रचनाकारका रूपमा नेपाली साहित्यको श्रीवृद्धिमा लागिरहनु घिमिरेको योगदान हो । निकृष्ट तवरले गरिने आलोचनाको अर्थ छैन ।’
छन्दमा उत्कृष्ट कविता लेख्ने घिमिरे छन्द र लयको दृष्टिकोणबाट नेपाली इतिहासकै अन्तिम विराट् कवि हुन् । तर यो धरतीमा नेपालीभाषी रहुन्जेल र कविताको महिमा रहुन्जेल उनका मन्त्ररूपी कविताहरू पाठकको पठन–आकाशमा टिमटिमाइरहनेछन् र तिनले कहिले रुवाउनेछन्, कहिले आनन्दको वर्षा गराउनेछन्, जिन्दगीको अर्थ पत्ता लगाउने नयाँ सोचको किरण छरिरहनेछन् ।
उनी गए तर उनी रहिरहनेछन्, उनका कविता त्यसको साक्षीस्वरूप रहिरहनेछन् ।
(कान्तिपुर दैनिक)
९ हजारभन्दा बढीको जीपीए ४
कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर सार्वजनिक गरिएन
पुनर्योग गराउन, उत्तर पुस्तिका हेर्न, पुन: परीक्षण गराउन नपाइने, पूरक ग्रेड वृद्धिको परीक्षा पनि नहुने
काठमाडौं — भाद्र २, २०७७।
कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ ।
ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४ जीपीए नै प्राप्त गर्ने विद्यार्थीको संख्या २ मात्रै थियो । ०७३ मा यो संख्या बढेर ४ भयो । ०७३ सम्मको एसईईमा अनिवार्य विषयमध्ये अंग्रेजी र विज्ञानमा मात्रै प्रयोगात्मक थियो । ०७४ देखि गणितबाहेक सबै विषयमा कम्तीमा २५ अंक प्रयोगात्मक थपियो । सबै विषयमा शिक्षकले नै प्रयोगात्मक नम्बर दिने व्यवस्था भएपछि ०७४ मा ४ जीपीए ल्याउनेको संख्या ७४ पुगेको थियो । ०७५ मा १ सय ६ जनाले ४ जीपीए ल्याए । स्रोतबाट प्राप्त ०७६ को नतिजा विश्लेषण गर्दा ९ हजार ३ सय १९ जनाले ४ जीपीए ल्याएका छन् । यो संख्या यस वर्ष नियमिततर्फका ४ लाख ७२ हजार ७८ जनाको १ दशमलव ९७ हो । यसपालि काठमाडौं जिल्लामा मात्रै १ हजार ५ सय ५२ जनाले ४ जीपीए ल्याएका छन् । बोर्डले भने यस वर्ष तथ्यांक नै लुकाएको छ ।
विद्यालयले आफूखुसी अंक दिएकैले यस वर्ष ४ जीपीए ल्याउनेको संख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइका एक प्रमुखले बताए । ‘यस वर्ष सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई प्रायः ४ जीपीए दिएको पाइयो,’ बोर्डका एक सदस्यले भने ।
नतिजाले शिक्षक र विद्यालयमाथि नै नैतिक प्रश्न उठेको शिक्षाविद् विद्यानाथ कोइरालाले बताए । ‘विद्यार्थीको शैक्षिक स्तर बढेको यसले पुष्टि गर्दैन, शिक्षकहरूले आफ्नो हात जगन्नाथ गरे, उनीहरूको इमानमा प्रश्न गर्ने बेला आयो,’ उनले भने । लोकसेवा आयोगको प्रतिस्पर्धादेखि अन्य निकायको परीक्षामा पनि एसईईको प्रमाणपत्रले मान्यता पाउँदै आएको छ । ‘१० कक्षाको परीक्षालाई ५ कक्षाको जस्तै मान्दा त यसले खासै असर नगर्ला तर अहिलेसम्म यसको एउटा मान्यता छ,’ कोइरालाले भने, ‘१० कक्षामा शिक्षकले दिएको नम्बरले ११ र १२ कक्षामा काम गर्छ कि गर्दैन, यो गम्भीर प्रश्न हो ।’
बोर्डले अभिभावक, विद्यार्थी र विषयगत शिक्षकको दबाबमा विद्यार्थीको सिकाइ स्तरभन्दा पनि बढी नम्बर राखेर पठाउन सक्ने भएकाले नम्बर दिने सूत्र नै बनाएर कार्यविधि बनाइएको थियो । ‘सकेसम्म पारदर्शी होस् भनेर नम्बर दिने सूत्रसहित कार्यविधि तयार पारेका थियौं,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘कुन विद्यालयको नतिजा विगतमा कस्तो थियो, यसपालि कस्तो छ भन्ने पनि निगरानी गर्छौं, अलि पछि विश्लेषण गरौंला ।’
उदाहरणका लागि विद्यालयले कुनै विषयमा ३० पूर्णाङ्कमा परीक्षा लिँदा कुनै एक विद्यार्थीले २६ अंक प्राप्त गरेको थियो भने उसले अन्तिम मूल्यांकनको प्राप्त नम्बर कायम गर्ने सूत्र बोर्डले दिएको थियो । विद्यार्थीले प्राप्त गरेको अन्तिम प्राप्तांकलाई परीक्षाको पूर्णाङ्कले भाग गरेर विषयको कुल पूर्णाङ्कले गुणन गरेर विद्यार्थीको अन्तिम प्राप्तांक निकाल्नुपर्ने सूत्र थियो । जस्तै, कुनै विद्यार्थीले ३० पूर्णाङ्कमा २६ प्राप्त गरेको छ भने विषयको पूर्णाङ्क एक सयले गुना गरेपछि विद्यार्थीको अन्तिम प्राप्तांक ८६.६६ निस्कन्छ । राउन्ड फिगरमा विद्यार्थीले ८७ नम्बर पाउनेछन् । ‘यस्तो सूत्र दिँदा पनि विद्यालय र शिक्षकले रातारात अंक बढाएर पठाउँछन् भने हाम्रो के लाग्छ र ! इकाइबाट सिफारिस भएर आयो, हामीले प्रमाणित गरिदियौं,’ बोर्डका एक सदस्यले कान्तिपुरसँग भने, ‘सबैभन्दा ठूलो कुरा विश्वास र जिम्मेवारी हो ।’
बोर्डले विद्यालयले दिएको अंकलाई प्रमाणीकरण गर्दै एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो । यस वर्ष एसईई दिन ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले आवेदन फाराम भरेका थिए । तीमध्ये ४ लाख ७२ हजार ७८ जनाको नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । २०७४ मा ४ लाख ५२ हजार ५ सय ६२ र २०७५ मा ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थीको नतिजा सार्वजनिक गरिएको थियो ।
यसपटक १० हजार ४ सय १९ विद्यालयबाट परीक्षार्थी सहभागी थिए । करिब १० हजार परीक्षार्थीको आवेदन विभिन्न कारणले रद्द भएको बोर्डले जनाएको छ । ‘बोर्डले विद्यालयको परीक्षा समितिले पठाएको विद्यार्थीको प्राप्तांकलाई ग्रेडमा रूपान्तरण गरेर प्रमाणित गरेको छ,’ उनले भने, ‘विद्यार्थीले गत वर्षजस्तै गरी आफ्नो परीक्षाफल थाहा पाउन सक्छन् ।’ यसपालि गत वर्ष जस्तो विद्यार्थीको नतिजा विश्लेषण नगरिएको बोर्डले जनाएको छ । ‘बोर्डले परीक्षा चलाएको भए पो राष्ट्रियस्तरमा यस्तो नतिजा आयो भनेर विश्लेषण गर्नु ! सरकारको निर्णयअनुसार विद्यालयले पठाएको अंक प्रमाणित गर्ने काम मात्र गरेका हौं,’ खकुरेलले भने । विगतमा कुल परीक्षार्थीमध्ये कति विद्यार्थीले कति जीपीए प्राप्त गरे भनेर सार्वजनिक गरिन्थ्यो ।
विद्यार्थीले आफ्नो नतिजा विगतमा जस्तै विभिन्न वेबसाइट र एसएमएसबाट थाहा पाउने व्यवस्था मिलाइएको छ । सिम्बोल नम्बर र जन्ममिति राखेर ग्रेड र जीपीएसमेत प्राप्त गर्न सकिने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । बोर्डद्वारा प्रमाणित ग्रेडसिट (प्रमाणपत्र) केही दिनमा सम्बन्धित विद्यालयमा पठाउने जानकारी सदस्यसचिव अर्यालले दिए । ‘प्रश्नपत्रको स्तर, परीक्षणको स्तर र परीक्षा सञ्चालनको समय पनि फरक–फरक भएकाले एकै ठाउँमा राखेर विद्यार्थीको तुलना गर्न सकिएन,’ उनले भने ।
पुनर्योग र ग्रेड वृद्धि परीक्षा नहुने
बोर्डले आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन भएकाले यस वर्ष पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पूरक ग्रेड वृद्धिको परीक्षा सञ्चालन नहुने जनाएको छ । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भए सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । इकाइले विद्यार्थीको निवेदन संकलन गरी बोर्डमा पठाउनुपर्नेछ । नाम, थर, जन्ममितिमा त्रुटि हुँदा पनि विद्यार्थीले आवेदन दिन सक्नेछन् । बोर्डले आन्तरिक मूल्यांकनकै आधारमा १० दिनअघि नै नतिजा तयार पारेको थियो । कोरोना संक्रमण फैलँदै गएको र नतिजा प्रकाशनका कारण विद्यार्थीको गतिविधि बढ्ने भन्दै रोकिएको हो ।
कक्षा ११ मा नयाँ पाठ्यक्रम
कक्षा ११ मा भर्ना कहिले खुल्ने अनिश्चित छ । पाठ्यक्रम विकास केन्द्रले भने कक्षा ११ मा यसपटकबाट नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुने जनाएको छ । कक्षा १ मा यस वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू भएको छ । कक्षा ११ मा पनि संकाय प्रणाली अन्त्य गर्दै ६ विषयको पठनपाठन हुने पाठ्यक्रमको प्रारूप तयार भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन गराउन स्वीकृति दिइसकेको छ । ३ अनिवार्य र ३ ऐच्छिक विषयको व्यवस्था गरिएको छ ।
निजी विद्यालय सञ्चालकहरूले भने कोरोना संक्रमणको अप्ठ्यारो अवस्था रहेको भन्दै पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन गराउनुपर्नेमा जोड दिँदै आएका छन् । केन्द्रका महानिर्देशक केशव दाहालले यसै शैक्षिक सत्रदेखि लागू हुने गरी अनिवार्य र ऐच्छिक विषयहरूको पाठ्यक्रम निर्माण र स्वीकृत गर्ने काम भइरहेको जनाए । कतिपय विषयको पाठ्यपुस्तक छपाइसमेत भइरहेको छ । भदौ अन्तिमसम्म सबै विषयका पाठ्यपुस्तक तयार भइसक्ने केन्द्रले जनाएको छ ।
नम्बर दिने आधार के थियो ?
कोरोना संक्रमण बढ्दै जाँदा गत चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको एसईई ५ गते स्थगन गरिएको थियो । त्यति बेला संक्रमण साम्य भएपछि परीक्षा गर्ने भनिएको थियो । कोरोना संक्रमण झन्झन् बढ्दै गएपछि जेठ २८ गते मन्त्रिपरिषद् बैठकले बोर्डले सञ्चालन गर्ने एसईई रद्द गर्ने निर्णय गरेको थियो । आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । उक्त निर्णयका आधारमा बोर्डले विद्यालयले अन्तिम पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने गरी कार्यविधि स्वीकृत गर्यो ।
कार्यविधिमा विद्यालयमै मूल्यांकन समिति बनाएर विद्यार्थीले प्राप्त गरेको अंक संकलन गरेर बोर्डमा पठाउनुपर्ने व्यवस्था गरियो । विद्यालयले विद्यार्थीको अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ हुँदै बोर्डमा पठाएका थिए । मूल्यांकन समिति विद्यालयका प्रधानाध्यापक अध्यक्ष रहने गरी ३ सदस्यीय बनाइएको थियो ।
समितिमा कक्षा १० का कक्षा शिक्षक र नियुक्तिका आधारमा ज्येष्ठ शिक्षक सदस्य थिए । सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकनका लागि छुट्टाछुट्टै अंक पठाइएको थियो । एसईईमा गणितबाहेक अन्य विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुने गर्छ । विगतमा आन्तरिक मूल्यांकनका आधारमा प्रयोगात्मक परीक्षामा जथाभावी नम्बर दिने गरिएको थियो । निजी विद्यालय सम्बद्ध प्याब्सन र एनप्याब्सनले अंक पठाउँदा विगत वर्षको नतिजासमेत ख्याल गर्न सचेत गराएका थिए ।
(कान्तिपुर दैनिक)
काठमाडौं — भाद्र १, २०७७।
नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय सडक निर्माण प्रकरणपछि दुई देशबीच बढेको तिक्तताबीच सोमबार दुई पक्षबीच संवादको थालनी भएको हो ।
दुई देशबीच राजनीतिकस्तरमा संवाद नखुलेपनि कर्मचारीस्तरमा भने नेपाल भारतबीच संयुक्त निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिज्म) को सोमबार भर्चुअल बैठक सम्पन्न भएको हो ।
यद्यपि, भारतको स्वतन्त्रता दिवसका दिन शनिवार दुबै देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद भने भएको थियो ।
सोमबारको बैठकमा भारतीय पक्षले नेपालमा भूकम्पबाट भत्किएका घर पुननिर्माण गर्ने क्रममा भारतले प्रतिवद्धता गरेअनुसार ५० हजारमध्ये ४६ हजार ३०१ घर निर्माण गरिएको जानकारी गराएको छ ।
सोमवारको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनुहुन्थ्यो ।
कोरोनाका कारण भिडियो कन्फरेन्समार्फत भएको बैठकमा विशेग गरी भारतको सहयोगमा सञ्चालित परियोजनाहरुमा केन्द्रित रहेर कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा भारतीय लगानीमा सञ्चालित परियोजनाहरुको अनुगमनका लागि यो संयन्त्र गठन भएको थियो ।
बैठकमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको विषयमा पनि छलफल भएको थियो ।
नेपाल पक्षले समग्र परियोजनाको समीक्षा गर्दै कोरोना विरुद्धको लडाइमा भारतीय सहयोगका लागि धन्यवाद दिएको छ । संयन्त्रको मात्र बैठक भएकाले सीमा विवादबारे कुरा नभएको मन्त्रालयले जनाएको छ ।
सन् २०१९ को जुलाई ७ र ८ मा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनामा भएको कार्य प्रगतिबारे समीक्षा भएको बैठकपछि जारी वक्तव्यमा जनाइएको छ ।
परियोजनाका विभिन्न पक्षबारे विस्तृत छलफल गर्दै दुबै पक्षले कार्यान्वयनको गति तीव्र बनाउने सहमति गरेका छन् ।
कालापानी–लिम्पियाधुरा–लिपुलेकको जमीनका बारेमा दुई देशबीच विवाद भइरहेका समयमा नेपाल र भारतबीच आधिकारिकस्तरमा पहिलो पटक यो बैठक बसेको हो ।
भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।
परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त संयन्त्रको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।
(ईमेज खबर)