काठमाडौं, १४ असार – सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण हुन राकेश ढकाल । सामान्य परिवारमा रसुवा जिल्लाको वेत्रावतिमा हुर्किएका ढकाल आफै केहि गरौँ भन्ने भावका साथ राजधानी काठमाडौँमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौँमै जम्ने रहर उनको थियो । त्यहि हुटहुटिले १४ बर्षको कलिलो उमेरमा रसुवाबाट काठमाडौ आई गङगालाल हस्पिटलको क्यान्टिनमा भाडा माझन काम गरे । यहि काम प्रतिको लगनशीलताले आज आफै रेष्टुरेन्टका मालिक बनेको छन्, राकेश । ‘काम सानो हुदो रहेनछ, जीवनमा धेरै संघर्ष गरे हरेस खाईन्, त्यहि कारण आज आफ्नै बलबुतामा उभिन सकेको छु’ उनले आफ्नो संघर्षको गाथा खोल्दै भने ।
राजधानी काठमाडौँको शंखमुलमा खानाका पारखीहरुको स्वादलाई मध्ये नजर गर्दै गएको फागुनदेखि उनले पूर्ण रुपमा ‘बज्यैको सेकुवा’ सञ्चालनमा ल्याउन सफल भए । यो उनको ड्रिम प्रोजेक्ट थियो । नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनी बताउँछन । हरेक युवाहरु व्यवसायमा नलागेसम्म मुलुक विकसीत नहुने भन्दै उनले लामो समयपछिको अनुभवलाई आत्मसात गर्दै आफैले नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । अनुभवपछि आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोलेको उनको भनाई छ ।कर्नरमा सेकुवा लगायत खसीको भुटन कलेजो लगाएत कुखुराको विभिन्न परिकारहरूको स्वाद ग्राहकवर्गले लिन सक्ने उनले बताए ।बज्यैको सेकुवा कर्नरले १३ जना कामदारहरूलाई रोजगारी दिन सफल भएको छ ।
उनले यस बीचमा काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटर देखि मेनेजरसम्म काम गरे । बाजेको सेकुवा, प्रेसिडेन्ट सेकुवामा मेनेजर भई काम गरेको अनुभवले यतिवेला उनलाई थप सफलताको सिढी चढाएको छ । झण्डै १५ वर्ष अन्य ठाँउमा काम गर्दै गर्दा घरायसी बाध्यताका कारण विदेशका विभिन्न ठाँउका तारे होटलबाट समेत अनुभव बटुल्न उनी सफल भए ।भाडा माझनेबाट वेटर हुँदै मेनेजरसम्म हुँदा उनको होटल रेस्टुरेन्ट व्यवसायमा धेरै योगदान छ ।विभिन्न कठिन परिस्थितिको सामना गर्दै संघर्ष गर्दै यो अवस्थासम्म आइपुग्दा ढकालले आफ्नो छुट्टै ब्रान्ड स्थापना गर्न सफल भएका छन ।
झण्डै ३५ लाख लगानीमा काठमाडौंको सङखमुलमा बज्यैको सेकुवा संचालनमा ल्याएका ढकाल गरे के हुँदैन भन्ने एक गतिलो उदाहरण हुन । हिजोको दिनमा भाडा माझेर शुरु भएको उनको क्यारियर आज लोभ लाग्दो बनेको छ, आफनै व्यवसायको शुरुवातसँगै । बज्यैको सेकुवा कर्नरको संचालक बन्दै गर्दा उनले गरेको संघर्ष उत्तिकै प्रेरणादायी पनि छ । यस सफलताले उनलाई थप हौसाएको पनि छ । यद्यपी दु:खबाट माथि उठेका उनी कत्ति पनि मात्तिएका छैनन ।
जीवनको मोडमा कठिनाइ र एठानका सात घुम्ती पारे गरेका उनले न त कहिल्यै हरेश खाए न त विचलित नै भए । जसको फल अहिले स्वादन गर्दैछन उनी । जारी लकडाउनका कारण असहजता व्यहोर्दै गर्दा पनि उनी आफु र नयाँ व्यवसायलाई सम्हाल्दै छन धर्यतापूर्वक । सायद उनमा समस्याको सामना गर्ने बानी परिसकेकाले हुन सक्छ रत्ती भर पनि चिन्तित छैनन उनी । उनको लवज र अनुहार पनि निराशाका बोध चिन्ह कहि कतै भेटिन्न । बरु उनी निर्धक्कका साथ भन्छन ‘कुनै समय भाडा माझेरै जीवन निर्वाह गरे अहिलेसम्म आईपुग्दा देश तथा विदेशका विभिन्न अनुभव समेटेर आफ्नो छुट्टै ब्रान्ड बनाएको छु, यो मेरो ड्रिम प्रोजेक्ट थियो । अबका दिनमा ग्राहक मन जितेर सेवा दिने गर्छु । नेपालीपन पस्कदै थप सशक्त बन्नेछु’ ।
पूर्ण पारिवारिक वातावरण माझ सेकुवा कर्नरलाई आगामी दिनहरूमा काठमाडौं उपत्यकाको विभिन्न स्थान र उपत्यका बाहिरका मुख्य शहरहरूमा पनि स्थापित गराउने लक्ष्य ढकालको छ । स्वभाविक मेनु र हाईजेनिक फुड, सस्तो रकममा सुविधा दिने उद्देश्यका साथ आफुले बज्यैको सेकुवा संचालनमा ल्याएको उनी बताउँछन ।
प्रकाशित : १४ असार २०७७, आईतवार
काठमाण्डौं, ०७ अषाढ- नेपाल महिला चेम्बरले आईतबार भर्चुअल कार्यशालाको आयोजना गरेको छ । जारी लकडाउनका कारण महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहेर महिला चेम्बरले उक्त कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो । साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा राष्ट्र«भर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको थियो । ब्राण्डिङ्ग, अनलाईन बिजनेश प्रबद्र्धन र डिजिटल पेमेण्टको विषयमा केन्द्रित रहेको उक्त कार्यशालामा पैेलक प्रबिन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा पैेलक प्रबिनले ब्राण्डिङ्गमा व्यक्तिगत र सांगठनिक (पर्सनल र अर्गनाईजेशन) गरि दुई कोणबाट कसरी प्रबद्र्धन गर्ने भन्ने बारेमा स्पष्ट पार्दै बद्लिदो परिवेशमा अनलाईन मार्केटिङ्ग, कम्युनिकेशन, कोलाबेरेशन आदीको महत्व बारे प्रकाश पारेकी थिईन् ।
त्यसैगरि, जिपिजीकी अदिती गोयलले अनलाईन मार्फत वस्तु तथा सेवा व्यापार कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै सोका लागि उपलब्ध राष्ट्रि«य तथा अन्तराष्ट्रि«य प्लेटफर्मको उपलब्धता, सामाजिक संजालको उपयोगीता बारे प्रकाश पारेकी थिईन् ।
कार्यशालामा अनमोल रतेरियाले डिजिटल पेमेण्टको विषयमा केन्द्रित रहेर अनलाईन मार्फत कुन कुन प्लेटफर्म प्रयोग गरि कसरी भुक्तानी गर्न सकिन्छ भन्ने बारे प्रकाश पार्दै यसको बढ्दो उपयोगीता र महत्व बारे स्पष्ट पारेकी थिईन ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कार्यशालाका सहभागीहरुलाई संबोधन गर्दै कोभिड १९ को मुख्य चुनौतीमा स्वास्थ्य सुरक्षाको सवाल रहेको उल्लेख गर्दै व्यवसाय संचालन गर्दा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताईन । साथै, अध्यक्ष श्रेष्ठले बदलिदो परिस्थितीमा डिजिटल प्लेटफर्मको महत्व बारे प्रकाश पार्दै यसको उपयोगीतालाई बढाउनु पर्नेमा जोड दिईन् ।
यस अघि नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्य व्यक्त गर्दै कोभिड १९ का कारण उद्यमी महिलाहरुको व्यवसायीक जीवनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै कार्यशालाबाट राहत मिल्ने विश्वास व्यक्त गरेकी थिईन् ।
त्यसैगरि, नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कार्यशालामा सहजकर्ताको भुमिका निर्वाह गर्दै वर्तमान अवस्थामा उद्योग व्यापारको क्षेत्रमा प्रविधीको उपयोगीता बढेको हुदा सोको अनुशरणका लागि कार्यशाला कोशेढुङगा बन्ने धारणा व्यक्त गरिन् ।
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।
टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए । उनले अभिनय गरेको पहिलो चलचित्र ‘काया पो छे’ हो । यो चलचित्रले नै उनलाई बलिउडमा स्टार बनाइदिएको थियो । यसपछि उनले ‘शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिभ ब्योमकेश बख्शी’ जस्ता चलचित्रमा अभिनय गरिसकेका थिए । सुशान्तले अभिनय गरेको ‘एमएस धोनीः अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धमकेदार व्यापार गरेको थियो । यो चलचित्रपछि सुशान्तको अभिनयको मात्र चर्चा भएन, उनको माग पनि बलिउडमा ह्वात्तै बढेको थियो ।
सुशान्तले अभिनय गरेको ‘बेल्कम टू न्यू योर्क, केदारनाथ, सोनचिडिया, छिछोरे’ जस्ता चलचित्र पनि हिट छन् । उनले बलिउडमा १२ वटा चलचित्रमा काम गरे । भारतको पटनामा सन् १९८९ जनवरी २१ मा जन्मिएका यी नायकले टेलिभिजनमा पनि हिट सिरियल दिएका छन् ।
काठमाडौँ, २६ जेठ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ ।गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो । गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भनेका छन् । काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप देखिन्थ्यो । सार्वजनिकभन्दा निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेका छन् । अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण तथा बन्दाबन्दीको उकुसमुकुसबाट घर बाहिर निस्कनेको चाप बाक्लै देखिन्थ्यो । विभिन्न बैङ्कमा ग्राहकको बाक्लो भीड नै लागेको थियो । (गोरखापत्रबाट)
काठमाडौं, जेठ २६ । विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ। सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ। निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन।
सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए। ‘सेनाको विस्फोटक पदार्थको गुणस्तर परीक्षण भइसकेको छैन। आयोजनाको ठेक्का लगाउँदा नेपालमा विस्फोटक पदार्थ उत्पादन हुँदैनथ्यो’, प्रमुख थापाले भने, ‘अहिले सेनाले आफ्नै उत्पादन प्रयोग गर्न जोड दिइरहेको छ।’
उनका अनुसार निर्माण कम्पनी भने गुणस्तर परीक्षण प्रमाणपत्र पेस गरिए प्रयोग गर्न सकिने अडानमा छ। सेनाले भने प्रमाणपत्र पेस गर्न ध्यान दिएको छैन। सेनाले इमल्सन विस्फोटक पदार्थ आयात गर्न सहमति प्रदान नगरी आफ्नै उत्पादन बिक्री गर्न खोजिरहेको छ। कुनै पनि आयोजनाका लागि विस्फोटक आयात गर्न सेनाको स्वीकृति अनिवार्य रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, २६ जेठ । कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको साताँैं नगरसभाको पहिलो बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम आइतबार बसेको नगरसभाको दोस्रो बैठकमा दफाबार छलफलपछि सर्वसम्मत पारित भएको हो ।
बैठकमा नगरसभा सदस्य भोमबहादुर बुढा मगर, मानकाजी श्रेष्ठ, रमेश आचार्य, धनबहादुर खड्का, श्यामकुमारी गौतम, श्यामलाल क्षेत्री, पार्वती क्षेत्रीलगायतले नीति कार्यक्रमको सफल कार्यान्वयनमा जोड दिएको थियो । नगरसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख घिमिरेले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन् ।
नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको उनको भनाइ थियो । नगरका स्वास्थ्यचौकीलाई न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवासहितको आकर्षक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने, थप दुई स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजरसहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्यचौकीलाई अस्पतालका रुपमा रुपान्तरण गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुविधासम्पन्न खोप केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने तथा सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । (रासस)
काठमाडौँ, २५ जेठ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।
स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पु¥याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पु¥याउने योजना बनाइएको बताएका छन् ।
वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पु¥याउने योजना बनाइएको हो । प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूूनतम आवश्यकता भएको उनको भनाइ छ । सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ हालै सार्वजनिक गरेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले असार १ बाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गरिएको थियो । विपद् या महामारीका कारणले नियमित पठनपाठन हुन गर्न कठिन भएको वा हुने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायत वैकल्पिक माध्यम वा पद्धतिबाट गरिने अध्ययन अध्यापनलाई वैकल्पिक विधि मानिएको छ । (गोरखापत्रबाट)
डोटी, जेठ २५ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका डोटीका एक युवकको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको आईतबार विहान मृत्यु भएको हो।
स्वास्थ्य कार्यालय डोटीका अनुसार सात दिन पहिले भारतको लुधियानाबाट गाँउ आएका उनी सिताराम आधारभुत विद्यालयको क्वारेन्टिमा बस्दै आएका थिए । उनको स्वाब परिक्षण गरिएको छैन् ।
धनुषा, जेठ २४ । ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।
लकडाउनमा जनकपुरबाट बिरामी बोकेर काठमाडौं हिँडेका एम्बुलेन्स चालकले खानाको त कुरै छाडौं, पानी समेत किनेर खान नपाएको चालक मन्सुर राईनले बताए। ‘बाटोमा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन्। एम्बुलेन्स चालक भनेपछि एम्बुलेन्स रोक्न समेत दिँदैनन्’, राईनले भने, ‘खानाका लागि कि त घरबाट टिफिन वा चाउचाउ बिस्कुट, दालमोठ, भुजिया बोकेर हिँड्नुपर्छ। बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बित्तिकै छिः छि दुरःदुर गर्छन्।’
रात्रिकालिन सुनसान राजमार्गमा एम्बुलेन्स चालकले किराना पसलमा पानी माग्दा नपाएको गुनासो उनले सुनाए। साहुँजी दुई बोत्तल पानी दिनुस न। पसलेले पानी दिँदैनन्। पुनः एम्बुलेन्स चालक भन्छन्, प्लिज पानी दिनुस न। पसलेले बाहिरैबाट पानीको बोत्तल फालिदिन्छन्। यस्ता दृश्य आफूहरुले भोगिरहेको राईनले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
काठमाडौँ, २४ जेठ । वागमती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
कोरोनाले महामारीको रूप लिएपछि वाग्मती सरकारले बजेटमा समावेश गर्न यस्तो नीति तथा कार्यक्रम ल्याएको हो । वाग्मती प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको उपलब्धता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म तथा योग सेवासहित सुदृढीकरण गरिने र प्राकृतिक एवं वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गरिने भनिएको छ । हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० श्ययाको बनाउने नीति तथा कार्यक्रममा छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ ।
भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १०० श्यया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । धादिङ र चौतारालाई ५० श्यया तथा रामेछाप र रसुवा अस्पताललाई २५ श्यया क्षमतामा स्तरोन्नति गरी सुदृढीकरण गरिनेछ । प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पताल बनाइनेछ । (रासस)