generalnews
||Power News Asia||

आजको समाचार

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार

समाचार


काठमाडौँ, १७ जेठ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः०० बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने छन् । सरकारले आगामी वर्ष स्वास्थ्य तथा कृषि क्षेत्रलार्ई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेटको तयारी भइरहेको जनाएको छ ।

कोभिड–१९ का कारणले सिर्जित असहज अवस्थाबाट सङ्कटमा परेको अर्थतन्त्रलाई चलायमान बनाउने, स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा जोड दिने, कृषि क्षेत्रको यान्त्रीकरण र आधुनिकीकरणका माध्यमबाट रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धिको योजनालाई मुख्यगरी आगामी वर्षको नीति कार्यक्रममा समेटिने बताइन्छ । (रासस)

बजेट, एमसीसी र नक्शाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै

समाचार


काठमाडौं, जेठ १७ । संसदमा विचाराधीन अवस्थामा रहेको अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न अहिले नेकपा सचिवालय बैठक बस्न गैरहेको छ ।

शनिबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनसहित नयाँ नक्साबारे समेत छलफल हुने नेकपा निकट उच्च स्रोतको बताएको छ ।

कार्यदलले सहमति जुटेका र नजुटेका विषय समेटर सचिवालयमा बुझाएको प्रतिवेदन माथी छलफल गरेर पास गराउने निस्कर्ष निकाल्नेसमेत आजको बैठकबाट अनुमान गरिएको छ ।

एमसीसीकै बारेमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलबाट समेत आजको बैठकबाट पास गराउने तयारी भईरहेको स्रोतको दाबी छ ।

बैठकमा सरकारको काम–कारवाहीलगायत जारी लकडाउनको मोडालिटि परिर्वतन सम्बन्धी समसामयिक विषयमा पनि छलफल हुने अनुमान गरिएको छ । आजको बैठकमा विदेशमा अलपत्र नेपालीको उद्वारको बारेमा समेत समिक्षा हुनसक्ने जनाइएको छ ।

दूरी

समाचार


दूरी

एउटै नहुन सक्छ
हामी जन्मिएको मिति
नहुन सक्छ एउटै अवस्था
पला, घडी र समय
आमाले घाँस काटिरहँदा
जन्मिएको थिएँ म
तिमी अस्पतालमा
जन्मिएकी हुन सक्छ्यौ
तर एउटै थियो
हामी जन्मिएको आकास ।

आँधी तुफान आइरहन्छ
भत्काइ रहन्छ
पक्कै म जन्मिँदा
हुरी चलेको हुनुपर्छ
झरी परेको हुनुपर्छ
मुस्कुराइ रहन्छ्यौ
रमाइरहन्छ्यौ
तिमी जन्मिदा बहार हुनुपर्छ
फूल फुलेको हुनुपर्छ
तर एउटै थियो
हामीले फेरेको पहिलो सास ।

जहाँ तिम्रा आँखा थिए
जहाँ तिम्रो मुटु छ
छातीको देब्रेतिर
त्यही छ मेरो पनि मुटु
पानी बग्दैन मेरो नसामा पनि
भोक तिमीलाई पनि लाग्छ
तिमी जुत्ता लगाएर
लुगा लगाएर हुर्कियौ
म काँडा टेकेर
सबथोक देखाएर हुर्किएँ
तर एउटै थियो
तिम्रो र मेरो निद्रा

साथी !
के छ तिम्रो जातमा त्यस्तो
जसले तिमीलाई मसँग
प्रेम गर्ने अनुमति दिएन ।     –पुस्तकप्रसाद

जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न आग्रह

समाचार


काठमाडौं । निजी क्षेत्रमा क्रियाशील शैक्षिक संघ-संस्थाहरुले कोरोना महामारीको बीचमा पठनपाठनलाई सहज बनाई शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन सरकारसमक्ष सहयोगको आह्वान गरेका छन् । सो क्षेत्रमा काम गर्ने  प्याब्सन, एनप्याब्सन, राष्ट्रिय अभिभावक महासंघ नेपाल, अभिाभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले १० बुँदे साझा धारणा सार्वजनिक गर्दैै सरकारसँग सहयोगको आग्रह गरेका हुन् ।
ती संघ संगठनले पछिल्लो जटिल परिस्थितिमा विद्यार्थी भर्ना प्रक्रिया, पाठ्यपुस्तक व्यवस्थापन, भर्चुअल कक्षा सञ्चालन गर्ने लगायत १० बुँदे धारणा सार्वजजिक गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । संगठनले जेठ २१ गतेदेखि विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न र शिक्षक कर्मचारीहरु विद्यालयमा उपस्थित भई नयाँ शैक्षिक सत्रका लागि योजना बनाउनुका साथै शिक्षक कर्मचारीहरुलाई तालिम अभिमुखीकरणका लागि व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।

सात संगठनद्वारा बिहीबार जारी संयुक्त विज्ञप्तिमा निर्विवाद रुपमा पाठ्यपुस्तक ढुवानी गराई सम्पूर्ण पुस्तक पसलहरु सञ्चालन गराउन र अनलाइनबाट समेत सम्पूर्ण विद्यार्थीहरु नसमेटिने हुँदा रेडियो, टिभीमा भर्चुअल कक्षालाई प्रोत्साहन गरी विद्यार्थीहरुका लागि सरकारबाटै विशेष पहल गरी भर्चुअल कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । साथै विज्ञप्तिमा नेपालमा विद्यालय तह कक्षा १२ सम्म कायम गरिएकोले यसपटक एसर्ईई परीक्षा सम्बन्धित विद्यालयको आन्तारिक मूल्याँकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट प्रमाण–पत्र दिने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ । 

इन्टरनेट र फोन समस्याले आजित

समाचार


काठमाडौँ, १६ जेठ । साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा पछिल्लो केही दिनयता फोन र इन्टरनेटको समस्याले सेवाग्राही आजित बन्न थालेका छन् ।

देशमा जारी बन्दाबन्दीले नागरिक घरभित्रै बस्नुपरेको बाध्यात्मक अवस्थामा अहिले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या अधिक भए पनि छिनछिनमै जाने फोनको नेटवर्क र इन्टरनेटले धवलागिरिवासीलाई आजित बनाएको छ । इन्टरनेट र टेलिफोन सेवा पछिल्ला केही दिनमा पटक–पटक अवरुद्ध हुन थालेपछि सेवाग्राही समस्या खेप्न बाध्य भएका छन् । पूर्ववत सूचनाबिना नेपाल टेलिकमले घण्टौँसम्म फोन, इन्टरनेट अवरुद्ध गराउँदा सेवाग्राही अन्योल र मारमा परेको बागलुङकी स्थानीय सविता शर्माले गुनासो गरेका छन् ।

“मोबाइलमा नेटको टावर देखिन्छ तर काम नगरेपछि मोबाइल नै बिग्रियो कि भनेर बन्दाबन्दीकै बीच मोबाइल पसल खोज्दै गएँ”, शर्माले भने, “त्यहाँ पुगेर देखाउँदा पसलेले मोबाइल बिग्रिएको नभइ इन्टरनेटले नै काम नगरेको भनेपछि फर्किए ।” बागलुङमा पछिल्लो समय विद्युत्सँगै इन्टरनेटसमेत अवरुद्ध हुन थालेपछि सेवाग्राहीले टेलिकमप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

नेपाल टेलिकम बागलुङ शाखाले भने सडक निर्माणकार्यमा समन्वय नगरी डोजर चलाउँदा फाइवर काटिने र पटक–पटक अवरुद्ध हुने गरेको बताएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले पछिल्लो साता फाइवर नेटमा धेरै समस्या आएको स्वीकार गरेका छन् । (रासस)

हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग

समाचार


काठमाडौँ, १६ जेठ । सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उल्लेख गरिएको छ । त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई आगामी तीन वर्षभित्र एसियाली राजमार्ग मापदण्ड अनुरूपको डेडिकेटेड चार लेनको द्रुत मार्गका रूपमा स्तरोन्नति गरिने पनि उल्लेख गरिएको छ ।

उक्त राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड रुपियाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न एक खर्ब ३८ अर्ब ८० करोड रुपियाँ विनियोजन गरिएको छ । पुष्पलाल राजमार्गको बाँकी निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यसका लागि आठ अर्ब २७ करोड विनियोजन गरिएको बताएका छन् ।

त्यसैगरी हुलाकी राजमार्ग निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्न आगामी आर्थिक वर्षका लागि सात अर्ब एक करोड विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्ग आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्न तीन अर्ब सात करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ । (गोरखापत्रबाट)

हदम्याद बन्दाबन्दी खुलेको ३० दिनसम्म

समाचार


काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले लकडाउनको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको छ ।

२०७६ चैत ९ गतेदेखि अदालतले नियमित कार्यसम्पादन नगरेको अवस्थालाई शून्य अवधिमा कायम गर्ने फैसला अदालतले गरेको हो । म्याद र हदम्यादको कानुनी अड्चन फुकाउन गठन भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको १९ सदस्यीय बृहद् पूर्ण इजलसाले लकडाउनलाई ‘शून्य अवधि’ कायम गर्ने फैसला गरेको हो । यो फैसला रिट निवेदन, देवानी तथा फौजदारी मुद्दामा कार्यान्वयन हुनेछ । यस्तै, अदालतसहित न्यायिक तथा अर्धन्यायिक निकायबाट हेरिने मुद्दामा पनि कायम हुने फैसलामा उल्लेख छ ।

फैसलामा भनिएको छ, ‘२०७६ चैत ९ गतेदेखि बन्दाबन्दी खुलेको मितिसम्मको अवधिलाई न्यायिक काम कारबाही प्रयोजनका लागि शून्य अवधि मान्ने । यो शून्य अवधिलाई हदम्याद, म्याद, तारिख वा यस्तै अदालतमा वा कुनै न्यायिक वा अर्ध न्यायिक निकायमा प्रस्तुत गर्नुपर्ने फिरादपत्र, प्रतिउत्तरपत्र, अभियोगपत्र, पुनरावेदनपत्र, कुनै खास म्याद वा अवधिमा दिनुपर्ने भनी किटान गरिएका निवेदन, लिखित जवाफ फैसला कार्यान्वयनका लागि दिने निवेदन आदि सबै प्रकारका कानुनी कारबाही प्रयोजनका लागि गणना नगर्ने ।’’ अदालतले हदम्याद, म्याद र तारिखको कानुनी जटिलतालाई संविधानको धारा २०(९) सँग व्याख्या गरेको छ ।

उक्त धाराले प्रत्येक व्यक्तिलाई स्वतन्त्र निश्पक्ष र सक्षम अदालतबाट न्यायिक सुनुवाइको मौका हुने व्यवस्था गरेको छ । महामारीको अवस्थालाई विधायिकी कानुनले परिकल्पना नगरेको अवस्थामा अदालतले बाधा फुकाउनु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत नहुने पनि इजलासको निष्कर्ष छ । (गोरखापत्रबाट)

महामारीसँगै ‘निरोगी नेपाल’

समाचार


काठमाडौँ, १६ जेठ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासहित अगाडि बढेको सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारीसँगै ‘निरोगी नेपाल’ को थप रणनीति अगाडि सारेको छ ।

नागरिकमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद लगायत वैकल्पिक उपचार पद्धतिमा सरकारले जोड दिएको छ । ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्नेछु’ भन्ने सदाचार संस्कृतिको विकासमा सरकारले जोड दिएको छ । सरकारले भ्रष्टाचार रोकथाम र नियन्त्रण कार्य थप प्रभावकारी बनाउने भएको छ ।

सरकारले २६ वर्षपछि ‘आफ्नो गाउँ आफैँ बनाउँ’ अभियानलाई पुनः ब्युँझाएको छ । सोही भावना अनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका कार्यमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालन गरिनेभएको छ । विपन्न परिवार लक्षित यस कार्यक्रम अन्तर्गत श्रममूलक सामाजिक तथा भौतिक विकासका आयोजना सञ्चालित हुनेछन् ।

यस्तै सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्न ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले निरन्तरता पाएको छ । सो कार्यक्रम मार्फत दुई लाख रोजगारी उपलब्ध गराउने लक्ष्य सरकारको छ । (गोरखापत्रबाट)

सुरक्षाकर्मीको पोसाक उत्पादन स्वदेशमै

समाचार


काठमाडौँ, १६ जेठ । अन्तर्राष्ट्रिय सीमा सुरक्षा र संरक्षणका लागि राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाइने भएको छ । सीमा अतिक्रमण, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न ४९ वटा बीओपी (सीमा सुरक्षा पोस्ट) थप्ने तयारी भएको छ ।

नेपाल प्रहरीको दक्षता अभिवृद्धि गरी तथ्य र वैज्ञानिक प्रमाणमा आधारित अपराध अनुसन्धान र अभियोजन प्रणाली सुनिश्चित गरिने छ भने अध्यागमन सेवामा सूचना प्रणालीको विकास गर्न आवश्यक बजेटको व्यवस्था छ । राष्ट्रिय अनुसन्धान विभागको क्षमता विकास गरी प्रविधिको प्रयोग मार्फत व्यावसायिक ‘इन्टिेलिजेन्स’ र अनुसन्धानमा जोड दिइने छ । सबै सुरक्षा निकायलाई स्रोत साधन र प्रविधिको माध्यमबाट दक्ष, व्यावसायिक र उच्च मनोवलयुक्त बनाइने छ ।

नेपाली सेनालाई बङ्करबाट ब्यारेकमा स्थान्तरण गर्न थप आवास भवन निर्माण सम्पन्न गरिने छ । सेनाको क्षेत्रीय एयरवेशको स्थापना तथा स्तरोन्नति कार्य राज्यका सम्पूर्ण सुरक्षा निकायलाई आवश्यक पर्ने पोसाक, जुत्ता र खाद्यन्नलगायत आवश्यक वस्तुको उत्पादन स्वदेमै गरिने उक्त बजेटमा उल्लेख गरिएको छ । (गोरखापत्रबाट)

रुकुम घटनाः मृतक सबैको टाउकोमा चोट

समाचार


जाजरकोट, जेठ १६ । रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ ।बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो ।

स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।

खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए ।

भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।