काठमाडौँ, २३ जेठ । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।
उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाा भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ । यस विषयमा नेपाल च्याम्बर अफ कमर्स र व्यापारीसँंग छलफल समेत भइरहेको जानकारी दिँदै उनले व्यापारी पनि अर्को निर्णय नआएसम्म पसल नखोल्ने कुरामा सहमत देखिएको जानकारी दिएका छन् । (गोरखापत्रबाट)
काठमाडौँ, २३ जेठ । स्थानीय तहले निर्माण गर्ने बजेटमा स्थानीय नागरिकको धेरै चासो हुन्छ ।
आफ्नै टोल, बस्ती र गाउँमा बन्ने सडक, खानेपानी, सिँचाइ र रोजगारी सिर्जना गर्ने लगायतका क्षेत्रमा स्थानीय सरकारको बजेट प्राथमिकतामा पार्न पनि चासो बढेको हो । नयाँ आर्थिक वर्षको स्थानीय तहको बजेटमा स्वदेशमा मात्र नभई विदेश गएका नेपाली नागरिकलाई समेत चासो छ ।
कोरोना भाइरस रोग (कोभिड–१९)का कारण विदेशमा रोजगारी गुमाएका करिब १० लाख नागरिक स्वदेश फर्काउने सरकारको तयारीसँगै स्थानीय बजेट प्रभावकारी हुनुपर्ने जानकार व्यक्तिको सुझाव छ । स्थानीय तहले निर्माण गर्ने यस वर्षको बजेटमा कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापकीय कार्यमा बढी खर्च गर्नुपर्ने हुँदा स्थानीय स्तरको रोजगारी सिर्जना गर्नमै ठूलो बजेट केन्द्रित गर्नुपर्ने विज्ञको सुझाव छ ।
जेठ १५ गते सङ्घीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गतेभित्र सबै स्थानीय सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिले सबै स्थानीय तहमा आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको तयारी तीव्र भइरहेको छ । (गोरखापत्रबाट)
काठमाडौँ, २३ जेठ । नुवाकोटको देवीघाटमा बनाइएको ठूलो आकारको सौर्य आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
हिउँदको समयमा हुने विद्यु्त् कमीका बेला उपयोग हुने गरी विद्युत् सम्मिश्रण सन्तुलनका लागि यो आयोजना सुरु गरिएको हो । यो आयोजनाको कुल क्षमता २५ मेगावाट रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत्गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।
प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत् केन्द्रकोे जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारणमा जोडिएको हो । ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुनेछ ।
२५ मेगावाट जडित क्षमताको ग्रिडमा आबद्ध यो नेपालकै सबैभन्दा ठूलो सोलार आयोजना हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यो आयोजनाबाट आगामी मध्यसाउनसम्म १० मेगावाट विद्युत् ग्रिडमा जोडिने छ । (गोरखापत्रबाट)
काठमाडौं, २३ जेठ । अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको छ ।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । जुन १ असारबाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदै लगिनेछ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो ।
पहिलोचरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् ।
दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइनेछ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ ।
तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिीय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ । कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् ।
चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ ।
पाचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् ।
छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई शिल्ड गर्ने गरी प्रस्ताव तयार भएको छ ।
काठमाडौँ, २३ जेठ । भारतबाट श्रीमानसँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् ।
जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बस्नुभएकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बस्ने क्वारेन्टिनमा ७४ जना छन् । “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भने, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।”
त्यसैगरी शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टिनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएको हो । उनी भारतको मुम्बइबाट जेठ १५ गते श्रीमान्नसँगै घर फर्किएर क्वारेन्टिन बस्दै आएको हो ।
पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिनुभएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिएका छन् । अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् । (रासस)
काठमाडौं, जेठ २३ । खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र बिम्स्टेक सदस्य मुलुक म्यान्मारले आफ्नै खर्चमा १ सय ९४ जना नेपालीलाई स्वदेश फर्काउँदैछ। यूएईले एक सय ६८ र म्यानमारले २६ जना नेपाली पठाउन लागेको हो। उनीहरू आज काठमाडांै आइपुग्दै छन्। फर्किएकाहरूको हवाई खर्च नेपाल सरकारले व्यहोर्नु पर्दैन।
म्यान्मार र यूएईले कोरोना भाइरस संक्रमण फैलिएपछि ती मुलुकमा अलपत्र परेकामध्ये १ सय ९४ नेपालीलाई आफ्नै खर्चमा ल्याइदिने भएका हुन्। यूएईले आफ्नोमा अलपत्र परेकालाई फर्काउन डेढ महिनाअघि नै सरकारलाई पत्राचार गरेको थियो। म्यानमारमा अलपत्र रपरेकालाई भने सेनाको पहलमा फिर्ता हुन लागेको परराष्ट्र अधिकारीले जनाएको आजको अन्नपूर्णपोष्ट दैनिकमा खवर छ ।
काठमाडौ, जेठ २३ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ। सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको र्छैन।
इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत सङ्क्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको बताए। संसारमा भने ८० प्रतिशत सङ्क्रमितमा पनि लक्षण देखिएको छैन। उनले कोभिड–१९ परीक्षणका क्रममा ती बिरामीमा सङ्क्रमण देखिए पनि सङ्क्रमतिको अवस्था भने सामान्य मानिस सरहको छ।
लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर सङ्क्रमण हुनसक्ने बताए। “कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ”, उनले भने, “भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ।”
सङ्क्रमितमध्ये पाँच प्रतिशत बिरामी भने सङ्क्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु–शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताए। उनले कतिपय बिरामीलाई उच्च ज्वरो, स्वास फेर्न गाह्रो, थकाइ लाग्नेजस्ता लक्षण भने देखिएको बताए।
“शुरु–शुरु बाहिर मुलुकबाट लक्षण लिएर आएका सङ्क्रमितमा लक्षण देखिएको थियो”, अस्पतालका निर्देशक डा राजभण्डारीले भने, “तर पछि भारतबाट आएका सङ्क्रमितमा भने त्यस्तो लक्षण देखिएको छैन।” उनले लक्षण नदेखिएपछि दीर्घरोगी सङ्क्रमितलाई बढी पावरको औषधि प्रयोग गर्नुपरेको बताए। सङ्क्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ। त्यतिबेला परीक्षण गराएका व्यक्तिमा सङ्क्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ।
भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ। इपिडीमियोलोजी महाशाखाका निर्देशक डा पाण्डेले बाहिरबाट आएकालाई राम्रो क्यारेन्टिनमा राख्न, सके डेङ्गु मलेरियाजस्ता रोगबाट बचाउन सकिने बताए। उनले अहिले स्थानीय तहले बनाएका क्यारेन्टिनमा त्यति राम्रो व्यवस्थापन नभएकाले डेङ्गु, मलेरियाजस्ता रोग फैलने डर रहेको बताए।
नेपालमा अहिलेसम्म दुई हजार छ सय ३४ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये दश जनाको मृत्यु भएको छ भने २७८ उपचारपछि घर फर्किसक्नुभएको छ। यस्तै अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ६४ जिल्लामा सङ्क्रमण देखिएको छ।
सङ्क्रमण युवा अवस्थाका व्यक्तिमा सबभन्दा बढी देखिएको छ। १५ वर्षदेखि २४ वर्ष उमेरका ७१३, २५ वर्षदेखि ३४ वर्ष उमेर समूहका ५६२, ३४ वर्षदेखि ४५ वर्ष उमेर समूहका ३४४, ४६ वर्षदेखि ५४ वर्ष उमेर समूहका १२६ जनामा रहेका छन्। वृद्धा र केटाकेटीमा कम छ। अहिलेसम्म पिसीआर ८० हजार २६७ र आरडिटी एक लाख २० हजार २७९ जनामा परीक्षण गरिएको छ। यस्तै एक लाख ५५ हजार ८६८ क्वारेन्टिनमा र दुई हजार १३ जना आइसोलेसनमा रहेका छन्।रासस
झापा, जेठ २३ । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा। राजकुमार पोखरेल बताउँछन्। झापामा मात्रै नौ सय ८८ वटा पिलर छन्।
पूर्वका सीमाविद् डा। पोखरेलका अनुसार २०२२ सालमा नेपाल सरकारले झापाका वासिन्दाले जग्गा नापजाँच गरेर धनीपुर्जा दिएको हो। ०४५ सालदेखि नेपालको भूमिमा भारतीयले हस्तक्षेप गर्न थालेका हुन्। ‘मेची नदीले धार परिवर्तन गरेसँगै सीमा क्षेत्रका जनताको जमिन पनि परिवर्तन भए। तर, परिवर्तन भएको जमिन उनीहरूले प्राप्त गर्न सकेका छैनन्,‘ डा। पोखरेलले भने।
दुवै देशबीच ‘पछि मिलाउने हाललाई स्थानीय ती जमिनमा बस्दै गर्छन्’ भनिएका जमिन पनि भारतले आफ्नो पोल्टामा पारिसकेको छ। पछिल्लो समय त्यसरी नै नेपाली लालपुर्जा भएका जमिनमा भारतीयले खेती गर्ने गरेका छन्। त्यही खेतीका बहानामा सीमामा पटक–पटक भारतीय र नेपाली सुरक्षाकर्मीबीच झडप पनि भएको छ। झापा जिल्लाको १४४।२ किमि क्षेत्रफल भारतसँग सीमा जोडिएको छ। यी स्थानका केही बासिन्दाले न आफ्नो भूमि भन्न पाएका छन्। न त आपत विपत पर्दा भूमिको उपयोग गर्ने अधिकार नै छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट ।
काठमाडौं, जेठ २२। उद्योगी व्यवसायीहरुले आजदेखि लकडाउनलाई थप अबज्ञा गर्ने घोषणा गरेका छन् ।पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अबज्ञा गर्दै आइरहेका व्यवसायीहरुले आजदेखि भने ठूलो मात्रामा बजार पसलहरु खोल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले आजदेखि देशभरका पसलहरु खोल्न आह्वान समेत गरे ।
उनले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको दाबी गरेका छ्न् । राज्यसंग भुडभेडसमेत हुन सक्ने बताउदै उनले तयारीका साथ व्यवसायी आफ्नो पेशामा फर्कने बताए ।
उनले भने ‘देशभरी मुडभेड हुन सक्छ , व्यवसायीले पनि तयारी गरेका छन् जवाफ दिन हामी तयार छौँ ।’
सरकारले कोरोना नियन्त्रण गर्न नसकेको तर लकडाउन मात्रै थप्ने काम भइरहेकाले व्यवसायीहरु अवज्ञा गर्न बाध्य रहेको उनको भनाई छ । यसअधि राजधानीको मुटु मानिने दरवार मार्गका व्यवसायी तथा चावहिल–जोरपाटि क्षेत्रका व्यापारीले समेत बुधबारदेखि व्यवसायमा फर्कन पाउँनु पर्ने मागसहित प्रर्दशनमा उत्रिएका थिए ।
जनस्तरबाट लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने चर्को आवाज उठ्न थालेसँगै सरकारले तहगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी थालेको छ। त्यसको तयारीस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञसँग छलफल समेत गरेका थिए ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर कोरोना संक्रमितको संख्या २३ सय पुगेको थियो भने विहिबार विहान गण्डकी प्रेदशमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।
हेटौंडा, जेठ २२ । हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए ।
लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए ।
‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् ।
लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ। संक्रमण फैलन नदिन सरकारले लकडाउन जारी राखेका बेला यस्ता विपन्न परिवारलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरू मारमा छन्। राहतमा प्राप्त खाद्यान्न सकिँदा पनि लकडाउन नखुलेपछि कतिपय भोकभोकै मर्ने अवस्थामा पुगेका छन्।
मकवानपुरमा मात्र संगठित र असंगठित गरी करिब १५ हजार मजदुर रहेको मजदुर सम्बद्ध संगठनहरूको अनुमान रहेको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।