काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले फरक क्षमता भएका व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजित कवि दर्शन केसी ‘शान्कु’द्वारा लिखित अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘दर्शन’ सार्वजनिक गर्दै उनले फरक क्षमता भएका नागरिकलाई सरकारले सम्मान गर्ने बताए ।
‘बालबालिकाको हकमा काम गर्न हामीलाई कानुनले रोकिरहेको थियो । विगत ६ वर्षदेखि बालबालिका नीति मन्त्रालयमा अड्किएको रहेछ । त्यसलाई अगाडि बढाएर हिजोको मन्त्रिपरिषद्को बैठकबाट पास गरेका छौँ’, आचार्यले भने, ‘अब मन्त्रालयले लक्षित कार्यक्रमलाई गति दिनेछ । फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा यस्ता कार्यक्रमले फरक ल्याउँछ । हामीले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न जरुरी छ ।’
कवि केसीले नाकको सहायताले लेखेका कविता पढेर आफूलाई पनि केही गरौँ भन्ने लागेको अभिनेता राजेश हमालले बताए । ‘कहिलेकाहीँ म अल्छी हुन्छु, तर दर्शनजीको कविता पढेपछि कविता लेख्ने जाँगर बढेको छ किनकि परिस्थतिले हामीलाई छेक्दैन, हामीसँग उक्त कार्य गर्ने प्रेरणा चाहिन्छ । उहाँको कृतिले हामीलाई प्रोत्साहन गरेको छ’, अभिनेता हमालले भने ।
एभरेष्ट ग्यालरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर हौसला बढाएको भन्दै कवि केसीले उपस्थितलाई धन्यवाद दिए । ‘मलाई तपाईंहरूको साथले झनै प्रोत्साहन मिलेको छ । म आगामी दिनमा पनि लेखनलाई अगाडि बढाउने छु’, कवि केसीले लेखेका सन्देश उद्घोषकले पढेका थिए ।
काठमाडौं– वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९ औं जन्म जयन्तीको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भूजीत बास्कोटाले बताएका छन् । अध्यक्ष बास्कोटाले नेपाली गीत–सङ्गीतका शिखर व्यक्तित्व नातिकाजीका योगदानलाई नेपाली पुस्ताले सम्झिरहने बताए ।
विक्रम सम्वत् १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिएका नातिकाजीले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा सङ्गीत दिएका छन् । उनको निधन २०६० सालका कात्तिक १६ गते भएको थियो ।
राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । संगीतकार शम्भुजीत बास्कोटाको अध्यक्षतामा समाजको हालै सम्पन्न बैठकले सम्मान तथा पुरस्कारको निर्णय गरेको हो । नातिकाजीको मित्रपार्कस्थित निवासमा मंगलवार आयोजित विशेष समारोहमा समाजका उपाध्यक्ष दीपक श्रेष्ठले यो वर्ष नातिकाजी स्रष्टा सम्मान तथा पुरस्कार-२०८० द्वारा सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरुको नाम घोषणा गरेका हुन् ।
यो वर्ष ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान’ बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल, गीत रचनातर्फ सुनिल थापा, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बु, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापा छन् ।
त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’ बाट पुरस्कृत हुनेहरुमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटी छन् । त्यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशि विक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्र छन् । ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने छ ।
‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ बाट पत्रकारद्वय शान्तिप्रिय तथा कृष्ण भट्टराई पुरस्कृत हुँदैछन् ।
काठमाडौं - साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । स्रष्टाहरुलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसंग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।
यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरु शैलुङ जाँदै हुनुहुन्छ । कविता यात्रामा सहभागी सर्जकहरुमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा। डा। गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाश ढुंगेल, प्रधुम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहनु भएको
छ ।
यसैगरी चर्चित गायकहरु नविन पौडेल, नरहरी प्रेमी, रितु कंडेल, गंगा भूर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मीहरु पुष्पा थपलिया, हेम थपलियालगायत हुनुहुन्छ । कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरुको सहभागीता रहनेछ ।
शैलुङ गाउँपालिका–८, भैंसे स्थानीय आयोजक रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त हुनुहुन्छ । कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा स्रष्टा घरको शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । २०४२ सालमा पहिलो पटक साहित्यिक पत्रकार संघले दोलखा जिरीमा कविता यात्राको आयोजना गरेको थियो ।
शैलुङ परिचय: शैलुङ ३४,०० मिटर उचाईमा अवस्थित महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च पर्वत हो । शैलुङलाई पहाडहरूको रानी पहाड पनि भनिन्छ । शैलुङ क्षेत्रमा १०८ प्रकारका जडिबुटीहरू पाइन्छ । हिउँदमा प्रायः शैलुङको उच्चभाग हिउँले ढाकिएको हुन्छ । शैलुङबाट गौरीशङ्कर हिमाल, गणेश हिमाल, जुगल हिमालका साथै अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखलाहरू र महाभारत पर्वतका माथिल्लो क्षेत्रका पहाड र पर्वतहरूको चित्ताकर्षक दृश्य देखिन्छ।
प्राकृतिक सौन्दर्यसँगै शैलुङ हिन्दु र बोद्ध, बोन धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल पनि हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा जात्रा (मेला) लाग्ने गर्दछ । शैलुङडाँडाको एउटा ओढारमा शैलुङेश्वर महादेव विराजमान छन् । शैलुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास समेत रहेको छ ।
शैलुङ सम्बन्धि स्थानीयहरू माझ विभिन्न किवदन्तीहरू प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई ुसाङ्गेलुङु भनिन्थ्यो । पछि अपभ्रंश हुँदै शैलुङ रहन गयो । तामाङ भाषाको शब्द ‘सयलुङ’को नेपाली अर्थ हुन्छ ( सय थुम्का । पछि ुसयलुङुलाई नै शैलुङ भनिन थालेको स्थानीय बुद्धिजीवीहरूको तर्क छ । नेपाल सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको स्थान मध्यको शैलुङ एक हो।
साहित्यिक पत्रकार संघको परिचय: नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील रही आएको साहित्यिक पत्रकार संघको स्थापना २०२९ सालमा भएको हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा यसले आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरु सम्पन्न गर्दै आइरहेको छ । यसले राष्ट्रको साहित्यिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्ने काममा अग्रसर हुँदै आएको छ ।
साहित्यिक पत्रकार संघले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ । यस्तै कवितायात्रा, साहित्यिक बनभोज, आत्मवाचन कार्यक्रम, सम्मान अभिनन्दनलगायतका कार्यक्रमहरुसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता, सापस साहित्यिक पत्रकारिता पुरस्कार, मुस्याचु पुरस्कार, इतिहास, संस्कृति अन्वेषण भूवन पुरस्कार, हरिहर शास्त्री(सावित्रीदेवी साहित्य पुरस्कारलगायतका पुरस्कार आदि प्रदान गर्दै आएको छ ।
यसले वि.सं. २०४६ देखि २०६४ सालसम्म गाइजात्रे कार्यक्रमको आयोजना, स्रष्टाहरुको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै आएको छ । यस्तै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिनलगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन पनि प्रकाशन गर्दै आइरहेको छ ।
काठमाडौं- नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ ।
अफ्ठयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमा गीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँकन , विजय राजभुर्तेलको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिको छ ।
‘बहकिदै छु म ’गीतको भिडियोमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । बाल कलाकारको भुमीकामा सानु मर्हजन र आरम्भ रिजालले साथ दिएकी छन । भिडियोको लोकेशन र खिचाई निकै आकर्षक छ । समिर राईको गीतको भिडियो निमार्णमा परिकल्पना तथा भिडियो व्यावस्थापन रहेको छ ।
काठमाडौँ, मङ्सिर २९ गते । एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स–२०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट नेपाल आइपुग्नुभएको छ । नेपाल आइपुग्नुभएको दीपिकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उहाँलाई सचेतनाका निर्देशक सरोज ओझाले नेपालमा स्वागत गर्नुभयो । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै नेपालको नाम विश्वसामु चर्चामा ल्याउन सफल भएकोमा धन्यवाद दिनुभयो ।
सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महसुस भएको दीपिकाले बताउनुभयो । उहाँले प्लस साइज मोडलका रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाले दिएको स्थानको सम्मान गर्न चाहेको उल्लेखसमेत गर्नुभयो ।
मिस युनिभर्स–२०२३ मा सहभागितासँगै दीपिकाले प्लस साइज मोडलका रूपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुल्नुभएको छ । सिएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलका रूपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार सम्प्रेषण गरेका थिए । २३ वर्षीय दीपिकाले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आउनुभएको छ ।
एसियन पेन्टस् ‘मिस युनिभर्स नेपाल–२०२३’ को विजेता बन्दै उहाँले मिस युनिभर्स–२०२३ मा सहभागिता जनाउनुभएको थियो । मिस युनिभर्स–२०२३ को उपाधि निकारागुआकी सेनिस पालासियोसले जित्नुभएको छ । प्रतियोगितामा थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्र्ट रनरअप र अस्ट्रेलियाकी मोराया विल्सन सेकेन्ड रनरअप हुनुभएको थियो । उहाँलाई हौसला प्रदान गर्न मिस युनिभर्स नेपालका राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ एल सालभाडोर पुग्नुभएको थियो । जेन दीपिकाले नेपालको प्रतिनिधित्व गर्दै नेपालको नाम राखेकामा गर्व लागेको श्रेष्ठ बताउनुहुन्छ । “यस वर्ष शीर्ष २० अर्थात् सेमिफाइनलसम्म पुग्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छौँ र हाम्रो लक्ष्य आगामी वर्षमा नेपालका लागि मिस युनिभर्स जित्नु रहेको छ,” उहाँले भन्नुभयो ।
मिस युनिभर्स नेपाल २०२३ दीपिका मिस युनिभर्समा शिर्ष २० मा अटाउन सफल हुनुलाई नेपालकै महत्वपूर्ण उपलब्धीका रुपमा आपूmले हेरेको ब्युटि पेजेण्ट आयोजक ड्रि«म सर्च एजेन्सीका संचालक कमल निकोन क्षेत्री बताउनुहुन्छ ।
काठमाण्डौ - निर्देशक राजु गिरीले आफ्नोे लेखन तथा निर्देशनमा चलचित्र ‘ईश्वर’ को निर्माणको घोषणा गरेका छन् । लक्ष्मी कुँवर थापाको प्रस्तुती रहने उक्त चलचित्र दिव्या कंगना फिल्मसको ब्यानरमा बन्न लागेको हो । चलचित्रमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ।
हरि बहादुर थापा र शंकर गिरी निर्माता रहने उक्त चलचित्रमा राजेन्द्र बजगाईँ र वीपी वाग्लेको संगीत रहने छ भने देव महर्जनको द्धन्द्ध निर्देशन रहनेछ । चलचित्रका लागि कलाकारहरू केही दिनमा फाइनल गरिने निर्देशक गिरीले बताए ।
छायांकन भने माघको २८ गतेबाट मात्रै सुरु हुने उनले जानकारी दिए । गिरीको निर्देशन रहेको चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आएपछि मात्रै उनले नयाँ चलचित्रको छायांकन गर्ने तयारी गरेका हुन् । निर्देशक गिरीको निर्देशनमा बनेको अर्को चलचित्र ‘नम्बरी सुन’ माघको १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
ठमेल । मौलिक लोकदोहोरी क्षेत्र र लोकसंगीतको जर्गेना गर्दै छोटो समयमै सबैको मन जित्न सफल टप राजधानी रोधी क्लब प्रालिले आफ्नो स्थापनाको दोस्रो बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कल्बले बिबिध सांगीतिक कार्यक्रम सहित आफ्नो बार्षिकोत्सब मनाउँदै छ ।
काठमाडौंको मुटु मानिने पर्यटकीय गन्तव्य ठमेल स्थित टप राजधानी रोधी क्लबले आज मंसिर २५ गते देखी २७ सम्म साझँ ७ बजे देखी बिहान ३ बजे सम्म तीन दिन वार्षिकोत्सव २०८० मनाउन लागेको हो ।
बार्षिकोत्सबमा चर्चित राष्ट्रिय स्तरका कलाकारहरूसंगै हास्यकलाकार ,मोडल तथा नृत्याङगनाहरूको बिशेश प्रस्तुति रहने कल्बका सञ्चालक बहुचर्चित गायक प्रकाश कटुवालले जानकारी दिनुभयो ।

नेपाली गीत संगीतका माध्यमबाट दर्शकहरुलाई मनोरञ्जन दिदैं विभिन्न स्वादका परिकारहरु पस्किनेछ । पारिवारिक, सुरक्षित र मनोरञ्जनात्मक वातावरणमा ग्राहकहरुका बार्षिकोत्सब बिशेश छुटकोसमेत व्यवस्था रहेको समेत कटुवालले बताए ।
काठमाण्डौ - विगत १५ वर्ष भन्दा अघिदेखि नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्डको १५ औं संस्करणका लागि चलचित्र दर्ता आब्हान गरिएको छ । ‘हाम्रै कला हाम्रै संस्कृति हाम्रै सिनेमा, सभ्य भव्य सुसंस्कृत चलचित्रको चाहना’ भन्ने मूल मन्त्रमा आधारित रहेर आयोजना गरिदै आएको डि सिने अवार्ड नेपालमा आयोजना भइरहेको फिल्मी अवार्ड मध्ये सबैभन्दा धेरै फरक र नियमित रुपमा आयोजना हुँदै आएको ऐतिहासिक अवार्ड हो । २०७९ सालमा रिलिज भएका चलचित्रहरु १५ औं संस्करणमा भाग लिन पाउने छन् । आगमी १५ पुष २०८० सम्म चलचित्रको दर्ता गर्न पाइने उल्लेख गरिएको छ ।
डिजिटल चलचित्रका माध्यमबाट निर्माण गरिएका चलचित्र, चलचित्रकर्मी, स्रष्टा, सर्जक, प्राविधिक सम्पूर्णलाई प्रोत्साहित गरी गुणस्तरयूक्त चलचित्र निर्माण हेतु यसरी अवार्ड आयोजना हुँदै आइरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताएका छन् । मुलतः नेपाली चलचित्र उद्योगको अवार्ड आयोजना प्रारम्भ गरी प्राविधिक माध्यमले चलचित्रको गुणस्तर बृद्धि तथा सिर्जनकर्मी पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान–पुरस्कृत गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा अवार्ड आयोजना हुँदै आइरहेको र १५ औं संस्करण पनि यसैको सिलसिला भएको अध्यक्ष शान्तिप्रियले बताए ।
अवार्ड आगामी माघमा आयोजना गरिने आयोजक संस्था छायाँछवि क्रियशनले बताएको छ ।
काठमाण्डौ – चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ ।
कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर “खबपु”, गोपाल ढकाल“छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पुर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन भने सम्पादन माधब खरेल र अच्यूत बजगाईले गरेका छन् भने, कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन । मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गरेका हुन् । त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ । चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहेका छन् ।
काठमाण्डौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने बताएकोे छ ।
एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन् ।
काठमाडौं । प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक, बलिवुड आर्टिष्ट विनीत सिंहको लाइभ शो सम्पन्न भएको छ । उक्त शो आईतबार दरबारमार्ग स्थित प्लाटिनममा भएको हो । शनिवार राती पौने १२ बजे स्टेज उक्लेका उनले डेढ दर्जन गीत गायका थिए । शो सकिदा आईतबार करिब २ बजेको थियो । उनले हुक्का बार लगायतका हिन्दीसहित नेपाली गीत समेत गाएका थिए । विनित सिंहको लाइभ शोमा प्लाटिनियम खचाखच भरिएको थियो । शो अवधिभर दर्शकदिर्घा उनको सुरिलो स्वरमा झुमेका देखिन्थे । त्यसो त बेला बेलामा प्रशंसकहरुले हुटिङ् गरिरहेको देखिन्थ्यो ।
विनित सिंह जस्ता चर्चित भारतिय कलाकारलाई नेपाल ल्याउन पाउँदा आफुलाई निकै खुशी मिलेको आयोजक कम्पनी एल एण्ड एन इभेन्टसका प्रमुख नितिन कायस्थले राज्यदैनिकलाई बताए । ‘कार्यक्रम सफल पार्न हाम्रो व्यवस्थापन टोली, मोडेलहरू, समर्थकहरू, प्रायोजकहरू, तपाईं लगायतका मिडिया, समाचार र टेलिभिजन साझेदारहरूका साथसाथै सबै दर्शकहरू र क्लब प्लेटिनमप्रति आभारी गर्न चाहन्छु’ कायस्थले भने ।
गायक सिंहले शनिवार पशुपतिनाथको दर्शन समेत गरेका छन् ।