economic
||Power News Asia||

आजको समाचार

कोरोना बीमा गर्नेको सङ्ख्या सात लाख नाघ्यो

आर्थिक


काठमाडौँ — भाद्र ६, २०७७ । 

पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको छ । बीमा समितिका अनुसार कोरोना बीमाबाट ४२ करोड प्रिमियम सङ्कलन भएको छ भने दाबीका लागि आउनेको सङ्ख्या पनि २६० भन्दा माथि लागेको छ ।

सुरुवातमा खासै आकर्षण नदेखिएको कारोना बीमा पछिल्लो समय लोकप्रिय बनिरहेको भन्दै समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भन्नुभयो, “यसले सर्वसाधारणमा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि गएको छ । ” वैशाख ७ देखि सुरु भएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा खासै उचाइ लिन नसके पनि चार महिनाको अवधिमा सङ्ख्या उल्लेख्य बढेको हो । त्यसो त दुई÷चार वर्षको अवधिमा बीमा व्यवसायले नै फड्को मारेको छ । समितिको असार महिनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारसहित २७ प्रतिशत जनतामा बीमा पुगेको छ । कोरोना बीमाले गाउँगाउँसम्म एउटा लहर पनि ल्याएको समितिले जनाएको छ ।

आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ पनि कोरोना बीमा कार्यक्रमले मान्छेको जीवनमा बीमा पनि अभिन्न अङ्ग हो भन्ने कुरा बुझाउन मद्दत गरेको बताउनुहुन्छ । कोरोना महामारीले बीमाको महवलाई बुझाएको भन्दै उहाँले सर्वसाधारणको आकर्षण पनि उल्लेख्य बढेको बताउनुभयो ।
बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीले दाबी भुक्तानी गर्ने उहाँले बताउनुभयो ।

बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको भन्दै समितिका कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । ”

कति लाग्छ कोरोना बीमा गर्न

कोरोना बीमा कार्यविधि अनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क तोकिएको छ । एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको छ । यदि परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपियाँका लागि छ सय र ५० हजार रुपियाँको लागि तीन सय रुपियाँ शुल्क लाग्छ । बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारतलगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था छ ।

कोरोना बीमा गरेको १५ दिनपश्चात् कोरोना देखिएमा मात्रै दाबी भुक्तानी गर्न सकिने समितिले जनाएको छ । दाबी गरेको सात दिनभित्र बीमा कम्पनीले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । दाबी भुक्तानीका लागि पीसीआर रिपोर्ट पोजेटिभ आएको र बीमा गर्दाको कागजात सम्बन्धित कम्पनीमा पेस गर्नुपर्ने समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ ।

साउदीमा ६१८ जना नेपालीलाई स्वदेश फर्कन अनुमति

आर्थिक


काठमाडौँ — भाद्र ६, २०७७ । 

साउदी स्थित नेपाली राजदूतावासमा बहिर्गमन भिसाको लागि आवेदन दिएका मध्ये ६१८ जना नेपालीको नाम सार्वजनिक भएको छ । दूतावासले एक सूचना जारी गर्दै यस अघि ४९८ जनाको नाम सार्वजनिक गरेकोमा हिजो थप १२० जनाको सार्वजनिक गरेको हो ।

साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र अकामा नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन नपाएका नेपालीलाई नेपाल फर्कन बाटो खुलेको छ । समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा सहज र छिटो बनाउनको लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको थियो । साथै उक्त अनुरोध र पहल पछि बहिर्गमन भिसा प्राप्त भएको दूतावासले बताएको छ ।

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल फर्किन सक्ने खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

दैनिक पाँचसय यात्रु नबढ्ने गरी भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान

आर्थिक


काठमाडौँ — भाद्र ६, २०७७ । 

सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले भदौ १६ गतेदेखि शर्तसहित निश्चित आधारमा नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडाले दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको बताउनुभयो । त्यस प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जिम्मेबारी दिइएको छ । मन्त्रालयले निश्चित आधारमा उडान तालिका तयार गर्नेछ ।

प्रवक्ता डा खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गरिनेछ ।

बैठकले पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन सकिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने समाचार आजको गोरखापत्रले छापेको छ ।
 

बैंकका एउटा शाखा मात्रै खुल्ने

आर्थिक


काठमाडौँ — भाद्र ६, २०७७ । 

काठमाडौं उपत्यकामा एउटा बैंकले हरेक जिल्लामा एउटामात्रै शाखा खोल्ने भएका छन् । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएपछि आंशिक शाखा सञ्चालन गर्ने योजना अघिसारेका बैंकले बिहीबार प्रहरी अवरोधपछि अघिकांश शाखा बन्द गरेका थिए ।

बिहीबार बिहानै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे पक्राउ परेका थिए । त्यसपछि सबैजसो बैंकका कर्मचारीलाई प्रहरीले या त फर्काइदिने वा पक्राउ गर्न थालेपछि बैंकरले स्थानीय कर्मचारीबाट सञ्चालन हुने केही शाखा छाडेर सबै बैंक बन्द गर्ने निर्णय गरेका थिए ।

‘धेरै कर्मचारीलाई प्रहरीले घरजान पनि नदिएपछि हामीले समन्वय गरेर दिउँसोमात्रै घर फर्किने वातावरण बन्यो’, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने । यससँगै बिहीबार दिउँसो बैंकर्स संघले प्रहरी र गृह मन्त्रालयसँग समन्वय गरेको बताए । गृह मन्त्रालयले पनि बिहीबार दिउँसो बैंकका कर्मचारीलाई आवतजावत गर्न सहजीकरण गर्न निर्देशन दिएको छ ।

त्यसपछि बैंकर हरेक जिल्लामा एउटा शाखा सञ्चालन गर्ने सहमतिमा पुगेका हुन् । ‘अब बैंकको प्रधानकार्यालय र तीन जिल्लामा एकएक वटा शाखा कार्यालय सञ्चालन गर्ने र न्यूनतम कर्मचारीबाट काम गर्ने निर्णय भएको छ,’ दाहालले भने । अहिले तीनवटा कम्पनीले प्राथमिक सेयर निष्काशन गरिरहेकाले पनि बैंकमा ग्राहकको चाप बढेको अध्यक्ष दाहाल बताउँछन् । ‘बिहीबार हामीले काठमाडौंमा दुईवटा शाखा खोलेका थियौं ।

त्यसमा ११ बजेसम्ममा २०–२५ वटा कारोबार भइसकेको थियौं’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने निषेधाज्ञाको बहानामा विक्री खुला भइसकेका प्राथमिक निष्काशनलाई स्थगित गर्ने वा कानुनविरुद्ध समय थप गर्न नसकिने बताए ।

अहिले प्राथमिक निष्काशन चार दिनमका लागि विक्री खुल्ला हुने व्यवस्था छ । तर त्यस अवधिमा आह्वान रकम विक्री नभएको अवस्थामा मात्रै समय थप गर्न सकिने व्यवस्था छ । धेरै लगानीकर्ता अनलाइन कारोबारमा अभ्यस्त भइसकेकाले जारी निषेधाज्ञाले बहुसंख्यक लगानीकर्तालाई असर नपर्ने ढुंगानाले बताएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

यातायातको लगानी जोखिममा

आर्थिक


काठमाडौँ — भाद्र ६, २०७७ । 

कोरोना भाइरसका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको छ। सार्वजनिक यातायात क्षेत्र चार महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प छ। साउन ७ देखि बन्दाबन्दीको अवस्था अन्त्य भए पनि केही सीमित र छोटो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका थिए। लामो दूरीका सवारीसाधन चैतदेखि सञ्चालनमा छैनन्। पछिल्लो समय अधिकांश स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन्। यसपछि सार्वजनिक यातायात पूरै ठप्प छ।

सडकमा गुड्ने अधिकांश सवारीसाधन बैंकबाट चर्को ब्याजमा ऋण लिएर सञ्चालनमा छन्। व्यवसायीका अनुसार बस खरिदमा करिब ३० प्रतिशत व्यवसायीको लगानी र ७० प्रतिशत बैंकको ऋणमार्फत लगानी छ। यसरी यो व्यवसायमा अधिकांश लगानी बैंक क्षेत्रकै छ। यातायात सुरु नहुँदा बैंकको कर्जा, बिमा भुक्तानी, कर्मचारीलाई तलब दिने समस्या यो क्षेत्रमा पनि प्रमुख समस्या देखिएको छ। यसबाहेक लामो समयदेखि थन्किएका कारण पार्टपुर्जामा खिया लागेर मर्मत सम्भार गरी सञ्चालन गर्दा अतिरिक्त खर्च थप समस्याका रुपमा अघि तेर्सिएको छ।
बाबा गोकर्णेश्वर यातायात प्रालिका अध्यक्ष भीम बस्नेतका अनुसार बन्दाबन्दीका कारण यातायात व्यवसाय जर्जर अवस्थामा पुगेको छ। यातायात क्षेत्र ठप्पका कारण बैंकको किस्ता, मजदुरको तलब तथा दैनिक जनजीवन व्यवस्थापन गर्न समस्या भएको छ। ‘गाडी नचलेका कारण यातायात व्यवसायीको आम्दानीको स्रोत गुमेको छ, स्रोत गुमेपछि बैंकको किस्ता, कर्मचारीको तलब भत्ता, गाडीको नियमित मर्मत सम्भार, बिमालगायत काम प्रभावित भएको छ’, बस्नेतले भने।

पछिल्लो समयमा फाट्टफुट्ट सार्वजनिक यातायात सञ्चालनमा आए पनि यात्रुको सचेतनाका कारण सञ्चालन खर्च मात्रै बढेको उनीहरूको भनाइ छ। यसबाट दैनिक खटिने कर्मचारीको तलब भत्ता पनि निकाल्न कठिन छ। ‘यस्तो अवस्थामा किस्ता भुत्तानीका लागि बैंकबाट यसरी नै दबाब आइरहे गाडीको साँचो बुझाउनुको विकल्प नभएको बस्नेत बताउँछन्। बन्दाबन्दीका कारण बस सञ्चालन नहुँदा व्यावसायिक क्षति व्यहोर्नुपरेको मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले बताए। पछिल्लो समयमा मयुरले ५७ वटा नयाँ बस सडकमा हाल्ने योजना बनाएको थियो। बन्दाबन्दीले मयुरका पुरानो बस निस्कन नसकेको अवस्थामा नयाँ हाल्ने योजना गर्भमै तुहिएको छ।

बन्दाबन्दीमा सार्वजनिक यातायात राज्यको उपेक्षामा परेको गोल्डेन एन्जल प्रालिका सञ्चालक प्रकाश चौलागाई बताउँछन्। ‘सार्वजनिक सेवाका लागि खरिद गरिएका करोडौ मूल्यका गाडी ग्यारेजमा थन्किएका छन्’, चौलागाईले भने, ‘शक्ति, पहुँच र पैसाको भरमा निजी नम्बर प्लेटका गाडीले चार दोब्बर भाडा असुल गरी निर्वाध रुपमा यात्रु बोकेका छन्।’ निजी गाडीले आम्दानी गरिरहँदा यातायात व्यवसायी र आवद्ध मजदुर बेरोजगार बस्नु परेको छ।

मजदुरको विचल्ली हुन नदिन अघिल्लो चार महिनासम्म व्यक्तिगत खर्च कटाएर ५० प्रतिशतसम्म तलब दिएको उनले बताए। राज्यबाट राहत नपाउँदा त्यो तलब दिन पनि मुस्किल भएको उनको भनाइ छ। चौलागाईका अनुसार सामाजिक दूरी र आधा सिट क्षमतामा सार्वजनिक यातायात सञ्चालन भएको भए मजदुर र व्यवसायीको बिचल्ली हुँदैन्थ्यो।
सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलले निजी गाडीलाई यात्रु बोक्न दिन नहुने बताए। ‘यात्रु बोक्ने हो भने त्यस्ता गाडीले कालो नम्बर प्लेट लिनैपर्छ’, पौडेलले भने, ‘निजी नम्बर प्लेटका गाडीले पनि समाजिक दूरी कायम नगरी यात्रु बोकेर शुल्क उठाएको छ भने सरकारले कारबाही गर्नुपर्छ।’

मुलुकभर यात्रु बोक्ने बस, मिनीबस, माइक्रो, हायस, टेम्पो, सुमोलगायत चार लाखको हाराहारीमा सार्वजनिक यातायात सञ्चालनमा रहेको सार्वजनिक यातायात विज्ञ प्रेमबहादुर थापाले जानकारी दिए। यो क्षेत्रमा करिब १४ खर्ब रुपैयाँ बराबरको लगानी छ। यसमध्ये करिब ७० प्रतिशत लगानी जोखिममा रहेको यातायात व्यवसायीको दाबी छ। कम्तीमा ७ लाख मजदूर ९एक गुरुजी र एक खलासी गरी० वेरोजगार भएका छन्। एउटादेखि दर्जनौंको संख्यामा गाडी खरिद गरि सञ्चालन गर्ने यो व्यवसायमा आवद्ध छन्। काठमाडौं उपत्यकामा सञ्चालन हुने एउटा गाडीले सामान्य दिनमा दैनिक औसत ४ देखि १० हजार रुपैयाँ र मध्यम दूरीका गाडीले ३ देखि ४ हजार र लामो दूरीका गाडीले १० देखि २० हजार रुपैयाँसम्म दैनिक कमाइ गथ्र्यो। दैनिक करिब १० लाखले सार्वजनिक यातायात सेवा उपयोग गर्ने व्यवसायीको भनाइ रहेको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

मेलम्चीमा गेट फ्रेम परिवर्तन गर्न अध्ययन

आर्थिक


काठमाडौँ — भाद्र ४, २०७७।  

मेलम्ची खानेपानी आयोजनाको सुरुङ प्रवेशद्वार (गेट)को फ्रेम परिवर्तन गर्न भारतीय कम्पनीका इन्जिनियरहरूले स्थलगत अध्ययन गरेका छन् ।

पीआईएल कम्पनी अमहदाबादका दुई समूहले मेलम्ची प्रवेशद्वार भत्किएको सुरुङ स्थल अध्ययन गरी पुनः जडान गर्नुपर्ने बताएका छन् । कम्पनीले गेटको फ्रेम अर्को बनाउने भएको छ ।

खानेपानी मन्त्रालयका अनुसार पीआईएल कम्पनीले मेलम्ची अध्ययन गरेपछि गेटको फ्रेम परिवर्तन गर्न सहमत भएको हो । चारवटा गेटका फ्रेम परिवर्तन गर्नुपर्ने भएको छ । ती फ्रेम कम्पनीले भारतमा निर्माण गरिरहेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले
जानकारी दिए ।

उनका अनुसार कम्पनीका सिनियर डिजाइनरहरू आएर मेलम्ची भिजिट गरे, एउटा समूह फर्किसक्यो, भित्रबाट खुल्ने गरी डिजाइन भएको गेट बाहिरबाट खुल्ने गरी जडान गरेपछि दुर्घटना भयो, अब अर्को डिजाइनसहितका फ्रेम आउने छन् ।

उनका अनुसार फ्रेम छिट्टै ल्याउने गरी काम भएको छ । हाल जडान भएका फ्रेम यथावत नै राखी त्योभन्दा अलिकति भित्री भागमा नयाँ फ्रेम जडान गरिने छ । सुन्दरीजलको गेटको फ्रेम पनिपरिवर्तन गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।

कर्मचारी बाटैमा रोकिएपछि उपत्यकाका बैंक खुलेनन्

आर्थिक


काठमाडौँ — भाद्र ४, २०७७।  

आज काठमाडौं उपत्यकाका बैंकका सबै शाखा बन्द भएका छन् । कार्यालय हिँडेका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि बैंक खोल्न नसकिएको बैंकर्स संघले जनाएको छ । यही कारण बिहीबार उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय संघले गरेको छ ।

‘शाखा बन्द गर्नेभन्दा पनि कर्मचारी नै कार्यालय पुग्न सकेनन,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘यही कारण शाखा खोल्न सकिएन ।’

यो सूचना सबै सदस्य बैंकहरूमा प्रवाह गरिसकिएको उनले बताए । ‘जोखिम मोलेर भए पनि सेवा दिन्छु भनी कार्यालय हिँडेका कर्मचारी बीचैमा रोकिएपछि बैकिङ सेवा दिन सकिने अवस्था भएन,’ उनले भने । कर्मचारीहरू कसरी कार्यालय पुग्ने भन्नेबारे स्पष्ट व्यवस्था नहुँदासम्मा कार्यालय सञ्चालन गर्न नसकिने उनले बताए ।

प्रहरीले बैंकका कर्मचारी सडकमै रोकेका सम्बन्धमा स्थानीय प्रशासनसँग छलफल भइसकेको राष्ट्र बैंकले जनाएको छ । ‘गृह मन्त्रालयबाट उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयलाई पुनः निर्देशन गइसकेको छ,’ राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले भने, ‘भोलिदेखि कर्मचारीहरूलाई कुनै रोकतोक हुँदैन ।’ बैंकलाई सम्भव भएसम्म न्यून कर्मचारीबाट थोरै शाखा मात्र खोल्न निर्देशन भइसकेकाले भिडभाड नहुने उनले दाबी गरे । ‘बैंकले पनि सबै शाखा खोल्दैनन्, आलोपालोअनुसार दैनिक एक/दुई शाखा मात्र खोल्ने हो,’ उनले भने, ‘ती शाखा खोल्न जाने कर्मचारीलाई प्रहरीले रोक्न हुँदैन । यसबारे गृह मन्त्रालयसँग कुरा भइसकेको छ ।’

(कान्तिपुर दैनिक)

दुई मन्त्रीबिच चर्काे विवाद, पर्यटनमन्त्रीलाई जानकारी नै नदिई उद्वार उडानमा रोक

आर्थिक


काठमाडौँ — भाद्र ४, २०७७।  

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले अनुमति नदिँदा मंगलबार दुई सय ६६ नेपाली दुबई विमानस्थलबाट उडन पाएनन् ।

घर आउने सम्पूर्ण तयारी पूरा गरी विमानस्थल पुगेका उनीहरू निराश भएर त्यहाँबाट फर्कनुप(यो । जहाज रित्तै फर्कियो । यस विषयलाई लिएर सरकारका दुई मन्त्रीबीच विवाद भयो ।

यसअघि सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई घर ल्याउने निर्णय गरेको थियो । तर सोमबार साँझ सिसिएमसीले कोरोनाकै कारण देखाएर एकाएक विदेशबाट नेपाली नल्याउन पत्राचार ग(यो ।

घर फर्कन दुबई विमानस्थलमा तयारी अवस्थामा बसेका दुई सय ६६ नेपाली सिसिएमसीको यस्तो पत्राचारका कारण उड्न पाएनन् । सिसिएमसीको निर्णयको पर्यटनमन्त्री योगेश भट्टराईले विरोध गरेपछि उनी र रक्षामन्त्री पोखरेलबीच विवाद भएको छ ।

पोखरेलको संयोजकत्वमा गठित ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले उद्धार उडान गर्न रोक लगाएको हो । स्रोतका अनुसार संयोजक पोखरेलले सरोकारवाला अन्य पक्षसँग समन्वय नगरी विदेशबाट उद्धार उडान गर्न रोक लगाएको आजको नागरिक दैनिकमा खवर छ ।

ग्लोबलको सीईओमा वज्राचार्य नियुक्त

आर्थिक


काठमाडौं — भाद्र १, २०७७। 

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज वज्राचार्य नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले शुक्रबार वज्राचार्यलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । वज्रचार्य यसअघि एक कार्यकाल ग्लोबलकै सीईओका रूपमा कार्यरत थिए । राष्ट्र बैंकबाट बैंकिङ करिअर सुरु गरेका वज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरूको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव छ ।

वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट वज्राचार्य यसअघि एनसीसी र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन् ।

(कान्तिपुर दैनिक)

एनआईसी बैंकद्वारा कार्डमा आधारित अनलाइन गेटवे सेवा सुरु

आर्थिक


काठमाडौं — भाद्र १, २०७७। 

एनआईसी एसिया बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सेवा सुरु गरेको छ ।

बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्स आईएनसीडटको गेटवे प्रणाली नेपालमा भित्र्याएको छ ।

इच्छुक मर्चेन्टहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएका कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुरु गरिएको बैंकले जनाएको छ ।