health
||Power News Asia||

आजको समाचार

आयोडिनयुक्त नूनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पार्ने प्रभाव विषयक विचार गोष्ठी सम्पन्न

स्वास्थ्य


काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले आयोडिनयुक्त नूनको उपभोग, गुणस्तर र यसले मानव शरीरमा पार्ने प्रभाव विषयक विचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ । मंचले आयोडिन मन्थको अवसर पारेर फेव्रअरी १ मा उक्त अन्तर्कृया कार्यक्रम गरेको हो ।

राजधानी काठमाण्डौंमा विहिवार आयोजित सो गोष्ठीमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख लिला बिक्रम थापाले प्रमुख वक्ताका रुपमा बोल्नुहुँदै आयोडिन दैनिक सेवन गर्नुपर्ने अति सुक्ष्म पोषक तत्व भएकाले यसको उपभोग गर्न छोडन नहुने जानकारी दिनुभयो ।

५ दशक अघि नेपाल सरकारले क्याप्सुल र इन्जेक्सनबाट नागरिकलाई आयोडिन दिने गरेकोमा गलगाँड, वामपुडके, लुलो लङ्डो हुने आदी समस्या अपेक्षित रुपमा हल गर्न नसकिएकाले सन १९९८ देखी नुनमा आयोडिन मिसाएर वितरण गर्ने थालिएको र त्यसपस्चात ढिके नुनलाई विस्थापित गरि प्याकेट नुनमा मिसाएर नेपाल भर कर्पोरेशनमार्फत पुर्याउने योजना लिई काम गरेकामा गहन उपलब्धी प्राप्ती भएको जिकिर समेत उहाँले गर्नुभयो । पिसाब जाँचबाट आयोडिनको उपभोग बारे जानकारी प्राप्त गर्न सकिने जानकारी दिदै थापाले भन्नुभयो ’२०१६ मा स्कुल पढ्ने बालबालिका र १५ देखि ४९ वर्षका महिलामा आयोडिन परिक्षण गरेर हेर्दा बालबालिकामा ३०० म्यकसीमम प्वाइन्ट भन्दा १४ प्वाइन्ट बढी आएको देखिन्छ । पहिला ९० प्रतिशत मानिसले ढिके नुन प्रयोग गर्थे अहिले त्यो अवस्था छैन’ ।

उहाँले हामीले जति धेरै परिकार खान्छौँ त्यति नै नुन खाने हुँदा खानपिनमा ध्यान दिदा आयोडिनबाट कुनै खालको असर नगर्ने जनाउदै भन्नुभयो ‘हामीले जति धेरै परिकार खान्छौ त्यति नै धेरै नुन खान्छौँ । स्वास्थ्यको दृष्टिकोणले हेर्दा नुनको कमीले विभिन्न स्वास्थ्यमा समस्या आएको छ । नुन बढी हुँदा समस्या आएको छैन । तर नुन धेरै हुँदा के हुन्छ भन्ने पनि सोच्न पर्ने अवस्था आएको छ । १ चम्चा आयोडिन भए हुन्छ । नुन र आयोडिनमा धेरै फरक रहेको छ‘। नुन बढी खायो भने थाइराइड हुन सक्छ भन्ने बिषय पुष्टी नभएको बिषय रहेको जिकिर समेत उहाँले गर्नुभयो । हाल बिक्री भएको नुनमा आवश्यकताभन्दा बढी आयोडिन भएको पुष्टि गर्ने कुनै प्रमाण अहिलेसम्म नभेटिएको उहाँको भनाइ थियो ।

पोषण शाखा प्रमुख थापाले नुनमा आयोडिन कमी भएर हुने असरको तुलनामा आयोडिन अधिक हुँदा हुने असर असाध्यै नगन्य हुने भन्दै उहाँले भन्नुभयो, “नुनमा आयोडिन कम हुँदा डरलाग्दो अवस्था भएको त हामीले केही दशकअगाडि भोगेर आएका हौँ तर नुनमा अधिक आयोडिन हुँदा भएका असर त कहीँ कतै पुष्टि भएको देखिँदैन ।” बरु पछिल्लो पटक हाम्रो खाना खाने बानीमा परिवर्तन हुँदा नुनको अधिक उपभोगसँगै आयोडिनको मात्रा पनि बढी भएर त्यसले अर्को असर गरेको हुन सक्छ त्यसैले अब हाम्रो खाना खाने बानीमा सुधार गर्नुपर्ने सुझाव उहाँको थियो ।

‘नेपाल समुद्रदेखि धेरै टाढाको देश भएकाले नेपाली माटोमा आयोडिनको मात्रा कम छ, हाम्रो शरीरलाई आयोडिन आवश्यक पर्छ, त्यसैले नेपालले हाल उत्पादन गरेर बिक्री गर्ने नुनमा आयोडिनको मात्रा ठिक छ’ उहाँले थप स्पष्ट पार्दै भन्नुभयो । नेपालमा प्रयोग गर्ने आयोडिनयुक्त नुनको बाहिर हल्ला भए जस्तो अधिक आयोडिन मात्रा भएर उच्च रक्तचाप र थाइराइड बढेको भन्नेमा सत्यता नभएको बताउनुभयो ।

साल्ट ट्रेडिङले कारोबार गर्ने नुनमा सरकारले तोकेअनुरुप सहि मात्रामा आयोडिन मिसाईएको बताउनुभएका उहाँले आयोडिनयुक्त नुनको सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि काम गर्दै आएको र आयोडिन मन्थ पनि सरकारकै कार्यक्रम रहेकोले यस अवधिमा जनचेतना जगाउन राष्ट्रव्यापी रुपमा जनचेतनामुलक कार्यक्रमहरु गर्ने गरिएको जनाउनुभयो । आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन आयोडिन मन्थ कार्यक्रम राष्ट्रव्यापी रुपमा गरिदै आएको चर्चा गर्नुभएका थापाले बजारमा आयोडिनयुक्त नुनका संबन्धमा अनर्गल कुप्रचार भैरहेको प्रति सरकारको गम्भिर ध्यानाकर्षण भएको र नूनमा सहि मात्रामा आयोडिन मिसाईएकोले कति मात्रा खाने भन्नेमा ख्याल राख्दै निर्धक्कले सेवन गर्न आम नागरिकलाई अपिल समेत गर्नुभयो ।

नेपालको हकमा नुनमा आयोडिनको अधिकतम मात्रा कति भन्नेबारे नतोकिएका कारण अधिक आयोडिन ठिक र बेठिक भन्ने विषयलाई स्पष्ट पार्नका लागि स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा स्तर निर्धारणको प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको बारेमा भ्रम छरेर ६० रुपैया पर्ने सिरे नुनलाई ३०० रुपैया किलो सम्ममा बेच्दै दाम कमाउन पल्केका कालाबजारियाले उपभोक्ता ठग्ने काम गरेको दाबी गर्नुभयो । आयोडिनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रभावकारी भूमिका खेल्दै आएको आफुले पाएको उल्लेख गर्नुहुँदै उहाँले केही कालाबजारियाका कारण उपभोक्ताहरुमा भ्रम पर्न गएको पनि उहाँले बताउनुभयो ।

साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले आयोडिनको कमीबाट हुने विकृतिलाई रोक्न कर्पोरेशनले सरकारको नीति निर्देशन अनुसार सरकारकै आयोडाईजेसन कार्यक्रम अन्तर्गत काम गर्दै आएको जनाउनुहुँदै भोलीका दिनमा पनि सरकारको विश्वासलाई डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोडिन ग्लोबल नेटवर्कका देशिय सल्लाहाकार मचाराजा महर्जनले सरकार मातहत वितरित नुनबाट नभई बजारमा बिक्री हुने तयारी खानाका कारण स्वास्थ्य समस्या निम्तिएको उल्लेख गर्नुभयो । पोषणविद् समेत रहनुभएका महर्जनले विश्वका विकसित देश अमेरिका र स्विट्जरल्यान्डले एक सय वर्षपहिला र नेपालले ५० वर्षदेखि आयोडिन मिसाएर बिक्री गर्न थालेको जानकारी दिनुभयो ।

युनिसेफका न्युट्रिसन अफिसर नविन पौडेलले नेपालमा पछिल्लो पटक नुनमा आयोडिन बढी भएर जनस्वास्थ्यमा असर गरेको भन्ने हल्ला बाहिर आएको तर यसमा सत्यता नभएको बताउनुभयो । नुनमा आयोडिन बढी भएर भन्दा नुनको बढी उपभोग गर्ने बानीले जनस्वास्थ्यमा असर परेकाले यस विषयमा सचेत गराउनुपर्ने उहाँको भनाइ छ । पौडेलले पोषक तत्व बारे जानकारी लिन सबैमा आग्रह गर्नुहुँदै चिकित्सकको सल्लाह लिन सुझाव समेत दिनुभयो ।

गोष्ठिमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग, काठमाडौं महानगरपालिका आदी कार्यालयका प्रतिनिधि समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि आयोडिन मन्थ सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन मन्थका रूपमा मनाइने प्रचलन अनुसार नेपालभर फेब्रुअरी १ तारिक वा बिहीबारदेखि आयोडिन मन्थका कार्यक्रम सुरु गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, साल्ट टे«डिङ कर्पोरेसन, उपभोक्ता अधिकारको क्षेत्रमा क्रियासिल संस्थाले देशव्यापी रूपमा आयोडिन नुनको प्रयोग र यसको महत्वबारेमा सचेतनाका कार्यक्रम सार्वजनिक गरेका छन् । डब्लुएचओको मापदण्ड अनुसार सन् १९९८ देखी सालदेखि नेपाल सरकारले आमनेपालीले उपभोग गर्ने नुनमा आयोडिन मिसाएर बिक्री गर्न थालेको हो । यो जिम्मा नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएको छ । विगत ६० वर्षदेखि सरकारले कर्पोरेसनमार्फत दुर्गम क्षेत्रमा ढुवानी अनुदानसमेत दिई बिक्री वितरण गर्दै आएको छ ।

आयोडिन सजिलैसँग उडेर जाने भएकाले नुन उत्पादन गर्दा आयोडिनको मात्रा ५० पिपिएम, प्याकिङ गर्दा, ढुवानी गर्दा, स्टोर गरेर खुद्रा व्यापारीसम्म पुग्दा ३० पिपिएम आयोडिन छ भने उपभोक्तासम्म पुग्दा १५ पिपिएम हुन्छ भनेर यस प्रकारको मापदण्ड बनाइएको हो ।

त्यसो त विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा १५ पिपिएम हुनुपर्ने मापदण्ड तोकेको छ । बढी हुनु र कम हुनु दुवै स्वास्थ्यका लागि हानिकारक भनिएको छ । नेपालको भौगोलिक अवस्था, प्याकेजिङ, ढुवानी गर्दा समयलगायतका विषयलाई ध्यानमा राखेर आयोडिन छिटै उडेर जाने सम्भावना भएकाले उत्पादनदेखि भान्सासम्मको छुट्टाछुट्टै मापदण्ड तोकिएको बताउने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आयोडिन नुनको मापदण्डमा सोडियम क्लोराइडको मात्रा ९६ प्रतिशत, पानी नघुल्ने प्रदार्थ एक प्रतिशत, सोडियम क्लोराइडबाहेक पानीमा घुलनशील पदार्थ तीन प्रतिशत हुनुपर्ने उल्लेख छ ।

नेपालीले शरीरलाई आवश्यकताभन्दा दोब्बर नुनको उपभोग गर्ने गरेको तथ्य बाहिर ल्याइएको छ । डब्लुएचओका अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम नुन आवश्यकता पर्ने भनेकोमा नेपालीले भने औसतमा ९.५ ग्राम उपभोग गर्ने गरेको पाइएको छ । नुनको बढी प्रयोग गर्नेबित्तिकै आयोडिनको मात्रा पनि बढ्ने र सोडियम क्लोराइडको मात्रा पनि बढी हुने भएकाले यसले स्वास्थ्यमा अर्को असर गर्ने हुँदा आयोडिन नुनको दिनहुँ तर थोरै प्रयोग गर्नु पर्छ ।






 

जाजरकोट र रूकुम पश्चिमका भूकम्पमा परेका घाइतेहरूले जिल्लाका अस्पताल भरियो 

स्वास्थ्य


काठमाण्डौ- जाजरकोट केन्द्रविन्दू भएर शुक्रबार राति गएको भुइँचालमो सयौं मानिस घाइते छन्। कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर गएको भुइँचालोमा जाजरकोट र रूकुम पश्चिमका नागरिक बढी प्रभावित भएका छन्।

केन्द्रविन्दू रहेको बारेकोटमा भने मानवीय क्षति नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष बिरबहादुर गिरीले जानकारी दिए। भौतिक संरचनाहरू भने पूर्ण रूपमा क्षति भएका छन्। प्रहरीसँगको विवरण अनुसार जाजरकोट र रूकुम पश्चिममा गरी १२८ जनाको मृत्यु भएको छ। त्यसमध्ये जाजरकोटका मात्र ९२ जना रहेका छन्।

घाइतेहरूले जिल्ला अस्पताल जाजरकोट खचाखच भरिएको छ। घाइतेहरूको उद्दार तथा उपचारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। भुकम्पमा परि गम्भीर घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि ठूला अस्पतालमा लैजाने काम भईरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिमप्रकाश ढकालले जानकारी दिए।

‘भूकम्पमा परी सामान्य घाइते भएकाहरूको स्थानीय अस्पताल तथा मेडिकल र अलि बढी चोट भएकाहरूलाई जिल्ला अस्पतालमा लगेर उपचार गर्ने काम भइरहेको छ,’ डिआईजी ढकालले भने, ‘सिकिस्त बिरामीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत र नेपालगञ्ज लगिएको छ।’ उनका अनुसार सुर्खेतमा रहेको प्रहरीको स्वास्थ्यकर्मी टोली र नेपालगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालबाट चिकित्सकको टोली जाजरकोटमा परिचालन गरिएको छ।

सुर्खेतबाट हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रविन केसीको नेतृत्वमा टोली जाजरकोट गएको छ। रूकुमको आठविसकोट नगरपालिकामा नेपाली सेनाको चिकित्सक टोली उपचारका लागि खटिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए। यस्तै जिल्ला अस्पताल जाजरकोटमा चिकित्सकहरूको अपरेशन टोली पुगेको उनले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको हेलिकप्टरले पहिलो उडानमार्फत तीन जनाघाइतेलाई सुर्खेत ल्याएको छ।

उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ। ‘नेपाली सेनाको हेलिकप्टरलेघाइतेहरूको उद्दार तथा थप उपचारका लागि अस्पता लैजान उडान गरिरहेको छ, बिरामी लिन जाँदा स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्रमा गईरहेको छ,’ मन्त्री जिसीले भने, ‘एम्बुलेन्सहरू र गाडीमार्फत पनिघाइतेहरूलाई अस्पताल लिने काम भईरहेको छ।’

कतिपयघाइतेहरूलाई नेपालगञ्ज पनि उपचारका लागि लगिएको मन्त्री जिसीले जानकारी दिए। त्यस्तै भूकम्पमा परी घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ। कोहलपुर मेडिकल कलेज लगायत नेपालगञ्जमा रहेका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने घाइतेहरूको आफन्तजनको सहजतका लागि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ। स्वास्थ्यकर्मीको अभाव नहुने व्यवस्था गरिएको पनि प्रजिअ अधिकारीले जानकारी दिए।

हेलिकप्टर बाट आउने बिरामीक‍ा लागि रांझा विमानस्थल , र आर्मिको हेलिप्याडमा २र२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए।

Source : SETOPATI

'बेलैमा जाँच गर्ने हो भने वंशानुगत क्यान्सरको जोखिमलाई कम गर्न सकिन्छ' :डा श्रेष्ठ

स्वास्थ्य


काठमाडौं  । नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतीमा ४४  औं  क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ ।  शनिवार आयोजित  उक्त कार्यक्रम वंशानुगत स्तन क्यान्सरमाथि छलफल गर्दै सम्पन्न भएको हो । कार्यक्रममा नेपाल क्यान्सर अस्पातलकी निर्देशक स्वरुपा श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुँदै क्यान्सर उपचारलाई सहज तुल्याउदै जानुपर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्षसमेत रहनुभएका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले वंशानुगत स्तन क्यान्सर बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सहजकर्ताको समेत भूमिका निर्वाह गर्नुहुँदै डा. श्रेष्ठले वंशानुगत क्यान्सर रोग, उपचार प्रकृया, लागत, मनोविज्ञान, प्रविधि, नेपाल क्यान्सर अस्पतालको सेवा आदी बारे जानकारी गराउनुहुँदै क्यान्सर बारे खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अघिल्लो पुस्तामा क्यान्सर देखिएकाहरुले बेलैमा जाँच गर्ने हो भने वंशानुगत क्यान्सरको जोखिमलाई कम गर्न सकिने र वार्षिक चेकजाँचसँगै क्यान्सर फैलने खतरा टाल्दै पछि हुने उपचार धेरै खर्चसमेत जोगाउन सकिने उल्लेख गर्नुभयो।  

त्यसैगरि, क्यान्सर उपचारसँग सरोकारित बिषयगत विज्ञ चिकित्सकहरु बरिष्ठ कन्सल्टयाण्ट  रेडियसन अंकोलोजिस्ट डा. गिसुपनिखा प्रसिको, बरिष्ठ कन्सल्टयाण्ट प्याथोलोजिस्ट हरिप्रसाद ढकाल, सिनियर मेडिकल इपिडेमिलोजिस्ट एवम्  प्रिभेन्टिभ अंकोलोजी विज्ञ डा. मुरारी मान श्रेष्ठ, सिनियर कन्सल्टयाण्ट  गाईनोकोलोजिक अंकोलोजिस्ट डा. अन्जु श्रेष्ठ र ब्रेस्ट अंकोप्लास्टिक सर्जन डा. प्रफुल्ल शाक्यले प्यानलिस्टका रुपमा स्तन क्यान्सर रोग र उपचारसँग सरोकारित रहि आ आफनो राय राख्नुभएको  थियो ।  सो अवसरमा उहाँहरु छलफलमा समेत सरिक हुनुभई क्यान्सर सर्भाइभरहरुले वंशानुगत  क्यान्सर बारे राख्नुभएका जिज्ञासा उपर जवाफ पेश गर्नुभएको थियो । 

सोही कार्यक्रम माझ सुदिप्ता क्यान्सर सर्भाइभरकी सल्लाहकार शुशिला श्रेष्ठले क्यान्सर रोगीका परिवारलाई नगद २० हजार र अन्य सर्भाइभरहरुले केही थप रकम सहयोग स्वरुप हस्ताण्तरण गर्नुभएको थियो ।  

त्यसलगत्तै स्ट्राण्ड लाईफ साइन्सका इन्टरनेशनल मार्केट निर्देशक एस रमेशले क्यान्सर रोग र उपचारसँग सम्बन्धित प्रविधि एवम् उपकरण बारे चर्चा गर्नुभएको थियो ।  

कार्यक्रममा क्यान्सर सर्भाइभरहरुले आ आफ्नो कला प्रस्तुत गर्नुहुँदै माहौललाई थप रमाइलो बनाउनुभएको थियो ।  

कार्यक्रमको अन्त्यमा नेपाल क्यान्सर सपोर्ट  ग्रुपका अध्यक्ष दिलिप भट्टराईले चिकित्सकहरुको प्रस्तुतीको तारिफ गर्नुहुँदै डा. सुदिप श्रेष्ठ नेतृत्वको  टोलीले क्यान्सर उपचार र क्यान्सर लाग्नु अघि पनि सचेतना अभिब्रिद्धीमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको बताउनुभयो ।  

उक्त कार्यक्रम नेपाल क्यान्सर सपोर्ट  ग्रुपसहित उपचारका लागि सहयोगी हातहरु नेपाल, स्ट्राण्ड लाईफ साइन्सको सहयोग र नेपाल क्यान्सर अस्पतालको तत्वावधानमा संचालनमा आएको हो ।

नेपाल एशोसियसन फर द स्टडी अफ पेन सोसाईटिको दोस्रो अन्तरराष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

स्वास्थ्य


काठमाडौं ।  नेपाल एशोसियसन फर द स्टडी अफ पेन सोसाईटिको दोस्रो अन्तरराष्ट्रिय  सम्मेलन भव्यताका साथ वैशाख ९ गते शनिवार सम्पन्न भएको छ । कार्यक्रम होटेल यल्लो पेगोडामा सफलतापुर्वक सम्पन्न भएको हो । गोष्ठीको उदघाटन बरिष्ठ एनेस्थेसियोलोजिष्ट प्रा. डा. रोशना अमात्यले गर्नुभएको थियो ।  

उक्त गोष्ठीमा प्रख्यात राष्ट्रिय तथा अन्तरराष्ट्रिय पेन फिजिसियनहरुको उल्लेखनिय सहभागीता थियो ।  इन्टिग्रेटेड पेन केयर मुल नारा रहेको उक्त गोष्ठीमा दुखाईको उपचारमा संलग्न विभिन्न विधाका स्वास्थ्यकर्मीको उल्लेखनिय सहभागीता थियो ।  एक दिने यस गोष्ठीमा दुखाई  व्यवस्थापनका विविध बिषयमा १५ वटा कार्यपत्र प्रस्तुत भएको जानकारी सोसाईटिका महसचिव डा. निनादिनी श्रेष्ठले दिनुभयो । साथै सोसाईटिको कार्यसमिति समेत बिस्तार गरिएको महासचिव श्रेष्ठले जानकारी दिनुभएको छ ।

नेपाल एशोएियसन फर द स्टडि अफ पेनको आयोजनामा इन्ट्रिगेटिभ पेन केयरको थिममा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरु

स्वास्थ्य


काठमाडौं । नेपाल एशोएियसन फर द स्टडि अफ पेनको आयोजनामा इन्ट्रिगेटिभ पेन केयरको थिममा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । शनिवार जमल स्थित होटल एल्लो पेगोडामा आयोजित उक्त सम्मेलन उदघाटन सत्रसँगै शुरु भएको हो ।

सो अवसरमा एशोएियसनका अध्यक्ष प्रो. डा. अनिल श्रेष्ठले सभापतिको आसनबाट बोल्नुहुँदै यस अघि सन् २०२० मा भर्चुअल रुपमा सम्मेलन आयोजना गरिएकोमा २०२३ मा आयोजित दोस्रो सम्मेलन पहिलोपटक भौतिक रुपमा हुन लागेको जानकारी दिनुहुँदै विज्ञ चिकित्सकहरुको ज्ञान तथा अनुभव साटासाट गर्ने अवसरले गर्दा सम्मेलन कोशेढुङगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि, प्रो. डा. रोश्नादेवी अमात्यले नेपालमा २० को शुरुवातीको दशकमा पिडा कम आफुहरुले थालनी गरेको स्मरण गर्नुहुँदै उपचार मार्फत क्यान्सर आदी रोगको पिडालाई कम गर्न सफलता हासिल हुँदै आएको बताउनुभयो ।

प्रो. डा. बालकृष्ण भट्टराईले पिडालाई कम गर्न समुहगत रुपमा प्रयास हुँदै आएको जनाउनुहुँदै बिरामीहरुको पक्षबाट उपचार गर्नुपर्ने र इन्ट्रिगेटिभ पेन केयरको माध्यम यसका लागि फलदायी रहने उल्लेख गर्नुभयो ।

उदघाटन सत्र पस्चात हुने सम्मेलनको अर्को ४ भिन्न सत्रमाझ विज्ञहरुले १४ वटा प्रस्तुत दिने कार्यक्रम रहेको छ ।

आयोडिन मन्थको अवसर पारेर राष्ट्रिय उपभोक्ता मंचको अन्तर्कृया कार्यक्रम सम्पन्न

स्वास्थ्य


काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले ‘अहिलेको नुन बजारको अवस्था र आयोडिनयुक्त नुनको उपभोग’ बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । मंचले आयोडिन मन्थको अवसर पारेर फेव्रअरी १, बुधवार उक्त अन्तर्कृया कार्यक्रम गरेको हो ।

सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले विभागले आवधिक रुपमा प्रयोगशालाबाट आयोडिनयुक्त नुनको परिक्षण गर्दै आउने क्रममा साल्ट ट्रेडिङले कारोबार गर्ने नुनमा सरकारले तोकेअनुरुप सहि मात्रामा आयोडिन मिसाईएको पाईएको बताउनुभयो । साथै आयोडिनयुक्त नुनको सम्बन्धमा खाद्य गुणस्तर विभागले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि काम गर्दै आएको जनाउनुहुँदै आयोडिन मन्थ जनचेतना जगाउन फलदायी रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको पहुँच बिस्तारमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रभावकारी भूमिका खेल्दै आएको आफुले पाएको उल्लेख गर्नुहुँदै राजनीतिक पहुँचका आधारमा केही व्यवसायीले अवैध रुपमा नुनको कारोबार गर्दै आएकाको अनुचित व्यापारिक कृयाकलापलाई नियन्त्रण गर्न सरकार चुकिरहेकोले उपभोक्ताहरु मारमा पिल्सिनु परेको धारणा राख्नु भयो ।

साल्ट ट्रेडिङका नायब महाप्रबन्धक कुमार राजभण्डारीले आयोडिनको कमीबाट हुने विकृतिलाई रोक्न अखाद्य नुन चुनौतीका रुपमा रहेको उल्लेख गर्नुहुँदै अनलाईन प्लेटफर्म र सपिङ मल लगायतका आउटलेटबाट हुँदै आएका अवान्छित गतिविधिलाई रोक्न सरकार, उपभोक्ता अधिकारकर्मी, संचारकर्मीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले विभागले कानुनी व्यवस्था अनुरुप अनुगमनको काम नियमित रुपमा गर्दै आएको उल्लेख गर्नुहुँदै अखाद्य नुनको कारोबार रोक्न विभाग प्रयत्नशिल रहने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयकी जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले साल्ट आयोडाइजेसन कार्यक्रम अन्तर्गत दुई बालबालिकाको लोगो अंकित नुनको बिक्री वितरण पस्चात नेपालमा गलगाडको समस्या निराकरण भैसकेको सन्दर्भ उल्लेख गर्नुहुँदै यस उपलब्धीलाई जोगाइ राख्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयको तत्वावधानमा प्रत्येक बर्ष फेव्रअरी महिना अवधिमा मनाईदै आईएको आयोडिन मन्थ कार्यक्रम आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय उपभोक्ता मंचका उपाध्यक्ष पुष्पराम पौडेलले साल्ट ट्रेडिङले बाहेक अरुले नेपालभित्र नुन बिक्री गर्न नपाउने व्यवस्था हुँदाहुँदै राजनीतिक पहुँच र व्यापारिक स्वार्थका आधारमा अवैध रुपमा नुनको कारोबार हुँदै आएको उल्लेख गर्नुहुँदै नेपाल भित्र अखाद्य नुन पैठारी गर्न हुँदैन भन्ने २०५५ मा आएको आयोडिनयुक्त नुन सम्बन्धी ऐनले प्रष्ट गरेकामा सोको धज्जी उडाएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंचकी केन्द्रिय सदस्य एवम् खाद्य विज्ञ सोबिता श्रेष्ठले नुनमा मिसाईने आयोडिन भण्डारण र पकाउने क्रममा उडेर जाने भएकाले आयोडिन खाद्य नियम अनुसार नै प्याकेट नुनमा आयोडिनको मात्रा ५० पिपिएम र क्लोराइडको मात्रा ९६ प्रतिशत भन्दा कम हुन नहुने रहेको जनाउनुहुँदै बेलाबेलामा प्याकेट नुनमा बढी नुन मिसाईएको भन्ने हल्ला चलाईने गरेकोले त्यस्तो कुराको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरको १५ औं बार्षिकोत्सव भव्यरुपमा सम्पन्न

स्वास्थ्य


काठमाडौं-पन्ध्र बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आफ्नो १५ औं बार्षिकोत्सब मानब सेवा आश्रम कौसलटारमा मनाएको छ। अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सेवा सुबिधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको नेपालको न. १ युनिसेक्स पार्लर रश्मिलाज फेसियल हाउसले पौष १० अर्थात डिसेम्बर २५ तारिखमा रश्मिलाज फेसियल हाउसको बार्षिकोत्सब मनाउदै आएको छ। भक्तपुरको कौसलटारमा अबस्थित मानब सेवा आश्रममा आश्रित ४३ जना बृद बृदाहरुलाइ भोजन गराएर तथा अन्य खाद्यान्न सामग्री सहयोग गरि फेसियल हाउसले बार्षिकोत्सव मनाएको छ। सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरी बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकि अध्यक्ष बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठको बुवा स्व। तिलक बहादुर श्रेष्ठ २५ दिन अगाडी मात्र स्वर्गारोहण भएको कारणले गर्दा १५ औं बार्षिकोत्सवलाइ बृदाश्रममा रहेका आमा बुवाहरु माझ भोजनको साथ खाध्य सामग्री सहयोग गर्दै मनाईएको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठ बताउछन। उक्त अबसरमा रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ६० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र आफ्नो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको बिश्वाश माया अनि हाम्रो काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवाले गर्दानै पन्ध्रौ बर्ष सम्म निरन्तर हामीले सेवा दिन पाइरहेको कुरा प्रकाश कुमार श्रेष्ठले बताए ।

सो अवसरमा बरिष्ठ सौन्दर्यबिद श्रेष्ठले देश बिदेशमा रहेका सम्पूर्ण सौन्दर्य प्रति सचेत महिला तथा पुरुषहरुलाई तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरमा सेवा गर्न अवसर दिने सम्पूर्ण सेवाग्राही, शुभचिन्तक र बिसेष गरि रातदिन नभनी पार्लरमा काम गरेर रश्मिलाज फेसियल हाउसलाई नेपालको न। १ बनाउन अहोरात्र खट्ने सम्पूर्ण पार्लर स्टाफहरुलाई धन्यबाद ब्यक्त गरीन।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो। जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ। सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आफ्नो सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन। रश्मिलाज फेसियल हाउसको एनिवर्सरीको उपलक्ष्यमा स्पेसल डिस्काउण्ट अफर समेत रहेको उनिले बताईन।

विश्वप्रसिद्ध हार्टसर्जन प्रा.डा.मलखलाल श्रेष्ठलाई एओर्टा सर्जरी कार्यक्रम निर्देशकको जिम्मेवारी नियुक्त

स्वास्थ्य


काठमाडौं । विश्वचर्चित मुटुका वरिष्ठ शल्य चिकित्सक प्रा. डा. मलाख लाल श्रेष्ठ  एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त हुनुभएको छ ।  उहाँ   मायो क्लिनिक कार्डियाक सर्जरी अन्तर्गत मुटु शल्यकृया विभागबाट अमेरिका स्थित मियासोटो राज्यको रोचेष्टर स्थित एओर्टा सर्जरी कार्यक्रम निर्देशक नियुक्त हुनु भएको हो ।  प्रा. डा. श्रेष्ठ स्वास्थ्य क्षेत्रमा विश्वमै कहलिएका व्यक्ति मध्येमा पर्नुहुन्छ ।  मेयो क्लिनिक कार्डियोभास्कुलर सर्जरी टोलीले सबै उमेरका मानिसहरूलाई असर गर्ने जटिल र गम्भीर अवस्थाहरूको लागि गुणस्तरीय हेरचाह प्रदान गर्दछ। मेयो क्लिनिकमा मुटु र छाती सर्जनहरूले मुटु, फोक्सो र छातीको अवस्थाको निदान र शल्यक्रिया गरी उपचार गर्दर्छन्।  अस्पताल अन्तर्गत एरिजोना, फ्लोरिडा र मिनेसोटामा क्लिनिकको क्याम्पसहरूमा प्रत्येक वर्ष हजारौं शल्यक्रियाहरू गर्दर्छन्। यस अस्पतालमा आबद्ध शल्यचिकित्सकहरू रोबोट सहयोगी प्रविधिहरूका साथ न्यूनतम इनभेसिभ हृदय शल्यक्रिया जस्ता नवीनतम आविष्कारहरू प्रयोग गरेर हृदय र कार्डियोथोरासिक अवस्थाहरूको उपचार गर्ने गर्दै आएका छन् ।

प्रा. डा. मलखलाल श्रेष्ठको संक्षिप्त परिचय 

प्रा. डा. मलखलाल श्रेष्ठको जन्म व्यापारिक एवम् राजनीतिक पृष्‍ठभुमी बोकेको परिवारमा भएको हो ।  उहाँको परिवार शिक्षित एवं प्रतिष्ठित व्यापारिक घरानामा गनिन्छ । डा. श्रेष्ठ नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठ तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधिस शिलु सिंहका सुपुत्र साथै चेम्बर आन्दोलनका लौह पुरुष मानिनु हुने ईश्वरलाल श्रेष्ठका भतिज हुनु हुन्छ ।उहाँको थातथलो काठमाडौं स्थित ठहिटी हो । प्रा.डा. श्रेष्ठ जर्मनीको हानोभर मेडिकल स्कुलमा कार्डियाक, थोरासिस, ट्रान्सप्लान्टेसन एण्ड भास्कुलर सर्जरी विभागका उपाध्यक्ष, प्राध्यापक तथा ‘डाइरेक्टर अफ एओर्टिक सर्जरी’का रुपमा कार्यरत हुनुहुन्थ्यो। डा। श्रेष्ठ वर्षेनी पटक पटक जन्मभूमि नेपाल आई मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटुरोगीहरुको निशुल्क रुपमै जटील शल्यक्रिया गर्दै आउनु भएको छ । डा. श्रेष्ठले  गंगालाल हृदयरोग प्रतिष्ठानमा पनि कैयन मुटुरोगीहरुको जटील शल्यक्रिया निःशुल्क रुपमैं गर्नुभएको थियो । त्यसबाहेक उहाँ वर्षेनी भारतमा समेत गई जटील किसिमका मुटुका शल्यक्रियाहरु निःशुल्क रुपमा गर्दै आउनु भएको छ । सो योगदानको कदर गर्दै इन्डियन एशोसिएसन अफ कार्डोभास्कुलर–थोरासिस सर्जन्सले डा. श्रेष्ठलाई ‘अनरेरी ओभरसिज फेलोसिप’बाट सम्मानित गरेको थियो ।

कोभिड कहर माझ जर्मनीबाट नेपाल आएका बेला उहाँले तत्कालिन प्रधानमन्त्री के पि शर्मा ओली लगायतका उच्च तहका नेताको मुटु चेकजाँच गर्नुका साथै केही सर्वसाधरणको निशुल्क सल्यकृया समेत गर्नुभएको थियो।

सुदूरपश्चिममा खोप नलगाएका संक्रमितको मृत्यु बढी

स्वास्थ्य


धनगढी - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो ।प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएपनि मिर्गौला, मधुमेह र फोक्सोमा पानी भरिने समस्याका कारण ती महिलालाई बचाउन सकिएन ।

सेती प्रादेशिक अस्पतालमै ४ माघमा गोदावरी नगरपालिका–४ का ७५ वर्षीय पुरुषको उपाचारकै क्रममा मृत्यु भयो । कोरोनाविरुद्धको खोप नलगाएका ती पुरुष २३ पुसमा अस्पताल भर्ना भएका थिए । उच्च रक्तचाप र संक्रमण पनि भएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।त्यसको तीन दिनपछि प्रादेशिक अस्पतालमै अर्का कोरोना संक्रमितको मृत्यु भयो । २६ पुसमा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालकाअनुसार उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । मिर्गौला, मुटुसम्बन्धी समस्या भएका ती पुरुष निमोनियाका बिरामी थिए ।कोरोना संक्रमणका कारण वृद्धवृद्धा मात्रै होइनन् युवाहरुको पनि मृत्यु भएको अस्पतालको तथ्यांकले देखाउँछ । तर उनीहरु मध्ये अधिकांश खोप नलगाएका र कुनै न कुनै खालको दीर्घरोगी भएका मानिसहरु बढी छन् ।

१६ माघमा अस्पतालमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भयो । ती पुरुषले पनि खोप लगाएका थिएनन् । उनी नसा र टाउकोसम्बन्धी रोगले ग्रसित थिए ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठकाअनुसार कोरोना भाइरसको तेस्रो लहर अर्थात ओमिक्रोन भेरियन्ट फैलिएयता अस्पतालमा उपचारका लागि पुगेका १० जना संक्रमितको मृत्यु भइसकेको छ । उनीहरु मध्ये ७ जना दीर्घरोगी र कोरोनाविरुद्धको कुनै पनि खोपको मात्रा नलगाएका संक्रमित छन् भने दुई जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । मृत्यु भएका एक जना संक्रमितले भने खोपको दुवै मात्रा लगाएका व्यक्ति रहेको श्रेष्ठले बताए ।

श्रेष्ठकाअनुसार कोभिशिल्ड खोपको दुवै मात्रा लगाएकी धनगढी उपमहानगरपालिका–३ बस्ने ७४ वर्षीया संक्रमित महिलाको केही दिन अघि मात्र उपचारका क्रममा मृत्यु भएको थियो । श्वासप्रश्वास सम्बन्धी बिरामी भएकी ती महिलाको मुटुमा समस्या थियो भने क्षयरोग(टीबी) पनि भएको थियो । कोरोना भाइरसको तेस्रो लहरमा धेरै मानिस संक्रमित भएपनि मृत्युदर कम हुनुमा खोपको प्रभाव भएको चिकित्सकहरु बताउँछन् ।

सेती प्रादेशिक अस्पतालको कोभिड विभाग प्रमुख समेत रहेका फिजिसियन डाक्टर शेरबहादुर कमर भन्छन्,‘कोरोनाविरुद्धको खोप लगाएका मानिसहरुमा संक्रमण भएपनि बृद्धि विकास हुन नपाउने भएकाले जटिल स्वास्थ्य समस्या भएको देखिँदैन ।’डाक्टर कमरले दीर्घ रोगीहरुलाई कोरोनाविरुद्धको खोप लगाउँदा थप स्वास्थ्य समस्या सिर्जना हुन्छ भन्ने गलत बुझाइले धेरै मानिसले खोप नलगाएको पाइएको बताउँदै त्यसैको परिणाम संक्रमितको मृत्यु भइरहेको जनाए । खोपले कोरोना संक्रमण नरोक्ने तर संक्रमण भएपछि जटिल अवस्थामा जान रोक्ने भएकाले छुटेका सबैलाई खोप लगाउनुपर्ने सुझाव उनको छ ।‘कोरोना पनि एक प्रकारको सरुवा रोग भएको कुरा तपाईं हामी सबैलाई थाहा भइसकेको छ । यसबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नैपर्छ,’ डाक्टर कमरले भने, ‘भ्याक्सिनले कोरोना संक्रमणबाट हुने जटिलतालाई रोक्न, शरीरमा भाइरस प्रवेश गरेपछि बृद्धि विकास हुन दिँदैन । त्यसैले सबैले अनिवार्य रुपमा खोप लगाउन आवश्यक छ ।’

पपुवा न्युगिनीमा भूकम्प

स्वास्थ्य


पपुवा न्यु गिनी- पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको भूगर्व सर्वेक्षण संस्था युएसजीएसका अनुसार आईतबार सोलोमन द्धीपनजिकको समुद्रमा ५ दशमलव ९ म्याग्‍निच्यूडको भूकम्प गएको हो । युएसजीएसका अनुसार भूकम्प न्यु ब्रिटेनको दक्षिणी टापुबाट २०० किलोमिटर टाढा रहेको सोलोमनलाई केन्द्रविन्दु बनाएको थियो ।  भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् । 

पपुवा न्यु गिनीमा बारम्बार भूकम्प जाने गर्छ । सन् २०२० को जुलाईमा राजधानी पोर्ट मोर्सवाईमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । तर, भूकम्पबाट कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै, सन् २०१८ को फेब्रुवरीमा उच्च टापुमा ७ दशमलब ५ म्याग्‍निच्यूडको भूकम्प जाँदा १२५ जनाको मृत्यु भएको थियो ।