health
||Power News Asia||

आजको समाचार

सडकबाट उद्धार गरिएका १३ बेसहारामा देखियो सङ्क्रमण

स्वास्थ्य


काठमाडौँ — भाद्र १४, २०७७। 

काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न कुनै काम गरेर कमाउन सक्नुहुन्थ्यो, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सडकमा बसिरहेका आमा–छोराको अबस्थाबारे स्थानीय व्यक्तिमार्फत सामाजिक सञ्जालमा सार्वजनिक भयो ।

त्यही सूचनाका आधारमा मानवसेवा आश्रमले दुई दिनअघि आमा–छोराको उद्धार गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा दुवैमा कोरोना पोजिटिभ देखियो ।  आश्रमका प्रवक्ता सुमन बर्तौला पछिल्लो समयमा यसरी उद्धार गरिएका बेसहाराहरुमा कोभिड–१९ सङ्क्रमण देखिन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म यसरी सडकबाट उद्धार गरिएका १३ जनामा सङ्क्रमण देखिइसकिएको छ । सङ्क्रमितलाई आश्रमको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।

सडकपेटीमा बस्ने र खानेकुरा टिपेर खाने बेसहारा, मनोरोगी तथा असहायमा पनि कोभिड–१९ देखिँदा उनीहरुको व्यवस्थापनमा थप चुनौतीपूर्ण बनेको छ । सडकका बेसहारा सङ्क्रमित भएकाले उद्धारमा खटिएका अभियानकर्मीमा समेत सङ्क्रमणको जोखिम बढेको छ । सेवाकै क्रममा केही सङ्क्रमित भएकाले उनीहरुको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
विगतमा अन्य सर्वसाधारण नागरिकलाई कोरोना लाग्दा राजधानीका सडकका बेसहारामा देखिएको थिएन । साउनपछि भने देखिन थालेको हो । कसरी उनीहरुमा सङ्क्रमण गयो भन्ने यकिन भएको छैन । त्यस विषयमा अध्ययन पनि हुन सकेको छैन तर सडकमा स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गर्न नजान्ने हुनाले उनीहरु जोखिम वर्गमा पर्नु स्वाभाविक भएको चिकित्सकले भनाइ छ ।

कतिपय अवस्थामा सावधानी विना सडकमा खाना खुवाउने गरिएको छ । त्यसबाट पनि सङ्क्रमण हुनसक्छ । मास्कलगायत मानिसले प्रयोग गरेका स्वास्थ्य सामग्री निसङ्क्रमण नगरी फोहरमा फालिने गरेका छन् । त्यसबाट कवाड टिप्न जाँदा वा खानेकुरा खोज्न जाँदा पनि उनीहरुमा सङ्क्रमण हुनसक्ने नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की बताउनुहुन्छ ।
भीडभाड भएको क्षेत्रमा कहिलेकाहीँ उनीहरु पुग्छन् ।

स्वास्थ्य सामग्रीको प्रयोग गर्नेबारे ज्ञान नहुँदा त्यसतो बेला सजिलै सर्ने सम्भावन रहन्छ । “कवाडी खोज्ने क्रममा, सङ्क्रमितसँगै खाना खाँदा, सङ्क्रमितबाट खानेकुरा वा पैसा लिँदा पनि सर्न सक्छ”, डा कार्कीले रासससँग भन्नुभयो, “¥याल, सिङ्गान, खकार लागेका मास्कलगायत सामग्री वा रुमाल, जुठो बोतल फ्याँकिएको हुनसक्छ, त्यस्ता सामग्रीमा निकै समयसम्म भाइरस रहनसक्छ, उनीहरुले त्यो टिपेर प्रयोग गरे भने पनि सर्छ ।” आजको यो समाचार आजको गोरखापत्रले छापेको छ ।

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

स्वास्थ्य


काठमाडौँ — भाद्र १४, २०७७। 

देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

यसअघि गत आइतबार पनि कम मात्रामा १ सय ८६ जनामा नै संक्रमण देखिएको थियो । पछिल्लो एक सातामा उपत्यकाभित्र १ हजार ९ सय २१ जना संक्रमित थपिएका छन् ।

उपत्यकाभित्र गत आइतबार १८६, सोमबार ४१५, मंगलबार ३७७, बुधबार ३०१, बिहीबार २३२ र शुक्रबार २२४ जनामा संक्रमण देखिएको थियो ।

हालसम्म काठमाडौं उपत्यकामा ४ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा ३ हजार ९६०, ललितपुरमा ६०६ र भक्तपुरमा ४३१ जनालाई संक्रमण पुष्टि भएको आजको राजधानी दैनिकमा खवर छ ।

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे प्रक्षेपण भ्रामक

स्वास्थ्य


काठमाडौँ — भाद्र १४, २०७७। 

प्रक्षेपण १

अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृत्यु हुनेछ।

प्रक्षेपण २

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो।

प्रक्षेपण ३

नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनुपर्छ।’

नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन्। अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन्। जुनदेखि सेप्टेम्बर ९असार १७ देखि भदौ १५ गतेसम्म० प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ। जुलाईदेखि अक्टोबर साउन १७ देखि कात्तिक १५ सम्म संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ।

स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन्। कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर समूहमा र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे अक्सफोर्डको प्रक्षेपण गलत रहेको दाबी गर्छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीको बेला यस्ता भ्रम फैलिरहन्छन्। यस्ता हल्ला र भ्रमको विश्वास गर्नु आवश्यक छैन।’

अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट ओपीएम र अक्सफोर्ड पोलिसी एन्ड एनालिटिक्स फर हेल्थ अफ दी न्यु फिल्ड डिपार्टमेन्ट अफ मेडिसिनले नेपालमा कोरोनाको अवस्थाबारे हालै प्रक्षेपण गरेका हुन्। मूलतः वैज्ञानिक आधारमा रहेर प्रक्षेपण गरिन्छ। यसलाई अनुसन्धानको एउटा भागका रूपमा लिइन्छ। अक्सफोर्डले डिफिडको सहयोगमा अध्ययन गरी प्रक्षेपण गरेको हो। यो गणितीय मोडलमा आधारित रहेको जानकार बताउँछन्।

‘संक्रामक रोगको गतिशीलता बुझ्न, सम्भावित रणनीतिको मूल्यांकन गर्न र पूर्वानुमान गर्न सकिन्छ। यस्ता मोडलहरूले समयपूर्व हस्तक्षेप गर्ने सम्भावित खतरासम्बन्धी गुणात्मक चेतावनी प्रदान गर्छ। स्वास्थ्य प्रणालीमा पर्ने बोझको अनुमान गर्न सहयोग गर्छ’, प्रक्षेपण रिपोर्टमा छ।

जनस्वास्थ्यविद् डा। सुरेश तिवारी भाइरसको ट्रेन्ड कसरी जान्छ भन्ने नै मुख्य कुरा भएको बताउँछन्। ‘कोरोना भाइरसबाट कति संक्रमित होलान् र संक्रमणको दर कसरी जान्छ रु कहिले चुचुरो ९पिक०मा पुग्छ भन्ने आधारमा प्रक्षेपण गरिन्छ’, नेपालमा कोरोना जोखिमलाई सूक्ष्म ढंगले अध्ययन गर्दै आएका डा। तिवारी भन्छन्, ‘अक्सफोर्डले पनि समुदायमा संक्रमण भइरहे के हुन्छ भन्ने आधारमा रहेर प्रक्षेपण गरेको देखिन्छ।’

मन्त्रालयले ‘लो सिनारियो’मा रहेर प्रक्षेपण गर्दा धोका भएको जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनीको ठम्याइ छ। यस्तो प्रक्षेपणले सरकारलाई नै धोका भयो। प्रक्षेपण उच्च ९हाई सिनारियो०मा गर्नुपथ्र्यो। प्रक्षेपण गर्दा सीमा वारपार ९क्रस बोर्डर०लाई ध्यान दिइएन’, डा। मरासिनी भन्छन्, ‘कोरोना भाइरस प्लेन चढेर मात्र आउँछ भन्ने खालको भयो। अवस्था त्यो होइन। सीमापारिबाट गाडी चढेर र पैदलसमेत कोरोना संक्रमित आए। खुला सडकबाट मात्र होइन, जंगलै जंगल पनि आए।’

स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्रालयका प्रक्षेपण सुरुमै गलत देखिए। अक्सफोर्डको प्रक्षेपण समुदायमा संक्रमण फैलिरहेको अवस्थामा संक्रमित हुने र ज्यान गुमाउने संख्याको हो।

समुदायमा संक्रमण विस्तारसँगै त्यसबाट हुन सक्ने क्षतिका आधारमा अक्सफोर्डले प्रक्षेपण गरेको छ। ‘सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरिएको अवस्थामा मुलुकको ८१ प्रतिशत जनसंख्या संक्रमित हुने प्रक्षेपण गरेको देखिन्छ। समुदायमा कोरोना संक्रमण भइरहेको अवस्थामा यति जनसंख्या संक्रमित हुन सक्छन् भन्ने प्रक्षेपण हो’, प्रक्षेपणमा संलग्न नरहे पनि अक्सफोर्डको रिपोर्ट अध्ययन गरेका डा। तिवारी भन्छन्, ‘मेरो व्यक्तिगत अध्ययनले के देखाउँछ भने ८१ प्रतिशत जनसंख्या संक्रमित हुन धेरै लामो यात्रा गर्नुपर्ने देखिन्छ। यो वर्षौंको लामो यात्रा हो।’

अक्सफोर्डले आगामी चार महिनासम्ममा १ प्रतिशत जनसंख्या संक्रमित हुने प्रक्षेपण गरेको छस जुन अहिलेको संक्रमण दरसँग मिल्दो देखिँदैन। अहिले कुल संक्रमित संख्या झन्डै ३८ हजार पुगेको छ। दैनिक औसत १ हजारको संख्यामा संक्रमित थपिने गरेको सरकारी तथ्यांक छ। ‘अहिलेको संक्रमण अवस्था र दरलाई हेर्दा अक्सफोर्डको प्रक्षेपणसँग मेल खाने देखिँदैन। चार महिना लामो लकडाउन घोषणा गरियो। संक्रमणको चेनलाई लकडाउनले रोक्यो’, डा। तिवारी भन्छन्।

दुईजना संक्रमित पुष्टि हुनेबित्तिकै लकडाउन गरिएका कारण समुदायमा संक्रमण छिटो विस्तार हुन नपाएको विज्ञको मत छ। लकडाउन घोषणालगत्तै भारतबाट आएका नेपालीको व्यवस्थित क्वारेन्टाइन र परीक्षण व्यवस्था नहुँदा संक्रमण क्रमशः जिल्लाजिल्लामा विस्तार हुन पुगेको हो। मास्क र स्यानिटाइजरको प्रयोग बढ्दै गएको र उपचारको पूर्वतयारी एवं व्यवस्थापनमा तीव्रता दिइएकाले अक्सफोर्डको प्रक्षेपण सही साबित हुन नसक्ने नेपाली विज्ञको आकलन छ। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण

स्वास्थ्य


चितवन — भाद्र १४, २०७७। 

चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा चितवनका २९ जना रहेका छन् ।

जसमध्ये भरतपुर महानगरपालिकाका २७ जना र खैरेनी नगरपालिकाका २ जना छन् ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७२ नमुनामध्ये संक्रमण पुष्टि हुने अन्य जिल्लामा तनहुँका २, झापाका २, नवलपुर, सर्लाही, दाङ, धनुषा, पाँचथर, सप्तरी, कास्की, सुर्खेत, बाग्लुङ र बाराका १÷१ जनागरी १४ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी कोरोना संक्रमणका कारण नवलपुरका एक पुरुषको हिजो साँझ मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा भदौ ४ गतेदेखि ज्वरो तथा निमोनियाको उपचार गराइरहेका विनयी त्रिवेणी गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

(ईमेज खबर)

नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुग्यो

स्वास्थ्य


काठमाडौँ — भाद्र १२, २०७७। 

नेपालमा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ३६ हजार ४ सय ५६ संक्रमितको संख्या पुगेको जनाए ।

२४ घन्टामा १ सय ६९ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ सय ६९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ६ लाख ५८ हजार ११० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार २ सय २९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ८ हजार ९ सय ३९ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमिको संख्या १६ हजार १९ जना रहेको छ ।

(कान्तिपुर दैनिक)

२४ घन्टामा उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य


काठमाडौँ — भाद्र १२, २०७७। 

काठमाडौं उपत्यकामा एकै दिन ४ सय १५ जना कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं ३५०, ललितपुर ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको हो ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण भएको थियो ।

(कान्तिपुर दैनिक)

प्रदेश ५ मा २१४ स्वास्थ्यकर्मी संक्रमित

स्वास्थ्य


स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमणमा पर्ने दर बढेपछि संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीको निगरानी थालिएको छ, जसको प्रत्यक्ष असर बिरामीमा परेको छ ।

बुटवल, नेपालगन्ज — भाद्र १२, २०७७। 

तीन दिनअघि अर्घाखाँची जिल्ला अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण देखियो । लगत्तै २३ जना स्वास्थ्यकर्मी आइसोलेसनमा बसेपछि प्रसूति र आकस्मिकबाहेक सेवा बन्द छन् । कपिलवस्तु जिल्ला अस्पतालमा पनि मेडिकल सुपरिन्टेन्डेन्टसहित १९ स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा ठप्प थियो ।

१४ दिन आइसोलेसन अवधि पूरा गरेपछि तीन दिनयता अस्पताल सञ्चालनमा आएको छ । गत वैशाख ३० गते उक्त अस्पतालकी स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । त्यसबेला अस्पताल एक साता बन्द भयो ।

गत भदौ ७ गते पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालका तीन चिकित्सक र एक नर्समा कोरोना पुष्टि भयो । त्यसपछि चार दिन अस्पताल बन्द भयो । बिहीबारदेखि आकस्मिक र प्रसूति सेवा खुलेको छ । स्वास्थ्यकर्मी संक्रमित भएपछि प्रदेशसहित विभिन्न स्थानीय तहका १७ स्वास्थ्य केन्द्र बन्द छन् । त्यसको प्रत्यक्ष मार बिरामीमा परेको छ ।

प्रदेश ५ मा चिकित्सक र स्वास्थ्यकर्मी संक्रमणमा पर्ने क्रम बढेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बिहीबार दिउँसोसम्म २ सय १४ स्वास्थ्यकर्मी संक्रमित भएको बताए । ‘उपचारमा खटिएका विशेषज्ञ चिकित्सकसहित मेडिकल अधिकृत र नर्स संक्रमित छन्,’ उनले भने, ‘उनीहरूबाट संक्रमण नसरोस् भनेर सेवा बन्द गरिएका हुन् ।’ आकस्मिक र प्रसूति सेवा बन्द नगर्न निर्देशन दिएको उनले बताए । ‘नवलपरासी पश्चिममा केही समस्या आएको थियो,’ उनले भने, ‘त्यसमा पनि बिहीबारदेखि आकस्मिक र प्रसूति सेवा सुरु भयो ।’

स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमणमा पर्ने दर बढेपछि संक्रमितको प्रत्यक्ष उपचारमा खटिएका स्वास्थ्यकर्मीको निगरानी थालिएको छ । अहिले १ सय २ जना उपचारमा छन् । १२ जना लक्षणसहितका बिरामी हुन् । कपिलवस्तुमा ३४ र रूपन्देहीमा २३ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित छन् । दाङमा १८, नवलपरासी पश्चिममा ९, बर्दियामा ७, बाँकेमा ५ र प्यूठानमा ४ स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना विशेष अस्पताल र भीडभाड हुने अस्पतालमा खट्ने चिकित्सकभन्दा अन्य स्वास्थ्यकर्मी संक्रमित छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबारसम्म १६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये सात जना स्वास्थ्यकर्मी हुन् । कोरोना विशेष अस्पताल बुटवलका दुई जना मात्र संक्रमित छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा मापदण्डमा ख्याल नगर्दा संक्रमण बढेको बताए ।

‘बढी भीडभाड हुने प्रसूति शाखा र आकस्मिक सेवामा खटिने चिकित्सकीय टोलीमा संक्रमण छैन । कोरोनाका बिरामी हेर्ने दुई जनामा मात्रै संक्रमण छ,’ उनले भने, ‘अन्य चिकित्सक र स्वास्थ्यकर्मीमा देखिनु भनेको केही हदसम्म स्वास्थ्यकर्मीको लापरबाही पनि हो ।’ मास्क र ग्लोब नलगाउने, सेनिटाइजर र हात धुने नियम पनि नियमित पालना नगर्दा स्वास्थ्यकर्मीहरू जोखिममा परेको उनले बताए ।

सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित भएपछि बाँकेको नेपालगन्जमा स्वास्थ्य सेवा प्रभावित भएको छ । भेरी अस्पतालमा कार्यरत ४ जना चिकित्सकमा संक्रमण देखिएको छ । बिहीबार दुई चिकित्सकमा संक्रमण पुष्टि भएको हो । उक्त अस्पतालका फिजिसियन डा. रजनी केसी शाह र हाडजोर्नी विशेषज्ञ डा. राहुल मिश्रमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले बताए । यसअघि संक्रमितको उपचारमा संलग्न अस्पतालका प्रमुख कन्सलटेन्ट तथा मेडिक विभाग प्रमुख फिजिसियन डा. राज पाण्डे र कोरोना फोकल पर्सन डा. संकेतकुमार रिसाललाई संक्रमण देखिएको हो ।

संक्रमित चिकित्सकलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । चार जना चिकित्सकमा कोरोना देखिएपछि सेवा प्रभावित भएको छ । उक्त अस्पतालमा नौ जना फिजिसियन कार्यरत छन् । आइसोलेसनमा रहेका उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ । यस क्षेत्रकै ठूलो सरकारी अस्पताल भेरीलाई कोरोना अस्पतालमा विस्तार गरिँदै छ । कोरोना विशेष अस्पताल निर्माण संयोजक डा. श्यामसुन्दर यादवले चिकित्सक संक्रमित हुन थालेपछि सेवा प्रभावित हुन नदिन काठमाडौंबाट चिकित्सक माग गरिएको बताए । भेरी अस्पतालमा एक सय शय्याको आइसोलेसन राख्ने तयारी भइरहेको छ ।

यसअघि नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जनामा संक्रमण देखिएको थियो । उनीहरूको सम्पर्कमा रहेका ३४ जना क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित भएको थियो । निजीस्तरबाट सञ्चालित यस क्षेत्रकै ठूलो अस्पतालका ५० स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित बनेको थियो ।

सरकारले उक्त अस्पताललाई कोरोना संक्रमणका बिरामी उपचारका लागि तेस्रो चरणको अस्पताल बनाएको थियो । संक्रमित व्यक्तिहरूको शल्यक्रिया शिक्षण अस्पतालबाट हुने गरेको छ । शिक्षण अस्पताल नेपालगन्जमा ६ र कोहलपुरमा ८ भेन्टिलेटर छन् । भेरी अस्पतालमा ६ भेन्टिलेटर र ६ आईसीयू कक्ष छन् । खजुरास्थित प्रखर सुशील कोइराला मेमोरियल अस्पतालमा २ भेन्टिलेटर र ६ आईसीयू कक्ष छन् ।

(कान्तिपुर दैनिक)

खोप परीक्षणको अन्तिम चरणमा नेपाल

स्वास्थ्य


काठमाडौँ — भाद्र १२, २०७७। 

विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेना कम्पनीले उत्पादन गरेको सीएचएडीओएक्स १–५ खोप र चीनको साइनोभ्याक्स अर्थात् ‘इनएक्टिभेटेड’ नामको खोपको अन्तिम क्लिनिकल परीक्षणमा नेपाल पनि सहभागी हुने झण्डै तय जस्तै भएको छ । तथापि अन्तिम निक्र्योल हुन बाँकी छ ।

खोपको परीक्षण गर्न दिन हुने÷नहुने विषयमा थप अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । उनका अनुसार परिषद्ले यसको विश्लेषण गरिरहेको छ ।

मन्त्रालयका अनुसार तीन कम्पनीले नेपालमा खोप परीक्षणका लागि अनुमति मागेको हो । मन्त्रालयको स्वीकृतिलगत्तै परीक्षणको थप अध्ययन थालिएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए । चीन, रसिया र अक्सफोर्ड युभिर्सिटीले तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति मागेको र परीक्षण के कसरी गर्ने भन्ने बारेमा अध्ययन भइरहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । 

काठमाडौं “कोरोनाको हट स्पट”

स्वास्थ्य


काठमाडौँ — भाद्र १२, २०७७। 

करिब पाँच महिनासम्म नेपालमा सुस्त रहेको कोरोना संक्रमण अहिले व्यापकरुपमा फैलिएर आम मानिसलाई त्रस्त बनाएको छ । हाल कोरोनाका कारण गम्भीर बिरामीको संख्या बढ्नुका साथै मृत्युदर पनि बढिरहेको छ । विशेष गरी शहरी क्षेत्रका समुदाय तहमा कोरोना व्यापकरुपमा फैलिएकोले आइसोलेसन सेन्टर र अस्पतालहरुले धान्न नसक्ने स्थिति उत्पन्न भई लक्षण नभएका बिरामीलाई घरै बस भन्न थालिएको छ । उपचारको जिम्मा लिँदै आएको सरकारले पीसीआर परीक्षण आफैँ गर भन्न थालेको छ ।

वरिष्ठ दन्तचिकित्सक डा। सुशील कोइराला ‘संक्रमितलाई घरै बसाउँदा घना बस्ती रहेका शहरी क्षेत्रमा रोग नियन्त्रणमा झन् कठिनाइ हुने’ बताउनुहुन्छ । ‘संयुक्त परिवारको परम्पराका हिसाबले बनेका आवास गृहहरु, सरुवा रोगका हिसाबले असुरक्षित कार्यस्थल र सुधार्न नसकेको हाम्रो आचरणका कारण मुख्यतः काठमाडौं उपत्यका कोरोनाको ‘हट स्पट’का रुपमा स्थापित हुन लागेको’ डा। कोइरालाको विश्लेषण छ । प्रस्तुत छ, डा। कोइरालाका अति उपयोगी भनाइहरु समेटेर तयार गरिएको जानकारीमूलक लेखः

काठमाडौं किन बढी जोखिममाः

लकडाउन खुलेपछि अब कोरोना सिद्धियो जसरी सरकारले म्यासेज दियो, भोलिपल्टैदेखि मास्क लगाउने र भौतिक दूरी कायम गर्नेहरु घटे । मल, रेस्टुराँहरु भीडंभीड भए । लकडाउन बिस्तारै खोल्नुपथ्र्यो तर सरकारलाई कर उठाउनु थियो, सन्देश राम्ररी दिनेतिर ध्यानै पुगेन ।

अर्को जिम्मेवार पदका नेता, पदाधिकारी, विज्ञ, चिकित्सकहरु मास्क नलगाई श्रव्यदृश्यमा देखा पर्न थाले । टेलिभिजनका समाचार, अन्तर्वार्ता र अन्तरक्रियामा सहभागीहरुले पनि सुरक्षा आचरण पालन गरेनन् । झ्याल–ढोका बन्द गरी एसी चलाएर ट्वाइलेटजत्रा कोठामा मास्क नलगाई चिच्याई–चिच्याई अन्तरक्रिया गर्ने, यस्तै कोठामा मन्त्रालय, विभाग र कर्पोरेट तहका मिटिङ गर्नेहरु अहिलेको सन्दर्भमा पढेलेखेका मूर्खहरु हुन्, जो आफूहरु ‘कोभिड फ्री हो, यो गरिबलाई मात्र लाग्छ’ भन्ने भावना राख्छन् । यसबाट आफूहरु पनि असुरक्षित भए र पब्लिकमा पनि गलत सन्देश गयो ।

नयाँ अध्ययनले झ्याल –ढोका थुनी एसी चलाएर बस्नु असुरक्षित मानेको छ । पहिला कोरोना थुकको छिटाबाट सर्छ भनिन्थ्यो, अब छिटाभन्दा पनि साना कण एरोसोल बाट पनि सर्छ भन्ने नयाँ कुरा आएको छ । यो मुखबाट निस्किएको बाफ हो, भेन्टिलेसन नभएको कोठामा केही बेर संक्रमित मानिस बस्यो भने कीटाणुले कोठा भरिन्छ र अरुलाई सर्छ । त्यसैले अहिले एसी चलाउने होइन, झ्याल–ढोका खोली पंखा चलाएर बस्नु उपयुक्त हुन्छ ।

यस्तै गरी साना तथा बन्द कोठामा थोरै समयमा धेरै बिरामी जाँच्ने गरेका कारण धेरै बिरामी र चिकित्सकलाई कोरोना सरेको पाइएको छ । त्यसैले संसारका कतिपय अस्पतालहरुले साना झ्याल भएका बन्द कोठामा बिरामी जाँच्ने संरचनामा परिवर्तन गरिरहेका छन् र थोरै बिरामी जाँच्न र हरेक बिरामी गएपछि बिरामी जाँच्ने ठाउँ सफा गर्न सल्लाह दिएका छन् । अफिसहरुमा पनि पूरा झ्याल–ढोका बन्द गरेर एअर कन्डिसन चलाएर बस्नु जोखिमपूर्ण भएकाले यसमा परिवर्तन गर्नुपर्छ र एक–अर्को बीच ६ फिट दूरी नपुग्ने कोठामा कुनै मिटिङ गर्नुहुँदैन । मास्क लगाए पनि भ्mयाल–ढोका बन्द हुने कोठामा धेरै बेर बस्दा खतरा हुने भएकाले नै जिमखाना, पार्लर, मललगायत मानिसहरु भीडभाड हुने ठाउँमा नजानु भनेको । यो खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थाल्यो, कर्मचारी र ग्राहक जोखिममा

स्वास्थ्य


काठमाडौँ — भाद्र १२, २०७७। 

बैंकिङ क्षेत्रमा कोरोना बढ्न थालेको छ । २ सय जनाभन्दा बढी बैंकका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएपछि बैंकमा गई प्रत्यक्ष कारोबार गर्ने ग्राहकसमेत असुरक्षित भएका छन् ।

कोभिडका बिरामी बढेसँगै बैंकहरूले कर्मचारीहरूको कोरोना परीक्षण गराउँदा संक्रमितको संख्या दिन प्रतिदिन बढेको हो । लक्षण नै नदेखिएका कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएपछि बैंकिङ क्षेत्र असुरक्षित भएको छ ।

नेपाल राष्ट्र बैंक र बंैक तथा वित्तीय संस्थाहरूले प्रत्यक्ष कारोबारभन्दा इन्टरनेट बैंकिङ, आइपिएस, मोबाइल बैंकिङबाट कारोबार गर्न आग्रह गरे पनि सर्वसाधारणको भीड बैंकहरूमा देख्न सकिन्छ । यसबाट कोरोना कता कता फैलियो भनेर ट्रेसिङ गर्नसमेत समस्या हुने भएको छ ।

प्रत्यक्ष रूपमा सर्वसाधारणको सम्पर्क नरहने नेपाल राष्ट्र बैंकमा समेत कोरोना संक्रमणले छोएपछि गभर्नर महाप्रसाद अधिकारीसमेत होम आइसोलेसनमा बसिरहेका छन् ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एभरेस्ट, एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, सनराइज, नेपाल इन्भेस्टमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंकका कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ ।

प्राइम कमर्सियल बैंकको मुख्य कार्यालयमा मात्रै करिब डेढ दर्जन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न बैंकका न्युरोड, थापाथली, पुलतीसडक, कमलादी, लाजिम्पाटमा रहेका शाखा तथा एक्सटेन्सन काउन्टरमा कोरोना संक्रमित कर्मचारी भेटिएको छ ।

सानिमा बैंक, एनआइसी एसिया बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ । यस साता मात्रै नेपालगन्ज, वीरगन्ज, विराटनगर, धनगढी, धादिङ, भैरहवा, हेटौंडा, लहानसहित काठमाडौंका बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । काठमाडौं उपत्यकाभित्र रहेका बैंकका केन्द्रीय कार्यालय तथा शाखाहरूमा कोरोना संक्रमण देखिन थालेपछि बैंकिङ क्षेत्र त्रसित हुन थालेको छ ।

संक्रमण बढ्न थालेपछि अधिकांश बैंकले शाखा र एक्सटेन्सन काउन्टर बन्द गरी केन्द्रीय कार्यालयमा अत्यावश्यक कर्मचारी मात्र बोलाएर सेवा दिएको छ । अधिकांश कर्मचारीलाई बिदा दिइएको आजको राजधानी दैनिकमा खवर छ ।