सुनसरी— १२ भदौ।
कोरोना भाइरसको संक्रमणका कारण सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मोरङ बेलवारीकी ५६ वर्षिय महिला र झापाको दमक नगरपालिकाका ८३ वर्षिय पुरुषको आज बिहान निधन भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो ।
त्यस्तै सिराहा जिल्लाको सिराहा नगरपालिकाका–२ का ५५ वर्षिय पुरुषको हिजो राति मृत्यु भएको हो ।
मृत्यु हुने दुवै पुरुष मुटु, उच्च रक्तचाप र मधुमेहका दीर्घ रोगी रहेको बताइएको छ ।
(ईमेज खबर)
काठमाडौँ — भाद्र ११, २०७७।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।
त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो । घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले बताउनुभयो ।
जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।
(ईमेज खबर)
काठमाडौँ — भाद्र ११, २०७७।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण वीरगञ्जमा चार जना, ललितपुरमा एक जना, पोखरामा एक जना र बुटवलमा एक जनाको ज्यान गएको हो ।
वीरगञ्जस्थित दुई वटा अस्पतालमा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा तीन जना कोरोना संक्रमित रहेका छन् भने एक जनाको शंकास्पद मृत्यु भएको छ ।
हिजो साँझ ६ बजेदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
हिजो साँझ नारायणी अस्पतालमा धोबिनी–३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो ।
हिजै राति ८ बजे रौतहट, राजदेवी नगरपालिका मुडवलबाका ८० वर्षीय वृद्धको शंकास्पद मृत्यु भएको थियो ।
त्यसैगरी, आज बिहान बारा, हर्दिया ४ की २३ वर्षीया गर्भवती महिला संक्रमितको मृत्यु भएको छ ।
तीनै जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको आज वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
वीरगञ्ज १४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । चार जनामध्ये पर्साका २, बाराका एक र रौतहटका एक जना रहेका छन् ।
रौतहटका ८० वर्षीय वृद्धको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ भने बाँकी तीन जनामा कोरोना संक्रमण पुष्टि भएर उपचार भइरहेको थियो ।
त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनी भक्तपुर बालकोट निवासी भएको बताइएको छ ।
आइसीयूमा उपचाररत उनको आज मृत्यु भएको हो । बुटवलको धागो कारखानामा सञ्चालित बुटवल कोरोना विषेश अस्पतालमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको भदौ ५ गते कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेहको बिरामी भएको अस्पतालले जानकारी दिएको छ ।
त्यसैगरी पोखरामा पनि एक ३२ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड १९ केन्द्रको आइसियूमा उपचार भइरहेकी पोखरा महानगरपालिका ११ की ३२ वर्षीय महिलाको मृत्यु भएको हो ।
उनको आज बिहान मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८२ पुगेको छ ।
(ईमेज खबर)
काठमाडौँ — भाद्र १०, २०७७।
नेपालमा थप ८८५ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
२४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।
(कान्तिपुर दैनिक)
काठमाडौँ — भाद्र १०, २०७७।
विभिन्न स्थानमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या १६७ पुगेको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भयो ।
काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यसैबीच बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने प्रदेश ५ मा २४ पुगेको छ ।
विराटनगर महानगरपालिकामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
मोरङको बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत महानगरपालिका–१५ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएकोपछि उनलाई मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरका अनुसार हाल महानगर–११ स्थित माइतमा बसोबास गर्दै आएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको हो ।
(इमेज खबर)
काठमाडौँ — भाद्र ९, २०७७।
कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमितिका सभापति ६७ वर्षीय गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो ।
चार दिन अघिदेखि भेन्टिलेरमा राखेर उपचाररत उनको उनको मगंलबार मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले बताए । उनका अनुसार साउन २७ गते कोरोना पुष्टि भएका उनी साउन ३१ गते अस्पताल भर्ना भएका थिए । ३२ गतेदेखि आईसीयूमा उपचाररत थिए ।
‘सुरूदेखि नै उहाँको अवस्था गम्भीर थियो,’ उनले भने, ‘उहाँलाई मुटुरोग, प्रेसर, सुगरलगायत अन्य समस्याहरु पनि थियो ।’ उनको मृत शरीर व्यवस्थापनका लागि आर्मी अस्पताल आइसकेको उनले जानकारी दिए ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार रञ्जितले वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए । रञ्जितको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दु:ख व्यक्त गरेका छन् ।
(कान्तिपुर दैनिक)
काठमाडौँ — भाद्र ९, २०७७।
उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ ।
उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो । उपत्यकामा सङ्क्रमितको सम्पर्कमा रहेका २८ हजार पाँच सय जनाको पीसीआर निषेधाज्ञाको अवधिभित्रै परीक्षण गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्नुपर्ने सङ्ख्या बढ्नसक्ने भएकाले बढेका व्यक्तिको उपत्यका नगरपालिकाले तालिका बनाएरै पीसीआर परीक्षण गर्छ भन्नुभयो । काठमाडौँ महानगरपालिकामा १५ हजार, ललितपुर महानगरमा दुई हजार र बाँकी अन्य १६ वटा नगरपालिकामा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पीसीआर गर्ने योजना फोरमले बनाएको छ ।
उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबारबाटै १८ वटा पालिकामा ‘फोकल पर्सन’ तोक्ने छ । फोरमले उपत्यकाका सबै नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघिको बैठकले भदौ ९ गतेसम्म उपत्यकाका नगरपालिकाको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको छ । भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ ।
नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा घना बस्ती भएकाले कुनै पनि बेला सङ्क्रमण जटिल अवस्थामा पुग्न सक्छ । अत्यन्त घना बस्ती रहेको सङ्घीय राजधानीमा कोरोना सङ्क्रमण समुदायमै फैलियो भने नियन्त्रण गर्न धेरै कठिन हुन्छ भन्नुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
सरकारले उपत्यकाका विद्यालयको होस्टलमा क्वारेन्टाइन राख्ने भएको छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले उपत्यकाका ठूला विद्यालयको छात्रावास निरीक्षण शुरु गरेको छ ।
आइतबार तीनै जिल्लाका प्रजिअको बैठकले उपत्यकामा क्वारेन्टाइनको अभावका कारण कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने आकलन गर्दै विकल्पका रुपमा विद्यालयको होस्टललाई प्रयोगमा ल्याउन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही रातीदेखि उपत्यकाका ठूला विद्यालय र होस्टलको अवस्था, त्यसको क्षमताको बारेमा जाँचबुझ गरेको थियो ।
लगत्तै हिजो सोमबार तीनै जिल्लाका प्रहरी परिसर, वृत्त, प्रभाग र चौकीमा कार्यरत प्रहरीले विद्यालयको अवस्था बुझेका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विकल्पका रुपमा विद्यालयको होस्टल प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्वारेन्टाइनका रुपमा छनोट भएका विद्यालयमा कोरोनो संक्रमितलाई राखिँदैन । एक हप्तासम्म राखेर पठाउनका लागि विद्यालयको होस्टललाई क्वारेन्टाइन बनाउन लागेका हौं ।’
सरकारको निर्देशनअनुसार स्थानीय प्रशासनले पहिलो चरणमा विद्यालयको होस्टल र आवश्यकताका आधारमा विद्यालय नै प्रयोग गर्ने तयारी गरिरहेको छ । प्रजिअको निर्देशनमा सोमबार दिनभर तीनवटै जिल्लाका स्थानीय प्रहरीले विभिन्न क्षेत्रका विद्यालयको निरीक्षण गरेका खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
म्याग्दी — भाद्र ९, २०७७।
म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु रस्क्रबटाइफस भएको हो ।
बेनी नगरपालिका–४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ३३ वर्षीया महिलामा भने डेङ्गु मात्र देखिएको छ । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यो वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।
गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ ।
नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।
टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ । डेङ्गु र स्क्रबटाइफसको केही लक्षण मिल्दोजुल्दो हुन्छ ।
स्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।
(ईमेज खबर)
देशभर ४९ अस्पतालले कोभिडका बिरामीको उपचार गर्नुपर्ने, ११५ वटाले फिभर क्लिनिक चलाउने
काठमाडौँ — भाद्र ८, २०७७।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड उपचारका लागि तय गरेको तीन तहको अस्पताल संरचनालाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार हालसम्म कार्यान्वयनमा रहेको कोभिड अस्पतालको लेभल एक, दुई र तीनलाई खारेज गरी सबै अस्पताललाई कोभिड–१९ को बिरामी उपचारमा सूचिकृत अस्पताल हुने भएका छन् । यस्तै ती अस्पतालहरुले अब कोभिडका बिरामीहरुको चिकित्सकीय अवस्था तथा सेवाको उपलब्धताका आधारमा उपचार वा रेफर गर्न पाउनेछन् ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब ११५ वटा अस्पताले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने छन् भने ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने छन् । मन्त्रालयले यसअघि गरेको व्यवस्था अनुसार देशभर लेभल ३ अस्पताल २३ वटा, लेभल २ अस्पताल १८ वटा र लेभल १ अस्पताल ७ वटा थियो । यस्तै आइतबारै मन्त्रालयले सानेपास्थित मेघा अस्पताललाई पनि कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो ।
‘अब पहिला लेभल १, २, ३ भनेर सूचिकृत गरिएका अस्पतालहरु सबैले समानरुपमा कोभिडका बिरामीहरु भर्ना लिएर उपचार गर्नुपर्ने छ,’ डा. समिरले भने, ‘कुनै कोभिडको बिरामीलाई विशिष्ठकृत उपचार चाहियो र त्यो उनीहरुले दिन नसक्ने भएमात्रै अन्यत्र रेफर गर्न पाउनेछन् ।’ उनका अनुसार लेभल १, २ का रुपमा सूचिकृत भएका अस्पतालहरुले आफूले सेवा दिन सक्ने अवस्था रहँदा रहँदै पनि अन्यत्र बिरामी रेफर गर्ने गरेको पाइएकोले सो समस्या समाधान गर्न यस्तो व्यवस्था लागु गरिएको हो ।
डा. अधिकारीका अनुसार यो व्यवस्था अनुरुप अब कोभिड उपचार गर्ने अस्पतालले अन्य बिरामी उपचारका लागि छुट्टै व्यवस्था गर्नुपर्ने छ । कोभिड र नन् कोभिडलाई एकै स्थानमा उपचार गर्न पाउने छैनन् ।

यसअघिको व्यवस्था अनुसार मन्त्रालयले लेभल १ अस्पताल भनेर आयुर्वेद रिसर्च एण्ड ट्रेनिङ सेन्टर अस्पताल कीर्तिपुर, काठमाडौं मेडिकल कलेज, कोरोना अस्थायी अस्पताल चितवन, अस्थायी कोभिड अस्पताल (कोशी अस्पताल) विराटनगर, जानकी अस्पताल, बागलुङ अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिपी कोइराला राष्ट्रिय सेन्टर फर रेस्पिरेटोरी डजिज् तनहुँ, राप्ती प्रादेशिक अस्पताल, लुम्बिनी अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत, अछाम अस्पताल, भीम अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताललाई तोकेको थियो । यी अस्पतालले प्राय गरेर आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई मात्रै सेवा दिन्थे ।
यस्तै, लेभल २ अस्पताल भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नेपाल सशस्त्र बल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, जनकपुर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र सेती अस्पताललाई तोकेको थियो । यी अस्पतालले भने मध्यमदेखि जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्थे ।
लेभल ३ अस्पताल भनेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, धुलिखेल अस्पताल, सेती प्रादेशिक अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, काठमाडौं मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज रहेका छन् । यी अस्पतालहरुले भने कोभिड–१९ भएका बिरामीहरुलाई आवश्यक पर्ने हरेक प्रकारको विशिष्ठकृत सेवा दिन सक्षम छन् ।
(कान्तिपुर दैनिक)