health
||Power News Asia||

आजको समाचार

विराटनगर र धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य


विराटनगर । कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो । यसैगरी सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान करिब ३ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोभिड १९ उपचार केन्द्र विराटनगरका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलका अनुसार मोरङका मृतक पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनलाई आठ दिनयता भेण्टिलेटरमा राखिएको थियो ।

एक सय १० किलो तौल भएका पुरुषलाई श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । सिग्देलले अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जनाए ।

यसैगरी बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेको थियो ।

मधुमेह र उच्च रक्तचाप भएका पुरुषमा मिर्गौलाको समस्या पनि थियो । उनी नियमित डाइलायसिस गराउँदै आएका थिए । १० असोजमा भर्ना भएका पुरुषलाई भेण्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ५० पुरुष छन्  ।

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

स्वास्थ्य


काठमाडौं- विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् । रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।

अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट

स्वास्थ्य


काठमाडौं- अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ।

कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको डब्ल्यूएचओको विश्वास छ।

संगठनका अनुसार यो परीक्षण विकसित गर्ने कम्पनीसँग जुन सम्झौता भएको छ, त्यसअनुसार कम्पनीले ६ महिनाभित्र १२ करोड परीक्षण गर्नेछ।

 

काठमाण्डौमा मात्रै ५० प्रतिशत कोरोना संक्रमित

स्वास्थ्य


काठमाडौं-केही सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको छ । मुलुकका कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन् ।उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ । यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ ।

‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौंमा कोरोना नियन्त्रण सम्भव हुँदैन,’ मन्त्रालयका सहायक प्रवक्ता डा। समीर अधिकारीले भने ।डा। अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुुपर्ने बताउँछन् । उनी २५ हजारभन्दा बढी सक्रिय सक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । नेपालको स्वास्थ्य प्रणाली कमजोर र सुरुवाती चरणको रहेकाले नागरिक स्वयंले पूर्वसावधानी अपनाए मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्रालयका अधिकारी बताउँछन् । ‘सरकारले के गर्दैछ भन्दा पनि हामी स्वयंले सचेतता अपनाउनु जरुरी छ । 

धरानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टि

स्वास्थ्य


सुनसरी — भाद्र १६, २०७७। 

धरान उपमहानगरपालिका–११ मा सोमबार बेलुकी मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । मंगलबारेनजिकै मोतीचोक बस्ने ६५ वर्षीय पुरुषको मंगलबार दिउँसो पीसीआर रिपोर्ट आउँदा कोरोना पोजिटिभ देखिएको हो ।

एक सातादेखि ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिए पनि उनी घरैमा बस्दै आएका थिए । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले कोरोनासँग मिल्दोजुल्दो लक्षणले मृत्यु भएको पाइएपछि स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा पीसीआर जाँच गराउँदा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार ती व्यक्ति प्रतिष्ठानकै ल्याबका अवकाशप्राप्त कर्मचारी हुन् । उनले भने, ‘महामारी चलेका बेला स्वास्थ्यसम्बन्धमा जानकार व्यक्ति नै कोरोनाको मिल्दो लक्षण भए पनि घरैमा सामान्य उपचार गरेर बसेका रहेछन् ।’

धरान–११ का वडाध्यक्ष बाबुलाल लामाका अनुसार ती व्यक्तिको मृत्यु हुनुअघि एक मेडिकल सञ्चालकले उनको घरमै पुगेर निमोनियाको आशंकामा रगतसमेत लिएका रहेछन् । ती मेडकल सञ्चालकले मंगलबार बिहानै पनि पसल खोलेर धेरैलाई औषधि बिक्री गरिरहेको पाइएको उनले बताए ।

अब वडा नै सिल गर्ने विषयमा उपमहानगर प्रमुख तिलक राईसँग समन्वय भइरहेको पनि लामाले जानकारी दिए । यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

(कान्तिपुर दैनिक)

अर्कबटी खाऊँ कोरोना भगाऊँ — आचार्य गौतम

स्वास्थ्य


काठमाडौँ — भाद्र १६, २०७७। 

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ ।

‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ –चिकित्सक गौतमले नेपाल समाचारपत्रलाई सोमबार बताउनुभयो ।

गुल्मी जिल्लाको वोलीवाङ हालको चन्दकोट–८ मा २०१९ सालमा जन्म भई विसं २०५० बाट रुपन्देही झर्नुभएका आयुर्वेद आचार्य डा। बद्री गौतम हाल भैरहवाको अन्नपूर्ण टोलमा बस्नुहुन्छ । डा। गौतमले आफू ८५ पुस्ताका रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

उहाँले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गर्नुभयो ।

डा। गौतमले तयार गर्नुभएको औषधी आइतबारसम्म १ सय ५३ जना कोरोना पोजेटिभले खाएकोमा १ सय ३८ जनाको रिपोर्ट आएकोमा १ सय ३७ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ आएको समेत बताउनुभयो ।
नेपालमा पाइने पाँच प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी ‘अर्कबटी’ गोली तयार पारिएको गौतमले बताउनुभयो ।

डा। गौतमले चीनको उहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरुको मृत्यु भएको खबर सुन्नासाथ जडीबुटीबाट आयुर्वेद औषधी निर्माणबारे अध्ययन थालेको बताउनुभयो । २ हजार ५ सय वर्षपहिले ऋषि आत्रेयराज अत्रीले जुम्लाको गोतम वाडाबाट शुरु गर्नुभएकोे सूत्रानुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडीबुटीलाई कोरोनाविरुद्धको औषधी बन्न सक्ने सोचेर त्यही विधिअनुसार औषधी तयार पारिएको डा. गौतमले बताउनुभएको खबर आजको समाचार पत्रले छापेको छ ।

सुन्धारास्थित केन्द्रीय कारागारमा ४८ कोरोना संक्रमित

स्वास्थ्य


काठमाडौँ — भाद्र १६, २०७७। 

देशभरका कारागारमा कोरोना संक्रमण त्रास बढेको छ। ठाउँ अभावले दूरी कायम गर्न नसक्दा संक्रमण जोखिम थपिएको हो।

सुन्धारास्थित केन्द्रीय कारागारमा आइतबार थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको कारागार व्यवस्थापन विभागका प्रवक्ता देवर्सी सापकोटाले बताए।

विभागले शंका लागेका देशभरका ८ सय ७९ जना (कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी)को पीसीआर परीक्षण गरेको थियो। ५ सय ९४ कैदीबन्दी, २ सय ७ जना सुरक्षाकर्मी र ७८ जना कर्मचारीको स्वाब परीक्षण गरिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका तीन जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य


चितवन — भाद्र १६, २०७७। 

उपचारका लागि अस्पताल पुगेर सोमबार मृत्यु भएका चितवनका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, ६५ वर्षीय पुरुष र खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको उपचारका क्रममा सोमबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

उनीहरुको स्वाब संलकन गरेर परीक्षणका लागि पठाएकोमा सोमबार राति नतिजा आउँदा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा आकस्मिक कक्ष इन्चार्ज डा.जगन्नाथ तिवारीका अनुसार सोमबार दिउँसो एक बजेदेखि साढे तीन बजेको बीचमा उनीहरु तीन जनाको भरतपुर अस्पतालको आकस्मिक कक्षमा नै निधन भएको हो । ‘अस्पतालको आकस्मिक कक्षमा नै उहाँहरु तीन जनाको निधन भयो,’ डा.तिवारीले भने । अवस्था चिन्ताजनक रहेको र अन्य अस्पतालमा शय्या र आईसीयू नभएपछि उनीहरुलाई भरतपुर अस्पताल लगेको मृतकका आफन्तहरुको भनाई छ ।

मृतक सबैमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको पनि परिवारलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ ।

भरतपुर–११ का पुरुषमा रक्तअल्पताको समस्या रहेको डा.तिवारीले बताए । १८ वर्षीया युवतीको स्वाब संकलन गरेको लगभग डेढ घण्टापछि निधन भएको उनले बताए । अरु दुई जनाको मृत्युपछि नै स्वाब संकलन भएको हो । ‘कोभिडको लक्षणसहित निधन भएका कारण स्वाब संकलन गरेर द्रुत तरिकाले नतिजा निकालेको हो । उहाँहरुमा संक्रमण पुष्टि भयो,’ डा.तिवारीले भने ।

योसहित चितवनमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ पुगेको छ । चितवनका मात्रै नौ जना संक्रमितको निधन भएको छ । अरु भने अन्य जिल्लाका हुन् । सोमबार दिउँसोसम्म चितवनमा कुल संक्रमितको संख्या ७०१ पुगेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

(कान्तिपुर दैनिक)

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य


बुटवल — भाद्र १५, २०७७ । 

उपचारका लागि अस्पताल खोज्दा-खोज्दै रुपन्देहीको तिलोत्तमाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेकी तिलोत्तमा नगरपालिका ५ की  ६८ वर्षीया महिलाको आइतबार साँझ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

भैरहवाको भीम अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन इश्वरी पौडेलले बताए । अस्पतालले भने साँझ ९ बजे मृत घोषणा गरेको थियो । मृतक सुगर र प्रेसरकी बिरामी थिइन् ।

नगरपालिकाका फोकल पर्सन पौडेलका अनुसार ती महिलालाई आइतबार बिहानदेखि श्वासप्रश्वाशमा समस्या आएको थियो । नगरका स्वास्थयकर्मीले आइसीयुमा राख्नुपर्ने बताएपछि नगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालमा सम्पर्क गरेको थियो । अस्पतालमा बेड नभएको बताएपछि घरमै राखिएको थियो । साँझ महिला गल्दै गएपछि सामाजिक विकास मन्त्रालयको समन्वयमा भीम अस्पताल लगिँदै थियो । तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको फोकल पर्सन पौडेलले बताए । अहिले शव भीम अस्पतालमै छ । उनलाई भदौ ११ गते संक्रमण देखिएको थियो । मृतकका घरमा उनीबाहेक अरुमा संक्रमित छैनन् । तिलोत्तमामा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ। यस नगरमा कोरोनाबाट संक्रमण हुनेको संख्या १ सय ४४ पुगेको छ । त्यसमध्ये ४४ जना उपचारको क्रममा छन्।

(कान्तिपुर दैनिक)

कोरोनाले ४५ मिनेटको अन्तरमा बिते आमाछोरा

स्वास्थ्य


सुनसरी —  भाद्र १४, २०७७। 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोरोना संक्रमणका कारण ४५ मिनेटको फरकमा आमाछोराको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्यु हुनेहरू धरान–१७ की ७४ वर्षीया महिला र उनका ६० वर्षीय सौतेनी छोरा हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पताल

छोराको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा र आमाको साढे ८ बजे मृत्यु भएको हो । उनीहरूलाई भदौ १३ गते बेलुकी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार महिलालाई मधुमेह र उच्च रक्तचाप तथा छोरालाई मधुमेह र कलेजोमा समस्या थियो । दुवैलाई १० दिनदेखि खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

उनीहरूको मृत्युपछि पीसीआर रिपोर्ट आउँदा दुवैमा कोरोना पोजिटिभ देखिएको हो । अस्पताल ल्याइपुर्‍याउँदा नै दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता सापकोटाले बताए । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा १७ जना संक्रमितको मृत्यु भइसकेको छ जसमध्ये ५ जना धरानका छन् । धरान–१७ रेल्वेचोक बस्ने एकै घरका दुई जनाको मृत्यु भएपछि वडामा थप सतर्कता अपनाइएको वडाध्यक्ष मनोज भट्टराईले बताए । उनले भने, ‘मृतकको घरका कोही पनि विदेश गएका थिएनन् । समुदायस्तरमा फैलिएको कोरोना भाइरसको चपेटामा उनीहरू परे ।’

(कान्तिपुर दैनिक)