काठमाडौँ — भाद्र ८, २०७७।
विदेशबाट आएका नागरिकलाई राख्न सरकारले काठमाडौं उपत्यकामा ९ सय ५० बेडको आइसोलेसन वार्ड तयार गर्ने भएको छ। यसका लागि तीन स्थानलाई पहिचान गरी एकीकृत क्वारेन्टिन निर्माण समितिले काम थालेको छ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले सामाखुसीको राधास्वामी भवनमा ५ सय बेड, कीर्तिपुरमा ३ सय बेड, ललितपुरको स्टाफ कलेजमा एक सय बेड र भक्तपुरको चाँगुनारायण नगरपालिका तेलकोटमा ५० बेड क्षमताको आइसोलेसन तयार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।
यसअघि पनि गृह मन्त्रालयले संक्रमण फैलिएको जिल्लाबाट अर्को जिल्लामा जाँदा क्वारेन्टिनमा बस्नुपर्ने र विदेशबाट आएका नागरिकलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय र गृहसचिव नै संयोजक रहनेगरी क्वारेन्टिन व्यवस्थापन समिति बनाएपछि आइबारदेखि काम सुरु भएको हो। मन्त्रिपरिषद् बैठकले समितिलाई दिएको निर्देशनअनुसार विदेशबाट आएका श्रमिक क्वारेन्टिनमा बस्दा लाग्ने खाना खर्च वैदेशिक रोजगार कल्याणकारी कोषले बेहोर्नेछ।
प्रधानमन्त्री कार्यालयले सबै जिल्लामा आइसोलेसन बेड व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। जिल्ला प्रशासन कार्यालयमार्फत सबै जिल्लामा आइसोलेसन बेड तयार गर्न, क्वारेन्टिन बनाउन, निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन आएपछि ७७ वटै जिल्लामा तयारी तीव्र भएको गृह मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले पनि निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गरिरहेको छ। प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागार्इंले मन्त्रिपरिषद् बैठकले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र कार्यान्वयन भएनभएको जानकारी लिन थालिएको बताएको आजको नागरिक दैनिकमा खवर छ ।
भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले विदेशबाट मानिस ल्याउने, क्वारेन्टिन बनाउने, उद्धारका लागि नियमित उडान गर्ने, जिल्लाजिल्लामा आइसोलेसन बेड तयार गर्ने एकीकृत क्वारेन्टिन निर्माण गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकताअनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा ६ हजार आइसोलेसन बेड प्रबन्ध गर्ने, आवश्यकताअनुसार थप गर्दै जाने, काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संक्रमण जोखिमको विश्लेषणका आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्ने निर्णय गरेको थियो।
काठमाडौँ — भाद्र ८, २०७७।
प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए।
‘क्लिनिकल ट्रायलमा संलग्न हुनका लागि हामी खुला छौं। जसको भ्याक्सिन पहिला आउँछ त्यसको उपयोग गर्छौं’, प्रवक्ता डा। गौतमले अन्नपूर्णसँग भने। भ्याक्सिन तयार पार्न विकसित मुलुकबीच प्रतिस्पर्धा भइरहेकाले त्यसको गुणस्तर, प्रभावकारिता र उपलब्धता हेरेर परीक्षण गर्ने /नगर्ने निर्णय गरिने उनको भनाइ छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन, रुस र यूके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको खोप ट्रायलको प्रक्रिया अघि बढाइएको जनाएको छ। चीनको एक कम्पनीले कामदारमाथि ट्रायल गर्न अनुरोध गर्दै मन्त्रालयलाई पठाएको छ। यस सम्बन्धमा अनुसन्धान गरी निर्णय गर्न मन्त्रालयले आइतबार परिषद्लाई जिम्मा दिएको छ।
मन्त्रालय स्रोतका अनुसार होङसी ग्रुपमा कार्यरत कामदार र अन्य गरी एक हजार जनाका लागि स्वीकृतिको अनुरोध चीनबाट आएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
वीरगन्ज — भाद्र ८, २०७७।
नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ ।
आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो । अस्पताल स्रोतले दिएको जानकारीअनुसार आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । १९ जना संक्रमित बाराका बासिन्दा हुन् ।
५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो । जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष कृष्णबहादुर ठकुरीले जनाए । उनका अनुसार १६ जनामध्ये ९ जना नेपाल आयल निगमका कर्मचारी हुन् । बाँकी ट्यांकर चालक र स्थानीय हुन् ।
पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा १४ जना संक्रमित थपिएका छन् । गत भदौ ५ मा उक्त वडामा ९५ जनाको स्वाब संकलन गरिएको थियो । वीरगन्ज महानगरपालिका–१५ भिस्वामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।
(कान्तिपुर दैनिक)
वीरगन्ज — भाद्र ७, २०७७।
वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत दुई थुनुवा शनिबार राति फरार भएका छन् । राति करिब २ बजे स्वास्थ्यकर्मी राउन्डमा आउँदा दुई संक्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनीहरू अस्पतालको पछाडि रहेको पोखरीमा हाम फालेर भागेको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।
पर्सा प्रहरी प्रवक्त डीएसपी मनोजित कुँवरका अनुसार दुवै जना सार्वजनिक अपराधमा पक्राउ परेका थिए । ‘वडा प्रहरी कार्यालय बिर्ताले थुनुवालाई अस्पताल पठाएको थियो,’ उनले भने, ‘उनीहरूको मुद्दाको फाइलसमेत पेस भइसकेको थियो ।’
(कान्तिपुर दैनिक)
वीरगन्जको ल्याबमा ३ सय २० स्याम्पल परीक्षण गर्दा १ सय ५६ जनामा देखियाे कोरोना
वीरगन्ज — भाद्र ७, २०७७।
नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका बासिन्दा हुन् । प्रयोशाला स्रोतका अनुसार ३४ महिलासहित १ सय ५६ जनामा कोरोना पुष्टि भएको हो ।
४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ पाइएका हुन् । नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । वीरगन्जको एक एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।
वीरगन्ज महानगरपालिका– १४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् । वीरगन्जका अन्य संक्रमितहरु राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वाका बासिन्दा हुन् । पर्सागढी नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पर्साको बिन्दवासनी गाउँपालिकामा ९ जनामा कोरोना देखिएको छ । पटेर्वासुगौली, बिन्दवासनी गाउँपालिकामा समेत संक्रमित थपिएका छन् ।
(कान्तिपुर दैनिक)
काठमाडौँ — भाद्र ७, २०७७।
काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले शनिबार दुर्व्यवहार गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ गर्दै सञ्चालक रोहित रानालाई हातखुट्टा भाँच्नेसम्म चेतावनी दिए। बानेश्वर वृत्तबाट प्रहरी टोली आएपछि उनीहरू पछि हटे।
रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। विश्वबन्धु बगालेलाई कोरोना संक्रमण भयो। जनप्रतिनिधिसहित छिमेकीले उनलाई ढाडस दिनुपथ्र्यो। तर संक्रमितको घर भन्दै ब्यानर टाँग्न प्रयत्न गरे। विराटनगरका डा। ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण पुष्टिपछि परिवारका सदस्यलाई हाउजिङमा बस्न असहज भयो। हाउजिङमा बस्ने अन्यले अवरोध गर्न खोजे।
सुनसरीको इटहरी–५ का २७ वर्षीय युवकलाई अस्पतालबाट डिस्चार्जपछि घर जाँदा छिमेकीले बस्न दिएनन्। उनी भन्छन्, ‘रोगले भन्दा समाजले मार्ने रहेछ।’ नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा तल्लीन चिकित्सक दुर्व्यवहारमा परे। उनीहरूविरुद्ध नारा नै घन्कियो। चितवनकी एक नर्समा कोरोना संक्रमण पुष्टिपछि उनको परिवारलाई छिमेकीले तनाव दिए। घरवरिपरि डोरी टाँग्न वा पोस्टर टाँस्न दबाब दिए।
भावनात्मक दूरी निकट राखौं
कोरोना संक्रमण वृद्धिसँगै एकअर्काबीच भावनात्मक सम्बन्धमा दूरी बढेको छ। मिलिजुली बसेको नेपाली समाजको प्रवृत्ति कोरोनाले फेरिदिएको छ। भौतिकसँगै भावनात्मक दूरी बढाइएको छ। संक्रमितप्रति सद्भाव राख्नुपर्नेमा उल्टै दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ।
मानवशास्त्री सुरेश ढकाल महामारीका बेला व्यक्तिले गर्ने व्यवहार पनि फरक हुने बताउँछन्। ‘सामाजिक दूरी कायम गरौं भन्ने सन्देश नै विभेदकारी हो। सामाजिक दूरी कायम गर्ने सन्देशले समाजमा घृणाको बीउ रोप्ने काम गर्यो’, उनी भन्छन्, ‘कोरोनाका बारेमा पर्याप्त र सही सूचना समाजको तल्लो वर्गसम्म नपुगेकाले पनि फरक व्यवहार देखिएको हुन सक्छ।’ अन्नपुर्ण पोस्टबाट
काठमाडौँ — भाद्र ७, २०७७।
बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकोले रक्तदान गर्न रेडक्रसले युवालाई आग्रह गरेको छ ।
केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरै रक्तसञ्चार केन्द्रहरूमा रगत स्टक अति न्यून रहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तय भएका रक्तदान क्याम्पहरू स्थगित भइरहेका छन् । उहाँका अनुसार केन्द्रीय रक्तसञ्चार सेवामै आएका सेवाग्राहीलाई पनि फिर्ता पठाउनुपरेको छ । बिहीबार र शुक्रबार केन्द्रीय रक्तसञ्चार सेवामा रगत लिन आएका दर्जनौँ बिरामीका आफन्तलाई खाली हात फिर्ता पठाइएको उहाँले बताउनुभयो ।
नियमित रगत चाहिने खालका बिरामीहरूका लागि समेत रगत पर्याप्त आपूर्ति गर्न गर्न नसकिएको निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । नियमित रगत चाहिने क्यान्सर, मिर्गौला, थालसेमिया, हेमोफिलियाजस्ता बिरामीलाई समेत रक्तसमूह मिल्ने आफन्त खोजी रगत दिन लगाई काम चलाइरहेको पौडेलले बताउनुभयो । दुर्घटना, प्रसूती, मुटु, आकस्मिक शल्यक्रियाका बिरामीहरूका आफन्तहरूलाई कतिपय अवस्थामा फर्काउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
विशेष गरी देशमा मुख्य सहरहरू तथा मिर्गौला, क्यान्सरका रोगी धेरै हुने स्थानहरूमा रगतको अभाव भइरहेको निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार काठमाडौँ, विराटनगर, धरान र चितवनलगायत मुख्य सहरमा रगत अत्यन्तै अभाव भइरहेको छ । ुबन्दाबन्दीको सुरुमा रगत राम्रै सङ्कलन भएको थियो । तर यो लम्बिँदै गएपछि रक्तसञ्चार क्याम्पहरू गर्न असहजता भएका कारण यस्तो अभाव भएको हो । निर्देशक पौडेलले बताएको समाचार आजको गोरखापत्रले छापेको छ ।
काठमाडौँ — भाद्र ७, २०७७।
कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौँ लैजाँदै गर्दा बाटैमा नै उहाँको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिनुभयो ।
हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर कोभिड— १९ का बिरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उहाँलाई झापा पुर्याईएको समाचार आजको गारेखापत्रले प्रकाशन गरेको छ ।
वीरगञ्ज — भाद्र ७, २०७७।
वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर– ११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा संक्रमण पुष्टि भएको थियो । योसँगै बीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
यता, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।
ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।
कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
बीरगञ्ज महानगरपालिका वडा नम्बर– ११ बस्ने ५६ वर्षीया महिलाको हिजो बेलुकी बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा संक्रमण पुष्टि भएको थियो । योसँगै बीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
यता, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो ।
ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।
कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
(ईमेज खबर)
काठमाडौँ — भाद्र ७, २०७७।
मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो। श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोसी अस्पताल लगिएको थियो। एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए।
परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे। तर, उनमा कोरोना संक्रमण भएको यथार्थ शुक्रबार दाहसंस्कार गर्न घाट लैजाने बेला मात्रै थाहा भयो। वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।
ती पुरुषको पीसीआर रिपोर्ट भने बुधबारै आएको रहेछ। रिपोर्टमा पोजिटिभ आएको कुरा प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दिएको रहेछ। दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन्। ज्वरो, रुघाखोकीको समस्या देखिन थालेपछि ती पुरुषको स्वाब संकलन गरी गत सोमबार पीसीआर परीक्षण गर्न पठाइएको थियो।
‘अघिल्लो दिन पोजिटिभ रिपोर्ट आउँदा पनि कसैलाई जानकारी गराइएन’, मृतकका भान्जा सचिन कामतले भने, ‘त्यही कारण मृत्यु भइसक्दा पनि कोरोना छैन होला भनेर अन्त्येष्टिका लागि घाटसम्म लैजाने तयारी गरिएको थियो।’
कोरोना संक्रमणको खबर आएपछि परिवारका सदस्य, आफन्त र मलामी छाँगाबाट खसेजस्तै भएका छन्। मृत्युको शोकसँगै कोरोना सरेको हुन सक्ने आशंकाले उनीहरू तनावमा परेका छन्। परिवारका सदस्य र आफन्त गरेर २० जनाभन्दा बढी ‘होम क्वारेन्टाइन’मा बसेका छन्।
मृतकका २०, १८ र १५ वर्षका छोरी, १२ वर्षका छोरा र श्रीमती छन्। उनीहरू रोगले थलिएर नियमित औषधि सेवन गर्दै आएका अभिभावकको स्याहारमा खटिएका थिए। मजदुरी गरेर खाने परिवारको आर्थिक अवस्था कमजोर छ। मृतकको दाहसंस्कार गर्न पनि परिवारले ७ हजार रुपैयाँ ऋण खोजेको थियो।
‘मामालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो। पीसीआर रिपोर्ट पोजिटिभ आउँदासम्म हामीलाई जानकारी नदिएर प्रदेश र स्थानीय सरकारले गम्भीर लापरबाही गरे’, सचिनले भने, ‘त्यही भएर बिरामीको स्याहार गर्नेदेखि मृत्यु हुँदा शव अस्पतालबाट ल्याउने र जलाउन घाटमा लैजानेसम्मको तयारी गरिएको थियो।’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।