काठमाडौँ — श्रावण ३०, २०७७ ।
विश्व स्वास्थ्य संगठन डब्लु एच.ओले प्याकिङ गरिएको खानेकुराबाट कोरोना भाइरस सर्न सक्ने कुनै प्रमाण नभेटिएको दाबी गरेको छ ।
चीनको सेन्जेन सहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको तर सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिस तुरुन्तै पत्ता लगाएर परीक्षण गर्दा भने नतिजा नेगेटिभ आएको बताइएको छ ।
यस सम्बन्धी डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले मानिसहरूले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरी गरिएका खानेकुरासँग डराउनुपर्ने अवस्था नरहेको जनाउनुभएको छ ।
उहाँले हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण नभएको स्पष्ट पार्नुभएको छ ।
कोरोनाको महमारी सुरु भएदेखि चीनले बाहिरबाट आएका खानेकुराहरुको प्याकेजहरूको जाँच गर्दै आएकोमा कम मात्र खानेकुराको प्याकिङमा भाइरस पोजेटिभ भेटिएका छन् ।
यता ब्राजिलले पनि चीनमा खानेकुराको प्याकिङमा कोरोना पोजिटिभ देखिएको बिषयलाई लिएर यसबारे अनुसन्धान गर्न आफना देशका स्वास्थ्यबिदहरुलाई निर्देशन दिएको छ ।
(एजेन्सी)
काठमाडौँ — श्रावण २९, २०७७।
खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् । यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ ।
भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ ।
यसैगरी, भियाग्राले अन्धोपना गराउने एक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार भियाग्राको प्रयोग सुरुमा हल्का डोजको गरिएपनि आवश्यकता अनुसार यसको मात्रा विस्तारै बढ्दै जाने भएकाले विस्तारै व्यक्तिको आखाँमा समस्या आउने गर्छ ।
फ्रन्टियर इन न्यूरोलोजीमा प्रकाशित रिपोर्टका अनुसार भियाग्राको कारणले आखाँमा समस्या आउने, रङहरु छुट्याउन नसक्ने र कुनै कुनै पुरुषहरुमा अन्धोपनासमेत गराउने गर्छ ।
टर्कीस्थित अडाना हस्पिटलका डाक्टर कुनेयत कारास्लानले बिशेषज्ञको सल्लाहविना ‘सेक्स एन्ग्जाइजी’ र ‘इरेक्टाइल डिसफन्क्शन’ को समाधानको लागि भियाग्रा प्रयोग गर्छन् ति मानिसहरुमा यस्तो समस्या देखापर्ने बताएका छन् ।
भियाग्राले डाइलेक्ट रक्तनलीहरुका मामंपेशीहरु बलियो बनाउने काम गर्छ भने यो औषधिको असर शरीरमा ३ देखि ५ घण्टासम्म रहन्छ ।
डाक्टर कुनेयत कारास्लानले १७ जनामा यस्तो असर देखेको बताए । ती सबै पुरुषहरु दृष्टिदोषको सिकार भएको पाइएको थियो । ति व्यक्तिहरुमा धमिलो देख्ने, आँखा रातो हुने जस्ता समस्या देखिएको थियो । तिनीहरुले १०० एमजीभन्दा बढीको डोज सेवन गर्ने गरेका थिए ।
डाक्टर कुनेयतले १०० एमजीभन्दा बढीको भियाग्रा सेवन गर्दा आखाँमा समस्या आउने साथै टाउको दुख्ने समस्या पनि पैदा हुने बताएका छन् ।
भियाग्रा सन् १९९८ मा पहिलोपटक बजारमा उपलब्ध भएको थियो । यो बजारमा आएसँगै यसको माग तीव्र गतिमा भयो । उक्त समय भियाग्रा इतिहासमा सबैभन्दा बढी बिक्री हुने औषधिको रुपमा चिनिएको थियो ।
(एजेन्सी)
काठमाडौँ — श्रावण २९, २०७७।
हेटौंडाका १८ जना सहित मकवानपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि हुनेमा हेटौंडा ९ का ७ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ४ का ४ जना, हेटौंडा २ का १ जना, हेटौंडा १० का १ जना, हेटौंडा १३ का १ गरी १८ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
त्यस्तै, भीमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ र नेपाल प्रहरी १० जनामा कोरोना पुष्टि भएको चौलागाइँले बताउनुभयो ।
वाग्मती प्रदेश सरकारले योसंगै मकवानपुरमा १ सय ३७ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
(ईमेज खबर)
काठमाडौँ — श्रावण २८, २०७७।
गाह्रो भयो भने अस्पताल जान सक्नुहुन्छ, बेड व्यवस्था हुन्छ : प्रवक्ता गौतम
कोभिड–१९ को बढ्दो संक्रमणसँगै देशभरका स्वास्थ्य संस्थामा शय्या अभाव हुन थालेको सरकारले जनाएको छ । संक्रमितले अस्पताल भरिन थालेपछि शय्या अभाव देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
संक्रमण भइसके पनि लक्षण देखा नपरेमा (एसिम्प्टोम्याटिक) घरमै बसेर अन्य व्यक्तिलाई रोग सर्न नदिने सावधानीका उपाय अपनाएमा समेत यो रोग नियन्त्रण र रोकथाम गर्न सकिने उनको भनाइ छ । ‘कोरोना संक्रमणको विस्तार हुन नदिन सावधानीका उपाय अवलम्बन गर्नु बाहेकको विकल्प छैन,’ उनले भने ।
हाल पीसीआर परीक्षण संख्याका आधारमा संक्रमण दर ५.२ प्रतिशत छ ।
होम आइसोलेसनमा २ सय २४ संक्रमित छन् । आईसीयूमा उपचार गराउनेहरूको संख्यासमेत बढ्दो छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार मंगलबार देशभर ८५ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा छन् । सबैभन्दा बढी प्रदेश २ मा ४३ जना आईसीयूमा छन् । वाग्मतीमा ३५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् । प्रदेश–५ मा ६ जना र प्रदेश १ मा १ जना आईसीयूमा उपचाररत छन् ।
देशभर १ हजार १ सय ३४ वटा आईसीयू र ५ सय ७६ वटा भेन्टिलेटर शय्या रहेको उनले जनाए ।
यसअन्तर्गत आईसीयू शय्या प्रदेश १ मा ४४, प्रदेश २ मा ४५, वाग्मतीमा ६ सय ३०, गण्डकीमा १ सय ३७, प्रदेश ५ मा २ सय २०, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ वटा छन् । भेन्टिलेटर भने प्रदेश १ मा ६ वटा, प्रदेश २ मा १७, वाग्मतीमा ३ सय ६१, गण्डकीमा ५९, प्रदेश ५ मा १ सय ६, कर्णालीमा १७ र सुदूरपश्चिममा १० वटा छन् । हालसम्म २३ हजार ९ सय ४८ जनामा संक्रमण देखिएकामा १६ हजार ६ सय ६४ जना निको भइसकेका छन् । निको हुनेको संख्या कुल संक्रमितको ६९.६ प्रतिशत हुन आउँछ । ७ हजार २१ जना उपचाररत छन् ।
काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरी गरी चार जिल्लामा पाँच सय जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । मंगलबारसम्म काठमाडौंमा ९ सय ३३ जना संक्रमित उपचाररत छन् । हालसम्म काठमाडौंमा १ हजार ५७ जनामा संक्रमण पुष्टि भएकामा १ सय १७ जना डिस्चार्ज भइसकेका छन् । ७ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश २ को पर्सा, रौतहट र महोत्तरीमा सक्रिय संक्रमितको संख्या क्रमशः ९ सय ६४, ७ सय ९६ र ५ सय ९१ तथा निको हुनेको संख्या क्रमशः २ सय २६, ७ सय ९५ र २ सय ६४ छ । पर्सामा १९ र रौतहटमा २ जनाको मृत्यु भएको छ ।
'गाह्रो भयो भने अस्पताल जान सक्नुहुन्छ, बेड व्यवस्था हुन्छ'

अस्पतालको आइसोलेसनको बेड लक्षण भएका र नभएका संक्रमितले भरिएका छन् । कोरोना संक्रमित बढ्ला भनेर सबै अस्पताललाई आइसोलेसन बनाएका थिएनौं । आइसोलेसन बनाइएका सीमित अस्पताल सबै भरिए । त्यसैले अहिले लक्षण भएकालाई पनि घरमै राख्नुपरेको छ । खासमा लक्षण भएकालाई मात्रै अस्पतालमा राख्नुपर्थ्यो । अब लक्षण नभएकालाई कीर्तिपुरको आयुर्वेद अस्पताल परिसरमा २ सय जनालाई राख्ने व्यवस्था गरेका छौं ।
यहाँ पनि घरमा आइसोलेसन बस्न नमिल्नेलाई मात्रै राख्छौं । घरमा आइसोलेसनमा बसेकालाई गाह्रो पर्दा जुनसुकै बेला आफैंले सवारीको व्यवस्थापन गरेर पाटन, एपीएफ, टिचिङमा जान सकिन्छ । त्यहाँ गएर आफू संक्रमित भएको र गाह्रो भएको चाहिँ जानकारी गराउनुपर्छ । बेडको व्यवस्थापन जसरी पनि हुन्छ ।
(कान्तिपुर दैनिक)
बारा— श्रावण २६, २०७७।
बाराको जितपुर सिमरा नगरका स्थानीयको गुनासो र आलोचनापछी दुई साता भित्र पथलैया सिमरामा चारसय बेडको आइसोलेसन केन्द्र निर्माण गरिने भएको छ ।
प्रदेश सरकारले जिल्ला बिपत ब्यवस्थापन समिति मार्फत एक करोड ७० लाख रुपैंयाँको लागतमा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।
सिमरास्थित अस्थाई कोरोना अस्पतालको स्तरवृद्धी गरी तीनसय सैया र पथलैया स्थित ट्रमा सेन्टरको तालिम केन्द्रमा एक सय सैयाको आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।
प्रदेश सरकारले बनाउने भनेको नमुना आईसोलेसनको कार्याबन्यन हुन नसकेपछि संक्रमितको चापलाई मध्यनजर गरी सिमरा र पथलैयामा आइसोलेसन केन्द्र निर्माण गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले दुई साता भित्र दुबै स्थानमा मर्मत, खाना, खाजासहित आईसोलेसन निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आब्हान गरी कार्यादेश दिने बताउनुभयो ।
नगरमा संक्रमितको बढदो चापसंगै उपचार र अस्पताल अभाब भएपछि प्रदेश सांसद, स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका अगुवा, उद्योग बाणिज्य संघका प्रतीनिधी सहितको बैठकले प्रदेश सरकारबाट प्राप्त रकमले कोरोना अस्पताल क्वारेन्टिनलाई स्तरवृद्धी गरी आइसोलेसन बनाउने र पथलैया ट्रमा सेन्टर तालीम केन्द्रमा एकसय बढी कोठामा आईसोलेसन बनाउने निर्णय भएको हो ।
बैठकमा सात बुँदे मागसहित नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेखित मागहरु माथि छलफल पछि उक्त निर्णय गरिएको हो ।
नगरका मौजुदा स्वास्थ्य जनशक्ति परिचालन गर्दै त्यसका लागि आवश्यक पर्ने बिभिन्न स्वास्थ्य सामग्री र आइसोलेसन निर्माणको काम दुई साताको समयसीमा तोकी बोलपत्र आह्वान गरी नियमानुसान गर्ने निर्णय गरिएको छ ।
पथलैया तालीम केन्द्रलाई प्रदेश सरकारले ट्रमा सेन्टर अस्पताल बनाउने निती तथा कार्यक्रममा घोषणा गरी दुई करोड बजेट विनियोजन गरिको उक्त स्थानमा तत्काल आइसोलेसन संचालनसंगै कर्मचारी, प्राबीधिक, उपकरण लगाएतका बिषयमा निरन्तर प्रदेश सरकारसंग समन्वय गरीने प्रमुख पंडितले जानकारी गराए ।
चौबीस बडा रहेको नगरका ७ स्थानमा क्वारेन्टिन ब्लक बनाई साता भित्रै स्थानीय तहले संचालन समेत गर्ने जनाइएको छ । वीरगन्जमा कोरोना भाइरसको संक्रमणले कडा रुप लिएपछी छिमेकी जिल्ला बारा सहित सिमरामा पनी यसको जोखिम उच्च देखिएको छ ।
पथलैया वीरगन्ज औद्योगिक करिडोरमा संचालन भइरहेको उद्योगधन्दामा काम गर्ने भारतीय कामदारका कारण यहाँ कोरोनाको त्रास उच्च देखिएको छ ।
(ईमेज खबर)
नेपालगन्ज — श्रावण २६, २०७७।
नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि स्थितिलाई थप बिग्रन नदिन आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकमा उतार्नु परेको हो । सेना परिचालनसँगै संक्रमित भेटिएका विभिन्न क्षेत्र सिल गरिएका छन् । धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग र बसपार्क क्षेत्रलगायतमा काँडेतार लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिल गरिएका क्षेत्रमा बिरामीका लागि औषधि घरमै पुर्याउने व्यवस्था मिलाइएको बताए । ‘महामारी फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यसले नियन्त्रणमा सघाउँछ ।’ कर्मचारीमा कोरोना देखिएपछि नगरभित्रका सातवटा सरकारी कार्यालय बन्द गरिएका छन् ।
उपमहानगरका २३ वडामध्ये १९ वटामा संक्रमण पुष्टि भइसकेको छ । बजार र आवास क्षेत्रमा संक्रमित भेटिएका छन् । संक्रमण नदेखिएका नेपालगन्ज–६ फुल्टेक्रा, वडा १९ वसुदेवपुर, २१ को पुरैनी, २३ को हिरमिनियामा अहिलेसम्म स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । परीक्षण नभएपछि त्यहाँको अवस्था खुलेको छैन । गत बिहीबारयता चार दिनमा नगर क्षेत्रमा १ सय ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३० जना प्रहरी छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार २०, शुक्रबार ४९ र बिहीबार २८ जनामा संक्रमण देखिएको हो । अन्यमा त्यसअघि नै देखिएको थियो । अहिलेसम्म बाँकेमा ६ सय १७ जना संक्रमित भइसकेका छन् । यसपालि प्रदेश सांसद, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, व्यवसायी, सरकारी अधिकारी, पार्टीका नेतामा कोरोना देखिएको छ ।
परीक्षणको दायरा बढाएसँगै संक्रमण पुष्टि हुनेको संख्या बढेको हो । स्वास्थ्य कार्यालय कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘व्यवस्थापनमा चुनौती छ । समुदायमा त्रास छ ।’ सर्वसाधारण घरबाहिर निस्किन डराएका छन् । नेपालगन्जमा दोस्रो पटक संक्रमित धेरै भेटिन थालेपछि स्थानीय प्रशासनले मंगलबारसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बजार पूर्ण रूपमा बन्द गरिएको छ । औषधि पसल पनि बन्द छन् ।
‘असावधानीले संक्रमण फैलिएको अवस्था छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘सरकारी कार्यालयदेखि बजार र समुदायमा सावधानी अपनाइएको देखिँदैन । सामाजिक दूरीको के कुरा, मास्क लगाएको समेत देखिँदैन ।’ परीक्षणको दायरा बढाउनु आवश्यक रहेको उनले बताए । मास्क नलगाउनेलाई प्रहरीले जरिवाना गर्दै आएको छ ।
सुरुमा भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिने गरेको थियो । क्वारेन्टाइन सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए । डा. पाण्डेले पछिल्लो समय कोरोनाको संक्रमण समुदायमा सरेको शंका गर्ने आधार देखिन थालेको बताए ।
(कान्तिपुर दैनिक)
काठमाडौं — श्रावण २६, २०७७।
लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो ।
बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।
‘शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो,’ स्रोतले भन्यो, ‘ती कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।’ आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो ।
मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ । ‘हाम्रो क्लियरिङको काम बानेश्वर शाखाबाट हुन्छ,’ स्रोतले भन्यो ,‘यसकारण क्लियरिङलगायत बैंकको सबै काम नियमित रुपमा भइरहेको छ ।’
दुई दिनका लागि लाजिम्पाट स्थित कार्यालय बन्द भएकाले यहाँका ग्राहकले आफूलाई पायक पर्ने अर्को शाखाबाट सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।
(कान्तिपुर दैनिक)
अस्पतालका स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी गरी ५ जनामा कोराना संक्रमण पुष्टि भएपछि कपिलवस्तु अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ। आइतबार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। तीन दिनअघि अस्पतालका ल्याब असिस्टेन्टमा पनि कोरोना संक्रमण देखिएको थियो।
अस्पतालमा कार्यरत नर्सिङ, ल्याव, एक्सरे ओपिडी फाँटका एक-एक गरी चारजना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि इमर्जेन्सीबाहेक सेवा बन्द गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले अस्पतालमा आउने र रहेका बिरामी तथा स्वास्थ्यकर्मीमा समेत कोरानाको उच्च जोखिम रहेपछि आवश्यक सुरक्षा र सावधानीका लागि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका अति आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको बताए। अति आकस्मिक सेवा दिने बिरामीलाई मात्र गेटमै अवस्था हेरेर उपचार गरिने उनले बताए। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबार अस्पतालमा कार्यरत ७७ जनाको स्वाब संकलन गरिएको अस्पताल प्रशासनले जनाएको छ।
यस्तै कपिलवस्तु नगरपालिका क्षेत्रभित्र रहेको होटल तथा रेष्टुरेन्ट पनि सोमबारदेखि बन्द गरिएका छन्। कोरोना समुदायस्तरमा फैलिएको र होटलमा समेत फैलने खतरा भएपछि बन्द गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ। संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनलाई पनि थप कडाइ गर्ने संकेत गरेको छ। गत साउन २२ गते ३२ गतेसम्मका लागि आंशिक क्षेत्रमा निषेधाज्ञा जारी छ। वित्तिय संस्था र सार्वजनिक यातायात बन्द रहे पनि बजार र निजी सवारी साधन सञ्चालन भएकोले सोमबारदेखि अत्यावश्यकबाहेक अरू सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
काठमाडौं — श्रावण २५, २०७७।
काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । २४ घन्टाको अध्यावधिक विवरणमा शनिबार ६२ जना र शुक्रबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै उपत्यका प्रवेश नाकामा समेत कडाई गरिएको छ ।
२४ घन्टामा मुलुकभर ३८० संक्रमित थपिए भने ४० जना डिस्चार्ज भएका छन् ।
(कान्तिपुर दैनिक)
वीरगन्ज — श्रावण २५, २०७७।
सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएकी उनलाई अक्सिजन पाइप लगाइदिन अस्पतालसँग अनुरोध गर्दा पनि कसैले नमानेको उनकी भाउजूले गुनासो गरिन् ।
(ईमेज खबर)