health
||Power News Asia||

आजको समाचार

नेपालगन्ज उपमहानगरका सडकमा सेना, नगरका मूल चोकहरूमा काँडेतार

स्वास्थ्य


नेपालगन्ज — श्रावण २६, २०७७।  

नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि स्थितिलाई थप बिग्रन नदिन आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकमा उतार्नु परेको हो । सेना परिचालनसँगै संक्रमित भेटिएका विभिन्न क्षेत्र सिल गरिएका छन् । धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग र बसपार्क क्षेत्रलगायतमा काँडेतार लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिल गरिएका क्षेत्रमा बिरामीका लागि औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाइएको बताए । ‘महामारी फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यसले नियन्त्रणमा सघाउँछ ।’ कर्मचारीमा कोरोना देखिएपछि नगरभित्रका सातवटा सरकारी कार्यालय बन्द गरिएका छन् ।

उपमहानगरका २३ वडामध्ये १९ वटामा संक्रमण पुष्टि भइसकेको छ । बजार र आवास क्षेत्रमा संक्रमित भेटिएका छन् । संक्रमण नदेखिएका नेपालगन्ज–६ फुल्टेक्रा, वडा १९ वसुदेवपुर, २१ को पुरैनी, २३ को हिरमिनियामा अहिलेसम्म स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । परीक्षण नभएपछि त्यहाँको अवस्था खुलेको छैन । गत बिहीबारयता चार दिनमा नगर क्षेत्रमा १ सय ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३० जना प्रहरी छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार २०, शुक्रबार ४९ र बिहीबार २८ जनामा संक्रमण देखिएको हो । अन्यमा त्यसअघि नै देखिएको थियो । अहिलेसम्म बाँकेमा ६ सय १७ जना संक्रमित भइसकेका छन् । यसपालि प्रदेश सांसद, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, व्यवसायी, सरकारी अधिकारी, पार्टीका नेतामा कोरोना देखिएको छ ।

परीक्षणको दायरा बढाएसँगै संक्रमण पुष्टि हुनेको संख्या बढेको हो । स्वास्थ्य कार्यालय कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘व्यवस्थापनमा चुनौती छ । समुदायमा त्रास छ ।’ सर्वसाधारण घरबाहिर निस्किन डराएका छन् । नेपालगन्जमा दोस्रो पटक संक्रमित धेरै भेटिन थालेपछि स्थानीय प्रशासनले मंगलबारसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बजार पूर्ण रूपमा बन्द गरिएको छ । औषधि पसल पनि बन्द छन् ।

‘असावधानीले संक्रमण फैलिएको अवस्था छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘सरकारी कार्यालयदेखि बजार र समुदायमा सावधानी अपनाइएको देखिँदैन । सामाजिक दूरीको के कुरा, मास्क लगाएको समेत देखिँदैन ।’ परीक्षणको दायरा बढाउनु आवश्यक रहेको उनले बताए । मास्क नलगाउनेलाई प्रहरीले जरिवाना गर्दै आएको छ ।

सुरुमा भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिने गरेको थियो । क्वारेन्टाइन सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए । डा. पाण्डेले पछिल्लो समय कोरोनाको संक्रमण समुदायमा सरेको शंका गर्ने आधार देखिन थालेको बताए ।

(कान्तिपुर दैनिक)

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय दुई दिन बन्द

स्वास्थ्य


काठमाडौं — श्रावण २६, २०७७। 

लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो ।

बुधबारदेखि नियमित रुपमा मुख्य कार्यालयबाट सेवा सुचारु हुने बैंकले जनाएको छ ।

‘शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो,’ स्रोतले भन्यो, ‘ती कर्मचारीलाई आइसोलेसनमा पठाइसकिएको छ ।’ आइतबार बैंकको सो कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएकाले दुई दिनका लागि सेवा बन्द गरिएको हो ।

मुख्य कार्यालय बन्द भए पनि बैंकको अरु शाखा कार्यालयबाट हुने सेवा नियमित रहेको र कुनै अवरोध नभएको बैंकले जानकारी दिएको छ । ‘हाम्रो क्लियरिङको काम बानेश्वर शाखाबाट हुन्छ,’ स्रोतले भन्यो ,‘यसकारण क्लियरिङलगायत बैंकको सबै काम नियमित रुपमा भइरहेको छ ।’
दुई दिनका लागि लाजिम्पाट स्थित कार्यालय बन्द भएकाले यहाँका ग्राहकले आफूलाई पायक पर्ने अर्को शाखाबाट सेवा लिन पनि बैंकले आग्रह गरेको छ ।

(कान्तिपुर दैनिक)

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द

स्वास्थ्य


अस्पतालका  स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मी गरी ५ जनामा कोराना संक्रमण पुष्टि भएपछि कपिलवस्तु अस्पतालको इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ। आइतबार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। तीन दिनअघि अस्पतालका ल्याब असिस्टेन्टमा पनि कोरोना संक्रमण देखिएको थियो।

अस्पतालमा कार्यरत नर्सिङ, ल्याव, एक्सरे ओपिडी फाँटका एक-एक गरी चारजना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि इमर्जेन्सीबाहेक सेवा बन्द गरिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले अस्पतालमा आउने र रहेका बिरामी तथा स्वास्थ्यकर्मीमा समेत कोरानाको उच्च जोखिम रहेपछि आवश्यक सुरक्षा र सावधानीका लागि अर्को सूचना जारी नहुँदासम्म अस्पतालका अति आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको बताए। अति आकस्मिक सेवा दिने बिरामीलाई मात्र गेटमै अवस्था हेरेर उपचार गरिने उनले बताए। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सोमबार अस्पतालमा कार्यरत ७७ जनाको स्वाब संकलन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

यस्तै कपिलवस्तु नगरपालिका क्षेत्रभित्र रहेको होटल तथा रेष्टुरेन्ट पनि सोमबारदेखि बन्द गरिएका छन्। कोरोना समुदायस्तरमा फैलिएको र होटलमा समेत फैलने खतरा भएपछि बन्द गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले जनाएको छ। संक्रमतिको संख्या बढेपछि प्रशासनले लकडाउनलाई पनि थप कडाइ गर्ने संकेत गरेको छ। गत साउन २२ गते ३२ गतेसम्मका लागि आंशिक क्षेत्रमा निषेधाज्ञा जारी छ। वित्तिय संस्था र सार्वजनिक यातायात बन्द रहे पनि बजार र निजी सवारी साधन सञ्चालन भएकोले सोमबारदेखि  अत्यावश्यकबाहेक अरू सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिए

स्वास्थ्य


काठमाडौं — श्रावण २५, २०७७। 

काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । २४ घन्टाको अध्यावधिक विवरणमा शनिबार ६२ जना र शुक्रबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै उपत्यका प्रवेश नाकामा समेत कडाई गरिएको छ ।

२४ घन्टामा मुलुकभर ३८० संक्रमित थपिए भने ४० जना डिस्चार्ज भएका छन् ।

(कान्तिपुर दैनिक)

७ वटा अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य


वीरगन्ज — श्रावण २५, २०७७। 

सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । 

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएकी उनलाई अक्सिजन पाइप लगाइदिन अस्पतालसँग अनुरोध गर्दा पनि कसैले नमानेको उनकी भाउजूले गुनासो गरिन् ।

(ईमेज खबर)

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य


काठमाडौं — श्रावण २३, २०७७।

४५ वर्षीय एक कोरोना संक्रमितको पाटन अस्पतालमा  उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा सारिएको स्रोतले जानकारी दियो ।

(कान्तिपुर दैनिक)

वीरगञ्ज कोरोना संक्रमणको ‘हव’ बन्दै, ४४ प्रहरीसहित १ सय ४१ जना नयाँ संक्रमित थपिए

स्वास्थ्य


वीरगञ्ज — श्रावण २३, २०७७।

वीरगञ्जमा थप १ सय ४१ नयाँ संक्रमित छन् । वीरगञ्जस्थित नारायणी अस्पतालले गरिएको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

१ सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेको जनाईएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा २१ जना महिला र १ सय २० जना पुरुष रहेका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
 

उदयपुरमा दुई जनामा कोरोना पुष्टि, बेलका नगरपालिका स्थित रामपुर बजार ‘सिल’

स्वास्थ्य


उदयपुर— श्रावण १६, २०७७।   

उदयपुरको बेलका नगरपालिकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ९ स्थित रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित दुबैको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पिसिआर परिक्षण गरीएको थियो ।

स्थानीय प्रसाशन र बेलका नगरपालिकाले रामपुर बजार र आसपासका क्षेत्रमा सिल गरेको छ । स्थानीयलाई अत्यावश्यक काम वाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ७२ पुग्यो, मुलुकभर २ सय ५० प्रहरी संक्रमित

स्वास्थ्य


काठमाडौं— श्रावण १६, २०७७।  

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जनाए अनुसार हाल प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा संक्रमितहरूलाई भर्ना गरिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिले संक्रमित भएकाहरूको स्वाब संकलन गरिएकामा कोरोना संक्रमण पुष्टी भएको उहाँले जनाउनु भएको छ ।

कोरोना संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु रहेका बताईएको छ । उहाँको अनुसार संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङ मार्फत अन्य २० जनाभन्दा बढी प्रहरीलाई क्वारेन्टिनमा राखिएको  छ ।

यो संगै अब देशभर कोरोना संक्रमण हुने प्रहरीको संख्या २ सय ५० पुगेको छ । साथै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहापथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि पीसीआर परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुमा कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत अन्य ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्ने तयारी भइरहेको जनाईएको छ ।

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्य


वीरगन्ज — श्रावण १६, २०७७। 

वीरगन्जमा बिहीबार मात्रै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।

कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

‘उनी मुटुरोगी थिए, मुटुको बाइपास सर्जरी भइसकेको थियो,’ डा.सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौँ, राति साढे ११ बजे उनको मृत्यु भयो ।’

बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ । यसअघि वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । नगवाका ३५ वर्षीय पुरुषको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा साँझ पौजे ८ बजेतिर मृत्यु भएको डा. निरज सिंहले जनाए । मंगलबार ज्वरो र श्वासप्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसैदिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा.सिंहले बताए ।

यसैगरी बिहीबार बिहान घरमै मृत्यु भएका वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । घरमै मृत्यु भएको खबर आएपछि नारायणी अस्पतालको टोलीले उनको स्वाब संकलन गरेको थियो । बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको कोरोना अस्पतालका डा.सिंहले बताए । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

(कान्तिपुर दैनिक)