health
||Power News Asia||

आजको समाचार

काठमाडौं उपत्यका ‘हटस्पट’ बन्‍ने जोखिम

स्वास्थ्य


काठमाडौँ — भाद्र ४, २०७७।  

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने खतरा रहेको औंल्याउँदै संक्रमितको उपचार गर्न तत्काल १० हजार शय्याको आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ ।

अस्पतालमा आइसोलेसन वार्ड पर्याप्त नहुँदा संक्रमित व्यक्ति घरघरमा बस्न बाध्य भएको उल्लेख गर्दै काठमाडौं डीसीसीएमसीले राजधानीका थप ९ अस्पताल र एक आवास केन्द्रको संरचनालाई ‘कोभिड–१९’ डेडिकेटेड उपचार केन्द्र बनाउन पनि सिफारिस गरेको छ ।

सीसीएमसीलाई उक्त सिफारिस गरेलगत्तै मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना महामारीले भयावह रूप लिने खतरा बढेपछि थप डेडिकेटेड उपचार केन्द्र बनाउन सिफारिस गरिएको बताए । ‘आइसोलेसन बेड अभावमा संक्रमित घर तथा टोलटोलमा बस्न बाध्य छन्, यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाका संरचनालाई सरकारले आवश्यकताअनुसार उपयोग गर्नुपर्छ । त्यसका लागि थप नौ अस्पताल र एक आवास केन्द्रलाई कोभिड–१९ प्रयोजनका लागि प्रयोग गर्न सिफारिस गरेका छौं ।’ सिफारिस गरेअनुसारका स्वास्थ्य संस्थालाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनले बताए ।

ठूला र व्यवस्थित पूर्वाधार भएका क्वारेन्टाइन तथा स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाका संरचनामा पनि आइसोलेसन शय्या सीसीएमसीमा सिफारिस गरिएको छ । डीसीसीएमसीले सतुंगलस्थित मनमोहन मेडिकल कलेज, डिल्लीबजारको नेसनल मेडिकल कलेज, बालाजुको जनमैत्री अस्पताल, इचंगुनारायण आवास, वसुन्धराको महेन्द्रनारायण निधि स्मृति अस्पताल, जोरपाटीको नेपाल मेडिकल कलेज, ग्वार्कोस्थित किस्ट मेडिकल कलेज, कलंकीको सहिद मेमोरियल अस्पताल, बालाजुको विनायक अस्पताल र वसुन्धराकै चिरायु अस्पतालमा आइसोलेसन केन्द्र स्थापना गर्न सिफारिस गरेको हो । मनमोहनमा ५ सय शय्या, नेसनलमा २ सय ५०, जनमैत्रीमा १ सय, इचंगुनारायण आवासमा ४ सय, नेपाल मेडिकल कलेजमा ६ सय ४१, महेन्द्रनारायण निधि स्मृति अस्पतालमा २ सय ५०, किस्ट मेडिकल कलेजमा ५ सय, सहिद मेमोरियलमा १ सय, विनायक र चिरायुमा क्रमशः ५५ र ६५ शय्याका लागि सिफारिस गरिएको छ । सिफारिसअघि प्रशासनले यी अस्पताल र आवास गृहको भौतिक संरचनाको स्थलगत अवलोकन गरेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि उपत्यकामा छिट्टै ५ हजार शय्याको आइसोलेसन बन्ने गरी तयारी थालिएको दाबी गरे । उनी उपत्यका नगरपालिका फोरमका प्रमुख पनि हुन् । शाक्यले आफ्नै महानगरमा एउटा पनि क्वारेन्टाइन स्थल बनाएका छैनन् । हालसम्म उपत्यकासहित ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा, लकडाउन, सेवा बन्द र क्षेत्र सिल गरिसकिएको छ ।

आइसोलेसनको अभावमा कतिपय संक्रमित परिवारसँगै बसेका छन् । काठमाडौं प्रशासनले संक्रमितलाई घरमा राखेर संक्रमण नियन्त्रण गर्न कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । ‘निषेधाज्ञा संक्रमण न्यूनीकरण र रोकथामका लागि लगाइएको हो तर संक्रमित नै घरबाट अस्पताल जान नपाए त्यसको औचित्य हुँदैन,’ प्रजिअ दाहालले भने । सबैको पहलमा संक्रमण रोकथाम तथा आवश्यक पूर्वाधार निर्माण गर्न ढिला गर्न नहुने उनले बताए ।

सरकारले संक्रमण नियन्त्रणका लागि भन्दै प्रशासनिक बल प्रयोगलाई बढाए पनि आइसोलेसन आवश्यक मात्रामा थप्न सकेको छैन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले उपत्यकामा आइसोलेसन शय्याको संख्या ६ सय रहेको बताए ।

संक्रमणको ग्राफअनुसार यो पर्याप्त नभएको उनले स्वीकार गरे । अधिकारीका अनुसार देशभर ९ सय ४६ आईसीयू शय्या रहेकामा उपत्यकासहित वाग्मती प्रदेशमा ६ सय ३० आईसीयू शय्या सञ्चालनमा छन् । त्यस्तै देशभर ४ सय ९६ भेन्टिलेटर रहेकामा उपत्यकामा ३ सय ६१ वटा छन् । ‘आइसोलेसनको संख्या पर्याप्त छैन, यसलाई बढाउनतर्फ हामी लागिसकेका छौं,’ अधिकारीले भने ।

यसअघि सरकारले देशभर हरेक अस्पताललाई २० प्रतिशत र मेडिकल कलेजलाई एक तिहाइ आइसोलेसन शय्या कोभिड–१९ का बिरामीको उपचारमा छुट्याउन निर्देशन दिएको थियो । तर त्यसको पनि पालना हुन सकेको छैन । बुधबारको पत्रकार सम्मेलनमा सरकारी निर्देशन नमान्ने अस्पताललाई पीसीआर परीक्षण गर्न दिइएको अनुमति खारेज गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चेतावनी दिए । काठमाडौं प्रशासनले सीसीएमसीमा पठाएको पत्रमै संक्रमणको दरअनुसार उपचार र पूर्वाधारको अवस्था निकै कमजोर रहेको उल्लेख छ । काठमाडौंका अन्य स्थानीय तहले सिफारिस गरेका स्वास्थ्य तथा अन्य संरचनामा पनि ३ हजार शय्याका आइसोलेसन केन्द्र निर्माण गर्न तत्काल सहरी विकास मन्त्रालयले काम गर्नुपर्ने पनि पत्रमा भनिएको छ । त्यस्तै महानगर क्षेत्रमा ५ वटा एम्बुलेन्स कोभिड–१९ केन्द्रित रहेकामा थप १० एम्बुलेन्सको व्यवस्था मिलाउन पनि प्रशासनले महानगरलाई र नगरपालिकाको हकमा २/२ वटा एम्बुलेन्स तयारी हालतमा राख्न भनिएको छ ।

प्रधानमन्त्रीलाई ब्रिफिङ मात्रै

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरले बुधबार रातिबाट एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । तीन जिल्लाकै संयुक्त सुरक्षा समिति बैठकले कोरोना संक्रमणको जोखिम भयावह बनेको निष्कर्षसहित अत्यावश्यकबाहेकका सबै क्षेत्र भदौ १० गतेसम्म बन्द गरेका हुन् । काठमाडौं डीसीसीएमसीले कोरोना संक्रमितलाई अस्पतालमा लगेर उपचारको व्यवस्था नगरिए राजधानी हटस्पट बन्ने जोखिम औंल्याएको छ । तर यसै मेसोमा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, सीसीएमसीका पदाधिकारी र सचिवालयका कर्मचारीको संयुक्त बैठकमा भने सरकारले गरेका कामको मात्रै फेहरिस्त पेस गरियो । राजधानीमा निषेधाज्ञा लागू हुनु अघिल्लो दिन बसेको प्रधानमन्त्रीसहितको बैठक छलफल र समीक्षामै केन्द्रित थियो । अहिलेसम्म सीसीएमसी, विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायबाट भएका कामको प्रगति मात्रै पेस गरियो । जोखिम टार्न ठोस निर्णय हुन सकेन । प्रधानमन्त्रीले पनि सहभागी सबैका कुरा सुने मात्रै ।

सीसीएमसी सचिवालयका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बैठकमा स्वास्थ्य मन्त्रालय र सीसीएमसीका तर्फबाट प्रधानमन्त्रीलाई ब्रिफिङ मात्रै भएको बताए । सुरक्षा निकायका प्रमुखले पनि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञा र त्यसले पारेको असरबारे आ–आफ्नो धारणा सुनाएका थिए । सचिव गुरागाईंले भने, ‘सीसीएमसीका तर्फबाट मैले र स्वास्थ्य मन्त्रालयका तर्फबाट सहसचिव महेन्द्र श्रेष्ठले कोरोना भाइरसको अहिलेको अवस्था र सरकारले गरिरहेको कामबारे जानकारी गरायौं ।’

करिब एक घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओली र अन्य मन्त्रीहरू भने बोलेनन् । गृह मन्त्रालयका एक अधिकारीले फिल्डमा संक्रमणको अवस्था र सरकारले गरेका कामकारबाहीप्रति सकारात्मक र कमीकमजोरीबारे सत्यतथ्य ब्रिफिङ नै हुन नसकेको टिप्पणी गरे । ‘यस्ता संकटका बेला बैठक बस्दा पनि प्रशासनबाट आएका सुझाव र सल्लाह अनि जोखिम न्यूनीकरणबारे ठोस निर्णय हुन नसक्नु सरकारको कमजोरी हो । प्रधानमन्त्रीलाई फिल्डमा भइरहेको वास्तविकताबारे स्पष्टसँग कुरै राखिएको छैन,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘त्यसको असर संकट सामना गर्न तत्काल लिनुपर्ने निर्णयमा देखिएको छ ।’

(कान्तिपुर दैनिक)

एक दिनमै हजार नाघे कोरोना संक्रमित

स्वास्थ्य


काठमाडौं — भाद्र ३, २०७७। 

नेपालमा कोरोना संक्रमितको संख्या दिनमै एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार १ हजार १६ जनामा संक्रमण पुष्टि गरेको हो।

गत माघ ९ गते पहिलो संक्रमण देखिएयता यो हालसम्मकै सर्वाधिक संक्रमित संख्या हो। यसअघि असार १९ गते ७ सय ४० जना संक्रमित फेला परेका थिए। मंगलबार काठमाडौं उपत्यकामै २ सय ५ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मुलुकभरका प्रयोगशालामा १३ हजार ४ सय ६१ पीसीआर परीक्षण गर्दा मंगलबार यो मात्रामा संक्रमित भेटिएको बताए। उनका अनुसार उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्।

शुक्रबार मुलुकभर ५ सय ९४ जना संक्रमित थपिएका थिए। त्यस्तै शनिबार ४ सय ६८ र आइतबार ६ सय ४१ जनामा कोरोना पुष्टि भएको थियो। मंगलबारको कोरोना पोजिटिभको वृद्धि ७.५५ प्रतिशत हो।

(अन्नपूर्ण पोस्ट)

नेपाली सेनाका दुई सय ४६ सैनिकलाई कोरोना संक्रमण, उपचारपछि ८४ जना ब्यारेक फर्किए

स्वास्थ्य


काठमाडौं — भाद्र २, २०७७।

हालसम्म नेपाली सेनाका दुई सय ४६ जनालाई कोभिड– १९ को संक्रमण भेटिएको छ ।

जेठ दोस्रो साता पहिलो केस देखिएकोमा संक्रमितमध्ये हालसम्म ८४ जना निको भएर फर्केका छन् भने एक सय ६२ जना सेनाको आइसोलेसन वार्डमा उपचाररत छन् ।

प्रदेश २ स्थित मध्यपूर्वी पृतनामातहतका सैनिक सबैभन्दा बढी संक्रमित छन् । 

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले उपचाररत सैनिकको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । 

उनले भने, ‘प्रदेश २ र कर्णाली प्रदेशमा अलिकति बढी देखिएको छ । काठमाडौं उपत्यकामा जम्मा २० जना उपचाररत छन् ।’ 

तर, जंगी अड्डामा अहिलेसम्म संक्रमित छैनन् । उपत्यकामा शिवपुरीस्थित अल्ले ब्यारेकमा कार्यरत सैनिकमा कोरोना पुष्टि भएको छ । 

प्रदेश २ मा मध्यपूर्वी पृतनापतिसहितका सैनिक संक्रमित थिए । जेठ दोस्रो साता सुरुमा उनीहरूमा कोरोनाको संक्रमण भेटिएको थियो । 

पृतनापतिसहित पहिलो चरणका संक्रमित भएका सबै निको भएर कार्यक्षेत्रमा सक्रिय भइसकेका छन् । 

‘कोरोना पुष्टि भएका सैनिकहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । गम्भीर प्रकृतिका बिरामी कोही पनि भएको जानकारीमा छैन,’ प्रवक्ता पौडेलले भने ।  

विशेष गरी अग्रमोर्चामा काम गर्ने सैनिकहरूलाई कोरोना देखिएको छ । संक्रमित भएकामध्ये ब्यारेकबाहिर अग्रमोर्चामा खटिएका सैनिकहरू हुन् । 

नेपाल–भारत सीमानाकाका १० स्थानमा सैनिक खटिएका छन् । अनुमति लिएकाहरूलाई सीमानाका प्रवेशमा सहजीकरण गर्ने, होल्डिङ सेन्टर व्यवस्था गर्ने, हेल्थ डेस्क सञ्चालन गर्ने सेनालाई जिम्मेवारी छ । 

प्रवक्ता पौडेलका अनुसार काठमाडौं उपत्यकाका सात होल्डिङ सेन्टर सेनाले  सञ्चालन गरिरहेको छ । 

हालसम्म विदेशबाट आएका करिब ५० हजारजनालाई होल्डिङ सेन्टर हुँदै घर पठाइएको छ । स्वाब संकलन, प्रकोप व्यवस्थापनमा पनि सैनिक कार्यरत छन् । शव व्यवस्थापनमा खटिएका सैनिकमध्ये सुरुमा तीनजनामा संक्रमण भेटिएपछि स्वास्थ्य प्रोटोकल नै परिवर्तन गरिएको सैनिक प्रवक्ता पौडेलको भनाइ छ । 

उनले भने, ‘अहिले स्वास्थ्य प्रोटोकल पुनरावलोकन गरेपछि शव व्यवस्थापनमा खटिएकाहरू पनि सुरक्षित छन् ।’

सेनाले ब्यारेकभित्रै आइसोलेसन वार्ड राखेको छ । कन्ट्रयाक्ट ट्रेसिङका लागि सेनाले बेग्लै टिम तयार गरेको छ । 

काठमाडौंबाहिरबाट भित्र आउने सैनिकलाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने बन्दोबस्त मिलाइएको पनि सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।

पौडेलले भने, ‘हामी हरेक घटनाको सूक्ष्म अनुसन्धान गर्छौँ र प्रोटोकल पुनरावलोकन गर्छौँ ।’

(नयाँ पत्रिका)

आज मात्रै कोरोनाबाट थप ४ को मृत्यु, देशभरीबाट ज्यान गुमाउनेको संख्या १ सय १३ पुग्यो

स्वास्थ्य


काठमाडौं — भाद्र २, २०७७। 

कोरोना संक्रमणका कारण आज मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको हो ।

नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको आज उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

साउन ३० गते पाटन अस्पताल भर्ना गरीएका उनको अवस्था गम्भिर भएपछि हिजो साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उहाँ साउन ३२ गते मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । हिजो दिउँसो उहाँको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

हिजो नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उता, काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको आज मृत्यु भएको हो ।

स्वासप्रश्वास र घाँटीमा सममस्या भएपछि उन्लाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो ।

यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यो सगै देशभर कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ सय १३ पुगेको छ ।

(ईमेज खबर)

टेकु प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप ६८ जनामा कोरोना संक्रमण

स्वास्थ्य


एकैदिन थपिए १२५ जना संक्रमित

वीरगन्ज — भाद्र २, २०७७। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २६ र २७ मा नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार राति टेकु प्रयोगशालाले पठाएको संक्रमितको विवरणअनुसार पर्साका १६ महिलासहित थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
वीरगन्ज महानगरपालिका–११ श्रीपुर विधापीठ विद्यालयमा स्वाब दिएकामध्ये ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए । त्रिजुद्ध माध्यमिक विद्यालयमा स्वाब दिएका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी सोमबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ५७ जनामा कोरोना पुष्टि भएको थियो । टेकुको ६८ र नारायणी प्रयोगशालाको ५७ गरी सोमबार मात्र जिल्लामा १२५ जना नयाँ संक्रमित थपिएका छन् । साउनयता पर्सामा एक हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

(कान्तिपुर दैनिक)

हेटौंडामा ११ प्रहरीसहित थप १६ जनामा कोरोना पुष्टि

स्वास्थ्य


हेटौंडा — भाद्र १, २०७७। 

मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीमा कार्यरत् रौतहटका दुईजना, सिन्धुलीका एकजना, बाँकेका दुईजना, पर्साका एकजना, धादिङका एकजना, कञ्चनपुरका एकजना र हेटौंडामा कार्यरत् चितवनका तीनजना प्रहरीमा कोरोना देखिएको हो ।

यस्तै, हेटौंडा उपमहानगरपालिका-४ बस्ने तीन महिला र एक पुरुष तथा हेटौंडा-१० मा बस्ने एकजना महिलामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले बताउनुभयो ।

संक्रमित हुने प्रहरी ११ जना नै पुरुष रहेका जनाइएको छ ।

(ईमेज खबर)

पर्सामा मेयरसहित ९२ जना कोरोना संक्रमित, धरानमा पनि स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

स्वास्थ्य


पर्सा — भाद्र १, २०७७। 

पर्सामा थप ९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

विभिन्न पालिकाको क्वारेन्टिनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षण गर्दा ९२ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका थप चारजना स्टाफ नर्समा संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको मेटरनल आईसियूमा कार्यरत चारजना नर्समा संक्रमण पुष्टि भएको प्रतिष्ठानको मेडिसिन विभाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिनुभयो ।

(ईमेज खबर)
 

इलाममा सुविधा सम्पन्न निजी अस्पताल एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. संचालनको तयारी

स्वास्थ्य


इलाम — भाद्र १, २०७७। 

एक मात्र सरकारी अस्पताल भएको इलाममा सुविधासम्पन्न निजी अस्पताल सञ्चालनको तयारी भएको छ ।

सदरमुकाममा इलाम एपोलो हष्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. संचालनको तयारी भएको हो ।

यहाँ सञ्चालित एक मात्र सामुदायिक अस्पताल केही वर्ष अगाडी बन्द भएपछि जिल्लावासीले उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ ।

सामान्य ज्वरो आउँदासमेत जिल्लाबासीले थप उपचार गर्न झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा जानु पर्ने समस्याको अन्त्य गर्न हस्पिटल संचालन गर्न लागिएको अस्पतालका संचालक प्रकाश चापागाइँ बताउनुहुन्छ ।

जिल्लाको सरकारी अस्पतालको रुपमा रहको इलाम अस्पताल भौतिक रुपमा सम्पन्न भएपनि दरबन्दी अनुसारको विशेषज्ञ डाक्टर नहुँदा इलामेलीहरुले भने जस्तो सेवा लिन पाएका छैनन् ।

निजी स्तरमा संचालनमा आउन लागेको अस्पताल डाक्टर सञ्जय शाह, डाक्टर विवेक अधिकारी र इलामका युवा व्यवसायी प्रकाश चापागाइँले संयुक्त रुपमा संचालन गर्न लागेको हो ।

झण्डै तीन करोडको लगानीमा संचालन गर्न लागिएको अस्पतालमा चार जना विशेषज्ञसहितको सेवा दिने तयारी भइरहेको छ ।

यो अस्पताल पुरानो मेघबहादुर सामुदायिक अस्पतालकै भवनमा सञ्चालन हुनेछ । सुरुमा अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसुती, रेडियोलोजी एवम् जनरल फिजिसियनको सेवा प्रदान गरिने छ ।

साथै छ महिना भित्रमा आइसियु र एनआइसियुसहितको सेवा सञ्चालन गर्ने डाक्टर विवेक अधिकारीको भनाइ छ ।

अस्पताल आगामी भदौ ९ गतेबाट संचालन हुँदैछ । कुशल व्यवस्थापन र अस्पतालको दिगोपनका विषयमा सञ्चालकहरुले ध्यान दिन सके जिल्लाबासीका साथै पुर्वी पहाडका जिल्ला पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमका केही भुभागका बासिन्दालाईसमेत ठुलो राहत मिल्ने देखिन्छ ।

(ईमेज खबर)
 

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ पुग्यो

स्वास्थ्य


काठमाडौं — भाद्र १, २०७७। 

नेपालमा कोरोना भाईरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रौतहटका युवकमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।

३२ वर्षका ती युवकको हिजो परिक्षण गर्दा कोरोना संक्रमण देखिएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालले जनाएको छ ।

यसअघि हिजै ललितपुरको पाटन अस्पतालमा पनि एक जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए । गत साउन २० गतेदेखि अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ६० वर्षीय पुरुषको निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो दिउँसो गरिएको प्रेस ब्रिफिङमा नेपालमा कोरोनाबाट १ सय ४ जनाले ज्यान गुमाएको जनाकारी दिनुभएको थियो ।

तर त्यसपछि ललितपुरमा एक र विरगञ्जमा एक मृतक थपिएसँगै देशभर कुल मृतकको संख्या १ सय ६ पुगेको हो । ्र

प्रवक्ता गौतमले पछिल्लो पटक १२ हजार २ सय ४७ जनामा गरीएको पीसीआर परीक्षणमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । हिजो थपिएका संक्रमितमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका रहेका छन् । उपत्यकामा मात्रै १ सय ७२ जना थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

(ईमेज खबर)

मुलुकभरीका ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन, कतिपय जिल्लामा निषेधाज्ञा

स्वास्थ्य


काठमाडौं — भाद्र १, २०७७। 

देशभर कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन गरिएको छ ।

संक्रमण रोकथाम तथा नियनत्रणका लागि कतै जिल्ला प्रशासन कार्यालय मातमत निषेधाज्ञा लगाइएको छ भने कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका व्यवसायमा रोक लगाएका छन् ।

गृह मन्त्रालयका अनुसार हिजोसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । २८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् ।

अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् । पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।

नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरी नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ ।

त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ ।

‘रेडजोन’मा भए पनि काठमाडौं उपत्यकामा भने निषेधाज्ञा जारी गरिएको छैन । तर, विभिन्न सेवा बन्द गरिएका छन् । मध्यपुर ठिमी नगरपालिकाले लकडाउन नै लागू गरेको छ ।

कागेश्वरी मनहराले पनि अत्यावश्यकबाहेकको व्यवसाय बन्द गराएको छ । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

त्यस्तै रेस्टुरेन्ट, सैलुन र जिमखाना पूर्ण रूपमा बन्द गरिएका छन् । अटेर गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’मा राखेको छ । हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’मा छन् ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौंमा एक हजार चार सय २९ र पर्सामा एक हजार ८४ सक्रिय संक्रमित छन् ।

हाल ७२ जिल्लामा संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने संक्रमितको संख्या शून्य छ ।

(ईमेज खबर)