health
||Power News Asia||

आजको समाचार

उपचार नपाएर जान्छ ज्यान

स्वास्थ्य


काठमाडौँ — भाद्र ७, २०७७। 

तीनवटै तहका सरकारको दाबी पत्याउने हो भने कोरोना कहरमा पनि प्रदेश १ को अवस्था ठीक छ। प्रदेश सरकार मन्त्रिपरिषद्ले शुक्रबार पनि ‘कोरोना कहर व्यवस्थापनमा जनअपेक्षा अनुसारकै काम भइरहेको’ निष्कर्ष निकालेको छ। तर वास्तविकता योभन्दा फरक छ।

प्रदेश १ मा शुक्रबारसम्म २ हजार ५ सय ८८ जना संक्रमित छन्। जसमध्ये ६ सय हाराहारीमा घरैमा छन्। लक्षणबेगरका बिरामी होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था छ।

उनीहरूमा लक्षण छ÷छैन भन्नेबारे सरकारी निकाय बेखबर छन्। यसबाहेक अस्पतालमै ज्यान गुमाएका र अस्पताल नपुग्दै ज्यान गुमाएका परिवारका सदस्यको आर्तनाद तथा चाहेर पनि अस्पताल जान नसकिरहेकाको पीडा सुन्ने हो भने सरकारी दाबी हावादारी मात्रै लाग्दैन, कमजोरी छोप्न खोजेको छर्लंग हुन्छ।

अझ संक्रमितको अस्पतालमा राम्रो रेखदेख नहुने सुनेका आफन्त थप आतंकित छन्। सरकारी तहबाट यस्तो भय चिर्ने प्रयास भएकै छैन। ‘अस्पतालहरूमा संक्रमितको राम्रो उपचार भएको छ र कसैले पनि उपचार नपाउने अवस्था छैन’ भन्ने सामाजिक विकास मन्त्रालयको दाबी भए पनि अवस्था त्यस्तो छैन।

यसको ताजा उदाहरण हुन्, विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय संक्रमित व्यक्ति, जसले अस्पताल पुग्न नपाइ बिहीबार राति घरमै ज्यान गुमाउनु पर्यो । १० वर्षदेखि मधुमेहबाट पीडित ती पुरुष स्वास्थ्योपचारका लागि विराटनगरस्थित कोसी अस्पताल धाइरहन्थे।

केही साताअघि मधुमेहले सिकिस्त भएर कोसी अस्पतालकै आइसियुमा उपचार गराएर फर्केका ती पुरुष रुघाले ग्रस्त पारेपछि कोरोना परीक्षणका लागि अस्पताल गए। भदौ ३ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि परिवारका सदस्य आत्तिए। अस्पताल लैजाने उपाय खोज्न थालियो। तर प्रदेशका सबै आइसोलेसन भरिभराउ भएको जानकारी पाएपछि ती पुरुषलाई घरैमा ‘आइसोलेटेड’ गरियो। पारिवारिक स्रोतका अनुसार बिहीबार राति अचानक श्वासप्रश्वासमा समस्या आयो।

‘अस्पताल लैजाने तयारी हुँदाहुँदै मृत्यु भयो’, विराटनगर ६ का वडाध्यक्ष विजय कामतले भने, ‘अस्पताल लैजान नपाउँदै ज्यान गयो।’

विश्व स्वास्थ्य संगठनदेखि नेपालका पनि सबै तहका सरकारले भनिरहेका छन्, ‘दीर्घरोगी कोरोनाको बढी जोखिममा हुन्छन्।’ ती पुरुष दीर्घरोगी त थिए नै, केही साताअघि अस्पतालमा उपचार गराएर घर फर्केका थिए।

त्यहीक्रममा कोरोनाबाट संक्रमित बने। ती पुरुषले संक्रमित भएपछि आइसोलेसन बेड, जहाँ उपचारको प्रबन्ध हुन्छ, त पाएनन् घरैमा पनि चिकित्सकीय सुझाव पाउन नसकेको आजको नागरिक दैनिकमा खवर छ ।

हामीलाई ‘बचाउने’ स्वास्थ्यकर्मीमाथि किन छुद्र व्यवहार

स्वास्थ्य


काठमाडौँ — भाद्र ७, २०७७। 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण बढ्दै गएको छ। यो संकटको समयमा ‘फ्रन्ट लाइन’मा खट्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु आम सर्वसाधारणको कर्तव्य हो। तर, काठमाडौंको नयाँ बानेश्वरमा शनिबार स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्दै स्थानीयले छुद्र व्यवहार प्रदर्शन गरेका छन्।

मिनभवनस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी बस्ने बानेश्वर, मिलनचोकका होस्टल सञ्चालमाथि दुर्व्यवहार गर्दै स्थानीयले त्यहाँ चिकित्सक र नर्स नराख्न चेतावनीसमेत दिएका छन्।

स्थानीयले चिकित्सक र नर्स बसेको होस्टलका सञ्चालक रोहित रानालाई स्वास्थ्यकर्मी नराख्न चेतावनी दिँदै दुर्व्यवहार गरेका हुन्। केही समययता सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रानाले संचालन गरेको लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टलका बस्दै आएका थिए। बलभद्र मार्ग टोल विकास समितिका पदाधिकारी सहितका स्थानीयले गाली गर्दै होस्टल घेरा हालेको होस्टल संचालक रानाले बताए।

भदौ ४ गतेदेखि उक्त होस्टलमा स्वास्थ्यकर्मी बस्दै आएका छन्। स्थानीयले होस्टल सञ्चालकमाथि दुर्व्यवहार गर्दै स्वास्थ्यकर्मी नराख्न चेतावनी दिएपछि उनीहरुको उद्धारका लागि प्रहरी पुगेको थियो। होस्टल परिसरमा बानेश्वर वृत्तबाट प्रहरी पुगेपछि स्थानीय फर्किएका थिए।

स्वास्थ्यकर्मी राखेकै नाममा बलभद्र मार्ग टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतमको नेतृत्वमा दर्जनौ स्थानीय भेला भएका थिए। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा गरेको अवस्थामै भीडभाड गर्दै स्वास्थ्यकर्मीलाई टोलमा नराख्ने चेतावनी दिएको भन्दै चौतर्फी विरोध भएको छ। स्वास्थ्यकर्मी र चिकित्सकले स्थानीयको यो शैलीको चर्को विरोध गरेका छन्।

डा। अभिषेक राज सिंहले बिरामीकै लागि खट्ने चिकित्सकमाथि यस्तो व्यवहार भएकोप्रति आपत्ति जनाएका छन्। उनले आज स्वास्थ्यकर्मीको विरोध गर्ने भोलि संक्रमित भए कहाँ जान्छन् भनेर प्रश्नसमेत गरेका छन्।

‘बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक आइसोलेसन बस्ने घर बाहिर जम्मा भएर उनीहरुलाई त्यहाँबाट निकाल्नुपर्छ भन्नेहरु भोलि संक्रमित भए कहाँ जान्छन् रु’, प्रश्न गर्दै डा. सिंहले ट्विटरमा लेखेका छन्, ‘मन्दिर–मस्जिदमा समेत ताला लागेका बेला अस्पतालमा खटेकालाई यो व्यवहार उनीहरु कस्का लागि खटेका हुन र सँगै सिंहले अहिले स्वास्थ्यकर्मीसँग भिड्ने नभएर कोरोनासँग भिड्ने समाज चाहिएको बताएका छन् ।

‘अहिले एकजुट भएर कोरोनासँग ‘भिडने’ समाज चाहिएको हो’, थप अर्को ट्विटमा सिंहले लेखेका छन्, ‘समाज सुरक्षित होस भनेर एक्लिएका स्वास्थ्यकर्मीसँग ‘भिडने’ समाज होइन ’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


 

राजधानीमा आगामी साताबाट संक्रमण घट्ने विज्ञको दाबी

स्वास्थ्य


काठमाडौँ — भाद्र ७, २०७७। 

देशका ४० भन्दा बढी जिल्लामा भएको निषेधाज्ञाले कोरोना भाइरसको बढ्दो संक्रमण रोक्न सकारात्मक काम गरेको विज्ञहरूले दाबी गरेका छन् ।

काठमाडौं उपत्यकामा भने निषेधाज्ञाको सकारात्मक प्रभाव आगामी साताबाट देखिने उनीहरूको भनाइ छ ।

निषेधाज्ञाले सकारात्मक प्रभाव पारेको दाबी गर्दै स्वास्थ्य मन्त्रालयका अधिकारीले समेत राजधानीमा आउने साताबाट संक्रमितको संख्यामा कमी आउने सक्ने विज्ञको अनुमान रहेको छ ।

उपत्यकामा शनिबार मात्रै देशभरिको दाँजोमा करिब एक तिहाइभन्दा बढी ९२१६ जनामा संक्रमण पुष्टि भएको छ । देशभर यस दिन ६ सय ३४ जना संक्रमित थपिएका थिए । निषेधाज्ञाले संक्रमण विस्तारमा कमी भएको आकलन छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेको पनि ।

‘राजधानीमा अझै निषेधाज्ञापछिको अवस्था स्पष्ट हुन सकेको छैन,’ उनले भने, ‘तर उपत्यकाबाहिर पहिलेदेखि नै निषेधाज्ञाले गर्दा संक्रमण विस्तारमा कमी हुने संकेत मिलेको छ ।’

(कान्तिपुर दैनिक)
 

भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि

स्वास्थ्य


काठमाडौँ — भाद्र ६, २०७७ । 

कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिने औषधि विभागका निर्देशक नारायण प्रसाद ढकालले जानकारी दिएका छन् । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । औषधि विभागका अनुसार ५७० वटा शिशिको माग भएको थियो ।

कोभिड-१९ का कारण जोखिमको अवस्थामा पुगिसकेका बिरामीका लागि यो औषधि प्रयोग गरिन्छ । जुन औषधिलाई नेपाली ७ हजार ८ सय नेपाली रुपैयाँ पर्ने बताइएको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

नेपालमा एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख खर्च

स्वास्थ्य


काठमाडौँ — भाद्र ६, २०७७ । 

नेपालमा एक जना संक्रमित पत्ता लगाउन  एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र रु पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५०० पिसिआर परीक्षण खर्च भएको छ । “एउटा संक्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ । उपचारमा खर्च एक व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ, ”, उहाँले भन्नुभयो , “ यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ । जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला ।”
उहाँले बाहिर निस्कनै पर्‍यो भने दुई मिटरको दूरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुनपानीले मिचिमिची हात धुन अनुरोध गर्नुभएको छ ।

नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन । यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको संक्रमणको कारणले मृत्यु भएको छ ।

यसैगरी संक्रमित बढ्न थालेपछि सघन उपचार कक्ष् र भेन्टिलेटरमा उपचार गराउने संक्रमित बढेका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका ६ जिल्ला मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ छन् । संक्रमित शून्य रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् ।
उहाँले संक्रमण रहेका टोलटोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले धेरै जनामा संक्रमण फैलियो भने उपचारका लागि समस्या झनै थपिने बताउएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

नेकपाका बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री नेपालका सात अङ्गरक्षकमा कोरोना सङ्क्रमण

स्वास्थ्य


काठमाडौँ — भाद्र ६, २०७७ । 

नेपाल कम्युनिस्ट पार्टी नेकपा का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक पीएसओ लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उहाँको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

हिजो गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो । अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वकीय सचिव गौतमले गोरखापत्र अनलाइनलाई जानकारी दिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।
 

कोरोना संक्रमणबाट २४ घण्टामा ११ जनाको मृत्यु

स्वास्थ्य


काठमाडौँ — भाद्र ६, २०७७ । 

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।


हाल क्वारेन्टिनमा रहेको संख्या १२ हजार २३४ रहेको छ भने आइसोलेसनमा १२ हजार १३२ जना छन्। कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार २१४ रहेको मन्त्रालयले जनाएको खबर आजको नागरिकले प्रकाशन गरेको छ ।

दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओको अपेक्षा

स्वास्थ्य


काठमाडौँ — भाद्र ६, २०७७ । 

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने बताएको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।

भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसीत विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताए ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म दुई वर्ष लामो समयमा फैलिएको स्पेनिस फ्लु नियन्त्रणमा निकै कठिनाइ भएको थियो । उक्त महामारीले विश्वभरका २ करोड मानिसको ज्यान लिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

भरतपुर अस्पतालको सेवा सञ्चालनमा

स्वास्थ्य


चितवन । चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ । अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो ।

अस्पतालले आकस्मिक सेवा मात्र दिँदा बिरामी प्रभावित भएका थिए । अस्पतालका सेवा सञ्चालन भएसँगै बिरामी आउन थालेको अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले बताए ।

बिहीबार राति मात्र ३ प्रसूतिका बिरामीमा समस्या आएपछि अस्पतालबाट सेवा उपलब्ध गराएको उनको भनाइ छ । निजी अस्पतालले नहेरेका र आर्थिक कारणले अन्य अस्पताल जान नसकेका बिरामी सरकारी अस्पताल आउने थालेको उनले बताए । सापकोटाले भने, “हाम्रो विभागको विभागीय प्रमुख बाहेक सबैको कोरोना नेगेटिभ देखिए पछि हामी उपचारमा जुटेका छौँ ।”

बिरामीमा सङ्क्रमण भएमा राख्नका लागि ठाउँ व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । अस्पतालका अधिकांश चिकित्सक कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएको सूचना अधिकारी लीलाधर पौडेलले बताए । केहीको मात्र रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्ममा नतिजा आउने उनको भनाइ छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालका अधिकांश सेवा सुरु भएको बताए । सघन उपचार कक्षमा सुरु भैनसके पनि निर्मलीकरण भै सकेकाले सब सञ्चालान गर्न सकिने उनले बताए ।

हाल जिल्लाका अधिकांश निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोना सङ्क्रमित उपचार गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका पूर्ण पालना गरेर सङ्क्रमितको सरकारी अस्पतालमा उपचार भएकाले बिरामीले डराउनुपर्ने अवस्था नरहेको अधिकारीको भनाइ छ ।

भरतपुर अस्पतालमा चितवन सहीत १९ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । यो अस्पताल प्रसुतिका लागि अग्रणी मानिन्छ । वार्षिक १३ हजार हाराहारी प्रसूतिका लागि आउने गरेको तथ्याङ्क छ । बीमाको सुविधासमेत यहाँ भएकाले अस्पतालबन्द हुँदा बिरामी प्रभावित भएका थिए । रासस

आयुर्वेदिक औषधि बोकेर बुटवलका मेयरसहितको टोली कोरोना संक्रमितको दैलोमा

स्वास्थ्य


बुटवल — भाद्र ४, २०७७।

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो  अभियान सुरु गरेको छ ।

होम आइसोलेसनमा राखिएका संक्रमित र तिनका परिवारलाई भेट्न बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य महाशाखा प्रमुखसहितको स्वास्थ्यकर्मीको टोली होम आइसोलेसनमा पुगेको हो ।

टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको मेयर सुवेदीले बताए ।

बुटवलमा बुधबारबाट यो अभियान सुरु भएको हो । पहिलो दिन मात्रै विभिन्न २६ स्थानमा रहेका होम आइसोलेनका संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको मेयर सुवेदीले बताए । ‘यो हप्ता होम आइसोलेसनमा बसेका सबैलाई भेटेर आत्मबल बढाउने र स्वास्थ्य सजगता सिकाउने काम गरिनेछ,’ उनले भने ।

बुटवलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । उपमहानगरमा कोरोना विशेष अस्पताल र आइसोलेसन भए पनि लक्षण नदेखिएका संक्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकालाई होम आइसोलेसनमै राखिएको छ । बुटवलमा अहिलेसम्म १२७ जनामा संक्रमण पुष्टि भएको छ ।

(कान्तिपुर दैनिक)